‘मन’ जति सामान्य छ हाम्रो बोलीचालीमा अनि लेखन–पठनमा, त्यति नै क्लिष्ट छ जान्न–बुझ्नमा, अनि त्यति नै चुनौतीमय छ यसका समस्याको उपचार–प्रक्रिया।
त्यही चुनौतीमय पेशामा झण्डै चार दशक बिताएर सफल मनोचिकित्सकका रुपमा प्रख्यात हुनुभएका डा. विश्वबन्धु शर्माले कति मान्छेहरूको मन पढिसक्नुभयो होला, कल्पना गर्न त्यति सजिलो भने छैन।
तर उहाँको ४० वर्षे अनुभव उहाँ आफैंभित्र हराउन भने पाएन, त्यसका लागि उहाँलाई हामी र हाम्रो मनोचिकित्सक जगत्ले ह्रदयदेखि नैकृतज्ञताज्ञापन गर्नैपर्ने हुन्छ।त्यस्तै उहाँका अनुभवलाई, भोगाइलाई, अनि जीवनका तीतामीठा यथार्थलाई लिपिबद्ध गरी पाठकसमक्ष ल्याउन सहायता गर्ने मञ्जरी प्रकाशन पनि साधुवादको पात्र नै हो।
‘मान्छेको मन’ सरल एवं बोधगम्य छ सामान्य साक्षर पाठकका लागि पनि। हामीजस्ता मनोचिकित्साकर्मीले त कमसेकम एक पटकमात्र भए पनि पढ्नैपर्दछ यो पुस्तक।
समालोचना मेरो क्षेत्र पक्कै होइन। अझ आफ्ना अग्रज अनि गुरुसमान व्यक्तित्वको कृति समीक्षा नै गर्ने योग्यता छ मेरो भन्ने त पटक्कै लाग्दैन मलाई। तर मेरो आफ्नै उमेर बराबरको समय मनोचिकित्सा क्षेत्रमै लगाउनुभएका वरिष्ठ चिकित्सकले त्यही विषय (मेरो आफ्नै क्षेत्र) का बारेमा आफ्नै स्मृति–संस्मरण झण्डै ३५० पृष्ठको पुस्तकाकार रुपमा तयार पारिसकेपछि त्यस पुस्तकका बारेमा केही लेख्नु आफ्नो कर्तव्य नै ठानें मैले।अतः केही शब्दहरू कोर्ने जमर्को गरेको हुँ मैले।सबैलाई उक्त पुस्तक पढ्ने प्रेरणा मिल्न सकोस् भन्ने उद्देश्य पनि हो मेरो।
तीन खण्डमा बाँडिएको यस पुस्तकको पहिलो खण्ड हामी मनोचिकित्साकर्मी, मनोरोगीहरू एवं तिनका अभिभावकका लागिसमेत अत्यन्तै उपयोगी छ। यसमा आफ्ना अनुभवजनित यथार्थ पस्कनुभएको छ डा.शर्माले। अत्यन्त सामान्य शब्द–वाक्य–अनुच्छेदहरूमा ‘साइकोसस,’ ‘ओसिडी’,‘डिप्रेसन’ जस्ता मानसिक रोगका बारेमा व्याख्या गर्दै ती सबैको आफूले गर्ने गरेको उपचार–प्रक्रिया, त्यसका सकारात्मक–नकारात्मक पक्ष यथार्थपरक रुपमा प्रस्तुत गर्नुभएको छ डा.साबले यो खण्डमा।
विदेश यात्रा, विवाह, अज्ञानता जस्ता अवस्थाहरूमा, अनि जीवनका आरोह–अवरोहहरूका क्षणमा मानसिक रोगहरूले कस्ता–कस्ता रुप देखाउन सक्छन् होला? एकदमै कथात्मक रुपमा उहाँका जीवनका भोगाइ बोल्छन् यस पुस्तकमा।‘आत्महत्या’ जस्तो मानसिक रोगको जड समस्यालाई उहाँले आफ्नै उपचार–यात्रासँग जोडेर अत्यन्त मिहीन व्याख्या गर्नुभएको छ। आफ्नो उपचार क्रममा भएका त्रुटी नलुकाइकन पाठकसामु यथार्थ पस्कने क्षमता हुनु एक सचेत चिकित्सकको सकारात्मक लक्षण हो। उहाँमा वरिष्ठपनको अहं छैन, न त आफ्नो उच्चासन डगमगाउने डर नै छ। अझै पनि उहाँ मनोचिकित्साको साधारण विद्यार्थीले झैं आफ्ना गल्ती–कमजोरी, आफ्ना सफलता–असफलताका कथाहरू बिना संकोच बताइरहनुभएको छ जसले मजस्ता मनोचिकित्साकर्मीहरूलाई, अझ भनौं सबै चिकित्सकवर्गलाई आत्मालोचना गर्ने प्रेरणा नै दिइरहेको जस्तो लाग्दछ मलाई।
