मानव शरीरमा भएका तथा हुनसक्ने विभिन्न प्रकारका समस्याको पहिचान, निदान तथा रोकथामका लागि सम्बन्धित नमुना संकलन गरेर परीक्षण गर्ने ठाउँलाई प्रयोगशाला अथवा ल्याब भनिन्छ। यसरी प्रयोगशालामा गरिने परीक्षणले जनस्वास्थ्यमा ठूलो महत्व राख्छ। जनस्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको प्याथोलोजी क्षेत्र भनौं अथवा प्रयोगशालामा गरिने परीक्षणपछि सही रिपोर्ट आउन सकेन भने रोगको उचित पहिचान तथा उपचार सम्भव हुँदैन।
प्रयोगशाला विज्ञान कहाँ र कहिलेदेखि सुरुवात भयो भनेर यकिन मिति नभए पनि पाँचौं शताव्दी अर्थात् आधुनिक चिकित्सा विज्ञानका पिता हिप्पोक्रेट्सको समयदेखि नै परीक्षण तथा जाँच गर्ने गरेको भन्ने इतिहास भेटिन्छ।
नेपालमा भने विसं २०२१ सालदेखि वीर अस्पतलको प्याथोलोजी विभागबाट प्रयोगशालाको सुरुवात भएको पाइन्छ। पहिले-पहिले ल्याबहरु हस्पिटलको कुनै एउटा सामान्य कुनामा, खाली रहेको कोठा अथवा कम स्पेसमा खुम्चिन बाध्य भएको पाइन्थ्यो।
अहिले एक्काइसौं शताब्दीमा आइपुग्दा प्याथोलोजी क्षेत्रमा उल्लेख्य प्रगतिहरु भएका छन्। पूर्ण कम्प्युटराइज्ड प्रविधिबाट विभिन्न किसिमका हर्मोन, क्यान्सरसँग सम्बन्धित जाँच, जेनेटिक टेस्ट, डिएनए परीक्षण, स-साना सूक्ष्म जीवाणुको (ब्याक्टेरिया, भाइरस, फङ्गाइ, प्यारासाइट) परीक्षण र तिनले गराउने विभिन्न प्रकारका रोगहरुको परीक्षण तथा पत्ता लागेका रोगको सम्भावित उपचार र निदानको भविष्यवाणी प्रयोगशालाबाटै सम्भव भाइरहेका छन्।
आधुनिक चिकित्सा जगतमा प्रयोगशाला आँखाले हेरेको र कानले सुनेको भरमा मात्र उपचार हुने क्रमलाई विस्थापन गर्दै उपचार तथा निदानका लागि आवश्यकता पूरा गर्ने एउटा भरपर्दो माध्यम बनेको छ र यस क्षेत्रलाई चिकिस्सा विज्ञान साथै उपचारको आसनका रुपमा कदर गरिएको छ।
पहिला प्रायजसो डाक्टरले रिफर गरेपछि मात्र प्रयोगशालामा परीक्षण गर्ने परिपाटी थियो। अहिले डाक्टर अथवा स्वास्थ्य सेवा उपलब्ध गराउनेको अलावा बिरामी स्वयं स्वास्थ्य परीक्षणका लागि प्रयोगशालामा गई आफ्नो इच्छा अनुसार वा आवश्यकता बमोजिम स्वास्थ्य परीक्षण/ल्याब टेस्ट गर्ने परिपाटी बनेको र बढेको देखिन्छ। जस्तो मधुमेह भएका बिरामीले नियमित रुपमा ल्याबमा गई ब्लड सुगर परीक्षण गर्ने गर्दछन्। यसबाट ल्याबको प्रभावकारिता र आम नागरिकमा स्वास्थ्यप्रतिको चिन्तन साथै ल्याबको महत्व बढेको छ।
जनस्तरबाट पनि स्वास्थ्य प्रयोगशालाको फाइदा निकै बुझेको पाइन्छ। तथापि परीक्षण समयमा (नमुना संकलनदेखि रिपोर्ट डिस्प्याच सम्म ) हुने स-साना प्राविधिक त्रुटिले बेला-बेलामा समस्या ननिम्त्याएको भने होइन।
स्वास्थ्य छेत्रमा उल्लेख्य प्रगति र उपलब्धिका बाबजुद पनि बेलाबेलामा विभिन्न किसिमका समस्या तथा किचलो झेल्नुपर्ने अवस्था रहिआएकै छ।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तर साथै सही रिपोर्ट प्राप्त गर्नका लागि नमुना संकलनको समयमा र नमुना संकलन पश्चात ल्याब पुग्नुअघि हुने गल्तीहरुलाई न्यूनीकरण गर्नु आवश्यक हुन्छ। यसरी प्रयोगशाला पुग्नुअघि हुने गल्तीहरुले पनि सही रिपोर्ट नआउनुमा ठुलो हिस्सा ओगटेका हुन्छन्।
