काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण साम्बा हाल जटिल शल्यक्रियाको तयारीमा छिन्। उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको कांग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको जनाइएको छ।
सभापति गगन थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गर्नु भएका प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला हामी सबैले उनलाई साथ दिन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ।
यता राष्ट्रिय ट्रमा सेन्टरले भने सम्बाको निःशुल्क उपचार गर्ने प्रस्ताव गरेको छ।