डा रमेश केसी र सस्मिता खत्री
शरीरलाई हानि पुग्ने गरी चिल्लो पदार्थ बढेर तौल धेरै हुनु नै मोटोपना हो। शरीरको तौल (केजी) र उचाई (मिटर) लिई बडी मास इन्डेक्स (तौल/उचाई२) निकालेर मोटोपनाको अवस्था थाहा पाउन सकिन्छ। विएमआई १८.५ देखि २४.९ सम्म भएमा सामान्य, २५ देखि २९.९ सम्म भएमा अधिक तौल र ३० भन्दा बढी भएमा मोटोपना भएको मानिन्छ।
मोटोपना विश्व स्वास्थ्यको जल्दोबल्दो र चुनौतीपूर्ण समस्याको रुपमा अगाडि आइरहेको छ। सन् १९७५ को तुलनामा सन् २०१६ मा मोटोपनाको समस्या तीन गुणा बढेको छ। विश्व स्वास्थ्य संगठनको सन् २०१६ को तथ्यांकअनुसार अठार वर्ष उमेर समूह माथिका १ अर्ब ९० करोड मानिसमा अधिक तौलको समस्या छ। तीमध्ये ६५ करोड ५० लाख मानिसमा मोटोपना छ।
यसरी हेर्दा १८ वर्ष माथिको ३९ प्रतिशत जनसंख्यामा अधिक तौल र १३ प्रतिशत जनसंख्यामा मोटोपनाको समस्या रहेको देखिन्छ। यस्तैगरी ४ करोड १० लाख पाँच वर्षमुनिका बालबालिका र ५ देखि १९ वर्षसम्मका ३४ करोड किशोरकिशोरीमा अधिक तौल र मोटोपनाको समस्या छ। नन् कम्युनिकेवल डिजिज रिक्स फ्याक्टर स्टेप सर्भे २०१३ अनुसार नेपालमा १७.७ प्रतिशत मानिसमा अधिक तौल र ४ प्रतिशत मानिसमा मोटोपना थियो। जुन सन् २०१९ को रिपोर्ट अनुसार बढेर अधिक तौल २४.३ प्रतिशत र मोटोपना ४.३ प्रतिशत पुगेको छ।
हाल विश्वमा दुई तिहाइभन्दा बढी मानिसको मृत्यु नसर्ने रोग (मुटु एवं रक्तनलीको रोग, मधुमेह, दीर्घ श्वासप्रश्वास रोग र क्यान्सर) बाट भइरहेको छ। सामाजिक एवं आर्थिक रुपमा उत्पादनशील युवावस्थाको जनसंख्या नै यो समस्याबाट बढी पीडित छन्, जुन झनै ठूलो क्षति र चिन्ताको विषय हो। मोटोपना आफैंमा एउंटा रोग हो भने अन्य धरै नसर्ने रोगहरुको महत्वपूर्ण कारण पनि हो।
धूमपान नगर्ने मानिसमा ४० वर्षको उमेरमा मोटोपना देखिएमा आयु ७ वर्ष र धूमपान गर्ने मानिसमा ४० वर्षको उमेरमा मोटोपना देखिएमा १३ वर्ष आयु घट्ने बताइन्छ। अधिक तौल र मोटोपनाले मुटु एवं रक्तनलीको रोग, मधुमेह, फ्याटी लिभर, लिभर सिरोसिस, लिपिडको समस्या, स्ट्रोक, हाडजोर्नी खिइने रोग, क्यान्सर (स्तन, पाठेघर, प्रोस्टेट, पित्तथैली, प्यान्क्रियाज, कलेजो, ठूलो आन्द्रा, मिर्गौला), गाउट, अब्स्ट्रक्टिभ स्लिप एप्निया, हाइपरभेन्टिलेसन सिन्ड्रोम, प्यान्क्रियाटाइटिस, बाझोपना, चिन्तारोग, अल्जाइमर आदि गराउँंछ।
