विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० तारिखमा मनाइन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सन् २०२५ सम्म आइपुग्दा विश्वभर १ अर्बभन्दा बढी मानिसहरू विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्। तीमध्ये करिब ६०% व्यक्तिहरूले अझै पनि आवश्यक उपचार वा सेवा प्राप्त गर्न सकेका छैनन्।
नेपालमा पनि मानसिक स्वास्थ्य सेवाको पहुँच, बजेट, र तालिम प्राप्त जनशक्ति अभाव मुख्य चुनौतीका रूपमा रहेका छन्। विश्व स्वास्थ्य संगठनका तथ्यांकअनुसार हाल विश्वका हरेक ८ जना मानिसमध्ये १ जनामा कुनै न कुनै प्रकारको मानसिक रोग पाइन्छ। विश्वभर करिब ३० करोड मानिस एन्जाइटी डिसअर्डरबाट, २८ करोड डिप्रेसनबाट, ४ करोड बाइपोलर डिसअर्डरबाट र २ करोड ४० लाख सिजोफ्रेनियाबाट पीडित छन्।
मानसिक स्वास्थ्यका समस्या विशेषगरी विकासोन्मुख देशहरूमा बढी देखिन्छन्, जहाँ ६०–७०% बिरामीहरूले अझै पनि उपचार पाउँदैनन्। मानसिक रोगलाई हाल “मनोरोग” पनि भनिन्छ, जसअन्तर्गत सामान्य तनाव र टेन्सनदेखि लिएर गम्भीर सिजोफ्रेनिया जस्ता रोगहरू पर्दछन्। विश्वका १० प्रमुख रोगहरूमध्ये ५ वटा रोग मानिसको दैनिक जीवनमा असर पुर्याउने मानसिक स्वास्थ्यसम्बन्धी रोग हुन्, डिप्रेसन, मेनिया, सिजोफ्रेनिया, दुर्व्यसन (Addiction) र डिमेन्सिया। विश्वमा करिब ५० करोड मानिस यस्ता रोगबाट पीडित छन्।
नेपालमा मानसिक स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्ति अभाव छ। साइकियाट्रिस्ट (Psychiatrist), साइकियाट्रिक नर्स, साइकोलोजिस्ट र सामाजिक कार्यकर्ता यस क्षेत्रमा कार्यरत छन्। मानसिक रोगीहरूको उपचार प्रायः मेन्टल अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र निजी नर्सिङ होमहरूमा गरिन्छ। केही गैरसरकारी संस्थाहरूले पनि यस क्षेत्रमा सहयोग गर्दै आएका छन्।
मानसिक रोगका कारणहरू विभिन्न हुन्छन्, जीवनमा आएका समस्या वा तनावसँग सामना गर्न नसक्नु, वा कहिलेकाहीँ वंशाणुगत कारण पनि हुन सक्छ। विश्व स्वास्थ्य संगठनका तथ्याङ्कअनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जना मानिस आत्महत्याबाट ज्यान गुमाउँछन्। त्यसैले मानसिक रोगको रोकथाम र जनचेतना अभिवृद्धि अत्यन्त जरुरी छ। हामी सबैले पोजिटिभ सोच राख्नुपर्छ, मानसिक रोगी पनि उपचारपछि आफ्नो दैनिक जीवन सामान्य रूपमा बिताउन सक्छन्। सामान्य मनोरोग हुँदा “मेरो दिमाग बिग्रियो” भन्ने डर लिनु पर्दैन; यस्तो अवस्था सामान्यतया गम्भीर रोगमा मात्र देखिन्छ। रोग लागेको लुकाउनुभन्दा, समयमै उपचार गर्नु नै उत्तम उपाय हो।
मानसिक रोग कस्ता कस्ता हुन्छन् ?
