२०७६ पुस १९ गते शनिबार।
एकाबिहानै हामी मेल सर्जिकल वार्ड २०४ एको डबल क्याबिनबाट सिंगल क्याबिन नं २०५ मा सर्यौं। एक/दुई जोर कपडा कोचिएको एउटा झोला, दुई वटा कम्मल, ओछ्याउने कालो म्याट, केही प्लास्टिक झोलाभित्र औषधि र सिरिन्ज अनि सानो थर्मस।
यति पोका सार्न परिवारलाई मात्र एक मिनेट लाग्यो।
पुरानो क्याबिनमा जति पोका हाम्रा सामान थिए, ती पोकाभन्दा बढी समस्याहरू हामीले अनुभव गर्न थालेका थियौँ।
अन्ततः हामी नयाँ क्याबिनमा सर्यौंक। मन हलुका भयो। घाउ पनि हलुको भएको महसुस गरें। म नयाँ बेडमा पल्टिएँ। मेरो ठिक अगाडि भगवान् श्रीकृष्ण मुरली बजाउँदै पुरानो फ्रेमभित्र मुस्कुराउँदै थिए। हरियो पर्दा सरर तानेँ। आकाश धुम्म परेको थियो। दुई दिनदेखि पानी परेर अस्पताल पनि चिसिँदै गएको थियो। शान्त वातावरण भएपछि मलाई टिचिङ अस्पतालको बसाइ लेख्न मन लाग्यो। अनि मोबाइलको कि-प्याडमा विस्तारै टाइप गर्दै गएँ।
टिचिङ अस्पताल, बिरामी पर्दा धेरैले सम्झिने साझा ठाउँ। धेरैसँग चिरपरिचित ठाउँ। म पनि धेरै पटक टिकट लिने लाइनमा बसेको छु। कहिले आफन्तहरूको लागि, कहिले आफ्नै परिवारका लागि त कहिले आफ्नै लागि भन्दै अस्पतालको विभिन्न विभागहरू नियालेको छु। कुरूवाको रूपमा कयौँ रातहरू आँखा झिपिक्क नपारी पनि बसेको छु।
यस पटक भने स्वयम् बिरामीको रूपमा बस्दाको संस्मरण लेख्दै छु।
एउटा सानो अप्रेसन गर्नुपर्ने! लापरबाही भनौँ वा व्यस्तता भनौँ, कहिल्यै समय जुरेन। करिब पन्ध्र वर्ष आलटाल गर्दै बिताएँ।
'यो जाडोमा जसरी भए पनि अप्रेसन गर्नुपर्छ, भन्दे छु नि! नत्र म आफैं गरिदिउँला अप्रेसन यो चक्कुले?' भान्सामा तरकारी काट्दै उनी फटफटाइन्।
'बच्चाहरुको विन्टर भ्याकेसनमा पक्का!' मैंले यसपटक भने अलि बढी प्रतिबद्धता जनाएँ।
पुस ६ गते आइतबार अफिसको लन्च ब्रेकपछि टिचिङ पुगें। सर्जिकल ओपिडीको टिकट मागें। फोनमा व्यस्त रहेकी कर्मचारीले मेरो नाम, उमेर र ठेगाना टाइप गरिन्। प्रिन्ट सहितको सानो कागजको टुक्रामा मेरो परिचय टाँसिन्। झ्यालबाट टिकट दिँदै ई-३० मा जानु भनी संकेत गरिन्। क्यू मिलाउने कर्मचारीलाई टिकट दिएँ।
कागज मिलाउँदै 'समस्या के हो?' कर्मचारीले प्रश्न गरिन्। वेटिङ रूम र ग्यालरीभरि मान्छेहरुको हुलमा म अलि लजाएँ।
उत्तर नआएपछि ती कर्मचारीले मतिर आँखा फर्काइन्।
अलि नजिक गएर सानो स्वरमा मैले भनेँ, 'हाइड्रोसिल'।
यति भनिरहँदा वरिपरिका सबैले मेरो समस्या सुने कि जस्तो लाग्यो। अनुहार रातो-नीलो भयो। मैंले वर्षौसम्म गोप्य राखेको समस्या सबैका सामु सार्वजनिक गरें।
मेरो टिकटमा 'युरोलोजी युनिट, सोमबार बिहान, मंगलबार र बिहीबार दिउँसो' लेखिएको छाप लगाउँदै भोलि बिहान ९ बजे आउने भन्दै ती महिलाले टिकट फिर्ता थमाइन्।
राति सुत्ने तरखर गरिरहँदा जिस्किने पारामा मैंले भनेँ, 'यतिका दिनसम्म सम्पत्ति टाँङमुनि लुकाएर राखें। तौलेर राख्ने भए आजै लेखाजोखा गरी राख्नु है बुढी!'
