सन् १९५० को सुरुवाततिर सूर्तिजन्य पदार्थको सेवन र क्यान्सरको सम्बन्ध छ भन्ने तथ्य र तथ्यांकहरु अगाडि आउन थाले। अमेरिकामा ठूलो आर्थिक मुनाफा आर्जन गरिरहेका चुरोट उद्योगहरुको लागि यो सुखद खबर थिएन। उनीहरुले एक दशकभन्दा बढी समयसम्म यो तथ्य स्थापित हुन नदिन सबै प्रकारका प्रयासहरु गरे।
उद्योगीहरुले छापा, रेडियो र टेलिभिजनबाट निरन्तर आकर्षक विज्ञापन र गलत सूचनाहरु प्रवाह गरिरहे। संसदमा समेत उपस्थित भई आफूहरु आम सर्वसाधारणको स्वास्थ्यप्रति सचेत रहेको र चुरोट सेवनले स्वास्थ्यलाई कुनै हानि नगर्नेे दलिल पेस गरे। उल्टै चुरोट सेवनबाट क्यान्सर हुन सक्छ भनेर उपभोक्ताहरुलाई भ्रमित र त्रसित बनाएको आरोप लगाए। क्यान्सरको लागि चुरोट नभई अन्य कारणहरु जिम्मेवार हुने भन्दै त्यसको खोजी गर्न सरकारलाई सुझाव दिए।
यसरी एकातर्फ उनीहरुले गलत सूचना र आकर्षक विज्ञापनबाट सर्वसाधारणलाई भ्रममा पारी चुरोट सेवन गर्न प्रोत्साहित गरिरहे भने अर्कोतर्फ चुरोट सेवनले क्यान्सर गराउँछ भन्नेहरुलाई जवाफ दिन एक प्रतिष्ठित मेडिकल जर्नललाई ठूलो आर्थिक प्रलोभनमा पारी चुरोट सेवन गर्नेभन्दा चुरोट सेवन नगर्नेलाई क्यान्सर हुने सम्भावना बढी हुन्छ भन्ने कपोलकल्पित अनुसन्धानात्मक लेख प्रकाशित गराए।
विस्तारै चुरोट सेवनको लत विश्वभरि नै बसिसकेको कारण समयान्तरमा धूमपानका नराम्रा असरबारे जति नै वैज्ञानिक खोज र अनुसन्धानात्मक नतिजाहरु प्रकाशित भए पनि सूर्तिजन्य पदार्थको अर्थतन्त्रको आकार बढ्दै गयो। विश्वमा चुरोट सेवनबाट करिब ४० लाख मानिसले मृत्युवरण गर्छन्, जुन सन् २०३० सम्म एक करोड पुग्ने अनुमान छ।
यो तथ्यले आजको पूँजीवादी युगले विश्वलाई बजार र आम सर्वसाधारणलाई ग्राहकको व्यवहार गर्छ भन्ने देखाउँछ। गलत सूचना र आकर्षक विज्ञापन एवं आर्थिक प्रलोभनमा पारेर रोगको मूल कारण नै बिक्री गरी औंलो अर्कैतर्फ देखाइने गरिएको छ। यो सिलसिला हिजो थियो, आज छ र भोलि पनि हुनेछ।
यस्तै घटना दोहोरिएको अर्को उदाहरण हो, मुटु रोग (कोरोनरी हार्ट डिजिज)को खास कारण जुन आधा शताब्दीभन्दा बढी समयसम्म स्थापित हुन दिइएन र मुटु रोगलाई विश्वको नम्बर एक मृत्युको कारण बनाइयो। हाल विश्वभरि मुटु रोगबाट १५ करोडभन्दा बढी मानिसको बर्सेनी मृत्यु हुन्छ।
