काठमाडौं - फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनैतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिरहेका छन्।
नेकपा एमालेले आज एक समारोहका बीच ‘समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा सहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गरेका हुन्।
८० पेजको घोषणा पत्रमा एमालेले स्वास्थ्यका विषयको विषयलाई समेत प्राथमिकताका साथ समेटेको छ। यी हुन् नेकपा एमालेको घोषणापत्रमा समावेश गरिएका स्वास्थ्यका विषय :
आधारभूत स्वास्थ्य सेवामा निःशुल्क, विश्वसनीय र सबै नागरिकको पहुँचमा पुग्नसक्ने बनाउँदै सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउनेछौं।
स्वास्थ्य बीमामा देखिएको वित्तीय तथा व्यवस्थापकीय समस्या हल गरी नागरिकलाई सहज स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौं। आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकीकरण गरी निःशुल्क, विश्वसनीय र सर्वव्यापी बनाउनेछौं । संघीय सरकारको वित्तीय सहयोगमा स्थानीय तहमार्फत कार्यान्वयन गरिने आधारभूत स्वास्थ्य सेवाका साथै ठूला स्वास्थ्य प्रदायक संस्थालाई पनि आफ्नो कार्यक्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनेछौं ।
स्वास्थ्य प्रणालीमा रहेको दोहोरो वित्तीय बोझ, सेवा उत्पादन–खरिदको अन्योल र बीमा निःशुल्क सेवाबीचको दोहोरोपन हटाउन स्वास्थ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरू क्रमशः एकीकृत गर्नेछौं। सही नीति, सुशासन र प्रभावकारी वित्तीय संयोजनमार्फत् उपलब्ध स्रोतकै अधिकतम् उपयोग गरी सर्वव्यापी स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौं।
स्वास्थ्य बीमा प्रणालीलाई संरचनात्मक र सञ्चालनगत सुधार गरी दिगो बनाउनेछौं। दिगो राष्ट्रिय वित्तीय स्रोतको व्यवस्था गर्दै बीमाको थैली विस्तार गर्नेछौं । आधारभूत, प्राथमिक र समग्र प्राथमिक स्वास्थ्य सेवाबीच स्पष्ट परिभाषा, सेवा प्याकेज, जिम्मेवारी र वित्तीय व्यवस्था कानूनमै स्पष्ट गर्नेछौं ।
योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, आम्ची र होमियोप्याथीलगायत परम्परागत तथा वैकल्पिक चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सासँग एकीकृत गर्नेछौं। आधुनिक प्रविधि र कृत्रिम बौद्धिकताको प्रयोग गर्दै स्वास्थ्य प्रणालीलाई अत्याधुनिक बनाउनेछौं । स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्दै सरकारी, निजी र सामुदायिक साझेदारी विस्तार गर्नेछौं। चिकित्सा शिक्षाको गुणस्तर र पहुँच विस्तार गर्दै विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीको कोटा बृद्धि गर्नेछौं।
स्वास्थ्य संस्थालाई सेवामूलक, सुशासित र उत्तरदायी केन्द्रका रूपमा विकास गर्नेछौं । अप्रभावकारी कार्यक्रमहरूको पुनरावलोकन गरी खारेज गर्नेछौं। स्वास्थ्य क्षेत्रमा सार्वजनिक, निजी र सहकारी लगानी अभिवृद्धि गर्दै लगानी व्यवस्थापनलाई पारदर्शी, जवाफदेही र कुशल बनाउनेछौं।