डा रामदेव पण्डित
गत डिसेम्बर ३१ मा चीनको हुवेई प्रान्तको वुहानबाट नयाँ कोरोना भाइरस आतंक सुरु भयो। संक्रमणको प्रभाव यति भयंकर होला भन्ने कसैले कल्पना गरेको थिएन। फेब्रुअरीको मध्यसम्म आउँदा झन्डै १६ सय मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने विश्वभर ७० हजारभन्दा बढी सर्वसाधारणलाई र १ हजार चिनियाँ स्वास्थकर्मीलाई संक्रमण पुष्टि भएको छ।
चीनबाहेक २५ राष्ट्रमा यो भाइरसको संक्रमण फैलिसकेको पाइएको छ। अहिले यो विश्वकै लागि ठूलो समस्या बनिसकेको छ। विश्व स्वास्थ्य संगठनले विश्वभर स्वास्थ संकट नै घोषणा गरेको छ।
नेपालमा मास्क
धुलो र धुवाँबाट जोगिन नेपालीले निकै पहिलेदेखि नियमित रूपमा मास्क लगाउने गरेका थिए। नेपालमा मास्कले चर्चा पाएको सन्दर्भ पक्कै नयाँ होइन। धेरै पटक सदनदेखि सडकसम्म मास्कले चर्चा पाउँदै आएको छ। तर मास्कले अर्थतन्त्रलाई नै प्रभावित तुल्याउन सकेको भने थिएन। नेपालले चीनलाई मास्क निर्यात गर्ने अवस्था आइसकेको थिएन।
मास्कप्रति अन्तर्राष्ट्रिय चासो
हाल विश्व चर्चामा रहेको नोबल कोरोना भाइरसका कारण मास्क लगाउनेको संख्या उल्लेख्य बढेको छ। अतः मास्क अन्तर्राष्ट्रिय चर्चा र चासोको विषय बनेको छ। विश्व अर्थबजारमा मास्कको चर्चा भइरहेको छ।
भाइरस नसरोस् भनेर सर्वसाधारणले व्यक्तिगत रुपमा सतर्कता अपनाउन मास्क प्रयोग थालेका छन्। भीडभाडमा होस् या बाटोमा, अस्पतालमा होस् या विमानस्थलमा मास्क लगाउने मानिस बढेका छन्। चिनियाँ बजारमा मास्को चरम अभाव भएकोले ब्रा, स्यानिटरी प्याड र सुन्तलाको मास्क बनाएर लगाउन थालेका देखिन्छन्। कसैकसैले प्लास्टिकले पूरै शरीर छोपेका छन् त कसैले प्लास्टिकको बोत्तलले मुख छोपेका छन्। कोरोना भाइरस प्रकोपका कारण मास्क अभाव भएपछि चीनले बेइजिङमा ६ दिनभित्रै मास्क फ्याक्ट्री बनाउने समाचार बाहिर आएको थियो।
छिमेकी राष्ट्रहरुद्वारा मास्क निर्यातमा रोक
विश्वको सबैभन्दा ठूलो मास्क उत्पादक राष्ट्र चीनले गत वर्षमात्र पाँच अर्ब मास्क उत्पादन गरेको थियो। तथापि, कोरोना भाइरसको प्रकोपसँगै उसले प्रतिदिन उत्पादन गर्ने एक करोड ५० लाख मास्कले हालको चुलिँदो माग धान्न सकिरहेको छैन।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुन सक्ने भन्दै सरकारी निकाय औषधि व्यवस्था विभागले रसायन तथा मेडिकल आपूर्ति संघ त्रिपुरेश्वरलाई माघ २० गते पत्राचार गरेर मास्कलगायत सामग्री निर्यात नगर्न भनेको छ। भारतले त १७ माघमा नै मास्क निर्यातमा प्रतिबन्ध लगाइसकेको छ।
बजारमा मास्क अभाव
कुनै कुराको आवश्यकतासँगै अभाव र मूल्यवृद्धि हुनु त बजारको विशेषता नै हो। कोरोना भाइरस तीव्र गतिमा फैलिँदै गएपछि चीनमा सर्जिकल मास्को हाहाकार भएको छ। चीनलाई मास्क आपूर्ति गर्न हम्मेहम्मे भएको छ।