मोटोपना जीवनशैलीजन्य हर्मोनल समस्या हो। मानिसको आहार, विहार, विचार र व्यवहारले विभिन्न हर्मोनहरुको मात्रा र संन्तुलनलाई प्रत्यक्ष असर गर्छ। इन्सुलिन, इस्ट्रोजन र कर्टिसोलले शरिरमा फ्याट एवं मोटोपना बढाउंन भूमिका खेल्छ भने ग्रोथ हर्मोन, इन्सुलिन लाइक ग्रोथ फ्याक्टर, ग्लुकागोन, एड्रिनालिन, थाइरोइड (टि थ्रि, टि फोर) हर्मोनले फ्याट पगाल्न वा मोटोपना कम गर्न भूमिका खेल्छ।
हर्मोनल दृष्टिकोणबाट हेर्दा इन्सुलिन, इस्ट्रोजन र कर्टिसोलको उच्च वृद्धि एवं थाइरोइड (टि थ्रि, टि फोर) हर्मोनको कमीबाट मोटोपना हुने गरको देखिन्छ। कारण अनुसार मोटो व्यक्तिमा यी चारमध्ये कुनै एक वा एकभन्दा बढी हर्मोन असन्तुलन भएको हुन सक्छ। यी चार वटै हर्मोनले फरक–फरक प्रकृतिको मोटोपना गराउँछ। जस्तैः इन्सुलिनको उच्च मात्राले विशेषगरी पेटमा बोसोको संचिती बढाई घैंटोजस्तो पुट्ट परेको भुँडी (पट बेल्ली) गराउँछ भने उच्च इस्ट्रोजनले (महिलामा) कम्मर एवं तिघ्राको भाग ठूलो बनाउँछ।
थाइरोइड हर्मोनको कमीले शरिरमा एकनासको मोटोपना गराउँछ। उच्च कर्टिसोलले घाँटी, ढाड, अनुहार आदिमा बोसो संचित गराउनुका साथै ठूलो र झुन्डिएको जस्ता पेट (स्यागिङ वेल्ली) गराउँछ। यसका अलावा यी हर्मोनहरुको घटबढले शरीरमा उत्पन्न गर्ने अन्य असरहरुको चिकित्सकीय परीक्षण एवं मूल्यांकन र प्रयोगशाला परीक्षणबाट मोटोपना गराउन कुन हर्मोनले भूमिका खेलेको छ, सो निक्र्योल गर्न सकिन्छ। यसबाट मोटोपनाको खास कारण जान्न र उचित व्यवस्थापन गर्न सघाउ पुग्छ।
मोटोपना गराउने मुख्य हर्मोन इन्सुलिन हो। कार्बाेहाइड्रेटयुक्त आहार सेवनबाट शरीरमा ग्लुकोज पैदा हुन्छ र रगतमा पुग्छ। उक्त ग्लुकोजको अनुपातमा प्यान्क्रियाजबाट इन्सुलिनको उत्पादन हुन्छ। इन्सुलिनले ग्लुकोजलाई कोषभित्र पठाउंनुको साथै बढी (खर्च नभएको) भएको ग्लुकोजलाई फ्याटमा रुपान्तरण गरी पेटमा भन्डारण गर्छ। आधुनिक प्रशोधित आहार एवं अन्नहरु हाई इन्सुलेनेमिक एवं हाई ग्लाइसेमिक इन्डेक्स (उच्च मात्रामा सुगर भएको र सेवन लगत्तै रगतमा उच्च मात्रामा ग्लुकोज बढाउने) युक्त छन्।
यसका साथै विभिन्न बहानामा आहार धेरै पटक सेवन गर्ने प्रचलन छ। अर्कोतर्फ मानिसको शारीरिक श्रम कम भएको छ। इसले गर्दा सबै सेवन गरिएको ग्लुकोज खर्च हुँदैन। त्यो फ्याटी लिभर एवं बेल्ली फ्याटको रुपमा बस्छ।