क) सामान्य खालका मानसिक रोगहरू
१. डिप्रेसन (Depression)
यो रोग भएका बिरामीहरू प्रायः निराश, उदास, दिक्क हुने, अनावश्यक रूपमा रुने, हातखुट्टा झमझम हुने, टाउको दुख्ने, ‘बाँच्नुभन्दा मर्नु बेस’ भन्ने भावना राख्ने गर्छन्। कतिपय अवस्थामा आत्महत्यासम्मका घटना पनि देखिन्छन्। नेपालमा पाइने प्रमुख मानसिक रोगमध्ये डिप्रेसन अग्रस्थानमा छ। जीवनभरमा करिब २०–२५ प्रतिशत मानिसले कुनै न कुनै समयमा डिप्रेसनको सामना गर्छन्।
२. डर लाग्ने समस्या (Anxiety Disorder)
यसमा मानिसलाई सधैं डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात काँप्ने, टाउको दुख्ने, स–सानो कुरामा पनि अचानक डराउने लक्षणहरू देखिन्छन्।
३. कनभर्सन वा डिसोसिएटिभ डिसअर्डर (Conversion / Dissociative Disorder)
यसमा बिरामी अचानक हातखुट्टा नचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बक्ने, काम्ने, बिर्सने वा बोल्न नसक्ने समस्या लिएर आउँछन्।
४. बालबालिकामा देखिने मनोवैज्ञानिक समस्या (Childhood Psychological Problems)
बालबालिकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, विद्यालय जान नमान्ने, भाग्ने, वा एक्लै बस्ने जस्ता समस्या देखिन्छन्।बालबालिकामा डिप्रेसन वयस्कको तुलनामा फरक रूपमा प्रकट हुन्छ।
५. सोमाटोफर्म डिसअर्डर (Somatoform Disorder)
यसमा बिरामीहरू शरीरका विभिन्न भागमा समस्या भएको महसुस गर्छन् — जस्तै टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा हल्लिने आदि। तर विभिन्न परीक्षण गर्दा कुनै शारीरिक खराबी नदेखिए पनि उनीहरू आफूलाई गम्भीर रोग (जस्तै क्यान्सर वा एड्स) भएको शंका गर्छन्। यो रोग प्रायः मनोवैज्ञानिक कारणले हुन्छ भन्ने कुरा बिरामीलाई थाहा हुँदैन।
६. अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (Obsessive Compulsive Disorder – OCD)
यसमा बिरामीको मन अत्यन्त कमजोर हुन्छ। मनमा बारम्बार अनावश्यक सोच र दृश्य आइरहन्छ। बिरामीले “सोच्न नपर्ने कुरा सोचिरहने”, “चुकुल लगाएर पटक–पटक हेर्ने”, वा “हात बारम्बार धोइरहने” बानीहरू देखाउँछन्। यस्ता सोचहरू नियन्त्रण गर्न नसक्दा उनीहरूमा अत्यधिक चिन्ता र बेचैनी हुन्छ।
ख) कडा (गम्भीर) मानसिक रोगहरू
१. मेनिया (Mania)
यो रोग डिप्रेसनको उल्टो रूप हो। बिरामीले आफू ठूलो व्यक्ति भएको, प्रसिद्ध बन्ने, सबै कुरा गर्न सक्ने भन्ने सोच राख्छन्।राम्रो लुगा लगाउने, महँगो खाना खाने, धेरै बोल्ने, पैसा खर्च गर्ने, वा झगडा गर्ने प्रवृत्ति देखिन्छ। कहिले मेनिया र कहिले डिप्रेसन देखिने रोगलाई बाइपोलर अफेक्टिभ डिसअर्डर (Bipolar Affective Disorder) भनिन्छ।
२. सिजोफ्रेनिया (Schizophrenia)
यो अत्यन्त गम्भीर मानसिक रोग हो। बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन। उनीहरूलाई कानमा आवाज आउनु, अरू मानिसमाथि शंका गर्नु, सफा–सुग्घर गर्न छोड्नु, सामाजिक रूपमा अलग्गिनु, घरबाट भाग्नु वा दैनिक काममा रुचि हराउनुजस्ता लक्षणहरू देखिन्छन्।
ग) अन्य मानसिक रोगहरू
१. लागुऔषध र रक्सीको दुरुपयोग (Substance and Alcohol Abuse)