रगत, दिसा, पिसाब, खकार जाँच गर्दा नमुना संकलन गर्ने क्रममा स्वयं नमुना दिने व्यक्ति पनि सचेत हुनुपर्छ साथै सम्बन्धित प्राविधिकबाट स्पष्ट जानकारी लिएर मात्र नमुना दिँदा थप प्रभावकारी हुन्छ।
अक्सर धेरैले भन्ने गरेको सुनिन्छ, फरक ल्याबमा फरकफरक रिपोर्ट आयो। फरक रिपोर्ट नआउने भन्ने पनि हुँदैन। यसरी फरक रिपोर्ट आउनुमा धेरै कुराहरुले प्रभाव पारेको हुन्छ। एक-अर्का ल्याबमा नभई एउटै प्रयोगशालामा पनि एकै समयमा फरक-फरक रिपोर्ट आउन सक्छन्।
ल्याब रिपोर्टमा एकरुपता नहुनुको प्रमुख कारणहरु:
- नमुना संकलन गर्नु पूर्वका कुराहरु जस्तै: खानपान
- नमुना संकलन गर्दा तथा नमुना संकलनपश्चात् हुने स-साना गल्तीहरु
- जाँच गर्ने प्रविधि
- सम्बन्धित ल्याबमा परीक्षण गर्ने प्राविधिक र उसको दक्षता
- ल्याबले प्रयोग गर्ने केमिकल
- परीक्षण गर्ने उपकरण
- गुणस्तर जाँच तथा कन्ट्रोल
सामान्य परीक्षण समेत नहुने ठाउँमा चर्का होर्डिङ बोर्ड राखेर बिरामीको नमुना संकलन गर्ने प्रवृत्ति पनि ह्वात्तै बढेको देखिन्छ। ल्याबमा गरिने परीक्षणलाई कमाउ धन्दा ठान्नेहरु विनाप्रविधि र गुणस्तरकै बाबजुद विज्ञापनकै भरमा आफूलाई उत्कृष्ट मान्ने प्याथोलोजीका मतियारहरुले नै यस क्षेत्रलाई पछाडि धकेलिरहेको कुरा पनि नकार्न सकिँदैन। थोरै लगानीमा धेरै कमाउन चाहने, सेवाभावले भन्दा पनि नाफामुखी प्रबृत्ति खोज्दै एक ठाउँमा नमुना कलेक्सन गरेर टेस्ट गर्नका लागि अन्यत्रै पठाउने पारीपाटीका कारण गुणस्तरमा प्रभाव परिरहेको छ।
पछिल्लो समय च्याउसरी उम्रिएका रेफ्रेन्स ल्याबले पनि सेवा-सुविधा नदिएका भने होइनन्। तर यसरी बिरामीको स्वास्थ्य जाँच तथा स्वास्थ्यमा सुधार ल्याउन स्थापित प्रयोगशाला आफैंमा बिरामी भएको देख्दा जो-कोहीलाई पनि नरमाइलो लाग्नु स्वभाविक नै हो।
एकातर्फ विना गुणस्तर, विनाप्रविधि र विना दक्ष प्राविधिककै बाबजुद सर्वसाधारणमा भ्रम छर्ने तथा अर्कोतर्फ एक-दुई टेस्ट पठाएकै भरमा कति प्रतिशत आउँछ भन्दै क्याल्कुलेटर हान्दै बस्ने जमातले पनि ठूलै प्रश्नचिन्ह खडा गरेको छ। नियमन तथा अनुगमन गर्ने निकायको आँखा छलेर स्थापना हुने ल्याब तथा गरिने परीक्षण कमिसनको खेतीकै ज्वलन्त उदाहरण हुन्। यी र यस्ता प्रबृत्तिका कारणले समग्र प्याथोलोजी क्षेत्र नै बदनामको शिकार नहोला भन्न सकिँदैन।
स्थानीय तहअन्तर्गत आमनागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले प्रयोगशाला सञ्चालनसम्बन्धी न्यूनतम मापदण्ड, स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका २०७४ लागू भए तापनि पूर्ण रुपमा कार्यान्वयनमा आएको पाइँदैन।
समग्र प्याथोलोजी छेत्रमा गुणस्तर, प्रभावकारिता, एकरुपता तथा विश्वसनीय अभिवृद्धि गर्नका लागि सरकारी, निजी तथा जनस्तरबाटै पहल हुनु अत्यावश्यक देखिन्छ।
सरकारी स्थरबाट गरिने अनुगमनलाई थप प्रभावकारी बनाउने तथा सेवाको मूल्याङ्कन तथा जाँचबुझ गर्ने, नियमित रुपमा प्रमाणीकरण तथा नियमन गर्ने गर्नाले ल्याबको नाममा बढेका विकृतिहरु स्वत: हटी प्यथोलोजी सम्बन्धी गुणस्तरीयता र विश्वसनीयता बढ्ने तथा रोगको सही पहिचानमा टेवा पुग्ने देखिन्छ।