परिवारले कुरा बुझिन् क्यारे, 'अस्पातलमा चेकअप गर्यौ कि के हो बुढा? सम्पत्ति फाल्ने कुरा गर्दै छौ त?'
भोलि सँगै जाऔँ टिचिङ, त्यसपछि हेरौँला भन्दै सुतेँ।
बिहान बच्चाहरुलाई स्कुल पठायौं। हामी चाहिँ टिचिङको लागि निस्कियौं।
बिरामीको लाइन मिलाउने (क्यू) दिदीले ५७ नम्बर भनेपछि मैंले कुपन दिएँ। बदलामा तिनी दिदीले मलाई मेरो टिकट थमाउदै भित्र डाक्टरकहाँ पठाइन्। टिकटको पाना पल्टाउँदै डाक्टरले सोध्न सुरु गरे-
'के भयो?'
'हाइड्रोसिल' यसपटक सहजै भनेँ।
'कति वर्ष भयो यस्तो भएको?'
'करिब दस वर्ष' डाक्टरलाई पाँच वर्ष ढाटें।
'त्यो बेडमा सुत्नु त' पञ्जा लाउँदै डाक्टरले भने।
पाइन्ट तल सार्दै म उत्तानो पल्टिएँ। हरियो पर्दाले छेकेको त्यो बेडमा डाक्टरले छामछुम पारे। अनि आफ्नो टेबुलमा आएर एक सासमा भने- एउटा अल्ट्रासाउण्ड गर्ने, अर्को रगतको परीक्षण गर्ने अनि सबै रिपोर्ट लिएर यही शुक्रबार १२ बजे अप्रेसन गर्न आउने।
पन्ध्र वर्षसम्म मैँले जुराउन नसकेको साइत यी डाक्टरले दस मिनेटमै जुराइदिए।
टेस्ट गर्नुपर्ने कागज बोकेर रगत नमुना दिन ल्याबमा छिर्यौंर। रगतको काम तुरुन्तै सकियो। अल्ट्रासाउण्ड भने दिउँसो दुई बजेपछि मात्र हुने भएपछि म अफिस हिँडे। परिवार कीर्तिपुरतिर लागिन्। खुमलटार अफिस पुग्दा १२ बजिसकेको थियो। त्यो दिन मैंले हाजिरी कापीमा १० बजे भनी हाजिर धस्काएँ।
अफिसकै क्यान्टिनमा एक कप चिया पिएर म तुरुन्तै अस्पताल फर्किएँ। र विस्तारै अस्पतालको १२ नम्बरको कोठामा पुगेँ।
पालो आयो। भित्र छिरेँ। लाज मान्ने मेरो बानीमा सुधार आइसकेको थियो। अल्ट्रासाउण्ड गर्ने बेडमा अर्धनग्न सुतेँ। डाक्टरले आफ्नो काम सुरु गरे। मेरो ध्यान भने ढोकाको चुकुलतिर थियो। चिसो जेल दल्दै गर्दा 'चुकुल लाउनुपर्ने हो कि डा सा'ब मेरो मुखबाट निस्कियो।
उमेरले अलि पाका डाक्टर मुसुक्क हाँसे।
अल्ट्रासाउण्ड सकियो। लाज पनि सकियो। आजैबाट नलजाउने प्रण गरियो। त्यसको चार दिनपछि अप्रेसन गर्नुपर्ने दिन पनि आयो।
२०७६ पुस ११ गते शुक्रबार
ओपिडीमा देखाउँदा मैंले जिज्ञासा राखेको थिएँ, 'डाक्टर साब! अप्रेसनपछि एडमिसन गर्नुपर्ला कि?'
