काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले चुनावी प्रचारका क्रममा प्रयोग गरिरहेको विलासी गाडी र त्यसको स्रोतलाई लिएर सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको छ।
झापा–५ बाट उम्मेदवार बनेका बालेनले प्रयोग गरेको करिब ४ करोड रुपैयाँ पर्ने कालो रङको ल्यान्ड रोभर डिफेन्डर गाडी उपलब्ध गराउने व्यक्तिको लागनी सुर्ती र गुट्खा उद्योगमा पनि रहेको तथ्य फेला परेको छ।
यातायात व्यवस्था कार्यालयको रेकर्ड अनुसार उक्त गाडी रूपन्देहीको तिलोत्तमा–१५ स्थित त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ। यो उद्योगले भने 'करेन्ट मसला' उत्पादन गर्छ। यसका मुख्य लगानीकर्ता कमल मालपानी हुन्।
मालपानीको अर्को उद्योग श्रीराम टोबाको प्रालिले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने करेन्ट गुट्खा, भोला गुट्खा, पावर खैनी र जित खैनी उत्पादन गर्छ।
गत वैशाखमा वाणिज्य विभागले कर छलीको आरोपमा श्रीराम टोबाको प्रालिको उद्योगमा छापा समेत मारेको थियो। कर छलीको आरोप लागेका र सुर्तीजन्य पदार्थ जस्तो हानिकारक वस्तु बेच्ने उद्योगीबाट विलासी सुविधा लिनुले सुशासनको नारा दिने रास्वपा नेतामाथि नैतिक प्रश्न उठाएको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन्।
कानुनको ठाडो उल्लंघन: न विज्ञापन मिल्छ, न सहयोग
नेपालको कानुनले सुर्तीजन्य पदार्थ उत्पादकबाट कुनै पनि प्रकारको सहयोग लिन र उनीहरूले विज्ञापन गर्न पूर्णतः रोक लगाएको छ। सुर्ती उद्योगीहरुले नीतिगत रुपमा प्रभाव बढाउन यस्तै चलाखी गर्दै कानुन विपरित काम गर्दै आइरहेका छन्।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० अनुसार उत्पादकले कुनै पनि व्यक्ति वा माध्यमबाट आफ्नो वस्तुको विज्ञापन वा प्रवर्धन गर्न पाउँदैन।
'बालेन जस्ता चर्चित व्यक्तिले सुर्ती उद्योगीको गाडी चढ्नुलाई अप्रत्यक्ष 'प्रायोजन' मानिन्छ', स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, 'जुन गैरकानुनी हो।'
सीएसआरमा समेत प्रतिबन्ध
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ र नियमावलीको नियम २२ ले प्रष्ट पारेको छ कि सुर्ती उद्योगले सामाजिक उत्तरदायित्वका नाममा समेत कसैलाई आर्थिक वा भौतिक सहयोग दिन पाउँदैनन्।
‘कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन’ नियमावलीको नियम २२ को उपनियम १ र २ मा भनिएको छ, 'सरकारी वा गैह्रसरकारी वा निजी क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राबिधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउने छैन।'
मालपानीले आफूहरूले नै बालेनलाई गाडी दिएको स्वीकार गरेका छन्।