‘दिदी, लामो–लामो श्वास फेर्नुहोस्। भित्रबाट बल आएपछि मात्र मुख बन्द गरेर बल थप्नुहोस्।’
– म सक्दिनँ। सक्दै सक्दिनँ। बरु मेरो अपरेसन गरिदिनुस्।
‘तपाईंको बच्चा बाहिर आउने क्रम राम्रो भइरहेको छ। पटक्कै नआत्तिनुहोस्। केही बेर प्रयास गर्नुहोस्।’
– ऐया, ऐया, ऐया। मरें नि आमा मरें।
घन्टौंसम्मको क्रन्दन, छट्पटाहट, डाहा, औडाहा र असिम पीडाका बीच मेडिकल टिमको सहयोगपछि च्याँहा–च्याँहा आवाजसँगै नवजात शिशु यो धर्तिमा ओर्लन्छ। शिशुलाई आमाको छातीमा टाँसिदिएसँगै प्रसव पीडाको आँधी थामिन्छ।
आँधी त थामियो तर उनको अनुहार उजेलिएको छैन। छोरा जन्मिएको हो कि छोरी? उनको अनुहारको छटपटी बेग्लै छ। उनी क्वारक्वार्ती मेरो अनुहारतिर हेर्छिन्। आँखाभरि प्रश्नका लस्कर छन्। शिशुको तौल नाप्नका लागि आमाको छातीबाट बच्चा झिकेर बेरिएको कपडा यसो उचाल्दै म सोध्छु, ‘दिदी भन्नुस् त ल, के जन्माउनु भएछ?’
छोरी। खिस्रिक्क पर्दै, बोली थर्थराउँदै, थकथक मिसिएको जवाफ आउँछ। उनको अनुहारको रङ यसरी बदलिन्छ कि मानौं उनको फोक्सोले श्वास नै लिएन, हेमोग्लोबिनले अक्सिजन नै बोकेन, मुटुले रक्तसञ्चार नै गरेन। उनको अनुहार निलो भयो।
०००
लेबर रुम बाहिर सुखद समाचारको ब्यग्र प्रतीक्षा गरिरहेका परिवाजन र इष्टमित्रका लागि शिशुको आगमन खासै सुखद समाचार बन्न सकेन। सबै खिस्रिक्क परेजस्ता देखिए। फेरि छोरी! आवाजमा थकथकी मिसिएको थियो।
भोलिपल्ट उनै सुत्केरी महिला पिएनसी वार्ड (पोस्ट न्याटल केयर वार्ड अर्थात् सुत्केरी भएपछि राखिने कक्ष) मा भेटिइन्। खुम्चिएको निधार, कालो पोतोले ढाकिएको अनुहार, शिथिल शरीर। आडैमा नवजात शिशुलाई कपडाले बेरेर राखिएको थियो। छेउको कुर्सीमा एउटी महिला गमक्क परेर बसेकी थिइन्।
नजिकै गएर सुत्केरीलाई सोधें, ‘दिदी तपाईंलाई कस्तो छ?’ उनले मलिन आवाजमा जवाफ दिइन्, ‘ठिकै छु।’ के खानुभयो? घाउ दुखेको छ कि छैन? सुप खाइसकेको र केही बेरमा खाना खाने उनले जवाफ दिइन्। नानीले दूध राम्ररी चुसेकी छन् कि छैनन् भनेर सोध्दा ती गमक्क परेकी महिलाले जवाफ दिइन्, ‘दूध चुसिराछे।’
‘हजुर उहाँको आमा?’ मेरो प्रश्न। ‘होइन। सासु हुँ, यो मेरी कान्छी बुहारी।’ कति राम्री नातिनी जन्मिछन् है। मैले यसो भन्दा उनको जवाफ थियो, ‘नातिनी त फालाफाल छन् नि। मैले लगातार तीन वटी छोरा जन्माथें। सबैले कति लक्षिनकी भन्थे। दुईटै बुहारीले पहिलो पटकमै छोरा पाए। यो कान्छीको त तेस्रो छोरी हो। यस्तो तालले यसले कहिले छोरा पाउछे खै? कान्छाको त वंशै मासिन्छ कि खै?’ उनका कुराले मलाई खिन्न बनायो।
यत्तिकैमा परबाट मलिन अनुहार लिएर अल्मलिएझैं गरी छेउछाउको बेड चियाउँदै दुई–तीन वटा थोत्रा झोला बोकेर एउटी महिला त्यहाँ आइपुगिन्। मिलेसम्म झुकेर ती गमक्क परेकी महिलालाई भनिन्– ढोग गरें सम्धिनीज्यू। गमक्की परेकी महिला थप गमक्क परेर फिस्स हाँस्दै हात जोडे–जोडेझैं गरिन्।
