स्वस्थ्य भन्नाले निरोगिताको अवस्था र वृत्त भन्नाले व्यक्तिले अबलम्वन गर्ने बानी–व्यवहार बुझिन्छ। आयर्वेदमा स्वस्थ व्यक्तिको स्वास्थ्यको सुरक्षालाई पहिलो प्राथमिकता र रोगीको उपचारलाई त्यसपछिको उपायको रुपमा व्यख्या गरिएको पाइन्छ। जसका लागि आहार–विहारलाई उच्च प्राथमिकता दिने गरिन्छ।
वैदिक जीवनशैली, योग, प्रणायाम, सकारात्मक क्रियाकलाप वा आचरण स्वास्थ्य वृत्तका महत्वपूर्ण आयामभित्र पर्छन्। स्वस्थ जीवनशैलीका लागि विभिन्न विधि, नियमहरु पलना गर्नुपर्ने हुन्छ, जुन हाम्रो दैनिक जीवनपद्धतिसँग सम्बन्धित रहने गर्छ। जस्तै दिनचर्या, रात्रिचर्या, योग, प्रणायाम, पञ्चकर्म विधि, आहार, विहार, अधारणिय, धारणीय वेग आदि क्रियाकलाप स्वस्थ जीवनका अमूल्य र अपरिहार्य क्रिया हुने गर्छन्।
आयुर्वेद मतानुसार स्वास्थ्य परिभाषा
समदोष समाग्निश्च समधातुमलक्रिया।
प्रशात्मेनिद्रय मनः स्वस्थ यत्यभिधियते।। -सु.सु २५/५१
जसको अर्थ व्यक्ति स्वस्थ हुन उसमा शारीरिक दोष (वात, पित्त, कफ), मानसिक दोष (सात्विक, राजसिक, तामसिक) समान अवस्थामा रहेको हुनुपर्छ। १३ प्रकारका अग्नि (जाठराग्नि १, धात्वाग्नी ७, भुताग्नि ५) सन्तुलित अवस्थामा रहनुपर्छ। शरीरबाट निष्काशित हुने मल जस्तै- मल, मूत्र, पसिना उचित मात्रामा उचित समयमा निष्काशित हुनुपछए।
यसको अलावा मन, इन्द्रीय, आत्मा प्रसन्नताको अवस्थामा रहनुपर्छ। यी सबै विषयको योगफल नै स्वस्थताको अवस्था मानिन्छ। तसर्थ उचित समयमा खाना पाचन हुनु, समयमा भोक लाग्नु, मल, मूत्रको यथोचित त्याग हुनु, शरीरमा उत्साहका साथ हल्का महसुस हुनुलाई सामान्यतया स्वस्थ अवस्था मान्न सकिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्डुएचओ) का अनुसार “मानिस रोग र दुर्वलताबाट मात्र नभई शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक रुपमा पूर्ण तन्दुरुस्त हुनुलाई स्वास्थ्य मानिन्छ। यी दुवै परिभाषालाई गहिरो रुपमा अध्ययन गर्ने हो भने व्याख्या गर्ने तरिका मात्र फरक भए पनि आसय एउटै रहेको बुझिन्छ।
दिनचर्या
मानव स्वास्थ्य उसको दिनचर्या अर्थात् दैनिक जीवनशैली र क्रियाकलापमा निर्भर रहन्छ। आयुर्वेद मतानुसार बिहान उठेदेखि बेलुका नसुतुन्जेल गर्ने क्रियाकलापलाई दिनचर्याको रुपमा उल्लेख गरिएको पाइन्छ। ब्रह्म मुहूर्तमा उठ्नु (बिहानको ४ बजे), शौच कर्म (दिसा, पिसाब त्याग) दन्त धावन (सम्भव भएसम्म दतिवन, बबुल) को प्रयोग, जिह्वानिर्लेखन (जिव्रो सफाइ) गण्डुष धारण (तेल वा पानी लिएर केहीबेर मुख बन्द) गर्ने, मुख नेत्र प्रच्छालन (अनुहार सफाइ) अञ्जनको प्रयोग, नस्य (अणु तेलको प्रयोग गरी नाकको सफाइ) धूमपान (प्राकृत जडिबुटीको धुवाँ सेवन) योग, व्यायाम सम्यक मात्रामा गनुपर्छ। साथमा स्नान (नुहाउनु) ततपश्चात् अभ्यङ्ग (तेल मालिस) सन्तुलित सम्योक भोजन, अध्ययनसँगै दैनिक अन्य क्रियाकलाप क्रमवद्ध गर्नु पर्छ।
आयुर्वेदले वात, पित्त, कफलाई त्रिदोष तथा त्रिस्तम्भका रुपमा व्यख्या गरेको छ, जसको आधारमा मानिसको प्रकृति निर्धारण हुने गर्छ। यसलाई शरीर दोषका रुपमा पनि हेरिन्छ, जहाँ वातको अर्थ गति अर्थात् चलायमान, पित्त भन्नाले उष्णता अर्थात् तातोपना, कफ अर्थात् चिल्लोपना बुझिन्छ, यी तीन स्तम्भ तथा मानसिक दोष (सत्विक, राजसिक, तामसिक) यिनै तत्वको आधारमा मानव जीवन निर्भर रहन्छ।
४/४ घन्टाको समयमा दोषको प्रवलताको अवस्था फेरिइरहन्छ। यसबाट के बुझिन्छ भने जुनजुन समयमा जुन दोष प्रकुपित हुन्छ तत् समयमा उक्त अवस्थालाई सहयोग पुग्ने क्रियाकलाप गर्नबाट बच्नु पर्छ र तत्तत् दोष सामक आहारविहार सम्यक मात्रामा गर्नुपर्छ। यसको अर्थ आहारमा वात सामक रसको रुपमा गुलियो, अमिलो, नुनिलो रसयुक्त आहार पित्त समनका लागि पिरो, तितो, टर्रो रसयुक्त तथा पित्त सामनका लागि गुलियो, तितो तथा टर्रो रसयुक्त आहारको सेवन गर्नु हितकर मानिन्छ। यसको विपरीत आहार भएको अवस्थामा दोष असन्तुलन हुन गई रोग उत्पन्न हुन सक्छ।
स्वस्थ जीवनका लागि हाम्रो दैनिक खानपानले अर्को महत्वपूर्ण भूमिका खेल्छ, तसर्थ जस्तैः बिहान प्रात समयमा उठ्ने वित्तिकै चिसोपानीभन्दा मनतातो पानी हितकर हुन्छ। त्यस्तै खानामा प्राकृतिक, विज अंकुरित, दही, सातु, फलफूल, सागको सन्तुलित आहार हुनुपर्छ। पहिले खाएको खाना पाचन भएपछि मात्र दोस्रो खाना खाने बानी बसाल्नुपर्छ जसको मापन मलमूत्रको यथोचित त्याग, शारीरिक उत्साह, हल्कापन भोक-तिर्खा इच्छा हुनुले गर्न सकिन्छ। बिहानको खाना गरिष्ठ र बेलुकाको खाना हल्का खालको हुनुपर्छ।
हाम्रो खाना षडरषयुक्त हुनु आवश्यक छ। खाना खाँदा पहिले हल्का चिल्लो जस्तै गोघृत त्यसपछि क्रमशः गुलियो, अमिलो, नुनिलो, पिरो, टर्रो खाना लिँदै जानुपर्छ।
बिहान खाली पेटमा दूध, मोही, काँक्रो, बदाम, बेलुकाको समय दही, माछा, मासु, गुन्द्रुक, करेला, लौका र चिसो पेयपदार्थ खानु उचित हुँदैन। तर सुत्नेबेला सुद्ध भैंसीको दूध लाभदायक एवं निद्राजन्य मानिन्छ। यसको अलावा विरुद्ध भोजन जस्तैः सागबेसार, आँपदही र मही, कटहर, आँप र भिन्डीसँग दही, मही, घिउ सेवन गर्नु हँुदैन। हामीले खाने खाना ऋतु अनुकूल हुनु पनि उत्तिकै जरुरी छ, साथमा समयमा सुत्नु र समयमा उठ्नु (बेलुका १० बजेदेखि बिहान ४ बजे) सम्म हितकर मानिन्छ।
ऋतुचर्या
पृथ्वीको भू-भाग अनुसार बाह्रै महिना मौसम बदलिइरहन्छ। तसर्थ स्वस्थताको निम्ति मौसम अनुकूल आहारविहारको सन्तुलन मिलाउनु आवश्यक छ।
नेपालको सन्दर्भमा शिशिर, वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त गरी ६ ऋतुमा वर्गीकरण गरिएको पाइन्छ। ऋतुअनुकूल विभिन्न आहारविहारको तथा प्रकुपित दोषलाई सन्तुलित अवस्थामा ल्याउन पञ्चकर्म तथा योगका विभिन्न विधिको विस्तृत व्याख्या आयुर्वेदमा गरिएको छ।
पञ्चकर्म