दोस्रो खण्डमा उहाँको जीवनी छ। एउटा सामान्य परिवारमा जन्मिएर, गडबडीमा नै प्रारम्भिक शिक्षा आर्जन गरेर, अप्ठेरोसित आइएस्सी उत्तीर्ण गरेर हिम्मतका साथ डाक्टरी पढ्न होमिनुभएको रहेछ उहाँ रसियातिर। पुस्तकको दुईतिहाई भागमा रहेको शीर्षक ‘मिहिनृेतले जे पनि हुन्छ’ साँच्चै नै यथार्थ बन्न पुगेको हो उहाँको जीवनमा। उहाँको सत्य–जीवनी साँच्चै नै प्रेरणादायी छ। आफू पनि मनोचिकित्सक नै भएको नाताले अनि करिब एक दशकको आफ्नै अनुभवले पनि म भन्न सक्छु कि साँच्चै नै तीव्र चाहना अनि अध्ययन–दर्शनप्रतिको लगाव नभइकन मनोचिकित्सक ((साइकियाट्रिस्ट) बन्न सकिन्न। यो कुरा डा. शर्माको जीवनमा पनि लागू हुनपुगेको छ। उहाँ भन्नुहुन्छ , ‘मान्छेहरूलाई कोष, तन्तु, अंग–प्रणाली, अनि सोडियम–पोटासियम–क्याल्सियम र अक्सिजन–कार्बनडाइअक्साइडका रुपमा मात्र नहेरी पूर्ण मानवका रुपमा हेर्न, जान्न, बुझ्न साइकियाट्रिस्टनै बन्नुपर्दछ,’म पनि यसलाई शतप्रतिशत सही तथ्य मान्दछु।
बहुभाषा जान्ने उहाँको प्रयास अनि रसियाका थुप्रै प्रसंगले पनि मार्मिक बनाएको छ यो पुस्तकलाई।
करिब एक दशकको रसिया बसाइपछि साइकियाट्रिस्टबनेर नेपाल फर्केपछिको उहाँको संघर्ष कम पीडादायी छैन। मनोचिकित्सकको संख्या नगण्य भएको समयमा पनि दक्ष मनोचिकित्सकलाई सरकारले काम दिन नसकेको अवस्था कति कारुणिक होला?‘बिग्रेको देशको भत्केको चाला’ अझै सप्रिसकेको त छैन, तर त्यो बेला त झनै दर्दनाक नै रहेछ। करिब एक दशक जसोतसो सरकारी जागीर धानेपनि त्यहाँ टिक्न नसकी प्राइभेट प्राक्टिसतिर होमिनुभयो उहाँ। उहाँको जीवनमा त्यो ठूलै ठक्कर नै भएपनि मुलुकका लागि त्यो वरदान नै साबित भएको जस्तो लाग्दछ मलाई। त्यस्तै, ‘प्राइभेट प्राक्टिस,’ त्यो पनि मनोचिकित्सामा, कसरी सफल हुन सकिंदो रहेछ?’ भन्ने उहाँको जीवन नै प्रेरणा हो हाम्रा लागि।‘हस्पिटल अन ह्वील’, ‘कम्युनिटी साइकियाट्री’, ‘मास हिस्टेरियाको उपचार’,सबै दृष्टान्त हाम्रा लागि ठूलो अनुभवजन्य सिकाइ हो यस पुस्तकको।
अन्तिम खण्डमा पस्किएका उहाँका निजी प्रसंग पनि कम चाखलाग्दा छैनन्।
शालीन व्यक्तित्वका धनी, अत्यन्त सरल, सह्रदयी अनि सहयोगी वरिष्ठ मनोचिकित्सक डा. शर्माको यस पुस्तक पनि सत्यतामा आधारित ‘खुल्ला जीवनी’ झैं नै छ।
उहाँका सहकर्मी–सहधर्मीहरूसँगको प्रसंगमा उहाँले भनेझैं एउटा कुरा चाहिं के हो भने हाम्रो यो नवीन पुस्ताका मनोचिकित्सकमाझको एकताले मनोचिकित्साको क्षेत्रमा अवश्य फड्को मार्नेछ हाम्रो देशले। यस पुस्तकले हामी ‘यङ्ग साइकियाट्रिस्ट’ हरूलाई यही नै कुरामा घच्घच्याएको छ जस्तो लाग्दछ मलाई। अतः हाम्रा लागि यो पुस्तक‘मस्ट रीड’ नै हो।
-(मानसिक रोग विशेषज्ञ डा रिसाल धुलिखेल अस्पतालमा कार्यरत छन्।)