कोठाको ढोका बन्द जस्तो देखिन्थ्यो, तर बन्द थिएन। नजिकै गएर सोधें, ‘तिम्रो नाम के हो?’
‘रोहन, फुटबल खेलाडी रोहन’ भन्दै ऊ दुवै हात हावामा फूर्तिसाथ फैलाउँदै हाँस्यो। ‘रोहन कति राम्रो नाम है’ भन्दै म बाहिर निस्किएँ। उसको हाँसो गुन्जी नै रह्यो मस्तिष्कमा, ‘रोहन, हा हा रोहन हा हा...।’ मेरो अनुहार मलिन देखियो कि देखिएन थाहा छैन, तर मन भने भिजेको थियो।
रातको १० बजे फेरि एक पटक गएर हेरें। विस्तारै ढोका खोलें। उसको आमा हुनुपर्छ, छोराको खुट्टा समातेर ओछ्यानमा टाउको अड्याएर बसेकी थिइन्। मतिर पुलुक्क हेरिन्, मैले केही नबोली केटोलाई हेरें, ऊ निदाएको थिएन।
फेरि गएर हेरें। अब भने त्यो केटोभन्दा बढी छटपटी मलाई भइरहेको थियो। अघिभन्दा उदास र निधार खुम्च्याउँदै केही भन्न खोजे जस्तो गर्दै थियो। उसको हातखुट्टा चलाउन नमिल्ने गरी बाँधिएको थियो र देब्रे हातमा क्यानुला रोपेर स्लाइन दिइएको थियो। ऊ बेस्सरी गोल–गोल भन्दै थियो।
मृत्यु गोल गर्दै थियो, जीवन हार्दै थियो। उसको पीडा मिश्रित अट्टहासमा छेवैकी आमाको आँसु थामिएको थिएन। म ढोका भित्र–बाहिर गर्दै थिएँ।
पुसको चिसो रात काठमाडौंमा जस्तो हुन्छ त्यस्तै नै थियो। अस्पतालको आकस्मिक कक्ष खाली–खाली थियो। आकस्मिक कक्षसँगै दाहिनेतिर जोडिएको अर्को कोठा छ, जसको ढोकामा ठूलो अक्षरमा ‘रेबिज कक्ष’ लेखिएको छ। त्यही कोठाको ढोकामा उभिएर भित्र निस्लोट रोहनलाई हेरें, ऊ एकनास बर्बराइरहेको थियो। आमा भित्तातिर टोलाइरहेकी थिइन्।
०००
अस्पतालको वार्डतिर हिडें। कसैसँग केही बोल्न मन भएन। एउटा बेडबाट सुँक्क–सुँक्क आवाज आइरहेको थियो। मलाई त्यो आवाज आफैंले निकाल्दै रुन पाए हुन्थ्यो जस्तो भएको थियो।
केहीबेर त्यहीं सुनेर बसें। त्यो आवाज केही दिनअघि भर्ना भएकी एक बिरामीको थियो। लामो समय बिरामी परेपछि जाँच गराउँदा उनलाई एचआइभी भएको थाहा भएछ। त्यसपछि श्रीमान्लाई जँचाउँदा उसलाई पनि एचआइभी देखिएछ। श्रीमतीबाटै रोग सरेको हो भन्दै उसलाई छोडेछ। तर बिरामीको भनाइमा श्रीमान् भारततिर मजदुरी गथ्र्यो र उसबाट नै रोग सरेको थियो। एक्लै भएपछि उनलाई कुनै सामाजिक संस्थाले उपचारको निम्ति भर्ना गरेको थियो।
०००
आकस्मिक कक्षमा फर्किएर कुर्सीमा बस्नासाथ रोहनकी आमा आइन्। सारीको सप्कोले आँखा र अनुहार पुछिन्। त्यसपछि भनिन्, ‘अब के हुन्छ, के गर्ने?’ यो प्रश्नले मेरो मथिंगल हल्लियो। मैले स्वर नकपाउँने हदैसम्म प्रयास गर्दै भनें, ‘यो रोग निको हुँदैन।’
‘खोप लाउनुपर्ने थियो कुकुरले टोकेपछि। कसरी छुट्यो?,’ मेरो मसिनो स्वरसँगै हावामा बाफ निस्कियो। भित्ताको घडीले भर्खरै एउटा दिन पूरै निफनेको थियो।
