अछाम - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभयानमा हिँडेका एक दीनेश सिटौला अछाममा बिरामी परेका छन्।
अचानक बेहोस भएर लडेका सिटौलालाई तत्कालै उपचारका लागि अछामस्थित जिल्ला अस्पतालमा लगिएको थियो। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा कमलेश प्रसाद यादवका अनुसार सिटौला अस्पतालमा ल्याउँदा होसमा थिएनन्।
डा यादवका अनुसार बेहोस अवस्थामा ल्याइएका सिटौलालाई अस्पतालमा ल्याउँदा पल्स र रक्तचाप नै थिएन्। 'बीपी र पल्स नै थिएन। त्यसपछि हामीले तत्कालै मुटुको चाल फर्काउन कार्डियोपल्मोनरी रिसससिटेसन (सीपीआर) गर्यौं। यसका साथै हामीले डिसी सक पनि दियौं,' डा यादवले स्वास्थ्यखबरसँग भने, 'डिसी सक र ४५ मिनेटसम्म सीपीआर गरेपछि उहाँको मुटुको चाल फर्कियो।'
डा यादवका अनुसार बिहान पौने १० बजेतिर अस्पतालमा ल्याउँदा सिटौलाको शरीरमा अक्सिजनको मात्रा पनि निकै कम थियो। 'उहाँको टाउकोमा भित्र चोट लागेर मस्तिष्कमा असर गरेको वा कार्डियाक अरेस्ट भएको हुनसक्छ। अस्पतालमा उपलब्ध भएको स्रोत र सधानका आधरमा आवश्यक उपचारपछि उहाँलाई तत्कालै सिटी स्क्यान गर्ने र मुटु र मस्तिष्कको विशेषज्ञ उपचार गर्नसक्ने क्षमता भएको अस्पतालमा लैजान भनेका हौं।'
डाक्टर यादवले अस्पतालबाट रेफर भएर निसक्दा सिटौलाका शरीरका अंगहरुले काम गरिरहेको तर छिटोभन्दा छिटो विशेषज्ञ उपचार आवश्यक देखिएको बताए। 'शरीरमा अक्सिजनको मात्रा राम्रो भएको छ। रक्तचाप भने तलमाथि भइरहेको छ। शरीरका भाइटल्सहरुले काम गरिरहेको छ। तर होसमा भने आइसक्नुभएको छैन। उहाँलाई छिटोभन्दा छिटो विशेषज्ञ सेवा दिने अस्पतालमा लगेर थप उपचार गर्न आवश्यक भएर नै रेफर गरिएको हो। यहाँका एक जना स्वास्थ्यकर्मी पनि सँगै जानुभएको छ,' डाक्टर यादवले भने।
सिटौलालाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइँदै छ।