अमेरिकामा मुटुजन्य रोग बढ्दै जाँदा सन् १९५० तिर यसका लागि खानपिन जिम्मेवार छ भन्ने तथ्यहरु छलफलमा आयो। ६० को दशकमा दुई वैज्ञानिकले दुई फरकफरक अवधारणा अगाडि सारे। जोन युदकिनले चिनी वा चिनी मिश्रित आहार (रिफाइन्ड कार्बोहाइड्रेट) को कारण मुटु रोग बढेको बताए भने एनसेल किजले मुटु रोगका लागि चिल्लो (स्याचुरेटेड फ्याट र कोलेस्टेरोल) जिम्मेवार रहेको बताए। यी दुई धारको समर्थन र विरोध आजसम्म पनि जारी छ।
जोन युदकिनको विचारले समाजमा ठूलो प्रभाव पार्न सकेन। यो अवधारणा खाद्य उद्योगहरुको प्रतिकूल रहेकाले पनि सहजै दबाइयो भने एनसेल किजको उद्योगमैत्री विचारलाई उद्योगीहरुले ठूलो लगानी गरेर स्थापित गरिदिए। यसपछि बुर्किट, ट्रोवल, वाल्कर जस्ता वैज्ञानिकले मुटुजन्य रोग लगायत नसर्ने रोग बढ्दै जानुमा प्रशोधित आहार (कार्बोहाइड्रेट) नै कारण रहेको तथ्य अगाडि ल्याए।
२ दशकसम्म चलेको फ्रमिङगम हार्ट स्टडीले भने मुटुरोगको सम्बन्ध कोलेस्टेरोलसँग रहेको नतिजा ल्यायो, जुन तथ्यांकहरुको गलत विश्लेषणले गर्दा भएको थियो भनेर अनुसन्धान समूहका सदस्यहरुले समेत पछि आलोचना गरे।
उता अमेरिकी सरकारले भने यही विरोधाभाषबीच सन् १९७७ मा डायटरी गाइडलाइन (खाद्य निर्देशिका) जारी गरी खानामा चिल्लो, स्याचुरेटेड फ्याट र कोलेस्टेरोल कम गर्न सिफारिस ग¥यो, जुन त्यसपछिका गाइडलाइनहरुमा कायम छ। अध्ययन–अनुसन्धान जारी रहँदा पुनः सन् २०१४ बाट मुटु रोगका लागि चिल्लो नभई प्रशोधित कार्बोहाइड्रेट जिम्मेवार छ भन्ने वैज्ञानिक तथ्यहरु प्रकाशमा आएका छन्।
यसरी करिब ५–६ दशक आर्थिक स्वार्थमा परी विज्ञानको नाममा गलत तथ्य र तथ्यांक एवं अनुसन्धानात्मक नतिजा देखाएर अर्बौं मानिसलाई मुटु रोगी बनाइयो भने करोडौंको ज्यान लिइयो। सन् १९४३ मा अमेरिकामा स्थापित सुगर रिसर्च फाउन्डेसन (एसआरएफ) ले सन् १९६५ मा कोरोनरी हार्ट डिजिजबारे अनुसन्धान गरायो। अनुसन्धानबाट मुटु रोगको कारण चिल्लो र कोलेस्टेरोल पाइएको प्रतिष्ठित मेडिकल जर्नल न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा छापियो।
यो लगायत एसआरएफबाट भएका सबै अनुसन्धानमा मुटु रोगको सम्बन्ध चिल्लो र कोलेस्टेरोलसँग देखाउन अनुसन्धानकर्ताहरुलाई आर्थिक प्रलोभनमा पारिएको थियो भन्ने तथ्य सन् २०१६ सेप्टेम्बरमा अमेरिकन जर्नल अफ मेडिसिन (जामा) मा प्रकाशित भएको छ।