नेपाली बजारमा पनि मास्कको चरम अभाव देखिएको छ। बजारमा पाइएका मास्कको मूल्य पनि अत्यन्तै महँगो छ। मास्कको कालोबजारी सुरु भएको देखिएको छ। व्यापारीहरु लाखौंलाख मास्क चीनलाई आपूर्ति गरी रातारात व्यापार बढाउन सक्रिय छन्। भारतीय सीमा र चिनियाँ सीमाक्षेत्रमा मास्कको तस्करी भइरहेको।
चीनलाई मास्क सहयोग
संक्रमणले चीनमा मास्कको अभाव भएपछि नेपाल सरकारले एक लाख प्रोटेक्टिभ मास्क चीनलाई सहयोग स्वरुप उपलब्ध गराइसकेको छ। अमेरिकाले १८ लाख मास्क र ८० हजार आइसोलेसन गाउन सहयोग उपलब्ध गराउने बताएको छ।
नेपालमा अपांगताको क्षेत्रमा काम गर्दै आएको संस्था बिआइए फाउन्डेसनले १ लाख थान मास्क सहयोग गरेको छ। बिआइएले रेडक्रस सोसाइटी अफ चाइनालाई काठमाडौंमा एक कार्यक्रम गरी उक्त मास्क प्रदान गरेको बिआइए फाउन्डेसनका अध्यक्ष गोकर्ण ढंगानाले बताए। सँगै व्यापारिक हिसाबले अमेरिका, बेलायत, कोरियासमेत कयौँ देशबाट सर्जिकल मास्क चीनमा निर्यात गरिँदै छ।
चीनलाई कमजोर र लाचार देखाउन पनि शक्ति राष्ट्रहरुले चीनलाई मास्क सहयोगको कूटनीति चालेको देखिन्छ। शक्तिशाली चीन मास्क जस्तो सामग्री पनि आफ्ना सबै जनताका लागि सहज रुपमा आपूर्ति गर्न योग्य छैन भन्ने देखाउन पनि खोजेको देखिन्छ।
प्रयोगमा रहेका मास्कको प्रकार
नेपाली बजारमा ३ थरी मास्क पाइन्छन्। कपडाको मास्क (२ पत्रे), मेडिकल वा सर्जिकल मास्क (३ पत्रे) र अर्को ‘एन ९५’ मास्क, जसलाई विशेषगरी भाइरस प्रतिरोधी मास्क भनिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘एन ९५’ मास्कलाई प्रमाणित गरेको छ।
सिंगापुरीहरुको मतमा भाइरस लागेका बिरामी उपचार गर्ने चिकित्सकहरुको लागि ‘एन ९५’ मास्क उपयुक्त हुन्छ। सर्वसाधारणलाई यस्तो माक्स लगाउँदा श्वास फेर्न गाह्रो हुने र फिटिङ गर्न समस्या हुन्छ। मास्क मात्रै भाइरसको ओखती होइन।
मास्कको फरकफरक प्रयोजन र मूल्य
‘एन ९५’ मास्कलाई नेपाली बजारमा साढे तीनदेखि चार सय रुपैयाँसम्म पर्छ। यसमा फिल्टर जडान गरिएको हुन्छ र यसबाट श्वास फेर्न पनि मिल्छ। त्यस अलावा सामान्य ‘एन ९५’ मास्क पनि पाइन्छ, जुन प्रयोग गरेपछि फ्याँक्नुपर्छ। यसको मूल्य नेपाली बजारमा ९० रुपैयाँ छ।
बजारमा सर्जिकल मास्क अधिकांश मान्छेले लगाएको पाइन्छ। यस मास्कको बजार मूल्य ५ देखि १० रुपैयाँसम्म हुने गरेको छ। सर्जिकल मास्कले शतप्रतिशत रोक्ने र पूरै सुरक्षित हुने भन्ने छैन। तर धेरै हदसम्म सङ्क्रमणलाई रोक्छ र श्वासप्रश्वाससम्बन्धी रोगबाट पनि बचाउँछ। सामान्यतया बजारमा कालो, सेतो र निलो रङका सर्जिकल मास्क उपलब्ध छन्। यसमध्ये प्रयोगकर्ताको छनोटमा चाहिँ निलो र सेतो रङको मास्क बढी पर्ने गर्छ।
धुलो र धुवाँ छेक्ने कपडाको मास्क लगाउनु धेरै राम्रो मानिँदैन किनभने यसले कुनै किसिमको सङ्क्रमण रोक्न मद्दत गर्दैन। कपडाको मास्क बजारमा २ देखि ५ रुपैयाँसम्म पर्छ।