अचेल भान्सामा खाना तयार गर्दा सेतो चामल, मैदा, फ्रिज गरिएका परिकार, ट्रान्स फ्याट, सिम्पल कार्ब आदि र खाजा एवं नास्ताको रुपमा जंक फुड, चिनीयुक्त चिया वा पेयको प्रयोग सर्वत्र देखिन्छ। यी परिकारहरुले सुगर छिटो र उच्च मात्रामा उपलब्ध गराउँछ र सोही अनुपातमा इन्सुलिनको मात्रा र अन्ततोगत्वा मोटोपना बढाउँछ। हाइपरइन्सुलिनेमियाको अवस्था रहिरहेमा कालान्तरमा इन्सुलिनप्रति शरीरका कोषहरुले प्रतिक्रिया देखाउँन छोड्छ वा इन्सुलिन रेसिस्टेन्ट हुन्छ।
इन्सुलिन केवल प्यान्क्रियाज र सुगरको मोटाबोलिज्मसँग मात्र सम्बन्धित छैन। यसको उच्च मात्रा वा रेसिस्टेन्टले सम्पूर्ण शरीरमा असर गर्छ। हाइपरइन्सुलिनेमिया र इन्सुलिन रेसिस्टेन्टले मोटोपनाको अलवा उच्च रक्तचाप, मधुमेह, उच्च ट्राइग्लेसेराइड, उच्च कोलेस्टेरोल, फ्याटी लिभर, पिसिओडी, मुटुजन्य रोग, क्यान्सर, अल्जाइमर्स, थाइरोइड डिसअर्डर, प्रोस्टेटको वृद्धि आदि गराउँछ। अतः मुख्य आहारको रुपमा हाई इन्सुलेनेमिक एवं हाई ग्लाइसेमिक इन्डेक्सयुक्त आहार एवं अन्न खानु भनेको यिनै रोगहरुलाई स्वागत गर्नु हो।
मनिसको विकासक्रम हेर्दा सुरुवाती आहारको स्रोत जंगल (फरेस्ट) रहेको देखिन्छ। करौडौं वर्ष पहिले मानव पूर्खाहरुले जंगलमा जंगली जनावरहरुको सिकार गरेर मासु र जंगली कन्दमुल एवं फल सेवन गर्ने गरेका थिए। करिब दस हजार वर्षअघि कृषिको सुरुवात भएपछि आहारको स्रोत जमिन (फिल्ड) वा कृषिजन्य उत्पादन भयो। हाल आएर आहारको स्रोत प्रशोधित परिकार (फ्याक्ट्री) भएको छ।
यसरी फरेस्टबाट फिल्ड हुँदै फ्याक्ट्रीसम्म आइपुग्दा मानिसको आहार लो इन्सुलेनेमिक एवं लो ग्लाइसेमिक इन्डेक्सबाट हाई इन्सुलेनेमिक एवं हाई ग्लाइसेमिक इन्डेक्सयुक्त बन्न पुगेको छ। फ्याटले इन्सुलिनको मात्रालाई असर गर्दैन भने प्रोटिनले सामान्य असर गर्छ तर कार्बोहाइड्रेटले इन्सुलिनको मात्रालाई व्यापक असर गर्छ। मानव पूर्खाहरुले सबैभन्दा कम सेवन गरेको कार्बोहाइड्रेट हाल सबैभन्दा बढी सेवन गरिएको छ, त्यो पनि प्रशोधित रुपमा। आहारमा आएको यो परिवर्तनले मानव स्वास्थ्य एवं रोगको विविधता र वितरणमा ठूलो असर गरेको छ। मोटोपना लगायत मुटुजन्य रोग, उच्च रक्तचाप, मधुमेह आदि प्रशोधित आहार र अन्नको प्रयोगसँगै मानव समुदायमा महामारीको रुपमा देखा परेका हुन्।
विश्वका लगभग एक तिहाइभन्दा बढी मानिसलाई असर गरेको मोटोपना स्वास्थ्य एवं सौन्दर्यको कारण सदैव चर्चा र खोजीको विषय बनेको छ। इतिहासदेखि नै मोटोपनाको कारण र उपचारबारे सबैको एकमत देखिँदैन। कोहीले आवश्यकताभन्दा बढी क्यालोरीको सेवनबाट मोटोपना हुने बताएका छन् भने कोहीले धेरै कार्बाेहाइड्रेट सेवन, कोहीले धेरै मासुको सेवन, कोहीले धेरै चिल्लो सेवन, कोहीले व्यायामको कमी आदि जस्ता कारणले मोटोपना हुने मत राखेका छन् र सोहीअनुसार उपचार पनि सुझाएका छन्।