लामो समयसम्म यस्तै प्रकृतिका प्रायोजित अनुसन्धान र रिपोर्टहरुले मुटु रोगको खास कारण सुगर हो भन्ने तथ्य लुकाइयो र दोष चिल्लोमाथि लगाइयो, जुन स्वीकार्न सर्वसाधारणदेखि चिकित्सकसम्म विवश बने। औषधि उद्योगहरु कोलेस्टेरोल घटाउने औषधिहरुको अनुसन्धान, उत्पादन एवं तीब्र बजारीकरणतर्फ लागे। छोटो समयमा लिपिटोरले विलियन डलरको व्यापार ग¥यो। औषधि उद्योगहरुले कोलेस्टेरोल मुटु रोगको कारण रहेको तथ्यको अझै प्रचार गर्दै र व्यापार बढाउँदै लगे। यस्ता औषधिहरुले हृदयघात केही कम गरे पनि मुटुजन्य रोगबाट हुने मृत्यु घटाउन नसकेको अनुसन्धानहरुले देखाएका छन्।
खाद्य उद्योगहरु पूर्णतया सुगर, नुन र प्रिजरभेटिभ केमिकल्सहरुमा निर्भर हुन्छन्। सुगरले लत (क्रेभिङ) गराउने क्षमता राख्छ। फलतः खाद्य उद्योगहरुको संख्या र व्यापार बढ्दै गइरहेको छ र साथसाथै मानिसहरुमा नसर्ने रोगहरु पनि।
अमेरिकीहरुले दैनिक आवश्यक पर्ने क्यालोरीको आधाभन्दा बढी तयारी खानाबाट प्राप्त गर्छन्। गत वर्ष प्रकाशित एक अनुसन्धानले नेपालमै पनि बालबालिकाहरुले एक चौथाइ क्यालोरी तयारी (जंक) खानाबाट प्राप्त गर्ने गरेको देखाएको थियो। तयारी खाद्य (ठोस वा पेय) मा उच्च मात्रामा सुगर र नुन हुन्छ, फाइवर र माइक्रोन्युट्रियन्ट हँुदैन। शरीरक्रियाको दृष्टिकोणबाट हेर्दा प्रशोधित खानाबाट तुरुन्त ग्लुकोज पैदा हुन्छ र उच्च मात्रामा रगतमा पुग्छ। उक्त ग्लुकोजको अनुपातमा प्यान्क्रियाजबाट इन्सुलिनको उत्पादन हुन्छ।
इन्सुलिनले ग्लुकोजलाई कोषभित्र पठाउनुका साथै बढी (खर्च नभएको) भएको ग्लुकोजलाई फ्याटमा रुपान्तरण गरी पेटमा भन्डारण गर्छ। प्रशोधित खानामा उच्च मात्रामा ग्लुकोज भएको, खाना पटकपटक खाइरहने बानी रहेको र हाल मानिसहरुको शारीरिक श्रम न्यून भएकाले सबै ग्लुकोज खर्च हुँदैन। त्यो फ्याटी लिभर र वेल्ली फ्याटको रुपमा बस्छ।
उच्च सुगरयुक्त खाना पटकपटक खाइरहँदा इन्सुलिन सामान्यभन्दा उच्च तहमा (हाइपरइन्सुलिनेमिया) रहन्छ। र कालान्तरमा इन्सुलिनप्रति शरीरका कोषहरुले प्रतिक्रिया देखाउन छोड्छ वा इन्सुलिन रेसिस्टेन्ट हुन्छ।
इन्सुलिन केवल प्यान्क्रियाज र सुगरको मोटाबोलिज्मसँग मात्र सम्बन्धित छैन। यसको उच्च मात्रा वा रेसिस्टेन्टले सम्पूर्ण शरीरमा असर गर्छ। हाइपरइन्सुलिनेमिया र इन्सुलिन रेसिस्टेन्टले उच्च रक्तचाप, मोटोपना, मधुमेह, उच्च ट्राइग्लेसेराइड, उच्च कोलेस्टेरोल, फ्याटी लिभर, पिसिओडी, मुटुजन्य रोग, क्यान्सर, अल्जाइमर्स आदि गराउँछ।
