समय बदलिएसँगै चिकित्सकहरूको भूमिका फेरिएको छ। अथवा भनौं दायरा फराकिलो भएको छ। भूमिकामात्रै होइन, चिकित्सकप्रति बिरामीका अपेक्षा फेरिएका छन्। चिकित्सक र बिरामीबीचको सम्बन्ध फेरिएको छ। सँगसँगै राज्य संयन्त्रले हामीमाथि हेर्ने दृष्टिकोण पनि फेरिएको छ। आम नागरिकका आँखामा कुनैबेला हामी भगवानकै दर्जामा थियौं भने अहिले हाम्रो दर्जा फेरिएको छ। राज्यका नजरमा पनि हामी सरकारी डाक्टरहरु सरकारी नुन खाएर प्राइभेट पोस्ने डाक्टर र निजीमा काम गर्ने डाक्टरहरु पनि राज्यप्रति कुनै दायित्व नभएका डाक्टरको ट्यागबाट खासैमाथि उठ्न सकेका छैनौं।
यस्तो पृष्ठभूमिमा हुन गइरहेको चिकित्सक संघको चुनावको संघारमा यो विषय महत्वका साथ छलफल हुनु जरुरी छ। अब हामीले पनि आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। हामी डाक्टरहरुका पनि केही कमजोरी भए कि? हाम्रै साथीहरुबाट पेशा र बिरामीका हकहित प्राथमिकतामा नपरेर पनि समस्या सिर्जित भएको हो कि? हाम्रैमात्रै कारण हो त? पक्कै होइन । बिरामी र डाक्टरबीचको सम्बन्धमा ह्रास आउनुमा मुख्यतः हाम्रा सरकारी अस्पतालहरुको दुरवस्था प्रमुख हो। बिरामीहरु आशाको पुलिन्दा बोकेर डाक्टरको आइपुग्ने तर व्यवस्थापकीय कमजोरी र स्रोत साधनको अभावका कारण बिरामीहरु निराश भएर फर्कनुपर्ने अवस्था छ।
हाम्रा पेशागत समस्याको फेहरिस्त लगाउन म यहाँ चाहन्नँ किनभने हामी सबैलाई त्यो थाहै छ। पछिल्लो समय चिकित्सकहरुको सुरक्षा, वैज्ञानिक रुपमा तलबभत्ताको समायोजन, निरन्तर दक्षता विकास, विशेषज्ञ सीटहरुको विस्तार र डाक्टरहरुको पेशाप्रतिकै नैराश्यताको न्यूनीकरण नै हाम्रो सामुन्ने देखिएका प्रमुख चुनौती हुन्।
आगामी नेतृत्वले पनि यी मुद्दालाई नै आफ्नो प्राथमिकता बनाउने प्रतिबद्धता गर्दछु। तर म निर्वाचित हुनासाथ यी मुद्दा सल्टिहाल्छन् भनेर झुटा वाचा गर्नु भन्दा हामी निर्वाचित भएपछि यी समस्या समाधानका लागि इमान्दार प्रयास गर्ने प्रतिबद्धता जनाउछौं। सरोकारवाला सबैसँग बसेर छलफल गर्दा सर्वोत्तम बाटो जुन हुन्छ, त्यो बाटो तय गर्न र त्यसका लागि पूरा इच्छाशक्तिसहित लड़न हामी प्रतिबद्ध छौं।
हाम्रा पेशासंग सम्बन्धित हकहितका अहिले जति पनि मुद्दा छन्, ती आम नागरिकसँग जोड्न नसकिएको हाम्रो यथार्थ हो। यी मुद्दा चिकित्सकका मात्रै होइनन्, हाम्रै मुद्धा हुन् भन्ने महसुस गराउनुको साटो हामी र हाम्रा मागप्रति नकारात्मक धारणा व्याप्त छ। त्यो गराउने कसरी त? हामीले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्न जुन प्रयास गरिरहेका छौं, त्यो बुझाउन जरुरी छ।
न हामी मरेका बिरामी बचाउने भगवान हौं, न हामी सद्दे मानिसलाई बिरामी बनाउने ठग हौं, हामी केवल इमान्दार प्रयास गर्ने डाक्टर हौं भनेर बुझाउन जरुरी छ। उपकरण र औषधि अभावमा चिकित्सकको दोष छैन, सरकारको स्वास्थ्य क्षेत्रप्रतिको उदासिनताको पनि दोष छ भनेर बुझाउन जरुरी छ। एकै डाक्टरले दिनको २०० बिरामी हेर्नुपर्दा ५० जना हेरेको जस्तो पर्याप्त समय दिएर गुणस्तरीय सेवा दिन सक्दैनौं भनेर बुझाउन जरुरी छ। अनि महिनाको मुस्किलले ४० हजार तलबमा काम गर्न बाध्य भएकाले हामी निजी क्लिनिकमा पनि काम गर्नुपरेको हो भनेर बुझाउन जरुरी छ। यति भन्दै गर्दा हाम्रा पनि कमजोरी छन् भनेर आत्मसमीक्षा गर्न पनि उत्तिकै जरुरी छ।