मोटोपनासम्बन्धी सबैभन्दा पुरानो र पूर्ण डकुमेन्ट विलियम वान्टिङ (१७९६–१८७८) द्वारा सन् १८६३ मा प्रकाशित ‘लेटर अन कर्पुलेन्स, एडे«स्ड टु पब्लिक’ मान्न सकिन्छ। मोटोपनाको पारिवारिक पृष्ठभूमि नरहेका र बालककालमा सामान्य तौल भएका वान्टिङ पैतीस वर्षतिरबाट अत्यधिक मोटा भए। उनले तत्कालीन समयका नाम चलेका चिकित्सकहरुसँग उपचार गरे। चिकित्सकहरुले दिएको आहार कम गर्नु र व्यायाम बढी गर्नु भन्ने सल्लाह एवं औषधिले केही समय तौल थोरै कम गरे पनि स्थायी समाधान दिएन।
अन्ततः उनी फ्रेन्च सर्जन विलियम हार्भे (फादर अफ ब्लड सर्कुलेसन) को सम्पर्कमा पुगे। हार्भेको सल्लाहअनुसार उनले सुगर र कार्बोहाइडे«टयुक्त आहार (अन्न, रोटी, दूध, वियर, आलु) सेवन बन्द गरी माछा, मासु र सागपात मात्र दिनको तीन पटक सेवन गरे। यसबाट वान्टिङको तौल र स्वास्थ्यमा चामत्कारिक सुधार भयो। उनले यही उपचार अनुभव समेटर उक्त पुस्तक लेखेका हुन्।
विलियम ओस्लर (फादर अफ मोडर्न मोडिसिन) द्वारा सन् १८८२ मा लिखित मोनोग्राफ ‘ओविसिटी एन्ड इट्स ट्रिममेन्ट’ र सन् १९०७ मा लिखित पुस्तक ‘प्रिन्सिपल एन्ड प्राक्टिस अफ मेडिसिन’ मा मोटोपनाको उपचारमा फ्याटी फुड (लिन मिट र अन्डा) को प्रमुख भूमिका रहने उल्लेख गरेका छन्।
त्यस्तै रेमन्ड ग्रिनद्वारा लिखित पुस्तक ‘द प्राक्टिस अफ इन्डोक्राइनोलोजी’ (सन् १९५१ मा प्रकाशित) मा मोटोपनाको उपचारको लागि अन्न एवं मैदा वा पिठोबाट बनेका परिकारहरु, आलु लगायत जमिनमुनि फल्ने फल, चिनी एवं गुलिया सबै परिकारहरु नखान र माछा, मासु, हरियो सागपात एवं चिज पर्याप्त सेवन गर्न भनेका छन्।
अचेल पढिने र पढाइने मेडिसिनका पुस्तकहरुमा मोटोपनाको उपचारबारे ठ्याक्कै यससँग विपरीत सल्लाहहरु भेटिन्छन्। सन १९५० र ६० को दशकमा मुटुरोग बढ्दै जाँदा मुटुरोगको कारणको रुपमा चिल्लोलाई प्रस्तुत गरियो जुन विशेषतः सन् १९०० तिरबाट अत्यधिक धूमपान गरिएको कारण भएको मानिन्छ। विशेषगरी एनसेल किजको सेभेन कन्ट्री स्टडी र फ्रेमिङहम हर्ट स्टडीबाट चिल्लो, कोलेस्टेरोल र मुटुरोगको सम्बन्ध स्थापित गरियो। फलतः मोटोपनाको उपचार मानिएको चिल्लो आहार रोगको कारणको रुपमा चित्रित भयो।
