नर्स भन्नासाथ आम मस्तिष्कमा सेतो कपडा वा कोट लगाएकी महिलाको आकृति आउँछ। हुन पनि अधिकांश नेपालीले अस्पताल वा स्वास्थ्य संस्थाहरूमा पुरुष नर्स देखेका छैनन्।
कतिपय नेपाली शब्दकोशमा 'नर्स' को अर्थ 'परिचारिका' भनेर पनि लेखिएको पाइन्छ। त्यसैगरी १२५ वटा देशका नर्सिङ कलेजहरूमा पनि विद्यार्थीदेखि लेक्चरर, प्रोफेसरसम्म प्राय: सबै महिला नै हुन्छन्। यद्यपि नेपालमा पुरुष नर्सहरू हुँदै नभएका भने होइनन्।
अष्ट्रेलिया, अमेरिका, युरोपियन मुलुकहरू लगायत छिमेकी देश भारतमा समेत पुरुष नर्सको बाक्लो संख्या हुँदाहुँदै पनि नेपालमा भने किन नर्सिङ पेसामा महिलाको मात्र एकछत्र उपस्थिति छ त?
इतिहास केलाउने हो भने नेपालमा नर्सिङ शिक्षा तथा पेसाको प्रादुर्भाव भएको एक शताब्दी पनि भएको छैन। सन् १९२८ मा विद्यादेवी कंसाकार, राधादेवी मालाकार, धर्मादेवी कंसाकार र विष्णुदेवी माली गरी ४ जनालाई १८ महिने मिडवाइफरी ट्रेनिङ लिन भारत पठाएर फर्केपछि उनीहरूले वीर अस्पतालमा सेवा सुरु गरेदेखि नेपालमा नर्सिङ पेसाको सुरुवात भएको देखिन्छ।
औपचारिक कोर्षको हिसाबमा भने डा उमादेवी दास र रुक्मिणीचरण श्रेष्ठले सन् १९५२ मा भारत गई स्टाफ नर्स कोर्स पूरा गरी आएर वीर अस्पालमा सेवा सुरु गरेपछि थालनी भएको देखिन्छ। अझ नेपालमै नर्सिङ शिक्षाको सुरुवात त सन् १९५६ मा सुरेन्द्र भवनमा पहिलो नर्सिङ स्कुल स्थापना गरेपछि मात्र भएको हो।
अब कुरा गरौं पुरुष नर्स को। विसं २०७५ असार ५ गते नेपाल नर्सिङ काउन्सिलले एउटा सूचना प्रकाशन गर्यो। जसमा भनिएको थियो- अब नेपालमा पनि नर्सिङ विधाका कार्यक्रमहरू सर्टिफिकेट नर्सिङ र बिएससी नर्सिङमा पुरुष विद्यार्थीहरुलाई अध्यापन गराउने साथै नर्सिङ कलेजहरूमा १५ प्रतिशत कोटा पुरुष विद्यार्थीको लागि उपलब्ध गराउने। यो कुरा कतिपयको लागि हाँसोको विषय बन्यो भने कतिपयले राम्रो निर्णय भनी स्वागत पनि गरे।
हुन त नेपालमा यो पहिलो पटक पुरुषलाई नर्सिङ अध्ययनमा अनुमति दिइएको भने होइन। सन् १९८६ (विसं २०४३) मा नै नर्सिङ अध्ययनमा १० प्रतिशत कोटा पुरुषको लागि छुट्याउने नियम बनेको थियो। सोही अनुरूप ४ व्याचसम्म ८० जना पुरुष नर्स पास आउट पनि भएका थिए। जसमध्ये कतिपय अझै पनि विभिन्न स्थानमा कार्यरत नै छन्। तर ४ वर्षपछि त्यो नियम नै स्थगित भयो।
अचम्म त के छ भने नेपालका कुनै पनि शैक्षिक कार्यक्रमहरुमा पुरुषको लागि कोटा छुट्याइएको छैन, सायद संसारमै विरलै होला। आखिर नर्सिङमै मात्र किन त यस्तो अनौठो कोटा सिस्टम? के कारणले गर्दा पुरुषलाई यो पेसामा सहभागी गराउन सकिएको छैन? वा भनौं पुरुषहरु नर्सिङप्रति आकर्षित छैनन् त? जबकि, पुरुषप्रधान हाम्रो देशमा अन्य जुनसुकै क्षेत्रमा पनि पुरुषकै प्रभाव बढी छ। यो नर्सिङ क्षेत्रकै एउटा बिडम्वना पनि हो।
पुरुष नर्सिङको अध्ययनमा निरन्तरता नहुनुको प्रमुख कारण थियो, बिरामीहरुले आफ्नो सेवाको लागि महिला नर्सलाई नै रुचाउनु। नेपाली समाजको मान्यताअनुसार पनि बिरामीको सेवा, हेरचाह गर्ने कामको लागि पुरुषभन्दा महिलालाई नै प्रभावकारी ठानिन्छ। महिलालाई स्वभावैले दया, करुणा, आत्मीयता, हार्दिकता, विनम्रता र धैर्यता जस्ता गुणले भरिपूर्ण मानिन्छ भने पुरुषमा यी गुणहरू कम हुन्छन् भन्ने गरिन्छ।