नेपालमा मास्क उत्पादन
नेपालमा मास्क उत्पादकहरु छन् तर उनीहरु समस्यामा रहेको देखिन्छ। नेपालले तयारी अवस्थाको मास्क र मास्क उत्पादनका लागि चाहिने कच्चा पदार्थ दुवै चीनबाट आयात गर्दै आएको छ। चीनबाट अहिले कच्चा पदार्थको आयात हुन सकेको छैन। प्रतिदिन ६ हजार मास्क उत्पादन गर्ने धुलिखेलको क्लिन सिटी प्रालीका अनुसार उत्पादन लागत भन्दा आधा पैसामा मास्क बेच्नुपर्ने बाध्यता रहेको छ।
कच्चा पदार्थको आयातका लागि भन्सारमा ३५ प्रतिशतसम्म शुल्क तिर्नुपर्छ। जहाँ कि रेडिमेड मास्क आयातकर्ताहरूले तयारी अवस्थाको मास्कका लागि १५ प्रतिशत भन्सार तिरे पुग्छ। नेपालमा प्रति मास्क उत्पादन मूल्य लगभग तीन रुपैयाँ जति पर्न जान्छ जब कि आयातित रेडिमेड मास्क मात्र २ रुपैयाँमा बजारमा पाइन्छ। यसरी मास्क उद्योग नेपालमा समस्यामा रहेको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार हाल नेपालमा घरेलु तथा साना उद्योग महासंघमा आबद्ध दुई दर्जनभन्दा बढी मास्क उत्पादन गर्ने उद्योग छन्। जसले दैनिक २ देखि ३ हजार मास्क उत्पादन गर्ने गरेको पाइएको छ। उद्योगहरुले बजारको मागअनुसार विभिन्न रङ र आकारमा ७ प्रकारका मास्क उत्पादन गर्दै आएका छन्। त्यसमध्ये नेपाली बजारमा ती उत्पादनहरुको ५ रुपैयाँदेखि १ हजारसम्म मूल्य पर्छ।
नेपाल सर्जिकल उपकरण व्यवसायी संघका अध्यक्ष सुरज घिमिरेका अनुसार अस्पताल र सार्वजनिक खपत गरी मासिक रूपमा बढीमा १० लाखसम्म मास्कहरू नेपालमा खपत भएको पाइन्छ।
मास्क उत्पादनमा फरक लगानी
एप्पलका लागि आइफोनको उत्पादन तथा एसेम्बल गर्ने ताइवानी मोबाइल फोन उत्पादक मल्टिनेसनल फक्सकनले हालै सर्जिकल मास्कको उत्पादन गर्ने घोषणा गरेको छ। रोयटर्सले जनाएअनुसार यसै वर्षको सुरुवातमै कोरोना भाइरसको प्रकोपसँग जुध्न सान्जेनस्थित आइफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना बन्द गरेको फक्सकनले चीनमा हाल व्यापक माग रहेको मेडिकल मास्क उत्पादन गर्ने जनाएको हो।
यसैगरी विश्वप्रसिद्ध अमेरिकी कार उत्पादक जेनेरल मोटस्र्ले पनि कोरोना भाइरसको निवारणमा टेवा पु¥याउने उद्देश्यका साथ सर्जिकल मास्क उत्पादन गर्ने घोषणा गरेको छ। यसको चिनियाँ साझेदार एसएआइसी–जिएम–वुलिङले तत्कालै दिनको १७ लाख मास्क उत्पादन गर्ने गरी १४ वटा प्रोडक्सन लाइन तयार गर्ने घोषणा गरिसकेको छ।
चीनको स्वामित्वमा रहेको एसियाकै सबैभन्दा ठूलो पेट्रोलियम रिफाइनरी सिनोपेकले गत हप्ता मास्क उत्पादनको लागि आवश्यक उपकरण खरिद गरिसकेको छ। एघार वटा प्रोडक्सन लाइनबाट मास्क बनाउने बताइएको छ। यसैगरी टोयोटा र होन्डाका लागि कार उत्पादन गर्ने ग्वान्जाउ अटोमोबाइल ग्रुपले पनि मास्क र सो निर्माणका लागि आवश्यक उपकरणको उत्पादन गर्ने बताएका छन्।
मास्क लगाउँदाको सावधानी