यति गर्न सक्यौं भने मात्र डाक्टर र बिरामीबीचको सम्बन्धमा जुन ह्रास आएको छ, त्यसमा केही मल्हमपट्टी लगाउन सकिन्छ। हाम्रा पेशागत मुद्दामा आम मानिसहरु जोडिएपछि मात्रै हाम्रा माग स्थापित गराउन सकिन्छ र पुरा गराउन सकिन्छ।
आगामी निर्वाचन अर्को एक मानेमा पनि महत्वपूर्ण छ। अहिले आम चिकित्सक र राज्यबीच थुप्रै मतभिन्नता छन्, हाम्रा मतैक्यता त कमै विषयमा छन्। यस्तो परिस्थितिमा भोलि परिआएको खण्डमा राज्यसंयन्त्रसँग भिडेर हामी चिकित्सकहरुको हकहितको सुरक्षार्थ दह्रो खुट्टा टेक्ने चिकित्सक संघ आजको आवश्यकता हो। सरकारको ज्यु हजुरी गर्ने चिकित्सक संघले हाम्रो हितको सुनिश्चितता गर्छ भनेर सोच्नु मुर्खता हो। मुलुकी ऐनको सवालमा होस् वा डा। केसीको माग पुरा गर्दै जीवन रक्षार्थ गर्ने सवालमा होस् वा डाक्टरको कार्यक्षेत्रमा आवश्यक सुरक्षाको सवालमा होस्, हामीले विगतमा पनि दह्रो गरि खुट्टा टेकेको स्मरणीय छ र भविष्यमा पनि उसैगरि उभिन प्रतिबद्ध छौं।
निर्वाचित भइसकेपछि हामी के–के गर्छौं त? धेरै कुरा त माथि नै आइसकेका छन्। सबै साथीहरुसँग बसेर प्राथमिकता निर्धारण गर्नेछौं। रेजिडेन्सीको सिट बढाउने सवालमा चिकित्सा शिक्षा ऐन जारी भइसकेपछि अब बोर्ड अफ मेडिकल स्पेसियालिटिजसँग समन्वय गर्दै संघले सोका लागि दबाब जारी राख्नेछ। चिकित्सकहरुको तलब वृद्धिका लागि डाक्टरहरु संघको नेतृत्वमा पुनः एकपटक आन्दोलित हुनुपर्ने हुन्छ। सुरक्षाको विषयमा पनि अघिल्लो नेतृत्वले सरकारसँग छलफलमार्फत् जुन कार्य बढाएको छ, त्यसलाई निरन्तर जारी राख्दै दबाब सिर्जना गर्न जरुरी हुन्छ। सरकार र गृह प्रशासन पहिले नै यस मुद्दामा सकारात्मक रहेकाले हाम्रो प्रभावकारी नेतृत्वमा यस समस्यालाई निष्कर्षमा पुर्याछउन सकिन्छ भन्नेमा म विश्वस्त र प्रतिबद्ध छु।
चिकित्सक संघले युवा चिकित्सकहरुको भावनालाई विगतमा समेट्न नसकेको आरोप छ। इतिहासकै कान्छो संघ अध्यक्ष मैदानमा उत्रनुले सो भावनाको संबोधनको शुरुवात भयो भन्ने हामीलाई लाग्छ । संगै संघले गठन गरेको जुनियर विंगलाइ पनि निरन्तरता दिने र थप सशक्त बनाउन हामी प्रतिबद्ध छौं। सँगै दक्षता विकासका लागि पछिल्लो समय जुनियर चिकित्सक संघलाई लाई सबल बनाउने हाम्रो प्रयासले केही सफलता प्राप्त गरेको देखिन्छ र सो जारी राख्न हामी प्रतिबद्ध छौं।
आम नागरिक र चिकित्सकबीचको सम्बन्ध सुधार गर्दै आम नागरिक, मिडियाहरुलाई साथैमा लिएरमात्रै समग्र स्वास्थ्य सेवा सुधारको काम सम्भव छ भन्ने मलाई लाग्छ। सरकारसँग समन्वय पनि गर्दै र परिआए संघर्ष पनि गर्दै हाम्रो पेशागत हकहित सुरक्षित गर्न सकिन्छ भन्ने म ठान्दछु। फेरिएको परिस्थितिको आभास गर्दै चिकित्सक संघलाई सोहीअनुसार परिमार्जन गर्दै अघि बढाउँदै लैजानुपर्दछ। चिकित्सक संघलाई नयाँ उचाइमा पुर्या उन आफ्नो जिम्मेवारीको ख्याल गर्दै अनुभव र जोश जाँगर दुवै बोकेर मैदानमा उत्रिएको छु। समग्र चिकित्सा समुदायको माया पाउने नै छु भन्नेमा विश्वस्त छु।
-(डा रिजाल चिकित्सक संघको असन्न निर्वाचनमा लोकतान्त्रिक समूहबाट महासचिवका उम्मेदवार हुन्।)