शरीरमा सञ्चित मल या दोष निष्काशित गरी शरीर शुद्ध पार्ने प्रक्रियालाई संसोधन भनिन्छ। संसोधनका पाँच विधि छन्, जसलाई पञ्चकर्म विधिको नामबाट चिनिन्छ। यस अन्तर्गत वमन, विरेचन, नस्य, वस्ति, रत्तमोक्षण पर्दछ। यसको माध्यमबाट शरीर आन्तरिक रुपमा शुद्धीकरण गरिन्छ। यसका लागि प्रधानकर्म गर्नुभन्दा पहिले अघि र पछि गर्नुपर्ने पूर्वकर्म तथा पश्चात् कर्म विधि अबलम्वन गर्नुपर्ने हुन्छ।
योगासन
योग अभ्यासबाट शरीर, मन, एवं आत्मा शुद्ध भई शारीरिक रुपमा बलियो, मानसिक रुपमा शान्त, प्रशन्नता तथा दीर्घायू प्राप्त हुन्छ। रगत निर्माणको लागि रसकोे लागि जसरी आहारको जरुरी छ, त्यसैगरी शरीरका कोष कोषमा उचित रुपमा रक्त वितरणका लागि योग आसनको र रगत शुद्धीकरणको लागि प्रणायामको आवश्यक छ। दिनानुदिन महत्व बढ्दै गइरहेको योगाभ्यास आयुर्वेदमा शारीरिक तथा मानसिक, आध्यात्मिक शुद्धता र स्वस्थता जीवनशैलीको एक आयामका रुपमा व्याख्या गरिएको छ।
योगका आठ अंग यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि।
धारणीय वेग : शारीरिक-साहस, हिंसा, स्तेय (चोरी), वाचिक–कठोर र मिथ्या झुट वचन), मानसिक ( अशुभ चिन्तन, काम, क्रोध, विषाद) आदि कार्यलाई नियन्त्रण गर्न सक्नुपर्छ।
अधारणीय वेग : मल, मूत्र, विर्य, अपान वायु, वमन, छिक्का, उद्यगार, जृम्भा (हाई), भोक, प्यास, निद्रा, परिश्रमबाट उत्पन्न श्वास वेग, आँशुवेग रोक्नु हानिकारक छ। यसको अवरोधमा तत्तत् सम्बन्धी रोग उत्पन्न हुने निश्चितप्रायः छ।
रसायन सेवन
जरा अर्थात् बुढ्यौलीपन हटाएर रोगव्याधी नास गर्ने औषधि या उपायलाई रसायन भनिन्छ। रसायनको विधिपूर्वक सेवन गर्नाले शारीरिक स्वस्थता, दीर्घायू, स्मरणशक्तिमा वृद्धि हुने तथा कायाकल्पको प्रयोगबाट जीवनकाल समेत वृद्धि गर्न सकिने उपाय आयुर्वेदमा उल्लेख गरिएको छ। यसका लागि जस्तैः अमला, हर्रो, च्यवनप्रास सिद्ध मकरध्वज, यष्टिमधु, गुडुची जस्ता द्रव्यहरुको सम्यक प्रयोग हुनु जरुरी छ।
समग्रमा बढ्दो सहरीकरणसँगै फेरिएको हाम्रो खानपान, जीवनशैलीका कारण दिनानुदिन जति अस्पतालको संख्या थपिँदो छ उत्तिकै रोग र रोगीको संख्या पनि बढ्दो छ। आधुनिकताका नाममा जथाभावी विषादीले भरिएका खानेकुराको उपयोग एन्टिबायोटिकको अन्धाधुन्ध प्रयोग, केमिकलयुक्त पेय पदार्थ बढ्दो छ।
अस्वस्थ जीवनशैलीका कारण कुनै समय सरुवा रोगले ग्रसित हाम्रो समाज अहिले नसर्ने रोगबाट प्रताडित छ। आज विश्व समुदाय आयुर्वेद र योगप्रति आकर्षित भइरहँदा आयुर्वेद र योगको उद्गम हिमालयको देश नेपाल ७ सयभन्दा बढी अमृतमय जडिबुटीको खानी चिन्न नसक्दा हामी कतै आफैं भित्रको कस्तुरीको खोजीमा भौंतारिइरहेका त छैनौं भन्ने प्रश्न खडा हुन्छ।
तसर्थ आयुर्वेद भित्रका स्वस्थवृत्तका आयामहरुलाई जीवनपद्धतिसँग जोड्न सकियो भने स्वस्थ्य सूचकांकमा अवश्य सुधार ल्याउन सकिने छ। तसर्थ हाम्रो स्वास्थ्य नीतिमा आयुर्वेद र जीवनशैलीको विषयलाई प्राथमिकता दिनु आवश्यक छ।
(कविराज निरीक्षक/हेल्थकेयर म्यानेजमेन्ट कन्सल्टेन्ट, पोखरा महानगरपालिका)