काठमाडौं– नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी प्रतिज्ञापत्रमार्फत सहज, सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई उपचार सेवामा आर्थिक पहुँच सुनिश्चित गर्ने नीति अघि सारेका छन्।
पौडेलले क्षेत्रभित्र रहेका प्रमुख केन्द्रीय अस्पतालहरूको सेवा क्षमता विस्तार गर्ने योजना अघि सारेका छन्। यसअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल र नेपाल प्रहरी अस्पताल जस्ता अस्पतालहरूको सेवा विस्तार गरिने उल्लेख छ। क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्दै निजी अस्पतालहरूसँग सघन सहकार्य गरिने पनि उनले बताएका छन्।
उनले स्वास्थ्य प्रणालीलाई डिजिटल प्रविधिसँग जोडेर थप व्यवस्थित र पारदर्शी बनाउने योजना अघि सारेका छन्। स्वास्थ्य बीमाको पुनर्संरचना गर्दै नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्ने, सुविधा दायरा विस्तार गर्ने तथा बिरामी पर्दा ढुक्कसँग उपचार लिन सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यस्तै, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र लाई अत्याधुनिक र प्रभावकारी बनाउँदै आयुर्वेद क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखिने जनाइएको छ।
तीनै तहका सरकारसँग सहकार्य गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, स्वस्थ जीवनशैलीबारे जनचेतना विस्तार, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना तथा आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्था मिलाइने योजना पनि प्रतिज्ञापत्रमा उल्लेख छ। साथै, मानसिक स्वास्थ्य परामर्श केन्द्रको विकास र लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना तथा नियन्त्रण अभियानलाई तीव्रता दिइने प्रतिबद्धता जनाइएको छ।
हेरौं उनको प्रतिबद्धता पत्रमा स्वास्थ्यका विषय
सहज, सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य प्रणालीः सबैका लागि स्वास्थ्य बीमा
यस क्षेत्रका त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ), सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल, नेपाल प्रहरी अस्पतालजस्ता केन्द्रीय अस्पतालहरूको स्वास्थ्य सेवा प्रवाहको क्षमता थप विस्तार गरिनेछ । क्षेत्र नं. ५ लाई मेडिकल हव (Hub ) को रूपमा विकास गर्दै लैजान निजी अस्पतालहरूसँग समेत सघन सहकार्य गरिनेछ ।
सबैका लागि स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गरि स्वास्थ्य प्रणालीलाई (Digital Health System) आधुनिक प्रविधिसँग जोड्दै थप व्यवस्थित, सहज र सुलभ बनाइनेछ । स्वास्थ्य बीमाको पुनर्संरचना गरी यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइनेछ र सुविधाको दायरा वृद्धि गर्दै नागरिकले बिरामी पर्दा ढुक्कसँग उपचार लिन पाउने वातावरण निर्माणका लागि आवश्यक नीति निर्माण तथा कार्यन्वयनमा उचित समन्वय गरिनेछ ।
राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, बुढानिलकण्ठलाई अत्याधुनिक, व्यवस्थित र थप प्रभावक बनाउँदै आयुर्वेदको विकासलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइनेछ ।
तीनै तहका सरकारका स्वास्थ्य संरचनासँग सहकार्य गर्दै निशुल्क स्वास्थ्य शिविर र स्वस्थ जीवनशैलीका लागि जनचेतना विस्तार कार्यलाई निरन्तरता दिइनेछ । स्थानीय तहसँग सहकार्यमार्फत शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको स्थापना तथा आवश्यक जनशक्ति, उपकरण र औषधिसहित थप सुदृढ बनाउँदै नागरिकको घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पुऱ्याउने व्यवस्था मिलाइनेछ। मानसिक स्वास्थ्य समस्या समाधानका लागि परामर्श केन्द्रहरूको विकास तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम तथा नियन्त्रणका कार्यलाई तिव्रता दिइनेछ ।