प्रशोधित एवं तयारी खाना खानु भनेको यिनै रोगहरुलाई स्वागत गर्नु हो। प्रायःजसो खालीपेट (फास्टिङ) वा खाना खाएको २ घन्टामा (पिपी) रगतमा ग्लुकोजको मात्रा जाँच्ने गरिन्छ। तर यसले समयमै हाइपरइन्सुलिनेमिक अवस्थाको आकलन गर्न सक्दैन। फास्टिङ र पिपी इन्सुलिनको परीक्षण बढी भरपर्दो हुन्छ, जुन प्रचलनमा त्यति छैन।
इन्सुलिन रेसिस्टेन्ट हुनुभन्दा पहिला मानिसले न्यूनतम ५ देखि २५ वर्ष हाइपरइन्सुलेनिमियाको अवस्था बिताइसकेका हुन्छन्। तयारी खाना कम खाने मानिसहरु पनि हाल हाइपरइन्सुलिनेमिक अवस्थामा पाइन्छन् जसको कारण प्रशोधित अन्नको (सिम्पल कार्बोहाइड्रेट) अधिक सेवन हो।
आफ्नै खेतबारीमा उब्जाई कुटेर, पिसेर आफ्नै भान्सामा परिकार तयार गरी खाने चलन अचेल गाउँघरमा समेत लोप भइसकेको छ। यी परम्परागत खानाको ग्लाइसेमिक्स इन्डेक्स कम हुन्छ अथवा रगतमा सुगर विस्तारै छोड्छ र इन्सुलिनको मात्रा नियन्त्रित र सामान्य हुन्छ। तर अचेल भान्सामा बढी प्रयोग हुने सेतो चामल, मैदा, फ्रिज गरिएका परिकार, ट्रान्स फ्याट, सिम्पल कार्बले सुगर छिटो र उच्च मात्रामा उपलब्ध गराउँछ र सोही अनुपातमा इन्सुलिनको मात्रा पनि बढाउँछ। अर्कोतर्फ एक पटक सेवन गरेको आहारबाट प्राप्त क्यालोरी पूरा खर्च नगर्दै फेरि आहार सेवन गरिन्छ, जुन बोसो बनेर बस्छ र मोटोपना गराउँछ। अतः सहरी जीवनमा कार्बोहाइड्रेटयुक्त आहारको मात्रा र सेवनको पटक घटाउन जरुरी छ।
खानामा घ्यु, तेलको प्रयोग पूर्वीय समाजमा परम्परादेखि नै गरिँदै आइएको छ। पोषण विज्ञानको दृष्टिकोणबाट हेर्दा चिल्लोले कार्बोहाइड्रेटको तुलनामा दुई गुणाभन्दा बढी क्यालोरी प्रदान गर्छ। अझै महत्वपूर्ण कुरा स्वस्थकर चिल्लोले इन्सुलिनको स्राव परिमाणलाई असर गर्दैन वा इन्सुलिनको मात्रा बढाउँदैन। यसर्थ खानामा चिल्लोको मात्रा बढाउँदा खानाको पटक र परिमाण दुवै कम गर्न सघाउ पुग्छ भने हाइपरइन्सुलिनेमियाको अवस्थाबाट पनि मुक्ति मिल्छ।
शरीर रचना विज्ञानको दृष्टिकोणवाट हेर्दा चिल्लो र प्रोटिन संरचनागत एकाई हुन्। कोषको बाहिरी तह (सेल मेम्बे्रन) वाइफस्फोलिपिड लेयर हो। स्नायु प्रणाली (मस्तिष्क र नसा) फ्याटी संरचना हो। वाइल र हर्मोनहरु फ्याटबाट नै बन्छन्। भिटामिन ए, डी, ई र के शोषणको लागि फ्याट अनिवार्य चाहिन्छ। कोलेस्टेरोल कलेजो लगायत अन्य अंगहरुले आफैं पनि उत्पादन गर्छन्। आहारबाट बढी पूर्ति भएमा आन्तरिक उत्पादन कम हुन्छ र आहारबाट पूर्ति कम भएमा आन्तरिक उत्पादन बढी हुन्छ।
