माइग्रेन सामान्य टाउको दुखाइ होइन। यो स्नायु प्रणालीसँग सम्बन्धित एपिसोडिक (बारम्बार हुने तर बीचमा ठिक हुने) समस्या हो। यसमा प्रायः टाउकोको एक भागमा तीव्र र धड्किने जस्तो दुखाइ हुन्छ। यसका साथै उज्यालो, आवाज र हल्लाप्रति संवेदनशीलता, वाकवाकी र बान्ता जस्ता लक्षणहरू पनि देखिन्छन्।
विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ्क अनुसार, विश्वभर करिब १५% महिला र ६% पुरुषमा हरेक वर्ष यो समस्या देखिन्छ। करिब १ अर्ब मानिस माइग्रेनबाट ग्रस्त छन्, जसमा १५ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिहरू बढी पर्छन्। नेपालमा करिब १०–१२% वयस्कहरूमा यो समस्या रहेको अनुमान छ। महिलाहरूमा हर्मोनल उतार–चढाव र इस्ट्रोजेनको प्रभावका कारण यो समस्या बढी देखिन्छ।
माइग्रेनका कारणहरू:
माइग्रेनको ठोस कारण अझै पूर्ण रूपमा पत्ता लागिसकेको छैन। यद्यपि, वैज्ञानिकहरूले यसलाई मस्तिष्कमा हुने असामान्य रासायनिक परिवर्तन र स्नायुहरूको अतिसंवेदनशील प्रतिक्रियासँग जोड्ने गरेका छन्।
मुख्य कारणहरू यसप्रकार छन्:
वंशानुगत: परिवारमा कसैलाई माइग्रेन छ भने अन्य सदस्यमा हुने सम्भावना दोब्बर हुन्छ।
केमिकल असन्तुलन: मस्तिष्कमा सेरोटोनिन (Serotonin) नामक न्यूरोट्रान्समिटरको स्तर घट्दा माइग्रेन सुरु हुन सक्छ।
हर्मोनल परिवर्तन: विशेष गरी महिलामा महिनावारी, गर्भावस्था वा मेनोपजको समयमा।
तनाव: मानसिक वा शारीरिक तनाव माइग्रेनको प्रमुख कारक हो।
निद्रामा अनियमितता: धेरै सुत्नु वा कम सुत्नु दुवैले समस्या निम्त्याउन सक्छ।
खानपान: कफी, रक्सी (विशेष गरी रेड वाइन), चकलेट, चिज, मोनोसोडियम ग्लुटामेट (MSG) युक्त खाना र प्रोसेस्ड मीट (ह्याम, सलामी आदि)।
वातावरणीय कारण: झिलिमिली उज्यालो, ठुलो आवाज, कडा गन्ध, मौसम वा उचाइमा हुने परिवर्तन।
लक्षणहरू:
माइग्रेनका लक्षणहरूलाई मुख्यतया चार चरणमा बाँड्न सकिन्छ:
पूर्व लक्षण चरण: मन खिन्न हुनु, एकाग्रताको कमी, थकान, बारम्बार जम्हाइ आउनु, मूड परिवर्तन र कडा भोक लाग्नु वा खानामा अरुचि हुनु।
अउरा चरण: यो २०–२५% बिरामीमा मात्र देखिन्छ। यसमा दृष्टि धमिलो हुने, चम्किला बिन्दुहरू देखिने, हातखुट्टा झमझम गर्ने वा बोल्न/सोच्न गाह्रो हुने गर्छ। यो चरण २० देखि ६० मिनेटसम्म रहन सक्छ।
मुख्य दुखाइ चरण: टाउकोको एकातिर वा दुवैतिर धड्किने गरी दुख्ने। यो दुखाइ ४ देखि ७२ घण्टासम्म रहन सक्छ। यस बेला वाकवाकी लाग्ने र उज्यालो वा आवाज सहन गाह्रो हुन्छ।
दुखाइपछिको चरण: दुखाइ निको भएपछि शरीरमा कमजोरी, मानसिक थकान र हल्का चक्कर लाग्ने हुन सक्छ।
रोकथामका उपायहरू:
१. टाउको दुख्न थालेमा शान्त र अँध्यारो कोठामा आराम गर्ने।
२. नियमित सुत्ने र उठ्ने तालिका कायम राख्ने।
३. दैनिक पर्याप्त पानी (२–३ लिटर) पिउने र सन्तुलित आहार लिने।
४. ट्रिगर गर्ने खानेकुराहरू (कफी, रक्सी, चकलेट, चिज आदि) कम गर्ने।
५. तनाव व्यवस्थापनका लागि योग, ध्यान र गहिरो श्वासप्रश्वासको अभ्यास गर्ने।
६. मोबाइल वा कम्प्युटरको स्क्रिनमा लामो समय नहेर्ने।
७. दैनिक कम्तीमा ३० मिनेट हल्का व्यायाम गर्ने।
८. डाक्टरको सल्लाह बमोजिम नियमित औषधि सेवन गर्ने।
९. माइग्रेन डायरी राख्ने; जसले कुन कुराले माइग्रेन सुरु गर्छ (Trigger) भन्ने पत्ता लगाउन मद्दत गर्छ।
१०. चर्को घाम, धेरै बास्ना आउने वस्तु (पर्फ्युम, तेल), धुम्रपान र मद्यपानबाट टाढा रहने।