जोन युद्किन लगायतका वैज्ञानिकहरुले मुटु रोगको लागि सुगर र प्रशोधित आहार जिम्मेवार रहेको निष्कर्ष निकालेको थिए, जुन तत्कालीन समाजमा स्थापित भएन वा हुन दिइएन। न्यून चिल्लोयुक्त आहार सिफारिस गरिएको सन् १९७७ को अमेरिकी डायटरी गाइडलाइन आएपछि मानिसहरुको आहारबाट चिल्लो व्यापक रुपमा कटौती भयो। जसको स्थान सुगर र सुगरयुक्त प्रशोधित आहार (ठोस र पेय) ले लियो। यही समयदेखि प्रशोधित आहार र मोटोपना लगायतका अन्य नसर्ने रोगहरुको समानान्तर तीव्र वृद्घि देखिन्छ।
सन् १९०० को सुरुवाततिरबाट आहारमा क्यालोरीको गणना गर्न थालिएको पाइन्छ। आवश्यकताभन्दा बढी क्यालोरी सेवन र शारीरिक श्रमको कमीले गर्दा मोटोपना हुने सिद्धान्त पनि प्रतिपादित छ। यो ‘क्यालोरी इन–क्यालोरी आउट’ वा ‘इट लेस, मुभ मोर’ को मान्यता असफल वा गलत रहेको पछिल्ला अध्ययनहरुले देखाएका छन्। यसबाट प्राप्त नतिजा दीर्घकालिक र सहज छैन। यसले थकान र भोक (घे्रलिन–भोक बढाउने हर्मोन) दुवै बढाउँछ।
शारीरिक व्यायामको भूमिका बढेको तौल घटाउनभन्दा एक पटक घटाएको तौल पुनः बढ्न नदिन सहयोगी हुने देखिएको छ। क्यालोरी भनेको क्यालोरी मात्र हो भन्ने प्रचार गरेर खाद्य उद्योगहरुले क्यालोरीको स्रोतको भूमिकालाई गौण बनाई उच्च सुगरयुक्त प्रशोधित आहारहरु सेवन गर्न उक्साइरहेका छन्। तर शरीरले फरक–फरक स्रोतबाट प्राप्त क्यालोरीप्रति फरक–फरक प्रतिक्रिया देखाउँछ। जस्तै १०० किलो क्यालोरी चिनीबाट र १०० किलो क्यालोरी चिल्लो वा सागबाट प्राप्त गर्नु शरीरको लागि फरक कुरा हो। ग्लुकोज क्यालोरीको स्रोत हँुदा फ्याट स्टोरिङ हर्मोन इन्सुलिन बढ्ने भएकाले त्यो फ्याटमा रुपान्तरण भई बस्ने सम्भावना बढी हुन्छ, जबकी यो प्रतिक्रिया चिल्लो वा साग सेवन गर्दा देखिँदैन।
मोटोपना आहारजन्य समस्या भएकाले मोटोपनाको उपचारको लागि विभिन्न प्रकारका आहारहरु प्रचलित र चर्चामा छन्। मेडिटेरियन डाइट, अट्किन डाइट, पिलियो डाइट, लो क्यालोरी डाइट, भेरी लो क्यालोरी डाइट, ड्यास डाइट, लो कार्ब डाइट, भिजिटेरियन डाइट, सात्विक डाइट, कार्निभोरस डाइट, ट्याडिसनल डाइट, किटो डाइट आदि यसका उदाहरण हुन्। यीमध्ये पछिल्लो चरणमा मोटोपनाको उपचारको लागि लो क्यालोरी डाइट र किटो डाइट अत्यधिक चर्चित र प्रयोगमा छन्। लो क्यालोरी डाइटमा सामान्यतया पुरुषलाई प्रतिदिन १२०० किलो क्यालोरी र महिलालाई १००० किलो क्यालोरी सेवन गराइन्छ। यस्तो क्यालोरी डिफिसिट आहारले एक हप्तामा आधादेखि एक केजीसम्म तौल घटाउन सकिने देखिएको छ। तर यसरी घटाइएको तौल सामान्य आहारमा फर्केपछि पुनः पूर्वगत बढ्ने गरेको पाइएको छ।