न रोहनकी आमा बोलिन्, न म बोलें। बाहिर कता हो कता केही कुकुरहरू आपसमा बाझाबाझ गर्दै थिए। निकै बेरपछि उनले उठ्दै भनिन् ‘स्कूल जान्थ्यो, नजिकै। बाटोमा टोकेको थियो अरे, घरमा भनेन। मैले पनि घाउ देखिनँ।’
स–साना स्कुले बच्चालाई ‘कुकुरले टोक्दा रेबिज लाग्न सक्छ। रेबिज प्राणघातक रोग हो। खोप लगाए यो रोगबाट जोगिन सकिन्छ’ भनेर कक्षामा सिकाएको भए सायद रोहन पनि यो रोगबाट बच्ने थियो। सायद फुटबल खेलाडी पनि बन्थ्यो होला। यस्तैयस्तै विचारले मन एकतमास भयो।
बिहान झिसमिसेमै रोहनको मामा पर्ने एक जना आए। अनिद्रा र पिरले होला, अनुहार मलिन थियो। ‘रोहनको बुबा कतारमा हुनुहुन्छ। उसैलाई पढाउन बहिनी बुटवल बसेकी थिई। बुबाले एकदम पिर गरेका छन्, एक पल्ट कुरा गर्दिनुस् न,’ यति भनेर मतिर मोबाइल अघि बढाए।
कसैले तातो वस्तु अचानक हातमा राखिदिए जस्तो भयो। झसंग भएँ। कानमा टासें।
‘केही उपाय छैन त डाक्सा’ब?,’ उताबाट एकोहोरो रुँदै कोही बोल्दै थियो।
अहिले कल्पना गर्छु। त्यसबेला उसको एउटा हातमा बेल्चा थियो होला। या उसको अगाडि ट्रकमा लोड गर्नुपर्ने सामान थियो होला। या उसको अगाडि साहुको राताराता आँखा थिए होलान्। ऊ धित खोलेर रुन सकेको थिएन। हिक्क–हिक्क र ‘केही उपाय’ मिसिएको कारुणिक आवाजले मेरो मुटु निचोर्दै थियो। इमर्जेन्सी कक्षबाट कतिबेला बाहिर निस्किएँ, याद छैन। अलि पर पुगेर उसलाई भनें, ‘पिर नगर्नुस्। यस्तै भयो। आफ्नो ख्याल गर्नुस्।’
०००
माथि जनरल वार्डबाट कल आयो। कालाज्वरका एक जना बिरामीलाई गाह्रो भएछ। सर्लाहीतिरका बिरामी थिए। उनलाई केही दिनदेखि लगातार ज्वरो आइरहेको थियो। कसरी लाग्यो त यो कालाज्वर भन्दा उनी फिस्स हाँसेर भन्थे, ‘डाइन लागल।’ सुरुमा धामी–झाँक्रीकोमा दाम चढाएर केही सिप नलागेपछि बल्ल यहाँ आइपुगेका थिए।
०००
बिहान सात बजेको हुँदो हो, रोहन चिसो भयो। एकथान सपनाको अन्त्य भयो।
नजिकै उसको टाउको समाएर बसेकी थिइन् आमा। केही आवश्यक प्रक्रिया पूरा गरें। ‘डेथ सर्टिफिकेट’ बनाएर मामालाई दिएँ र भनें, ‘आमालाई सम्हाल्नुहोला।’
उनको आँसु रोकिएन।
अहिले इमर्जेन्सी कक्ष रातिको जस्तो खाली थिएन। म केहीबेर व्यस्त भएँ। मानिसका पीडाहरूलाई एकपछि अर्को, हेर्दै जाँदा त्यसले मनको अन्तर्यमा विस्तारै एक किसिमको स्वभाविकता जन्माउँछ क्यार। कसैको छाती दुखेको छ, कसैको पेट, कसैलाई सर्पले टोकेको छ। निको हुने रोगहरूको पीडा र तिनको उपचार गर्दैगर्दा मैले रोहनको मृत्युले दिएको पीडा भुल्दै थिएँ।
०००
करिब एक घन्टापछि रोहनको मामा आए, ‘अब हामी जान्छौं। एउटा चिठी बनाइदिनोस् न है?’
