दैलेख- मन्त्रीका लागि सिफारिस खगेन्द्र सुनार विवादित भएपछि खगेन्द्र सुनारको नाम 'होल्ड' गर्ने तयारी गरिएको छ। उनका विभिन्न मुद्दा र अन्य विवाद बाहिर आएपछि त्यस विषयमा प्रधानमन्त्री शुशीला कार्कीलगायतको छलफल जारी छ।
बालुवाटार स्रोतका अनुसार अहिलेसम्म स्वास्थ्य मन्त्री डा सुधा शर्मा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताका विषयमा मात्रै निष्कर्ष निस्किएको छ।
विवादित बनेका सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा रहेको छ।
सुनारमाथि लागेको आरोप अनुसार, उनीसहितको समूहले २०८१ साउन महिनामा मेहेलकुना अस्पतालमा गएर संस्थाको संरचना तोडफोड गरेको र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र हातपात गरेको आरोप छ।
मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा दैलेखका मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा रहेको पाइएको छ।
सुनारसहित मैना बिकलगायतका प्रतिवादीविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा नं. ०८१–७८–०००६३४ दर्ता भएको हो। उक्त मुद्दामा अदालतले प्रतिवादी खगेन्द्र सुनारका नाममा ७ दिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको पाइएको छ।