काठमाडौं - गएराति धादिङमा भएको बस दुर्घटनाका १५ घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
दुर्घटनाका १६ घाइतेहरुलाई उपचारका लागि ट्रमा सेन्टर ल्याइएकोमा १ जनाको उपचारको क्रममा मृत्यु भएको तथा हाल १५ जनाको उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले बताए। उनका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
गएराती पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भैंसेडाँडा भन्ने स्थानमा दुर्घटना भएको थियो।
हालसम्म उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगिसकेको छ। अन्य घाइतेहरुमा नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जनाको उपचार भइरहेको छ।