एलडिएलले कोलेस्टेरोल कलेजोबाट शरीरको अन्य भागहरुमा बोकेर लैजान्छ भने एचडिएलले कोलेस्टेरोल शरीरको विभिन्न भागहरुबाट बोकेर कलेजोमा ल्याउँछ। बढ्नु नराम्रो भनिएका कोलेस्टेरोल र एलडिएल निश्चित अवस्थामा प्रतिक्रिया स्वरुप रक्तनलीहरुमा टाँसिएर बस्छ र एथेरोमा प्लेग बन्छ, जुन कोरोनरी मुटु रोग एवं हृदयाघातको कारण हो। यही आधारमा रोग विज्ञानमा कोलेस्टेरोल र एलडिएल बढ्नु नराम्रो मानिएको हो।
यद्यपि सानो साइजको एलडिएल (आहारमा कार्बोहाइड्रेटको मात्रा बढी हुँदा बढ्ने) ले मात्र प्लेग बनाउन सहयोग गर्छ। ठूलो साइजको एलडिएल (आहारमा स्वस्थकर चिल्लो खाँदा बढ्ने) ले प्लेग बनाउनमा कुनै भूमिका खेल्दैन। तर रक्तनलीहरु स्वस्थ रहँदा यी जति नै भए पनि प्लेग बनाउदैन र रक्तनली अस्वस्थ वा माइक्रो इन्जुरी र सिस्टेमिक इन्फ्लामेसनको अवस्थामा हँुदा रक्तनली मर्मत गर्न उक्त स्थानमा जम्मा हुन्छन्, चाहे मात्रा जति होस।
यसरी कोरोनरी मुटु रोगको मुख्य कारण मुटुमा रक्तनलीहरुको माइक्रो इन्जुरी र इन्फ्लामेसन हो भने कोलेस्टेरोल सहायक कारण वा सहयोगी मात्र हो। अनुसन्धानहरुवाट हृदयाघात भएका आधाभन्दा बढी बिरामीको कोलेस्टेरोल सामान्य रहेको पाइएको छ। रिफाइन्ड अन्न (सिम्पल कार्ब) र आहार (जंक फुड) एवं दीर्घ तनाव इन्फ्लामेटरी तत्व हुन्, जसले रक्तनलीहरुमा माइक्रो इन्जुरी र सिस्टेमिक इन्फ्लामेसन गराउँछन्।
कोरोनरी मुटु रोग इन्फ्लामेटरी रोग भएकाले बढ्दो कोलेस्टेरोलभन्दा इन्फ्लामेटरी मार्कर (हाइली सेन्सेटिभ सी रियक्टिभ प्रोटिन) भविष्यमा मुटु रोग हुनसक्ने सम्भाव्यता अनुमान गर्न प्रभावकारी मानिन थालिएको छ। घ्यु, तिल तेल, नरिवल तेल, तोरीको तेल, ओलिभ आयल, पाम आयल आदि स्वस्थकर चिल्लो हुन्। ओमेगा ३, स्याचुरेटेड फ्याट हितकर छन् भने ओमेगा ६ र ट्रान्स फ्याट शरीरका लागि अहितकर छन्।
प्रशोधित खानामा ट्रान्स फ्याट हुन्छ, जसले मुटु रोग गराउँछ। आयुर्वेदका शास्त्रीय ग्रन्थहरुमा घ्युलाई अग्निदीपक (पाचन प्रणाली राम्रो बनाउने), आयुस्य (आयु बढाउने), बल्य (बल प्रदान गर्ने), चक्षुस्य (आँखाको लागि हितकर), हृदय (मुटुको लागि हितकर), मेद्य (मस्तिष्कको लागि हितकर), कान्तिप्रद (शरीरको चमक बढाउने), शुक्रबर्धक