मुख्यतः किशोर–किशोरी र युवा विद्यार्थीहरू लागू औषधको कुलतमा फस्ने गर्छन् — जस्तै खोकिको औषधि, गाँजा, टिजोजेसिक, हिरोइन आदि। यी पदार्थले मस्तिष्कमा गम्भीर असर पार्छन्।
एक पटक सेवन गरेपछि धेरैलाई त्याग्न गाह्रो हुन्छ, जसका कारण उनीहरू चोरीजस्ता अपराधमा पनि संलग्न हुन सक्छन्। रक्सीको अत्यधिक सेवनले कलेजो, मुटु, मस्तिष्कमा असर पार्छ र डिमेन्सिया, डर, डिप्रेसन जस्ता रोग निम्त्याउँछ। तर उपचार र सल्लाहद्वारा यस्तो स्थिति सुधार गर्न सकिन्छ।
२. छारे रोग (Epilepsy)
यसमा बिरामी अचानक बेहोस हुने, शरीर कडा हुने, काम्ने, आँखाको नानी हल्लिने, जिब्रोमा चोट लाग्ने जस्ता लक्षण देखिन्छन्। कहिलेकाहीँ बच्चामा १–२ मिनेटका छोटा टोल लाग्ने लक्षण पनि छारे रोगकै प्रकार हुन सक्छ। यो रोगमा लगातार औषधि सेवन गरे निको हुन्छ (सामान्यतः ४ वर्षसम्म औषधि आवश्यक पर्छ)।
३. सुस्त मनस्थिति (Intellectual Disability / Slow Mentality)
यस्ता बिरामीको बौद्धिक क्षमता (IQ) कम हुन्छ। उनीहरू सिक्ने, पढ्ने र दैनिक काम गर्ने क्षमतामा पछि पर्छन्। तर यस्ता बिरामीलाई उपयुक्त सीप सिकाई, बौद्धिक स्तरअनुसारको काम लगाइएमा सुधार सम्भव हुन्छ।
डिमेन्सिया (Dementia)
यो बुढ्यौलीमा देखापर्ने रोग हो। म्झभलतष्ब द्यचबष्ल को म्भनभलभबतष्खभ रोग हो, जसमा द्यचबष्ल को क्ष्शभ (मस्तिष्कको संरचना) सानो हुँदै जान्छ।
६५ वर्षपछि यो रोग देखिन थाल्छ। बिरामीमा विस्तारै सम्झने शक्ति घट्दै जान्छ, दैनिक क्रियाकलापमा कठिनाइ हुन्छ। बिरामी रिसाउने, विर्सने, दिसा–पिसाब नियन्त्रण गर्न नसक्ने, सोच्ने शक्ति घट्ने र व्यक्तित्वमा परिवर्तन आउने लक्षण देखिन्छन्।
🌿 मानसिक रोगका कारणहरू
• वंशानुगत रूपमा सर्ने
• मस्तिष्कको रासायनिक गडबडी (जस्तै न्यूरोट्रान्समिटरहरूको असन्तुलन)
• बाल्यकालमा आमा–बुबाबाट टाढा रहनु
• हर्मोनको गडबडी (थाइराइड, एड्रिनल वा ग्रोथ हर्मोनको असन्तुलन)
• दीर्घकालीन शारीरिक रोग (जस्तै मधुमेह, मृगौलाको रोग आदि)
• बिरामी हुनु अघि देखिएको व्यक्तित्व (Premorbid Personality)
• नोक्सानी वा शोकजनक घटनाक्रम (जस्तै परिवारको मृत्यु, दुर्घटना आदि)
• पारिवारिक अस्वस्थ सम्बन्ध
• लागूपदार्थ सेवन
• गर्भावस्थामा संक्रमण वा मस्तिष्कको विकासमा अवरोध
• समाजबाट टाढा रहनु वा बारम्बार बसाइँ सर्नु
• टाउकोमा चोटपटक लाग्नु
🌸 कसरी मानसिक रूपमा स्वस्थ बन्ने ?
• अनावश्यक कुरामा बारम्बार गहिरो सोचाइ नगर्ने
• अरूको उपलब्धिलाई सजिलै स्वीकार गर्ने र खुशी हुने
• पुराना, झुटा र रुढीवादी विश्वासहरूमा नफस्ने
• हरेक काममा खुसी, सन्तुष्टि र सुख खोज्ने
• जे छ त्यसमा सन्तुष्ट रहने तर मिहिनेत गर्न नछाड्ने
• लागूपदार्थ, रक्सी र ड्रग्सबाट टाढा रहने
• दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने
• परिवार र समाजमा दुष्टताको वातावरण अन्त्य गर्ने
• अति नैतिकवान नबन्ने र अरूबाट पनि अत्यधिक अपेक्षा नगर्ने
• आफ्ना समस्या परिवार वा साथीभाइसँग बाँड्ने बानी बसाल्ने — जसले चिन्ता घटाउँछ
• मनलाई सधैं शान्त र सन्तुलित राख्ने
🔍 मानसिक रोग लागेको कसरी चिन्ने ?