किटो डाइटमा स्वस्थकर फ्याट ६५ देखि ७५ प्रतिशत, प्रोटिन २० देखि २५ प्रतिशत र कार्बोहाइड्रेट केबल ५ प्रतिशत प्रयोग गरिन्छ। घ्यु, ओलिभ अइल, नरिवल तेल, तिल, एभोकाडो, माछा, घाँस खाएका जनावरहरुको मासु, अन्डा, काउली, बन्दा, गाजर, काक्रो, च्याउँ, नट्स, सतावरी, पालुंगो आदि किटो डाइटमा प्रयोग गर्न सकिन्छ।
चिल्लो खाएर शरीरमा बोसो बढ्ने वा बढी मोटो भइन्छ भन्ने गलत जनविश्वास छ। वास्तवमा चिल्लो क्यालोरीको मुख्य स्रोत हुँदा शरीरमा इन्सुलिनको मात्रा बढ्दैन र इन्सुलिनको अनुपस्थितिमा संचित बोसो पग्लिन्छ (लिपोलाइसिस हुन्छ) र मोटोपना घट्छ। यद्यपि चिल्लो र कार्बोहाइड्रेट वा चिल्लो र प्रोटिनको उच्च संयोजन भएमा चाहिँ मोटोपना झन् बढाउँछ। चिल्लोहरुमा ट्रान्स फ्याट र ओमेगा ६ (हाइड्रोजिनेटेड वनस्पती तेल एवं घ्यु, प्रशोधित आहार, अन्न सेवन गरेको जनावरहरुको मासु आदि) भने शरीर एवं मुटुको स्वास्थ्यको लागि घातक हुन्छ।
किटो डाइटको साथमा इन्टरमिटेन्ट फास्टिङ (उपबास) गरे नतिजा झनै प्रभावकारी हुने बताइन्छ। उपबासको प्रचलन विश्वभरि नै हरेक धार्मिक सम्प्रदायमा परापूर्व कालदेखि नै छ। निश्चित समयको लागि ऐच्छिक रुपमा आहार सेवन नगर्नु नै फास्टिङ हो। यो सामान्यतया १२ घन्टादेखि ३ हप्ता लामोसम्म हुन सक्छ। मानिस कृषि युगमा प्रवेश गर्नुअघि आहार नियमित उपलब्ध नहुने कारणले गर्दा उपवास एक नियमित अभ्यास जस्तो थियो। एक छाक खाने योगी, दुई छाक खाने जोगी र तीन छाक खाने रोगी भन्ने भनाइ पूर्वीय समाजमा अझै पनि प्रचलित छ।
प्राचीन रोम सभ्यतामा पनि मुख्य आहार दिनको एक पटकभन्दा बढी सेवन गर्नु रोग निम्त्याउनु हो भन्ने भनाइ थियो। उपवास आयुर्वेद र प्राकृतिक चिकित्सा विज्ञानमा सबैभन्दा महत्वपूर्ण र प्रथम उपचार हो। इन्टरमिटेन्ट फास्टिङ विभिन्न तरिकाबाट गर्न सकिन्छ। दिनको २४ घन्टामा ६ घन्टामात्र खाने (फिडिङ विन्डो) र १८ घन्टा नखाने (फास्टिङ विन्डो) विधि सबैभन्दा बढी प्रचलित र सहज मानिन्छ। चिकित्सकीय निगरानीमा आवश्यकता अनुसार यो बढाएर ३६ घन्टा वा ४८ घन्टा वा ७२ घन्टासम्मको फास्टिङ विन्डो बनाउन सकिन्छ।
फास्टिङको अवस्थामा ग्रोथ हर्मोन, ग्लुकागोन, ब्रेन डिराइभ्ड न्युरोट्रपिक फ्याक्टर, एडिपोनेक्टिन, नर एड्रिनालिन आदि बढ्छ भने इन्सुलिन, ग्रोथ हर्मोन, एम टोर, लेप्टिन, इन्टरल्युकिन सिक्स, ट्युमर निक्रोसिस फ्याक्टर आदि घट्छ। १२ देखि ३६ घन्टाको फास्टिङको क्रममा शरीर (विशेषगरी मस्तिष्क)ले ऊर्जाको लागि ग्लुकोजको सट्टा किटोन बढीको प्रयोग गर्छ। किटोन ऊर्जाको रुपमा प्रयोग हुँदा सिकाइ र स्मरण क्षमता बढ्ने अनुसन्धानहरुले देखाएका छन्।