वृष्य (प्रजनन् प्रणालीलाई हितकर), ओजोबर्धक (रोग प्रतिरोधात्मक क्षमता बढाउने), रसायन (शरीर स्वस्थ बनाउने, आयु बढाउने), वातपित्तसामक (स्नायु प्रणाली र इन्जाइम एवं हर्मोनहरुलाई उपयोगी) आदि बताइएको छ। घ्युमा पर्याप्त मात्रामा ब्युटारेट, ओमेगा ३ र ९ फ्याटी एसिड, मिडियम चेन फ्याटी एसिड, भिटामिन ए, ई आदि पाइन्छ, जुन शरीरको लागि उपयोगी र हितकर छन्।
हाल पछिल्लो दशकमा संसारभर मोटोपना, उच्च रक्तचाप, मधुमेह, थाइरोइड डिसअर्डर, छारेरोग, फ्याटी लिभर आदिको उपचार र रोकथामको लागि किटो डाइट अत्यधिक प्रचलित र सफल देखिएको छ। जसमा स्वस्थकर फ्याट ७५ प्रतिशत, प्रोटिन २० प्रतिशत र कार्बोहाइड्रेट ५ प्रतिशत प्रयोग गरिन्छ।
चिल्लो खाएर शरीरमा बोसो बढ्ने वा बढी मोटो भइन्छ भन्ने गलत जनविश्वास छ। वास्तवमा चिल्लो क्यालोरीको मुख्य स्रोत हँुदा शरीरमा इन्सुलिनको मात्रा बढ्दैन र इन्सुलिनको अनुपस्थितिमा संचित बोसो पग्लिन्छ (लिपोलाइसिस हुन्छ) र मोटोपना घट्छ। यद्यपि चिल्लो र कार्बोहाइड्रेट वा चिल्लो र प्रोटिनको उच्च संयोजन भएमा चाहिँ मोटोपना झन् बढाउँछ।
निष्कर्षमा भन्नुपर्दा हाल देखिएका नसर्ने रोगहरु आहारजन्य समस्या हुन्। गलत आहारले रोग गराउँछ भने सही आहारले रोग निको पारी दीर्घायू प्रदान गर्छ। काश्यप संहिता (नेपालमा पाण्डुलिपी रहेको आयुर्वेदको शास्त्रीय ग्रन्थ) मा आहारलाई महाभेषज (सर्वोत्कृष्ट औषधि) भनिएको छ। अझै पनि कोलेस्टेरोल हाइपोथेसिस र क्यालोरी इन क्यालोरी आउट (व्यायामको कमीले मोटोपना वा रोग लागेको) हाइपोथेसिसमै अड्किएर उपचार गर्न खोज्नु बिरामीमाथि अन्यायपूर्ण हुन जान्छ।
खाद्य पदार्थहरुको औद्योगिकीकरण र व्यापारीकरणबाट निम्तिएका यी स्वास्थ्य समस्याहरुबाट बच्न हाम्रै आफ्नै परम्परागत खानपान एवं जीवनशैली उचित छ। रोगबाट बच्न प्रशोधित अन्न र आहार आजैबाट सेवन गर्न छाडौं। रिजन (आफ्नै ठाउँको), सिजन (मौसमी) र किचन (आफ्नै भान्सामा पाकेको) परिकारलाई नियमित आहार बनाऔं। आधुनिक पाक उपकरण (प्रेसर कुकर, नन स्टिकी भाँडाकुँडा, आल्मुनियमका भाँडाकुँडा) भन्दा परम्परागत पाक उपकरण (माटो, तामा, फलाम, स्टिलका भाँडाकुँडा) मा पकाउँदा पोषक तत्वको उपलब्धता बढी हुने भएकाले सकभर परम्परागत पाक उपकरण प्रयोग गरौं। सही आहार, विहार, व्यवहार र विचारबाट मात्र नसर्ने रोगहरुको रोकथाम र उपचार सम्भव छ।