काठमाडौं- आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको पूर्वसन्ध्या, निर्वाचनको दिन र त्यसको भोलिपल्ट गरी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
निर्वाचन आयोगको सिफारिस बमोजिम सरकारले यो निर्णय लिएको हो। आफ्नै गृहजिल्ला र गाउँ पुगेर मतदान गर्न चाहने कर्मचारी, शिक्षक तथा निजी क्षेत्रमा कार्यरत सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले सरकारले तीन दिनको 'बिदा' दिएको बुझिएको छ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै देशभरका सरकारी कार्यालय, अर्ध-सरकारी निकाय र शैक्षिक संस्थाहरू फागुन २० देखि २२ सम्म बन्द रहनेछन्। धेरैजसो मतदान केन्द्रहरू विद्यालयमा रहने र शिक्षकहरू निर्वाचन कार्यमा खटिनुपर्ने भएकाले पठनपाठन पूर्ण रूपमा प्रभावित हुनेछ।
निर्वाचन आयोगले शतप्रतिशत मतदान सुनिश्चित गर्न र सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारलाई बिदाको सिफारिस गरेको थियो। गृह मन्त्रालयका अनुसार निर्वाचनका क्रममा हुन सक्ने सवारी चाप र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बिदाको समयमा अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरू स्थगित रहनेछन्।