काठमाडौं- झापा–५ मा घरदैलो अभियानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले आफ्नो निर्वाचन क्षेत्रका लागि स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै आठ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। गरिब, विपन्न र असहाय नागरिकलाई व्यवहारमै उपचारको पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित उनले संरचनागत सुधारदेखि निःशुल्क सेवा विस्तारसम्मका योजना अघि सारेका हुन्।
बालेनले अस्पतालमा आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अनिवार्य रूपमा १० प्रतिशत शैया निःशुल्क छुट्याउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्। उपचार अभावमा कोही पनि नागरिक वञ्चित नहोस् भन्ने उद्देश्यले यस्तो नीति प्रभावकारी रूपमा लागू गरिने उनको दाबी छ।
झापा क्षेत्रको प्रमुख सरकारी स्वास्थ्य संस्थान दमक अस्पताल लाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्। यसबाट झापा–५ मात्र नभई आसपासका ग्रामीण र सीमावर्ती क्षेत्रका बिरामीले पनि सहज उपचार पाउने अपेक्षा गरिएको छ।
ग्रामीण तथा सीमावर्ती भेगमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने, प्रत्येक घरमा शुद्ध खानेपानी सुनिश्चित गर्ने र “घर घर स्वास्थ्य सेवा कार्यक्रम” मार्फत फरक क्षमता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजना पनि उनको वाचा पत्रमा समेटिएको छ।
त्यसैगरी २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्न नीतिगत सुधार गरिने र अपाङ्गता पुनर्स्थापना केन्द्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
घरदैलो अभियानका क्रममा बालेनले स्वास्थ्य सेवा केवल चुनावी मुद्दा नभई आधारभूत अधिकार भएको उल्लेख गर्दै झापा–५ लाई गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवायुक्त क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता गरेका छन्।
यस्ता छन् वाचा पत्रका स्वास्थ्यसम्बन्धी बुँदा
- गरिब तथा विपन्न परिवारले स्वास्थ्य उपचार पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिनेछ ।
- अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैया छुट्टाई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था सशक्त रुपमा कार्यन्वयन गरिनेछ ।
- दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रुपमा स्तरोन्नति गरिनेछ ।
- ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गरिनेछ ।
- “प्रत्येक घरमा शुद्ध पानी, परिवारमा स्वस्थ कहानी" कार्यक्रम मार्फत स्वच्छ खानेपानीको सुनिश्चितताका गरिनेछ ।
- फरक क्षमता भएका र ज्येष्ठ नागरिक लक्षित “घर घर स्वास्थ्य सेवा कार्यक्रम” मार्फत् निःशुल्क स्वास्थ्य सेवा सञ्चालनको नितिगत व्यवस्था गरिनेछ ।
- “२४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा” को सुनिश्चितताका लागि नितिगत सुधार गरिनेछ ।
- अपाङ्गता पुनर्स्थापना केन्द्रको निर्माण सम्पन्न गरी संचालनमा ल्याइनेछ ।