काठमाडौं- नेपाल लिटरेचर फेस्टिवलको 'सत्र प्रस्तुतकर्ता'बाट सुर्तीजन्य पदार्थ उत्पादक सूर्य नेपाललाई हटाइएको छ। कानुन विपरित सुर्तीजन्य पदार्थ उत्पादकको सहयोग लिइएको तथा लोगो प्रबर्द्धन गरिएको थियो।
कानु उलंघन गर्दै सत्र प्रस्तुतकर्ताका रुपमा राखिएको विषयमा समाचार प्रकाशन गरिएपछि स्वास्थ्य मन्त्रालय र सरोकारवालाहरुले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी थिए। स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्व स्वास्थ्य मन्त्रीहरु गगन थापा र खगराज अधिकारीलगायतले उक्त विषयमा आयोजकलाई प्रश्न गरेका थिए। सुर्तीजन्य पदार्थ उत्पादकको सहयोग नलिने निश्चित गरेपछि मात्रै सहभागी हुने बताएपछि आयोजक उक्त सूची सार्वजनिक गर्न बाध्य भएको हो। यसअघि बुधबार उनीहरुलाई आयोजकले सुर्तीजन्य पदार्थ उत्पादकको सहयोग नलिइएको भन्दै निम्तो पत्र पठाएको थियो।
सुरुमा फेसबुकबाट पोष्ट हटाएको आयोजकले अन्तत: सत्रबाट हटाएको छ। आयोजकले अन्तिम सूची भन्दै सार्वजनिक गरेको धन्यवाद ज्ञापनमा म्युजिकल सेसन प्रस्तुतकर्ता भनिएको उक्त कम्पनीको नाम छैन।
सत्र प्रस्तुतकर्तामा नेपाल नागरिक उड्डयन प्राधिकरण, लक्ष्मी ग्रुप, आभ्या क्लब, सेल्सबेरी, टेम्पल ट्री रिसोर्ट एन्ड स्पा, नेपाल मनिपाल कलेज एन्ड मेडिकल साइन्सेस, माछापुच्छ्रे बैंक लिमिटेड, ई-सेवा प्रालि, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड मात्रै उल्लेख छ।
फेस्टिभल प्रस्तुतकर्ता एनसेल फाउन्डेसन, पावर्ड बाई बुध्द एयर, प्रवर्द्धक पोखरा महानगरपालिका, सहप्रवर्द्धक गण्डकी प्रदेश सरकार, उपप्रवर्द्धक नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड उल्लेख छ।
अघिल्लो संस्करणको मुख्य प्रायोजक सुर्तीजन्य पदार्थ उत्पादक सूर्य नेपाल थियो। त्यसको विरोध भएको थियो। यसपल्ट एउटा सत्रमा खुम्चिएको थियो।
स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मीले कानुनको परिपालना गर्नु सबैको कर्तव्य रहेको बताए। मन्त्रालयले बिज्ञप्तिमार्फत् आयोजकलाई त्यही कर्तव्य स्मरण गराएको उल्लेख गरे। उनले भने, 'हामीले स्मरण गरायौं। उहाँहरुले त्यसको पालना गर्नुभएको सूचना पाएका छौं।'
सत्र प्रस्तुतकर्ताबाट हटाइएको कुरालाई लिएर सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनमा काम गरिरहेको संस्था एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कानुन भन्दा माथि कोही नहुने यसले दर्शाएको उल्लेख गरे। नेपाल सरकारले बनाएका सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयनका पक्षमा काम गरिरहेको संस्था एक्सन नेपालका चन्दले भने, 'कानुन उलंघन गर्न अनेक छिद्र खोज्ने प्रवृत्ति पराजित भएको छ। भविष्यका लागि यो घटना उदाहरणका रुपमा रहनेछ। कुनैपनि बहानामा जनस्वास्थ्यका लागि हानिकारक सुर्तीजन्य पदार्थको प्रबर्द्धन गर्न पाइदैन।'