नातिनी हेर्न र सुत्केरी स्याहार्न अस्पताल आइपुगेका दुवै महिला लगभग एकै उमेरका जस्ता देखिन्थे। उस्तै लवाइ, उस्तै लवज र उस्तै चालढाल, तर उनीहरुको प्रस्तुति विल्कुल फरक थियो।
०००
एक दिनअघि छोरी जन्मिँदा नवजात शिशुकी आमाको प्रतिक्रिया देखेर मलाई खिन्न लागेको थियो। म निचोडमा पुगेको थिएँ कि ती महिला छोरी जन्मिँदा खुसी नहुनुको कारण नितान्त उनको छोरावादी सोच मात्र थिएन। यो त हाम्रो समाज, संस्कृति, चेतनाको स्तर र महिलाको अवस्थाको उपज थियो। तर आज दुईटी सम्धिनी (छोरा र छोरीकी आमा) भेटमा देखिएको विभेदको खाडलले मलाई फेरि सोचमग्न बनायो। एकातिर लत्रेको भाव थियो, अर्कोतिर बडप्पन। कस्तो नसुहाएको।
राष्ट्रिय स्तरमा महिला अधिकारका लागि समग्र महिला एकै साथ मिलेर घन्काएका नारा एकातिर, संविधानमा सुनिश्चित गरिएका हक अधिकार एकातिर तर आम महिला भित्रको आन्तरिक विभेदको खाडल अर्कातिर। लैंगिक विभेदसँग जोडिने सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक पाटाहरु अर्कातिर। यही विभेद भित्रबाट जन्मिन्छन् छोरा र छोरीका आमाबीच हुने असमानताका अनेक कथाहरु।
छोरा जन्माउँदा होस् या छोरी, पीडा उस्तै हो। तर खुसी नाप्ने मेसिन के छ कुन्नि? कहिले खिस्रिक्क, कहिले फुरुक्क। एउटी महिला आफूलाई सम्पूर्ण ठान्छिन् जतिखेर उनी छोराकी आमा बन्छिन्। सिंगो संसार यस्तै छ? छैन। हाम्रो सेरोफेरोको संसार चाहिँ यस्तै छ। सामाजिक चालचलन, संस्कृति, वंश र अंश जोगिएको ठान्ने परम्पराले गर्दा यो खुसीसँगै आमाको मनमा अहंकार पनि विस्तारै थपिँदै जान्छ। उनले आफूलाई भाग्यमानी र लक्षिनकी ठान्छिन्। छोराको बाबुको फूर्तिफार्ती पनि बेग्लै हुन्छ।
एउटै छोरी नजन्माएर छोरैछोराको लस्करबीच बाँचेकी आमाको सुरुसुरुको फूर्तिफार्ती र जीवनप्रतिको सन्तुष्टि नै बेग्लै हुन्छ। तर थाहा नपाइकनै जिन्दगीको एउटा असाध्यै चहकिलो रङ उनले गुमाइरहेकी हुन्छिन्। छोरी अर्थात् आफूजस्तै मान्छे। उस्तै मन, उस्तै मुटु उस्तै भावना। सानी गुडियाजस्ती छोरी थाहै नपाइकन कति आत्मीय साथी बन्छे। आमाका लुगा, कपडा, गहना लुकिलुकी लगाउँछे छोरी।
सुरुमा आमा हप्काउँछिन् नक्कल पारी भनेर। तर पछि नक्कल पार्ने सुन्दर अक्कल हुर्कंदै गरेकी छोरीबाट उनैले सिक्छिन्। सुखदुःखको असल र भरपर्दो साथी बन्छे छोरी। पतिसँग, छोरासँग भन्न नसक्ने कुरा, दुःख र रोग आमाले छोरीलाई सुनाउनै पर्दैन। आमाको आँखाको भाका हेरेरै सबै बुझ्छे उसले। अनि आमाको अनुहार मात्र होइन, मन पनि उजेलिंदै जान्छ।
तर, समाज सन्चो छैन। कसैसँग बोली कि, कतै गई कि? ढिलै आए पनि पिरै, कतै गए पनि पिरै। डरडरै घर सम्झेर छोरीले दिएको उज्यालोलाई सामाजिक परिवेशले अर्कै बनाइदिन्छ। यो समस्याबाट मुक्त छिन् छोराकी आमा। मान्छे पिटे पनि बहादुरी गरेर आएछ भन्दै गमक्कै पर्छिन्।
