डा झलक गौतम
खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग हो। खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण गर्न सकिएको छ। खोपद्वारा नै आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दर र अपांग वा अशक्त हुने दरमा उल्लेख्य कमी आएको छ।
नेपालमा खोप सेवा जनसमुदायले माग गर्ने सबैभन्दा पुरानो र विश्वासिलो स्वास्थ्य कार्यक्रम हो। यो नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम हो।
खोप कार्यक्रमलाई अझै विश्वासिलो र गुणस्तरीय बनाउन व्यवस्थित र प्रभावकारी खोप तथा खोपजन्य सामग्रीको आपूर्ति, भण्डारण, ढुवानी र वितरण आवश्यक छ। जसले गर्दा उपयुक्त खोप उपयुक्त समय र स्थानमा, उपयुक्त अवस्थामा सेवाग्राहीसम्म पुग्छ। र, परिणाम सहज, छिटो र प्रभावकारी देखिन्छ।
विभिन्न अध्ययन र प्रमाणहरुले के देखाएका छन् भने प्रभावकारी वितरण श्रृंखला एउटा महत्वपूर्ण तत्व हो, जसका कारण खोपलाई उत्पादन भएको स्थानदेखि सेवाग्राहीसम्म उपयुक्त समयमा पु¥याउन सकिन्छ।
हालको प्रभावकारी खोप व्यवस्थापन (इभिएम) लाई सन् २०१० देखि विश्व स्वास्थ्य संगठन र युनिसेफले न्यून र मध्यम आय भएका मुलुकमा सुरुवात गरे।
जसको माध्यमबाट खोपको वितरण श्रृंखलामा कहाँनेर कमी छ त्यो पत्ता लगाई तुरुन्तै प्रणालीमा सुधार गर्ने अवसर प्राप्त हुन्छ। प्रभावकारी खोप व्यवस्थापन (इभिएम) को मूल्यांकनका लागि ९ वटा आधारभूत मापदण्ड निर्धारण गरिएका छन्।
नेपालमा नियमित खोप सेवामा खोपहरुको संख्या थपिँदै गएपछि राज्यको खोपमा लगानी बढ्दै गइरहेको छ। भण्डारण क्षमता विस्तार गर्नुपर्ने भएको छ। खोपको अभाव हुन नदिन, खोप खेर जाने दर घटाउन, आवश्यक पर्ने खोपहरुको मात्रा अग्रिम प्रक्षेपण गर्न र खोपसँग सम्बन्धित सामग्रीहरुको संघ, प्रदेश र स्थानीय तहसम्म उचित वितरण गर्न समस्या भइरहेको सन्दर्भमा प्रभावकारी खोप व्यवस्थापनका आधारभूत मापदण्डहरुले सहज बनाएको छ।
इभिएमका सूचकहरुको मूल्यांकनले खोप र त्यसको व्यवस्थापन विश्व स्तरमा हाम्रो खोप र त्यसको व्यवस्थापन कस्तो छ भन्ने जानकारी दिन्छ। (इभिएम) एउटा औजार हो।
जसको प्रयोगद्वारा खोप र खोप भण्डारण उपकरणहरुको प्रणालीगत व्यवस्थापनको मूल्यांकन गरिन्छ र कार्य सम्पादनमा सुधार ल्याउन सकिन्छ। राष्ट्रिय खोप कार्यक्रमको सफलता खोप तथा सम्बन्धित सामग्रीहरुको गुणस्तर र उपलब्धतामा निर्भर गर्छ।
आवश्यक खोप तथा सामग्री गुणस्तरयुक्त हुन कोल्डचेन प्रणाली प्रभावकारी हुनुपर्छ। खोप तथा सामग्रीको आपूर्ति व्यवस्थापन र खोप उपकरणहरुको नियमित मर्मत सम्भार विना खोप कार्यक्रम सफल बनाउन सकिँदैन।
प्रभावकारी खोप व्यवस्थापनका ९ आधारभूत मापदण्ड
१. खोपको आगमन प्रक्रियाः हवाई मार्गबाट आएको खोपलाई स्वीकार्नु अगाडि प्राप्त खोप ढुवानी गर्ने समयमा खोप उपयुक्त अवस्थामा रहे–नरहेको, आवश्यक कागजातहरु संलग्न रहे–नरहेको हेरी उपयुक्त अवस्थामा केन्द्रीय भण्डारमा भण्डारण गरेको सुनिश्चित गर्नुपर्छ।
२. खोप र घोलकहरुलाई भण्डारण र वितरण गर्दा निश्चित स्थान र तापक्रममा राख्नुपर्छ किनभने खोपहरु अत्यन्तै संवेदनशील हुन्छन्। उचित तापक्रममा राखिएन भने खोपको शक्ति घट्छ।
३. खोप, खोपजन्य सामग्री, ढुवानीका साधन, भवन र कोठाहरुको भण्डारण क्षमता पर्याप्त भएको हुनुपर्छ।
४. भवन, कोल्डचेन सामग्री र ढुवानी गर्ने प्रणाली उपयुक्त हुनुपर्छ।
५. खोपसँग सम्बन्धित ढुवानी लगायतका उपकरणहरुको नियमित मर्मत सम्भारको व्यवस्था हुनुपर्छ।
६. खोप र खोपजन्य सामग्रीहरुको मौज्दात व्यवस्थापन र वितरण व्यवस्थित किसिमले गर्नुपर्छ। खोपको मौज्दात शून्य अवस्था र बढी भण्डारण पनि नहोस् भनी संस्थाका लागि खोपको मौज्दात अवधि तोकिएको हुनुपर्छ।
७. खोपको वितरण प्रत्येक तहमा (संघ, प्रदेश, स्थानीय र स्वास्थ्य संस्थासम्म) उपयुक्त किसिमले गरिएको हुनुपर्छ। केन्द्र, प्रदेश र जिल्लाले निश्चित तालिका अनुसार वितरण गरेको हुनुपर्छ।
८. स्थलगत रुपमा खोप व्यवस्थापनको प्रयोग उपयुक्त किसिमले भएको हुनुपर्छ। सरकारले बनाएको खोप सम्बन्धी नीति र कार्यविधि अनुसार कार्य भएको छ–छैन हेर्नुपर्छ।
९. सहयोगी कार्यहरु जस्तैः फोहोर व्यवस्थापन र सूचना प्रणाली व्यवस्थित हुनुपर्छ। खोप लगाइसकेपछि फोहोर कसरी विर्सजन गर्ने र अभिलेख प्रतिवेदन कसरी गर्ने भन्ने स्पष्ट हुनुपर्छ।
प्रभावकारी खोप व्यवस्थापनको मूल्यांकन इभिएममाथि उल्लेख गरिएका सबै मापदण्डहरुको आधारमा संघ, प्रदेश, जिल्ला र खोप केन्द्रसम्म पुगेर गरिन्छ। आधारभूत मापदण्ड पूरा गर्न कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ।
नेपालले सन् २००४, २००८, २०११, २०१७ गरी विभिन्न समयमा खोपको व्यवस्थापनको मूल्यांकन गरेको छ।
सन् २०१७ मा गरिएको मूल्यांकनमा नेपालले करिब ८० प्रतिशत अंक प्राप्त गरेको थियो।
अब सन् २०२० मा नेपालले पुनः प्रभावकारी खोप व्यवस्थापनको मूल्यांकन गर्नका लागि नेपाल सरकारले ग्लोबल एलाइन्स फर भ्याक्सिन (गाभी) युनिसेफ, विश्व स्वास्थ्य संगठनको सहयोग लिने छ।
नेपालले खोपको सुरक्षा र गुणस्तर कायम रहोस् भनी माथि उल्लेख गरिएका आधारभूत मापदण्डहरु पूरा गर्दै भ्याक्सिन भाइल मोनिटर (भिभिएम), बहुमात्रा भाइल नीति, बन्डलिङ, सुरक्षित सुई नीति, खोप भण्डारण वितरण र व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरुको विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डहरु पूरा गरेका सामग्रीहरुको खरिद गर्ने, स्वास्थ्यकर्मीहरुलाई तालिम दिने, नयाँ कोल्डरुम भवनहरु बनाउने, नयाँ उपकरणहरु खरिद गरी आवश्यक स्थानमा वितरण गर्ने र निरन्तर अनुगमन र मूल्यांकन गर्ने कार्य गरेको छ।
सबै खोपहरु जैविक वस्तु भएकोले उपयुक्त तापक्रममा राखिएन भने खोपको शक्ति र प्रभावकारिता घट्छ। त्यसैले कोल्डचेन खोपको जीवन हो भनिन्छ। खोपको गुणस्तरको मुख्य आधार नै खोपको सुरक्षित भण्डारण र वितरण हो।
प्रभावकारी खोप व्यवस्थापनका आधारभूत मापदण्डहरु पूरा गरे मात्र खोप सेवाको गुणस्तर सुनिश्चित हुन्छ।
गुणस्तरीय खोप सेवा पाउनु बालबालिका र गर्भवती आमाहरुको नैसर्गिक अधिकार भएकोले सबै तहका खोपसँग सम्बन्धित नीति निर्माता, व्यवस्थापक, स्वास्थ्यकर्मी, कर्मचारी र दातृ निकायहरु चनाखो र संवेदनशील हुनुपर्छ।
(डा गौतम स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख हुन्)