डाक्टरले एडमिसन गर्नु नपर्ने बताउँदा मलाई ख्याल ठट्टा जस्तो लाग्यो। पछि थाहा भयो, कुरा सत्य रहेछ। यस्तो बिरामीलाई भर्ना नगर्दो रहेछ टिचिङमा।
मनमा डर थपियो।
'डराउनु पर्दैन बुढा, मैंले दुई-दुई पटक अप्रेसन गरेको छु।' परिवारको कुराले आधा डर हरायो।
बाँकी आधा डर अप्रेसन थिएटरमा आफैंसँग राखेँ। ओटी फर्म भर्दा पहिलो नम्बरमा मेरो पालो थियो। अप्रेसन भने उल्टोबाट गन्दै जाँदा दोस्रोमा पो परेछ। अप्रेसनको संवेदनशीलताअनुसार पालो निर्धारण हुँदो रहेछ। थाहा पाइयो।
गाउन बेरेको करिब तीन घन्टापछि मात्र ओटी कोठामा छिरेँ। डाक्टरले मलाई बेडमा राखे अनि आफ्नो तयारीतिर लागे। म ओटी बेडमा उत्तानो परेँ। कोठामा प्राकृतिक उज्यालो अझै पनि झुल्किँदै थियो। एक छिनपछि ठूलाठूला बत्ती नजिकै ल्याएर बाल्दा कोठा झनै उज्यालो लाग्यो। पृष्ठभूमिमा कसैको मोबाइलबाट अरजित सिंहको गीत बजिरहेको थियो।
अप्रेसन सुरु भयो। 'अलि चिसो हुन्छ है' डाक्टरले भने। फूलेको अण्डकोषको नसामा सिरिन्ज रोप्दै ती डाक्टरले थपे, 'अलिकति दुख्छ है।'
सुई रोपेको क्षण भरमै चस्स चस्स चिर्न सिकाए। महिला डाक्टरले चिर्न सुरु गरिन्। चिर्दै गर्दा बीचबीचमा मैले 'ऐया! ऐया!' भनी रहेँ। डाक्टरले सुईको मात्रा फेरि थपे। त्यसपछि म शान्त भएँ।
अप्रेसन सकियो। वर्षौंदेखि मेरो शरीरमा जमेको फोहोर पानी निकालियो। मनमा जति डर थियो त्यो पनि त्यही बेडमा छोडियो।
घाउको सफाइ, सिलाइ र टेप लगाएपछि म लुगा फेर्ने कोन्टीतिर लागें।
झोलाबाट मेरो लुगा झिक्दै परिवारले सोधिन्, 'कति दुख्यो बुढा?' 'महिलाको प्रसूति पीडा महसुस गरें' मैले पीडा जनाएँ।
लुगा लगाएर निस्किदाँ नर्स बहिनीले मेरो टिकटमा औषधि लगायत अन्य परामर्श लेखेर परिवारलाई जिम्मा लगाइन्। मलाई तीन/चार दिन अस्पतालमै बस्न मन थियो। नर्सले भन्दै थिइन्, 'लेखिएको औषधि खाने, एक दिन बिराएर ड्रेसिङ गर्ने, टाइट अन्डर वेअर लगाउने, हप्ता दिनमा फलो अप गर्ने (ओपिडीमा), अप्ठ्यारो परे तुरुन्त इमर्जेन्सीमा आउने।
यसपछि हामीले टिचिङबाट कीर्तिपुरसम्मको यात्रा सुरु तय गर्यौं। कोठा पुग्दा राति भइसकेको थियो।
पुस १५ गते मंगलबार।
नेपालीका लागि सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात। आज ड्रेसिङ गर्न घरमै मान्छे बोलाइयो। यत्तिकैमा वर्षको छोटो दिन बित्यो। लामो रात सुरु भयो। अरूको लागि यो रात कस्तो भयो थाहा भएन। मेरो लागि भने यो रात साँच्चै लामो भयो। बेलुका हलुका ज्वरो आयो। जसरी रात छिप्पिँदै गयो, ज्वरोको तापक्रम पनि बढ्दै गयो। रात छिप्पिँदै फेरि बिहान भयो। मलाई भने बिहानसम्म ज्वरो आइरह्यो। लामो रातको साक्षी बनेर जाग्राम बसियो। चिसो पानी जीउमा परेपछि मात्र ज्वरो कम भयो।
पुस १६ गते बुधबार।
अन्योलमा परियो। आजै इमर्जेन्सीमा जाने कि? भोलि पालो अनुसारको ओपिडीमा?