• शरीरका धेरै अंगमा जटिल लक्षण एकैपटक देखिनु
• अनौठो व्यवहार देखिनु
• एक्लै बोल्ने वा एक्लै हाँस्ने
• अरूबाट सधैं शंका गर्ने
• आत्तिने, डराउने, चिन्ता गर्ने वा घरबाट भाग्ने प्रवृत्ति देखिनु
📘 मानसिक रोगबारे जान्नै पर्ने कुरा
• मानसिक रोग सामान्य (जस्तै टाउको दुख्ने, निद्रा नलाग्ने) देखि गम्भीर (एक्लै बोल्ने, पागलपन) सम्मका हुन्छन्।
सामान्य खालको समस्या हुँदा आत्तिनु वा लुकाउनु हुँदैन — उपचार गर्न सकिन्छ।
• कडा मानसिक रोग भएका बिरामीलाई परिवारको सहयोग अत्यावश्यक हुन्छ।
• मानसिक रोग लाग्नु कुनै पापको फल होइन।
• उपचार गरे मानसिक रोग निको हुन्छ।
• मानसिक रोगीलाई सबैले सहयोग र सहानुभूति देखाउनुपर्छ।
• डाक्टरको सल्लाह विना औषधि छोड्नु हुँदैन।
• ल्याब परीक्षणमा रोग नदेखिए पनि मानसिक रोग हुन सक्छ।
• मानसिक रोगको उपचारमा काउन्सिलिङ (साइकोथेरापी) र इलेक्ट्रिक थेरापी (E.C.T.) को पनि महत्त्वपूर्ण भूमिका हुन्छ।
• मानसिक रोगीहरू परिवार, समाज वा द्वन्द्वका कारण शोषणमा पर्न सक्छन् — त्यसैले उनीहरूको अधिकार र सुरक्षा सुनिश्चित हुनुपर्छ।
• मानिस काम्ने वा बक्ने कारण “भूतप्रेत” होइन — त्यो मनको आन्तरिक पीडा हो।
💊 मानसिक रोगको उपचार विधि
१. साइकोथेरापी (Psychotherapy)
२. औषधि प्रयोग (Medication)
३. विद्युतीय उपचार (E.C.T.)
धेरैजसो बिरामी साइकोथेरापी र औषधिले निको हुन्छन्।
केही अवस्थामा मात्र E.C.T. आवश्यक पर्छ।
⚠️ औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरू
• बिरामीलाई औषधि सधैं अरूको रेखदेखमा दिनु पर्छ।
• तोकेको अवधिसम्म औषधि सेवन गर्नुपर्छ।
मनलागी औषधि छोड्दा रोग पुनः फर्किन सक्छ।
• औषधि सुरक्षित ठाउँमा राख्नुपर्छ ताकि बढी मात्रा सेवनबाट जोगिन सकियोस्।
• औषधिबाट कुनै असामान्य असर देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई जानकारी दिनुहोस्।
• औषधि घाम, पानी वा धुवाँबाट टाढा, सुरक्षित स्थानमा राख्नुपर्छ।
👨👩👧 परिवारका सदस्यको भूमिका
मानसिक रोगका कारणमध्ये पारिवारिक झगडा, बेरोजगारी, प्राकृतिक विपत्ति आदि प्रमुख हुन्। त्यसैले बिरामी हुन नदिन र भएका बिरामी छिटो निको पार्न परिवारको ठूलो भूमिका हुन्छ।
परिवारका सदस्यहरूले के गर्ने ?
• समस्या साझा गरेर समाधान खोज्ने
• डाक्टरको सल्लाह अनुसार नियमित औषधि दिनु
• बिरामी रिसाउने वा झर्किनेबेला शान्त रहनु
• बिरामीको व्यवहार रोगकै कारण हो भन्ने बुझ्नु
• औषधिको असर आउन केही दिन लाग्ने भएकाले धैर्य राख्नु
नेपालमा रक्सी र लागूपदार्थको समस्या बढ्दै गएकोले परिवारको रेखदेख र सचेत भूमिका अझ जरुरी छ। समुदायका मानिसहरूले पनि एकजुट भई सहयोग गरे यस समस्यालाई नियन्त्रण गर्न सकिन्छ।
(नशा तथा मानसिक रोग विशेषज्ञडा सेडाई नेपाल मनोचिकित्सक संघका निवर्तमान केन्द्रीय अध्यक्ष हुन्)