अनुशासनहिन बनाएर राख्दा भोलि उसले परिवारमात्र होइन, समाजलाई नै पिर्छ। आमा पिर्न जानेको छोरोले भोलि बिहे भएपछि अर्काको छोरीलाई झन् पिर्छ र समाज बिरामी भइरहन्छ। पिराहाको संसारले पिरिएर। सामाजिक परिवेशमा छोराका आमाले झुक्न जानेका हुँदैनन्। झुक्नु लत्रिनु होइन। फल्नु हो। फुल्नु हो। सुवास छर्नु हो। यस्ता कुरा उनीहरुले बुझेका हुँदैनन्।
समाज पाइलापाइलामा छोरीको परीक्षा लिन्छ। कति धेरै व्यवहार जानेर, कति धेरै सप जानेर, कति धेरै असल चालचलन सिकेर एउटी छोरीले स्कुले शिक्षा सिध्याउँछे। उनकै उमेरको छोरो एक कप चिया पनि पकाउन नजानेर, एउटा सर्ट पनि धुन नजानेर, मान्छेलाई नमस्ते पनि गर्न नजानेर कति रुखो बनेर त्यो जीवन छिचोलेको हुन्छ।
जब बिहे गर्ने बेला आउँछ, छोरावादी सामाजिक अहंकारको प्रतिबिम्व छताछुल्ल बन्छ। विवाहमा समान, सम्मानित र सभ्य माहोल देखिँदैन। छोरी जन्मेसँगै झुकेको शीर छोरीको बिहेपछि आफूजस्तै अर्की महिलाको शीरमा पुगेर ठोकिन्छ। र, बारम्बार ठोकिइरहन्छ। छोराको आमालाई विशेष सम्मानका साथ महँगो उपहार पठाइन्छ। किनकी उनले छोरा जन्माइन्, हुर्काइन् र ठूलो बनाइन्। तर छोरीकी आमाको उस्तै देनको कदर गरिँदैन।
दुईटा परिवार जोडिएर बनेको सम्बन्धमा एकतर्फी मलजल छोरीकै परिवारले गरिरहन विवश हुन्छ। सम्धिनी भेट होस् या हस्पिटलको बेडभित्रको भेट, छोरीकी आमा लत्रिएकै हुन्छिन्। यस्तो कुरालाई हाम्रो समाजले किन संस्कार भन्दै मलजल गरिरहन्छ? समान र न्यायोचित समाज निर्माणको आवाज किन मलिनो छ?
संस्कारविहीन बनेर हुर्किएको छोराको लागि समाज संस्कारी बुहारी खोज्छ र पाइलापाइलामा बुहारीको संस्कार जाँचिइरहन्छ। एक दिन पास भएर पुग्दैन, छिनछिनमा जाँच लिइरहन्छ।
हामी धर्तिलाई आमा मान्छौं। देशलाई आमा मान्छौं। अनि आमाले जन्माएका छोरीलाई र छोरी जन्माउने आमालाई समाजका अनेक विभेदकारी चालचलनले बाँधेर किन अपमानित गर्छौैं? छोरीकी आमाले आफ्नो जिन्दगीको सबैभन्दा गाढा र चम्किलो रङ अर्काको घर सिंगार्न पठाएकी हुन्छिन्। एउटा अनिश्चित भविष्य बोकेर आफ्नो सन्तानलाई अर्काको हातमा सुम्पिएकी हुन्छिन् र एक्लै अँध्यारो कुनामा बसेर आफ्नो ममतालाई आँसुको भेल बनाएर बगाइरहेकी हुन्छिन्। कसले बुझ्छ त्यो भेललाई? त्यो भेलको अवमूल्यन गर्दै उनको शीर आफूजस्तै अर्की महिलाको पाउमा बारम्बार ठोक्किन्छ किन?
माया, प्रेम, स्नेह र हार्दिकताले सम्बन्धलाई मलजल गर्ने हो भने बुहारीमा आफ्नो छोरीको प्रतिबिम्व भेट्न सकिन्छ वा नजन्मिएकी छोरीको प्रतिबिम्व भेट्न सकिन्छ। त्यसैगरी सासु–ससुरामा पनि उनले आफ्नै आमाबाबुको प्रतिबिम्व भेट्न सक्छिन्। तर मन फराकिलो नबन्दा समाज पारिवारिक किचलोमा रमाइरहेको छ। किचलोमा रमाउनुभन्दा स्नेह, हार्दिकता र आत्मीयतामा रमाउन सके समाज कति सुखी र सिर्जनशील बन्थ्यो होला हाम्रो समाज।
(लेखक चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्नातकोत्तर तह, महिला स्वास्थ्य र विकास विषयमा अध्ययनरत छिन्।)