‘अघि बनाएर दिएको त्यही त हो नि,’ मैले भनें।
उनको आँखाको डिल सुन्निएको थियो। उनले पिठ्यूँमा कालो ब्याग भिरेका थिए। विस्तारै भने, ‘एउटा रिक्वेस्ट छ। कतारमा उसको बुबाको कम्पनीले उसलाई यत्तिकै आउन नदिने भो। यस्तो कारण देखाएर एउटा चिठी पठाएपछि मात्र उता कम्पनीले छोड्छ रे। यत्ति गर्दिनोस् न।’
मैले केही नबोली ‘हुन्छ’ को भावमा टाउको हल्लाएँ। विदेशी भूमिमा बँधुवा मजदूर भएर काम गर्दै गरेको एउटा बाबुको तस्बिर आँखामा आयो। जसको एक्लो छोरो भर्खर म¥यो। ऊ छोराको लास भए पनि हेर्न घर फर्किन चाहन्छ। बिदा पाउँदैन। रुँदै काम गर्दैछ। रुँदै फोन गर्दैछ। ‘केही उपाय’ खोज्दैछ।
अस्पताल प्रशासन गएँ।
‘जो जससँग सम्बन्धित छ, त्यस कम्पनीमा काम गर्ने फलानोको ११ वर्षे छोरोको यस अस्पतालमा, ...डिसेम्बर २० मा यस्तो रोगले यस्तो भएर मृत्यु भएकोले कृपया उहाँलाई घर फर्किन दिनुहोला।’
यस्तो व्यहोरा भएको एउटा चिठी अंग्रेजीमा तयार गरें। रोहनको मामा ढोकामै रहेछन्। चिठी दिएँ। उनले चुपचाप लिए र हात जोडे। केही बोल्नुपर्छ भन्ने लागेर शब्द खोज्दै थिएँ म। गला अवरुद्ध थियो। रोहनकी आमालाई पनि रेबिज विरुद्धको खोप दिन आवश्यक भएको थियो। त्यसैले ‘बहिनीलाई सम्झाएर खोपकक्षमा लानुस् है,’ मात्र भनें।
भित्र ‘अब म किन बाँच्नु’ भन्दै रोहनकी आमा रुँदै थिइन्। बाहिर मेरो मन अप्रिय प्रश्नहरूले कर्याप्प पारेका थिए। के त्यो नेपाली मजदूरले छोराको मृत्युमा रुन छुट्टी पाउला? श्रीमतीले राम्रोसँग छोरोको हेरचाह गरिनँ भन्दै फोनमा रोएको साँच्चै हो कि मलाई त्यस्तो लागेको हो? दुःख यत्तिमै सीमित होला र?
मानिसका सम्बन्धहरूले दुःख पर्दा समेत दुःख नै दिएको देखेकोले, सम्झेरै दिक्क लाग्यो।
०००
ड्युटी सकिएको थियो। झोला बोकेर अस्पतालको गेटबाट निस्किएँ। थाकेको थिएँ। तर बस चढ्न मन भएन। टहलिँदै हिँड्न मन लाग्यो। अलि अगाडि भित्तामा हँसिया–हथौडा अंकित चिह्न थियो। ‘समाजवादतर्फ अघि बढौं’ लेखिएको थियो खुइलिएको रातो रङमा। अर्को भित्तामा रुख चिह्न थियो। त्यसमा पनि समाजवाद थियो। के मजदूरहरूले सुबिस्ताले रुन पाउलान्? के नेपालमा समाजवादले भित्ता छोड्ला र रुग्ण बस्तीमा पस्ला? सोच्दै हिँडिरहें।
बागमती पुलमा पुगें। तल उसैगरी लेदो बगिरहेको थियो। माथि आकाश पनि धमिलो थियो।
मोबाइल बज्यो। खल्तीबाट मोबाइल झिक्दा एउटा कागज भुइँमा खस्यो।
‘हेल्लो’ भन्दै भुइँबाट कागज टिपें र हेरें।
‘जो जससँग सम्बन्धित छ’अघिको चिठीको खेस्रा पढें।
‘को कससँग सम्बन्धित छ?’ उसले झर्कंदै सोधी।
‘खोइ’ प्रश्न आइराह्यो– को कससँग सम्बन्धित छ? र बन्द भो।
अचेल पनि कहिलेकाहीं सोचिबस्छु। रोग र सम्बन्धहरूबारे!
(बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान)