हामीले यो पश्चिमा डाक्टरी विद्या सिक्नु दासताको गाँठो झन् बलियो पार्नु हो। हामी डाक्टर किन बन्छौं ? यो कुरो पनि सोचनीय छ। यसको वास्तविक कारण लापरबाही र पैसा कमाउने इच्छा मात्र हो। त्यसमा परोपकारको कुनै कुरो छैन। त्यो पेसामा परोपकार भन्ने कुरा हुँदैहुन्न। त्यसबाट मानिसलाई हानि मात्र हुन्छ। डाक्टरले विभिन्न डर–आडम्बर देखाउँछन् र मानिसलाई जालमा फसाएर धेरै शुल्क लिन्छन्। आफ्नो दुई पैसाको दबाईबाट मनलाग्दी कैयौं रुपियाँ असुल्छन्। मानिस विश्वास र निरोगी हुने आशामा डाक्टरबाट ठगिन्छन्। यसरी देखावटी सेवा गर्ने व्यवसायी डाक्टरभन्दा खुला स्वतन्त्ररूपमा काम गर्ने झारफुके बैद्य धेरै असल हुन्छन्।
- मोहनदास गान्धी
यी पंक्तिहरु आजभन्दा ठिक एक सय दश वर्ष एक महिना अघि अर्थात १९०९ नवम्बर २२ का दिन लेखिएका हुन। गान्धीले आफूले एक ठाउँमा बसेर खिप्ती गरेर लेखेको कृति हिन्दस्वराजलाई मानिन्छ। त्यसै पुस्तकको नेपाली संस्करणबाट यो उदृत गरिएको हो।
सिंगो बिसौं शताब्दीमा गान्धीका विचार उपहासको विषय भयो। थोरै मात्र लेखक यथा एफ सुमांखर र इभान इलिन जस्ताले उनको पुर्नव्याख्या गर्ने कोसिस गरे। एक्काइसौं शताब्दीमा आएर भने गान्धीका केही चिन्ता सार्वजनीन र सार्वभौम भएका छन्। खास गरेर पर्यावरण, नरनारी सम्बन्ध, यौनिकताले हिंसा, प्रविधि र विज्ञानको सीमा र सामथ्र्यले सम्वेदनशील पाठकहरुको ध्यान आकृष्ट गरेको छ।
कथित पुस्तक हिन्दस्वराजमा गान्धीले सिंगो पश्चिमी सभ्यतालाई खारेज गरेका छन्। डाक्टरी विद्याको आलोचना त्यस खारेजीको एउटा पहलु मात्र हो। होइन भने वकालत, अदालत, विश्वविद्यालय, मशीन देखि लिएर राज्य र साम्राज्य सम्म उनको आलोच्य विषय थियो। यस्ता सबै प्रयोजना हिंसाजन्य औद्योगिक समाजका सन्तान हुन भन्ने गान्धीको तर्क थियो। त्यस सानो पुस्तकमा गान्धीले केन्द्रीय रुपमा सभ्यता विमर्श गरेका छन्। त्यसै सभ्यता विमर्शले उनलाई प्रचलित पश्चिमको चिकित्सा विज्ञानलाई खारेज गर्ने आत्मविश्वास प्रदान गरेको छ। पश्चिमको चिकित्सा विज्ञान अथवा एलोपेथिका समानान्तर विश्वमा अन्य चिकित्सा पद्धत्ति आज पनि प्रचलित छन्। गान्धी कतिपय कुरामा आयुर्वेदको सिद्धान्त पक्षबाट प्रभावित देखिन्छन्।
मनुष्य जन्मना वा मूल रुपमा स्वस्थ हुन्छ अथवा रोगी हुन्छन् ? इसाई सभ्यतामा मूल पाप (ओरिजिनल सीन)को धारणा छ। तद्नुरुप मानिसलाई जन्मना रोगी अथवा न्यूरोटिक भन्नु सामान्य र साधारण कुरो छ। तर के त्यो मनुष्यको एक मात्र जीवनदर्शन हो त ? उपनिषद र श्रमण परम्पराले मनुष्यलाई मूल रुपमा स्वस्थ मानेको छ। अर्को शब्दमा भन्ने हो भने पूर्वले जीवनलाई सत–चित आनन्दको विस्तार ठानेको छ। तर माया मोहले मूल स्वरुपलाई आब्रृत गर्छ। मायाको निवारण गर्नु स्वस्थ आनन्दमय र परिपूर्ण हुनु हो।
प्रचलित चिकित्सा पद्धत्तिले यस्ता प्रश्नका उपर विचार गर्छ गर्दैन म यसै भन्न सक्दिन। तर स्वास्थ्य, पूणता र आनन्दका दृष्टिले यो पहलु विचारणीय छ।
यस सिलसिलामा मन र शरीरको सम्बन्धका बारेमा भएको बहसलाई सम्झनै पर्छ।
मनले शरीरलाई चलाउँछ अथवा शरीरले मनलाई। शरीर भन्दा मन पृथक हो भन्ने चेतना पाश्चात्य विज्ञानमा वद्धमूल थियो। तर यत आएर त्यसका उपर पनि प्रश्न उठन थालेको छ।
चिकित्सकहरुले कतिपय रोगीलाई यसै हाट्हुट्ट गरेर प्लेवेसिया हो कि के हो भनेर ठिक गर्छन्। अहिले आएर चिकित्सा पेशामा त्यो मनोविज्ञानको विषय मात्र रहेको छैन्। ज्यादै चर्चित भएको छ।
माथि अगाडी सारिएको गान्धीको उदहरणमा व्यावसायी डाक्टर भन्दा झारफूके वैद्य ज्यादा ठिक छन् भनिएको छ। गान्धीको यस कथनलाई एकातिर हामीले प्लेसियाको सन्दर्भमा हेर्नुपर्छ। अचेल चिकित्साशास्त्रमा फेथ हिलिङ भन्ने शब्द पनि चलेको छ। गान्धी मूलत फेथ भएका मान्छे थिए। होइन भने गोली खाएर लड्दा समेत उनको मुखबाट रामको नाम निस्किने थिएन्। पश्चिमको आलोचना बारम्बार गरी रहदाँ उनको नजरबाट फेथ भन्ने शब्द कहिल्यै ओझेल भएको थिएन्। उनी सबै थरीका चिकित्सा विज्ञान लगाएतलाई फेथको नजरबाट हेर्थे।
हिन्दस्वराज भन्ने त्यस पुस्तकमा गान्धीले विद्यार्थी अवस्थामा आफू डाक्टर बन्न चाहेको कुरा लेखेका छन्। तर सिंगो समाज नै रोगी छ भने म एउटा डाक्टरले के पो गर्न सक्छुर भनेर उनी राजनीतिमा लागे अरे।
कताकता चे ग्योवेराका बारे पनि यस्तै कुरा सुनिन्छ। गान्धी र चे ग्योवेराको कथनको स्पष्ट सन्देश छ — विज्ञानले आफ्नो सामाजिकता र परमार्थलाई विर्सनु हुँदैन। चिकित्सा विज्ञानले त झन बिर्सनै हुँदैन्।
आजको नेपालमा व्यावसायीकरणको कारणले चिकित्साशास्त्र र शिक्षाशास्त्र अत्यन्त बदनाम भएका छन। यस प्रतिष्ठित आयुविज्ञान केन्द्रले सामाजिकतालाई ध्यानमा राखेको खण्डमा गान्धी र इभान इलिसको संका निर्मूल हुनेछ।
-(धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'चिकित्सा र मानविकीका आयाम' विषयमा आयोजित दुई दिने छलफल कार्यक्रममा गिरिले पठाएको टिप्पणी)