फास्टिङ १८ घन्टाभन्दा बढी कायम राख्दा शरीरका अटोफेजी प्रक्रिया सुरु हुन्छ। यस क्रममा शरीरमा जम्मा भएको विजातीय तत्व जस्तै एमाइलोइड, ग्लाइकोसुलेटेड इन्ड प्रोडक्ट, नष्ट वा विकृत भएको प्रोटिन र अस्वस्थ कोषहरु हटाउने वा मर्मत गर्ने कार्य हुन्छ। २४ घन्टा वा बढीको फास्टिङले शरीरमा इन्फ्लामेटरी केमिकल्सहरु, रियाक्टिभ अक्सिजन स्पेसिजहरु र इन्फ्लामेसन घटाउँछ। यसका साथै फास्टिङले पाचन प्रणाली मर्मत गर्छ। मस्तिष्कमा नयाँ कोषहरुको निर्माण गर्छ र प्रतिरक्षा प्रणाली सुदृढ एवं सक्रिय बनाउँछ।
फास्टिङले ग्लुकोज एवं इन्सुलिन र एचबिएवानसी घटाउँछ र कोषहरुको इन्सुलिनप्रति प्रतिक्रिया देखाउने क्षमता (इन्सुलिन सेन्सेटिभिटी) बढाउँछ। तीन हप्तासम्म एक दिन बिराएर फास्टिङ गर्दा रगतमा इन्सुलिनको मात्रा ५० देखि ६० प्रतिशतसम्म घट्ने अनुसन्धानहरुले देखाएको छ। फास्टिङले शरीरका अंगहरुमा जम्मा भएको फ्याट (भिसेरल फ्याट) हटाउँछ र तौल कम गराउँछ साथै रक्तचाप र लिपिड पनि सन्तुलनमा राख्न सहयोग गर्छ।
लो क्यालोरी डाइटभन्दा फास्टिङबाट तौल नियन्त्रण गर्दा २० देखि २५ प्रतिशत बढी प्रभावकारी हुने देखिएको छ। अझै किटो डाइटको साथमा इन्टरमिटेन्ट फास्टिङ गर्दा यो प्रभावकारिता गुणात्मक रुपमा बढ्छ। फास्टिङको समयमा शरीरको लागि आवश्यक पानी र इलेक्ट्रोलाइटको उपलब्धता भने सुनिश्चित हुनुपर्छ। फास्टिङ बस्दा पानी, हर्वल वा ग्रिन टी वा आवश्यक परे फलाहार सेवन गर्नुपर्छ।
निष्कर्षमा भन्नुपर्दा विश्वभरि महामारीको रुपमा बढिरहेको मोटोपना आहारजन्य समस्या र धेरै रोगहरुको कारण हो। समयमै यसलाई नियन्त्रण नगर्ने हो भने यसले भविष्यमा मानव सभ्यतालाई नै संकटमा पार्न सक्छ। किटो डाइट र इन्टरमिटेन्ट फास्टिङ मोटोपना एवं त्यसका परिणामहरुको उपचार र रोकथामको एक प्राकृतिक र सहज विधि हुन सक्छ। खाद्य पदार्थहरुको औद्योगिकीकरण र व्यापारीकरणबाट निम्तिएको यो स्वास्थ्य समस्याबाट बच्न हाम्रै आफ्नै परम्परागत खानपान एवं जीवनशैली उचित छ।
रोगबाट बच्न फ्याक्ट्री होइन, फिल्ड र फार्मरलाई आहारको स्रोत र रिजन (आफ्नै ठाउँको), सिजन (मौसमी) र किचन (आफ्नै भान्सामा पाकेको) परिकारलाई नियमित आहार बनाऔं। सही आहार, विहार, व्यवहार र विचारबाट मात्र मोटोपना लगायतका नसर्ने रोगहरुको रोकथाम र उपचार सम्भव छ।
यो पनि