काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रीमण्डल विस्तार गर्दै चार जना नयाँ मन्त्री नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा शपथ ग्रहण गरेकी छिन्। उनीसँगै युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पनि शपथ लिएका छन्।
डा. शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव हुन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी हुन्। नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुन्। अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन्।
उनी २०६२/०६३ को जनआन्दोलनमा अध्यक्ष भएकी हुन् उनी । उनले चिकित्सकलगायत प्रोफेसनलहरुको संस्था 'पापड'को अध्यक्षका रुपमा आन्दोलनको नेतृत्व गर्नुका साथै घाइतेको उपचारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेकी हुन्।
स्वास्थ्य सचिवका रुपमा उनले पूरा कार्यकाल बिताइनन् । तत्कालीन स्वास्थ्य मन्त्रीहरु उमाकान्त चौधरी र राजेन्द्र महतोको अनुचित हस्तक्षेपको विरोध गरिरहिन् । सचिवका रुपमा राजनीतिक नेतृत्वसँग लामो समय द्वन्द्व गर्न उचित नदेखेपछि राजीनामा गरेकी हुन्। उनले यी विषयमा 'सिंहदरबारको घुम्ने मेच'नामक आफ्नो संस्मरणमा संघर्षहरु सविस्तार प्रस्तुत गरेकी छिन्।
उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ मात्र नभई जन स्वास्थ्य विज्ञ पनि हुन्। उनले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी छिन्।
डा. शर्मा युकेस्थित रोयल कलेज अफ ओब्स्टेट्रिसियन एण्ड गाइनोकोलोजिस्ट्सकी फेलो हुन् र जन स्वास्थ्यमा स्नातकोत्तर गरेकी छन्। उनले नेपाल चिकित्सक संघका साथै नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग), दक्षिण एशियाली महासंघको अध्यक्ष र एशिया ओसियाना महासंघको शिक्षा समितिकी अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्।
महिलाको स्वास्थ्य क्षेत्रमा योगदानका लागि उनले एफआईजीओ वमेन अफ द इअर अवार्डसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन्।
यस्तै, उनले विभिन्न संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गरेकी छन्। प्रसूति गृह (परोपकार मेटरनिटी अस्पताल)की निर्देशक र प्राध्यापकको रूपमा पनि सेवा गरेकी उनले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।
त्यस क्रममा उनले हेल्थ सेक्टर स्ट्राटेजिक प्लान, राष्ट्रिय पोषण रणनीति, बिग रिजल्ट नाउ इनिसिएटिम र ग्लोबल फाइनान्सिङ फ्यासिलिटीका लागि समेत योगदान पुर्याकएकी थिइन्।
हालै उनले स्वास्थ्य मन्त्रालय/ डीएफआईडीका लागि सल्लाहकारका रूपमा सेफ मदरहुड तथा न्युबर्न हेल्थ रोडम्याप २०३० बनाउन नेतृत्व गरेकी छिन्।