संवेदनशील अंगमा यति ठूलो प्वाल पारिएको छ। ज्वरो आउनु स्वभाविक जस्तो लाग्यो। डाक्टरले भनेझैँ सुन्निन सक्छ। सुन्निएकै थियो। मेरो मनले भोलि ओपिडीमै देखाउने निर्णय लियो। मेरो अवस्था देख्दा परिवारले भन्थिन् बिचरा! सञ्चै मान्छेलाई बिरामी बनाइयो। खासै दु:ख पनि दिएको थिएन त्यसले।
पुस १७ गते बिहीबार।
फलो-अप गर्ने पालो। पालो दिउँसोको थियो। समस्या झन् बढे जस्तो लाग्न थाल्यो। हप्ता दिनमा केही फरक महसुस लागेन। मेरो पालो आयो। डाक्टरले अघिल्लो हिष्ट्री हेरे।
सोधे- कस्तो छ?
मैले भनें- राम्रो छैन।
फेरि सोधे- घरमा अप्ठ्यारो भा'थ्यो?
भनें- मंगलबार राति निकै ज्वरो आयो।
उनले भने- त्यतिबेलै इमर्जेन्सीमा आउनु पर्दैन?
डाक्टर रिसाए। म चुपचाप बसिरहें। केही बेरको चेकअप पछि डाक्टरले भने- इमर्जेन्सीमा फेरि अल्ट्रासाउण्ड गर्ने। भित्र अझै पनि केही जमेको जस्तो छ। रगत पनि हुन सक्छ। पिप पनि हुन सक्छ। यो रगत जाँच गर्ने।
रिपोर्ट हेरेपछि त्यसपछि के गर्ने भन्ने कुरा म इमर्जेन्सीमा आएर भन्छु भन्दै हामीलाई इमर्जेन्सीमा रिफर गरे। अल्ट्रासाउण्डको लागि पैसा तिरेर हामी युएसजी रुमको ढोकातिर बस्यौं। हामी भन्दा अगाडि एक/दुई जना अरू पनि थिए। निकै बेरपछि एक जना पुरूष कर्मचारी बाहिर निस्के। अनि ढोकामा ताल्चा हानेर गायब भए।
'मेरै पालोमा हराउनुपर्ने यो डाक्टर?,' पालोको सुरुमा बस्ने बिरामी कड्कियो, 'इमर्जेन्सी भनेको चौबीसै घन्टा दिनुपर्ने सेवा होइन र?, कस्तो चाल हो यो अस्पतालको?'
