मुसलमानहरूका लागि वर्षको सबैभन्दा पवित्र महिना रमजान नेपालमा फाल्गुण २०८२ को पहिलो हप्तादेखि सुरु हुन गइरहेको छ। रमजानको पालना इस्लामका पाँचवटा स्तम्भमध्ये एक हो र विश्वभरका मुस्लिमहरू पूरा महिना व्रत (रोजा) बस्छन्।
कुरानमा वर्णन गरेअनुसार रमजानको पवित्र महिनाको अवधिमा ज्यान जोखिममा पर्न सक्ने दीर्घ रोगहरू (जस्तै मधुमेह) भएका केही व्यक्तिहरू बाहेक सबै स्वस्थ वयस्क मुस्लिमहरूका लागि रोजा बस्नु अनिवार्य हुन्छ। यस अवधिमा मधुमेह लगायत केही दीर्घ रोग भएका व्यक्तिहरूलाई रोजा बस्न छुट दिइए पनि धेरै मुस्लिम मधुमेह रोगीहरू रोजा बस्ने गर्छन् (सुरह अल–बकरा, आयत १८४–१८५)।
रमजानको महिनामा जीवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनका कारण व्रत (रोजा) ले शरीरमा हुने मेटाबोलिज्ममा पनि गडबडी ल्याउँछ। त्यसैगरी मधुमेह बिरामीहरूमा हृदय, मिर्गौला तथा अन्य जटिलता हुँदा रोजा बस्दा जोखिम अझ बढेर जान्छ। त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्न मधुमेह बिरामीहरूले रोजा राख्नु अघि चिकित्सक तथा धार्मिक सल्लाह लिनु आवश्यक हुन्छ।
विश्वभर १५ करोडभन्दा बढी मुस्लिमहरू मधुमेहका रोगी छन्। नेपालको पछिल्लो २०७८ साल (सन् २०२१) को जनगणनाअनुसार नेपालमा मुस्लिम जनसंख्या १४,८३,०६० रहेको छ, जुन कुल जनसंख्याको ५.०९ प्रतिशत हो। तर मधुमेह भएका मुस्लिमहरूको यथार्थ जनसंख्याबारे कुनै आधिकारिक तथ्याङ्क उपलब्ध छैन।
रोजा राख्दा हुने शारीरिक लाभहरू
• शरीरको वजन घट्छ
• रगतमा ग्लुकोज (एचबीएवान्सी) को नियन्त्रण हुन्छ
• बोसोको मात्रामा सुधार हुन्छ
• रक्तचाप नियन्त्रणमा मद्दत हुन्छ
• रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ
• शरीरभित्रको विषाक्त पदार्थ बाहिर निस्कन मद्दत गर्छ
रमजानको समयमा मधुमेह बिरामीहरूमा हुने जोखिमहरू
• रगतमा ग्लुकोजको मात्रा अत्यधिक कम हुनु (हाइपोग्लाइसेमिया)
• रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढ्नु (हाइपरग्लाइसेमिया)
• शरीरमा पानीको मात्रा अत्यधिक कम हुनु (जलवियोजन)
• टाइप–१ मधुमेह बिरामीहरूमा रगतमा एसिड (किटोन बडी) जम्मा हुनु
जोखिम कम गर्न के गर्नुपर्छ ?
• रोजा बस्ने निर्णय गर्नु भन्दा ६–८ हप्ता अगाडि चिकित्सक तथा धार्मिक सल्लाहका आधारमा जोखिम मूल्याङ्कन गर्नुपर्छ।
• “अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडिएफ)” र “मधुमेह र रमजान (डिएआर)” अन्तर्राष्ट्रिय गठबन्धन (आईडिएफ–डिएआर) २०२१ अनुसार रमजानको समयमा रोजा बस्न चाहने मधुमेह बिरामीहरूलाई तीन जोखिम समूहमा वर्गीकरण गरिएको छ, जसलाई इजिप्टको मोफ्टीले अनुमोदन गरेका छन्।
o धेरै उच्च जोखिमः मधुमेह बिरामीले रोजा राख्नै मिल्दैन।
o उच्च जोखिमः मधुमेह बिरामीले रोजा राख्नु हुँदैन।
o मध्यम/कम जोखिमः चिकित्सकको सल्लाहअनुसार रोजा राख्न मिल्छ।
• मधुमेह बिरामी र परिवारका सदस्यहरूले निम्न विषयमा जानकारी राख्नुपर्छः
o स्वस्थ पोषण
o नियमित व्यायाम
o औषधि र मात्रा समायोजन
o नियमित ग्लुकोज जाँच
o हाइपोग्लाइसेमियाका लक्षणहरू
o रोजा तोड्न मिल्ने अवस्थाहरू