कुन मास्कले कति हदसम्म अस्वस्थकर कणहरू रोक्न सक्छ भन्ने कुरा त्यो कसरी प्रयोग गरिन्छ भन्नेमा निर्भर हुन्छ। सर्जिकल मास्क खुकुलो हुन्छ। नयाँ मास्क चेप्टो हुन्छ। लगाइसकेपछि सही तरिकाले निकाल्नु र सुरक्षित तरिकाले विसर्जन गर्नु पनि महत्वपूर्ण हुन्छ। लगाइराखेको बेला मास्कलाई सकेसम्म हातले छुन हुन्न। मास्क फुकाल्ने बेलामा पनि अगाडिको भाग नछोई पछाडिबाट तुना समात्नुपर्छ।
मास्क निकालिसकेपछि तुरुन्तै साबुनपानीले हात धुनुपर्छ। मास्क बिग्रेको छ, भिजेको छ वा श्वास फेर्न गाह्रो हुने भएको छ भने लगाउन हुँदैन। एक पटक लगाउन बनाइएका मास्क पुनः प्रयोग गर्नु हुँदैन। एक जनाले लगाइसकेको मास्क अर्को व्यक्तिले बिर्सेर पनि लगाउन हुँदैन।
मास्कमाथि नेपाली अनुसन्धान
मास्कले धुलोका कण कति प्रभावकारी ढंगले रोक्न सक्छ भन्नेबारे अनुसन्धान (भानु न्यौपाने, वसन्त गिरीको नेतृत्वमा, सन् २०१९) भएको थियो सोका अनुसार घरबाहिर निस्किने सयमध्ये करिब तीस जना काठमाडौंबासीले मात्रै मास्क लगाउने गर्छन्। त्यसो भन्दा काठमाडौंमा बस्ने लगभग ४० लाख जनतामध्ये लगभग १२ लाखले मास्क प्रयोग गर्ने गर्दथे। त्यसै अनुसारको लगानी, उत्पादन, रोजगारी र बिक्री वितरण भई आएको थियो।
अनुसन्धानकै अनुसार, काठमाडौंमा मास्क लगाउनेमध्ये दुई तिहाइभन्दा बढीले कपडाको मास्क लगाउने गर्छन्। त्यस्तो मास्क अन्य प्रयोजनमा प्रयोग हुने कपडाबाट स्थानीय रूपमै बनाइन्छ र सस्तो मूल्यमा पाइने गर्छ। जसलाई धोएर पुनः लगाउन पनि सकिन्छ। अन्य विकासशील देशहरूमा पनि अत्यधिक प्रयोग हुनेमा यही कपडाकै मास्क रहेको पाइन्छ।
कपडाको मास्कमा दुई पत्र हुन्छन्। कानमा अड्याउनका लागि प्रयोग गरिने डोरोले तानतुन पार्दा मास्क नै तानिन्छ। कपडाका मास्कमा करिब ८०–५०० माइक्रोमिटर ठूला प्वाल हुने अनुसन्धानले देखाएको छ। त्यसैले तिनले धुलीकणहरू त्यति राम्रोसँग छेक्न सक्दैनन्। अझ धोएर लगाउँदा र तन्काउँदा यस्ता मास्कको कण छान्ने क्षमता २० प्रतिशतभन्दा बढी ह्रास हुने हुन्छ।
कपडाको मास्कपछि सबैभन्दा बढी प्रयोग हुने मास्क सर्जिकल वा मेडिकल मास्क हो जसमा प्रायः तीन पत्र हुन्छन्। विभिन्न अध्ययन अनुसार, मास्क प्रयोग गर्नाले धूलोबाट हुने जोखिम, स्वास्थ्य क्षेत्रमा हुने संक्रमण, सरुवा रोगको आपतकालीन अवस्थामा केही हदसम्म रोकथाम हुने गर्छ।
मास्क लगाउँदा रोग सर्न सक्ने सम्भावना घट्छ। प्रयोगकर्ताको मुख वा नाकबाट निस्कने सम्भाव्य दूषित पदार्थ अर्को व्यक्तिसम्म पुग्न रोकिन्छ। राम्ररी प्रयोग गर्न सक्यो भने मास्कले खोक्दा वा हाच्छिउँ गर्दा निस्कने ठूला तरल कणमा भएका भाइरस, ब्याक्टेरिया लगायतका रोगाणु पनि सर्ने सम्भावना निकै कम हुन्छ। त्यसैगरी मास्क लगाउँदा थुक वा ¥याल र श्वास–प्रश्वास सम्बन्धी स्राव अन्य व्यक्तिसम्म पुग्न पाउँदैन।