बडेमानको पेटलाई सलले ढाकेकी महिलाले गुनासो गरिन्- करिब आधा घन्टा भन्दा धेरै भयो। कोही पनि त्यो कोठा नखोल्ने। अल्ट्रासाउण्ड गर्ने बिरामीको संख्या थपिँदै गयो। बीचमा एक जना महिला ताला खोलेर भित्र छिरिन्। मान्छेहरु ढोकामा झुम्मिन थाले। ती महिला केही लिएर बाहिर निस्किन् र फेरि ढोकामा ताल्चा लगाइन्।
'डाक्टर कहिले आउने यहाँ,' भीडमा सबैले कराए।
'एक छिनमा आउनु हुन्छ। पर्खिदैं गर्नुस्' प्रायः अस्पतालमा बोलिने भाषा बोल्दै ती महिला पनि भीडमा हराइन्। पर्खेको पौने घन्टापछि सेतो एप्रोन लाएकी सानी र फुर्तिली महिला ताला खोलेर भित्र छिरिन्। एकएक गरी भित्र बोलाइन्। दुई जनापछि मेरो पालो आयो। सुन्निएको घाउमा चिप्लो दल्दै एक हातले मेसिनको टुप्पो यता उता सारिन् अर्को हातले स्क्रिनमा हेर्दै क्लिक-क्लिक बटन थिचिन्। केही मिनेटपछि कालो फोटो प्रिन्ट गरिन्। रिपोर्ट अलि लामो लेखिन्। रिपोर्ट सँगै कालो फोटो पनि गाँसिन्।
'घाउमा रगतको साथै अरू स-साना मासु जस्तै फोहोर जमेको छ। सम्बन्धित डाक्टरलाई देखाउनु' भन्दै रिपोर्ट दिइन् अनि 'नेक्स्ट' भनी अर्को बिरामी बोलाइन्।
इमर्जेन्सीको ग्रिन जोनको किनारको बेडमा डेरा जमाएँ। यतिबेलासम्म म इमर्जेन्सी वार्डको बिरामीमा गनिन थालेँ। आठ बजेतिर मलाई हेर्ने युरो-डाक्टरले मेरो फाइल हेरे। अल्ट्रासाउण्डको रिपोर्टमा आँखा दौडाए। रगतको रिपोर्ट सबै सामान्य थियो।
'टाँका खोलेर सफा गर्नुपर्छ। अनि भर्ना गर्नु पर्छ' भर्ना हुने निश्चित भएपछि परिवार कीर्तिपुरतिर लागिन्। राति बस्नलाई चाहिने न्यूनतम सामान मात्र ल्याउनु है। मैंले भने। उनी मूल ढोकाबाट हतारिँदै बाहिर निस्किन्। म ईमर्जेन्सी वार्डको माहोल हेर्दै बसेँ। ९ बजेतिर डाक्टर फेरि आए। कागजको चिटमा सामानहरूको लिस्ट दिंदै भने- घाउ अहिले नै सफा गरेर हेर्छु। त्यसपछि घाउ फेरि सिलाउने कि हरेक दिन ड्रेसिङ गर्ने? अवस्था हेरेर भन्छु।
पौने दस बजेतिर परिवार फर्किइन्। चिटमा लेखिएको औषधि र सामान किन्न फार्मेसीतिर लागिन्।
औसत उचाइ, ठिक्कको ज्यान अनि माथिबाट हरियो ज्याकेट लाउने डाक्टर नै मेरो लागि खास थिए। मेरा आँखा तिनै डाक्टरलाई खोजिरहेका हुन्थे। एप्रोन नलाउने ती डाक्टर परैबाट चिनिन्थे।
एघार बजेतिर डाक्टर फेरि आए। सामान लिएर एक तला माथि माइनर ओटीमा बोलाए। हामी माथि गयौँ। बाहिर पानी परेको थियो। चिसोले जीउ कापिरहेको थियो। कापिरहेको जीउमा फेरि पीडा थपिने निश्चित थियो। ओटी खाली भएपछि म भित्र छिरेँ। बेडमा पल्टिएँ। सबै कुरा सुरूमा अप्रेसन गरे जस्तै थियो। दुई वटा कुरा फरक थियो।
