नेपालमा करिब २८ प्रतिशत अर्थात् ८१ लाख ६५ हजार ८२ जना मानिस सुर्तीजन्य पदार्थको सेवन गर्दछन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण वार्षिक करिब २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको छ (सन् २०१८ को अध्ययनमा आधारित)। सुर्तीजन्य पदार्थको सेवन नसर्ने रोगहरू जस्तै: क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास र मधुमेहको मुख्य कारक हो।
मन्त्रालयका अनुसार, सुर्तीजन्य पदार्थका कारण हुने कुल मृत्युमध्ये २८ प्रतिशत हिस्सा मुटु सम्बन्धी रोगको छ। विश्वव्यापी रूपमा हेर्दा सुर्तीजन्य पदार्थले वर्षमा करिब ८० लाख मानिसको ज्यान लिने गर्दछ। तीमध्ये करिब १२ लाख मानिसको मृत्यु आफूले धुम्रपान नगरे पनि अरूले उडाएको धुवाँ (Second-hand smoking) को असरका कारण हुने गरेको प्राध्यापक श्याम लम्सालले बताए।
दक्षिण एसियामा नेपालको कर प्रणाली
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार, सुर्तीजन्य पदार्थमा कर लगाउने सवालमा नेपाल दक्षिण एसियामै सबैभन्दा कमजोर देखिएको छ। नेपालमा हाल ३३ प्रतिशत मात्र कर लगाइएको छ, जबकि बंगलादेशमा ७१ प्रतिशत पुर्याइएको छ। अन्य देशहरूको तुलनात्मक अवस्था यस्तो छ:
बंगलादेश: ७१ प्रतिशत
माल्दिभ्स: ६९ प्रतिशत
श्रीलंका: ६६ प्रतिशत
पाकिस्तान: ५६ प्रतिशत
भारत: ५४ प्रतिशत
नेपाल: ३३ प्रतिशत
सरकारले कर बढाउन खोजे पनि सुर्ती उद्योगीहरूको प्रभावका कारण यसमा अवरोध पुग्ने गरेको छ। प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने नियमको पूर्ण पालना नभएको र उद्योगीहरूको उक्साहटमा किसानहरूले मुद्दा हाल्ने गरेका उदाहरणहरू छन्। यस जटिलतालाई चिर्न पत्रकारहरूले गम्भीर अध्ययनसहित कलम चलाउनु आवश्यक छ।
नियन्त्रणका लागि भएका कानुनी प्रयासहरू
नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि विभिन्न ऐन, कानुन, कार्य-निर्देशिका र रणनीतिहरू विद्यमान छन्। यस अन्तर्गत सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) नियमावली, २०६८, र सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) निर्देशिका, २०७१ कार्यान्वयनमा छन्। सुर्तीजन्य वस्तुको बक्स, पाकेट, खोल, कार्टुन, पार्सल र प्याकेजिङमा चेतावनीमूलक सन्देश र तस्बिर छाप्ने तथा टाँस्ने सम्बन्धी निर्देशिका, २०६८ (संशोधन सहित) ले प्याकेटको अधिकांश भागमा स्वास्थ्य चेतावनी राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। कानुनी रूपमा १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री-वितरण गर्न, लगाउन वा निःशुल्क उपलब्ध गराउन पाइँदैन। साथै, पसलहरूमा ग्राहक आकर्षित हुने गरी सुर्तीजन्य पदार्थको सजावट गर्न, निःशुल्क वितरण गर्न वा उपहार दिन समेत पूर्ण प्रतिबन्ध लगाइएको छ।
नसर्ने रोगका प्रमुख चार कारणमध्ये पहिलो कारकका रूपमा धुम्रपान तथा सुर्तीजन्य पदार्थलाई लिइन्छ। यसमा धुवाँसहितको चुरोट, बिँडी, हुक्का आदि र धुवाँरहित सुर्ती, खैनी, गुट्खा, स्यामबार आदि पर्दछन्। सुर्तीजन्य पदार्थमा करिब सात हजार प्रकारका रासायनिक पदार्थहरू हुन्छन्, जसमध्ये ६९ वटा तत्वहरूले प्रत्यक्ष रूपमा क्यान्सर गराउँदछन्।
शारीरिक तथा सामाजिक असरहरू:
मुख गनाउने र दाँत तथा कपालमा क्षति पुग्ने।
यौन क्षमता र चाहनामा ह्रास आउने।
परिवारमा आर्थिक भार र कलह बढ्ने।
बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलामा गम्भीर स्वास्थ्य समस्या देखिने।
वातावरणमा प्रदूषण (चुरोटका ठुटा र बट्टा) बढ्ने।
मुख्य सन्देशहरू
धुम्रपानले हृदयघात र मस्तिष्कघातको जोखिम २ देखि ३ गुणा बढाउँछ।
प्रत्यक्ष धुम्रपान जस्तै 'सेकेन्ड ह्याण्ड स्मोकिङ' ले पनि मुटु रोगको खतरा निम्त्याउँछ।
युवावस्था देखि नै यसको प्रयोगले अल्पायुमै मृत्युको जोखिम बढाउँछ।
पटक-पटकको प्रयासपछि मात्र धुम्रपान त्याग्न सफल भइने हुनाले प्रयास जारी राख्नुपर्छ।
कतिपय ठाउँमा सामाजिक परम्परा वा साथीभाइको लहलहैमा लागेर धुम्रपान सुरु गरिन्छ भने कतिपयले तनाव व्यवस्थापनका नाममा यसलाई अङ्गाल्छन्। तर अन्त्यमा यसैका कारण ज्यान गुमाउनुपर्ने तितो यथार्थ छ। त्यसैले, स्वस्थ र निरोगी समाज निर्माणका लागि पहिले आफूले धुम्रपान त्यागौँ र अरूलाई पनि त्याग्न प्रेरित गरौँ।