रमजानको समयमा भोजन योजना (डाइट प्लानिङ)
• शरीरलाई दैनिक आवश्यक पर्ने क्यालोरी सेहरी र इफ्तारबीच उचित रूपमा विभाजन गरी सेवन गर्नुपर्छ।
• अत्यधिक फाइबरयुक्त खाना खानुपर्छ।
• फलफूल, तरकारी तथा सलाद प्रशस्त मात्रामा खानुपर्छ।
• सूर्यास्तदेखि सूर्योदयसम्म प्रशस्त तरल पदार्थ सेवन गर्नुपर्छ।
• गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त पेय पदार्थ सेवन गर्नु हुँदैन।
इफ्तार
• तरल पदार्थ – नरिवल पानी / कागती पानी (चिनी नहालेको), अमिलो फलको रस – १ गिलास
• फलफूल – कुनै एक गुलियो फल (१–२ टुक्रा)
• मुरी / चिउरा / ओट्स / नुडल्स – १ कप
• पियाजी – १ पिस
• उमालेको छोला – १/२ कप, चप – १ पिस, कबाब – १–२ पिस
• काक्रो, अमिलो फल, नरिवल पानी – इच्छाअनुसार
बेलुकाको खाना
• रोटी – २ वटा / चामल – १–१.५ कप (१२०–१८० ग्राम)
• माछा / मासु / अण्डा – १ पिस
• तरकारी, सलाद – इच्छाअनुसार
• दाल – १ कप
सेहरी
• चामल – २ कप (२५०–३०० ग्राम)
• माछा / मासु – २ पिस
• तरकारी, सलाद – इच्छाअनुसार
• दाल – १ कप
• दूध – १ कप
रमजानको समयमा व्यायाम
• रोजाको समयमा कठोर व्यायाम नगर्नुहोस्, यसले रगतमा ग्लुकोजको मात्रा अत्यधिक कम हुन सक्छ र जलवियोजन हुन सक्छ।
• तरावीह नमाजमा हुने शारीरिक श्रमलाई दैनिक व्यायामको रूपमा लिन सकिन्छ।
• खाना खाएको १–२ घण्टापछि हल्का व्यायाम गर्न सकिन्छ।
रमजानको बेला औषधि समायोजन
• औषधिको मात्रा, समय वा प्रकार समायोजनबारे आफ्नो चिकित्सकसँग सल्लाह लिनुहोस्।
रमजानको समयमा ध्यान दिनुपर्ने कुराहरू
• कुरानले स्पष्ट रूपमा भनेको छ—यदि कुनै व्यक्ति बिरामी छ भने छुटेको रोजा पछि पूरा गर्न सकिन्छ, किनकि “अल्लाह तपाईंका लागि सहजता चाहनुहुन्छ, कठिनाइ होइन।”
• मधुमेह बिरामीहरू पर्याप्त शिक्षा नपाई रोजा बस्दा हाइपोग्लाइसेमिया वा हाइपरग्लाइसेमियाको जोखिममा पर्न सक्छन्।
• कुनै पनि शारीरिक अस्वस्थतामा रोजा तोड्न सकिन्छ। यो सिफारिस इजिप्टको मोफ्टीद्वारा अनुमोदित छ।
• रोजा बस्ने प्रत्येक मधुमेह बिरामीले अनिवार्य रूपमा स्वयं रगतको ग्लुकोज अनुगमन गर्नुपर्छ, र यसले रोजा धार्मिक रूपमा भंग हुँदैन।
रगतमा ग्लुकोज अनुगमन गर्ने समय
o इफ्तारअघि
o इफ्तार, बेलुकाको खाना र सेहरीको २ घण्टापछि
o मध्य दिन
o अस्वस्थ महसुस भएमा कुनै पनि समय
रोजा तोड्न मिल्ने अवस्थाहरू
• रगतमा ग्लुकोज < ७० मिलिग्राम/डेसीलिटर (३.९ मिलिमोल/लिटर)
• रगतमा ग्लुकोज > ३०० मिलिग्राम/डेसीलिटर (१६.७ मिलिमोल/लिटर)
• अत्यधिक अस्वस्थ महसुस भएमा
• हाइपोग्लाइसेमियाका लक्षण देखिएमा
• अन्य अवस्था (जस्तै पखाला, बान्ता, ज्वरो आदि)
के गर्दा रोजा टुट्दैन ?
• रगतबाट ग्लुकोज परीक्षण गर्दा
• इन्सुलिन इन्जेक्सन लिँदा
रमजान समाप्त भएपछि ध्यान दिनुपर्ने कुराहरू
• इद–उल–फितरमा अत्यधिक मिठाइ सेवनबाट बच्नुहोस्।
• औषधि समायोजनबारे चिकित्सकसँग पुनः सल्लाह लिनुहोस्।
• रमजानमा समस्या देखिएको भए आगामी वर्ष विशेष सावधानी अपनाउनुहोस्।
(मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा यादव विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा कार्यरत छन्)