पहिलो- डाक्टर आज एक्लै थिए। दोस्रो- अस्ति टाँका सिलाएर पठाए। आज खोलेर पठाउनेवाला थिए।
डाक्टरले काम सुरु गरे। खोलखाल पारेर ठूलो सिरिन्जले प्याच-प्याच पिचकारी जस्तै सलाइन पानीले जमेको फोहोर सफा गरे। पानी सङ्गै डल्लो परेका रगतका टुक्राहरु पनि पखालिए। जीउ हलुका भयो। यस पटक टेप बेरेको मन पर्यो। टेप बेर्दै गर्दा व्यक्तिगत कुरा सोधेँ। अजय नाम गरेका उनी पोखराबासी रहेछन्।
इमर्जेन्सी वार्डमा पुगेर उनले भर्नाको लागि मेल सर्जिकल वार्डको क्याबिन नं २०४ एका लागि रिफर गरे। अब म सर्जिकल वार्डको बिरामी भएँ। भर्ना प्रक्रिया पूरा गरिसक्दा रातको एक बजिसकेको थियो। झोलीझुम्टा लिएर पहिलो पटक बेडमा पुग्दा कताकता यो बेडमा पहिले पनि बसेको जस्तो लाग्यो। बेडमा पल्टिँदा याद गरें। २०७३ साल जेठ २ गते। भक्तपुर क्यासर अस्पतालमा हुँदा आमालाई दुईटा टेस्टको लागि टिचिङ रेफर गरिएको थियो। आमालाई भर्ना गर्दा यही बेड परेको थियो। भावानात्मक रूपमा मलाई यो बेडप्रति बढी माया लागेर आयो। म भावनामा बग्न थालें।
त्यतिखेरको याद मस्तिष्कबाट बिउझिएँ। मासु खाने इच्छा जाग्यो आमालाई। दौडेर चिकन रोष्ट ल्याएँ। यही बेडमा मिठो मानी चपाएको हिजो जस्तै लाग्छ। दुई रात यही बेडमा बसेर हतार हतारमा डिस्चार्ज गरेको पनि हिजो जस्तै लाग्छ। तर यथार्थमा आमा यो धर्तीमा हुनुहुन्न। म भने कुनै बेला आमा सुत्नु भएको बेडमा पल्टिरहेको थिएँ। सँगैको बेन्चमा मेरी कुरूवा कालो म्याटमा निदाइरहेकी थिइन्।
२०७६ पुस २० आइतबार
बिहानको तीन बजेको थियो। परिवार गहिरो निद्रामा थिइन्। स्कुलमा बच्चाको परीक्षा, अस्पतालमा श्रीमान् बिरामी, दुईतिर दौडधुप। निन्द्रा किन नलागोस्? निन्द्रा त मलाई पो लागेन।
बिहानको राउन्ड सुरु भयो। अरू दिनभन्दा धेरै डाक्टरहरूको टोलीले मलाई घेरे। घाउ हेरे। ड्रेसिङपछि डिस्चार्ज गर्ने प्लानिङ गरे। ड्रेसिङ गर्न एक बजेतिर एक जना महिला डाक्टर आइन्। पुरानो पट्टी खोलिन्। औषधियुक्त नयाँ पट्टी लगाइन्।
'सुरूको दिनमा तपाईं पनि हुनुहुन्थ्यो हो?' मैले सोधेँ।
'हो। सुरूवात त मैंले गरेको हो' उनी हाँसिन्।
'यस्तो केस कत्तिको आउँछ?' मैँले प्रश्न थपें।
'थुप्रो आउँछ नि। करिब ५० प्रतिशत पुरूषलाई हुन्छ। सबै अस्पताल नआएर पो त।' टेप टाँस्न सुरु गरिन्।
अन्तमा मैँले धेरै धेरै धन्यबाद भने।
उनले पनि स्वास्थ्य लाभको कामना गरिन्।
आजको ड्रेसिङ सकियो। डिस्चार्जको फाइल पनि तयार भयो। एउटा झोला र कालो म्याट बोकेर क्याबिन नं २०५ बाट मेरो परिवार निस्किन्। म पनि लुखुरलुखुर टिचिङ अस्पतालबाट बाहिर निस्कें।