त्यसैगरी नर्सिङ पेसाको सेवा, सुविधा, तलबभत्ता चित्तबुझ्दो नहुँदा र दुर्गममा गएर काम गर्ने तत्परताको आभावले पनि पुरुषको नर्सिङ पेसामा लगाव नभएको हुनसक्छ। तीस वर्षको अन्तरालपछि फेरि पुरुष नर्सको अवधारणा ल्याइएको छ। के यो कार्यक्रम सफल होला त? पन्ध्र प्रतिशत कोटाको हिसाबले प्रतिवर्ष एक हजारभन्दा बढी पुरुष नर्सहरुको उत्पादन हुने देखिन्छ। के यसरी नर्सिङ पेसामा पुरुषको उल्लेख्य सहभागिता होला त? यसो हुन पनि सक्छ, किनभने तीस वर्षमा समाज धेरै फेरिइसकेको छ। चेतनाको विकास भएको छ। लैंगिक समानताको हिसाबले फड्को मारेको छ।
महिला, पुरुष जोसुकैले पनि जेसुकै पेसा अपनाउने परिपाटी विकास भएको छ। नेपाली पुरुषहरू नै विदेशसम्म गएर नर्सिङ अध्ययन गरी नर्सिङ सेवामा आबद्द भइरहेका छन्। त्यसैले नेपालमा नै यो कार्यक्रमको पुनर्थालनी गर्नु नर्सिङप्रति लगाव हुने पुरुषहरुको लागि अवश्य नै एउटा राम्रो अवसर हो।
एकातिर पुरुष नर्सको पेसामा पुनरागमनसँगै भविष्यमा नर्सिङ पेसाको उन्नति र विकास गर्न सहज होला भनेर आशा पनि गर्न थालिएको छ, जुन स्वभाविक छ। सरसर्ती हेर्दा जुन क्षेत्रमा पुरुषहरुको बाहुल्यता छ, त्यो क्षेत्रको छिटो प्रगति भएको देखिन्छ। त्यसैगरी नर्सिङ पेसामा अनेकन समस्या हुनु, नर्सहरुको हक, अधिकारको सुनिश्चतता नहुनु, नर्सिङ शिक्षा र सेवाको गुणस्तर अभिवृद्धि सन्तोषजनक नहुनु र यो क्षेत्र राज्यबाट पनि तुलनात्मक रूपमा हेपिएको अवस्थामा रहनुमा यस पेसामा नगन्य पुरुष सहभागिता हुनु पनि एक प्रमुख कारण हो भन्ने गरिन्छ। किनकि, जति महिलावाद भने पनि समानताको कुरा गरे पनि हाम्रो देशमा अझै पनि महिलाको मुद्दालाई प्राथमिकता दिने र महिलाको क्षमतामा विश्वास गरिहाल्ने परिपाटी छैन भन्दा फरक नपर्ला। त्यसैले पुरुष नर्सहरुको पेसामा आबद्धतासँगै यो स्थितिको अन्त्य गर्न सहज हुन सक्ला।
तर, यसो भन्दैमा उत्साहित भइहाल्नुपर्ने अवस्था पनि छैन। किनभने एक त अझै पनि हाम्रो समाजमा नर्सिङ भनेको केटी मान्छेले मात्र पढ्ने हो भन्ने मानसिकता यथावत् नै छ र कोही केटाले पढ्छु भन्यो भने पनि गिज्याउने गरिन्छ। यसर्थ अहिलेको परिवेशमा १५ प्रतिशत पुरुष कोटा पूरा हुन नै मुश्किल छ। यो निर्णयपछि दुई ब्याच विद्यार्थी भर्ना भइसक्दा यदाकदा कुनै कुनै कलेजमा मात्र दुई-तीन जनाको संख्यामा मात्र पुरुष विद्यार्थी भर्ना भएका छन्। त्यसमा पनि प्राय: सबैको उद्देश्य देशमा सेवा गर्ने नभई विदेश जाने नै रहेको छ। किनकि, विदेशमा नर्सिङ पढेर जाँदा सहज हुने र आम्दानी पनि राम्रो हुने हुन्छ। नेपालमा अन्य विषय पढेर विदेश गए पनि त्यहाँ गएपछि विषय परिवर्तन गरेर नर्सिङ पढ्ने नेपाली पुरुषको जमात बढ्दो छ। त्यसैको प्रभाव स्वरूप केही छात्रहरुले बरु यहीँदेखि नै नर्सिङ पढेर जाउँ भन्ने हेतुले यो विषय छानेको देखिन्छ।
यसर्थ, नेपाली नर्सिङमा पुरुष सहभागिता बढाउने र स्वदेशमा नै जनशक्ति टिकाइराख्नेतर्फ सरोकारवालाहरुले पहल गर्ने हो भने भविश्यमा नेपालको नर्सिङ पेसाको उत्थानमा टेवा पुग्ने देखिन्छ।
-(अधिकारी त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा कार्यरत छिन्।)