अहिले त झन् इभिडेन्स बेस्ड मेडिसिन अर्थात् तथ्यमा आधारित उपचार विधि अपनाइन्छ। तसर्थ रोगको सही पहिचानका लागि ल्याबको रिपोर्ट गुणस्तरीय हुनै पर्छ। प्याथोलोजी रिपोर्ट अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक छ। ल्याबले दिने रिपोर्टमा टेस्ट, युनिट, रिजल्ट, मेथोड र रेफ्रेन्स रेन्ज अनिवार्य उल्लेख गर्नुपर्छ।
नयाँ प्रविधिको आविष्कारसँगै प्रयोगात्मक परीक्षण र उपयोगले प्याथोलोजीमा थप गुणस्तरीयता, विश्वसनीयता कायम गर्न सहयोग गरेको छ।
स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका २०७३ ले विभिन्न किसिमका मापदण्डहरु तय गरी जस्तै: स्पेस, सेवा-सुविधा, जनशक्ति, प्रविधि तथा परीक्षणका आधारमा एदेखि ईसम्म गरी प्रयोगशालालाई ५ समूहमा वर्गीकरण गरेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक हेर्दा हाल नेपालमा ए समूहमा ९, बीमा ४०, सीमा २०५, डीमा १३४ प्रयोगशाला दर्ता भएका छन्।
यसका अलावा थप केही प्रयोगशालाहरु दर्ता हुने क्रममा र केही विना दर्ता पनि सञ्चालनमा आएको पाइन्छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता भएका ल्याबहरु बाहेक पुराना मापदण्ड र नियम बमोजिम जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य महाशाखासँग दर्ता अनुमति लिएर चलाइएका ल्याबहरुको संख्या पनि धेरै छ। जसको कुनै प्रकारको समूह वा ग्रेडिङ लागू गरिएको नहुनाले समयसापेक्ष बनाउँदै सञ्चालन मापदण्डको मूल धारमा ल्याउनु पर्छ।
यसरी ल्याब सञ्चालन गर्न अनुमति, नियमन र अनुगमन गर्ने संस्थालाई सुढ्ढढ गरी केन्द्र सरकार वा प्रदेश सरकारमार्फत स्पष्ट नीति-नियम तथा अवधारणा ल्याउन आवश्यक छ। जसले गर्दा प्रयोगशालामा एकरुपता र विश्वसनीयता बढाउन सकिन्छ र प्रयोगशालाका नाममा हुने विभिन्न विसंगतिलाई शून्य लेभलमा पुर्याउन सकिन्छ।
अहिले मुलुक संघीयतामा प्रवेश गरिसकेको हुनाले हरेक प्रदेशमा प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला/रेफ्रेन्स ल्याबको अवधारणा पनि तत्काल लागू गर्नुपर्ने देखिन्छ।
प्रयोगशालामा कार्यरत कर्मचारी तथा मेडिकल ल्याबोरेटोरीसँग आवद्ध व्यक्तिहरुद्वारा पेसागत, कार्यक्षेत्र केन्द्रित हक-हितको लागि लड्ने भन्दै निस्वार्थ भावले गठित संगठनले यस छेत्रको सुधार गर्न तथा हक-हितको लागि आवाज उठाउने र सम्बन्धित निकायलाई बेलाबेलामा घच्घच्याउने गरे तापनि त्यति प्रभावकारी भइरहेका छैनन्।
सरकारी तथा निजी स्तरबाट सञ्चालित प्रत्येक ल्याबमा एकरुपता, विश्वसनीय र गुणस्तर लागू गर्न प्रयासरत स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय र मातहतका विभिन्न निकायहरुले स्वास्थ्य सेवाप्रदायक संस्थाहरुको अनुगमन, नियमन र प्रमाणीकरणलाई थाप प्रभावकारी बनाउन आवश्यक देखिन्छ। यसका अलवा प्रयोगशाला सम्बन्धी प्राविधिक उत्पादन गर्ने र ज्ञान-सिप सिकाउने शैक्षिक संस्था/प्राविधिक शिक्षालय/महाविद्यालयले पनि समय अनुकूल व्यावहारिक प्रयोगात्मक र गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ।