रमेश बाह्रकोटी
नेपालमा हाल दादुरा रुबेला खोपको पाँचौं अभियान सञ्चालन भइरहेको छ। दादुरा रुबेला रोग निवारण (वर्षभरमा शून्य बिरामी भएको अवस्था) गर्ने उद्देश्यका साथ देशभर दुई चरणमा सञ्चालन हुँदैछ। पहिलो चरण, फाल्गुन महिनामा प्रदेश १,२ र ५ मा सञ्चालन भइरहेको छ भने बाँकी ४ प्रदेशमा चैत्रमा सञ्चालन हुनेछ। यो अभियानमा देशैभरबाट ९ महिनादेखि ५ वर्ष मुनिका करिब ३० लाख बालबालिकालाई खोप लगाइँदै छ।
प्रदेश १ को संखुवासभा जिल्लामा दादुरा-रुबेला खोप अभियान पहिलो चरणअन्तर्गत फाल्गुन १ गते शुरु भएको छ। १० स्थानीय तह रहेको जिल्लामा करिब १३ हजार बालबलिकालाई अभियानका क्रममा खोप लगाइँदै छ। जिल्लाभित्र तीन चरणमा अभियान सञ्चालन गर्ने योजना अनुसार फाल्गुन १५ गते सम्ममा दुई चरणको कार्यक्रम सम्पन्न भइसकेको छ।
जिल्लाका उत्तरी क्षेत्रको दुई स्थानीय तह, मकालु र भोटखोला गाउँपलिकामा मौसमी प्रतिकूलता र कोल्चेन सामग्रीका कारण फाल्गुन २० देखि २४ गतेबाट तेस्रो चरण सञ्चालन हुँदैछ। संखुवासभामा दुई चरणको खोप अभियान सञ्चालन गर्दा आइपरेका चुनौती, समाधान प्रयास तथा सिकिएका केही विषय समावेश गर्ने प्रयत्न यो छोटो आलेखमा प्रस्तुत गरिएको छ।
अभियान सञ्चालनका क्रममा देखापरेका चुनौती
- कर्मचारी समायोजनपछि केही स्थानीय तहमा स्वास्थ्यकर्मीको चरम अभाव, खोप लगाउने स्वास्थ्यकर्मीको कमी
- खोप केन्द्रको संख्या नियमित खोपभन्दा बढी भएको तर भ्याक्सिन क्यारियरको संख्याबारे समयमा नै जानकारी नपाइएकाले मौजुदा भ्याक्सिन क्यारियरकै आधारमा योजना बनाउनु परेको (हाल प्राप्त भैसकेको)
- दादुरा-रुबेला खोप अभियानसँगै नियामित खोप सुद्दृढीकरण गर्न दुई वर्षमुनिका बालबालिकाको नियमित खोप कार्यक्रममा छुट भएको खोपको रेकर्ड राख्न खोप कार्ड व्यवस्था गरिएकोमा केही खोप केन्द्रमा उक्त कार्ड पूर्ण रूपमा नभएको;
- खोप सेवामा परामर्शको ठूलो महत्त्व हुने भएपिन केही स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले खोप सेवासम्बन्धी परामर्श पूर्ण र पर्याप्त रुपमा नदिइएको
- जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा लक्षित संख्याभन्दा २० प्रतिशत बढी बालबालिकाले खोप सेवा लिएको तर खोपलगायत अन्य सामग्री व्यावस्थापन अभाव भएको
चुनौती व्यवस्थापनका प्रयास तथा सिकाइ
- भ्याक्सिन क्यारियरको कमीले जिल्लाभित्र तीन चरणमा सञ्चालन गर्ने गरी योजना बनाइएको तथा नियमित स्वास्थ्य सेवा निरन्तर रहने गरी अन्य पालिकासँग समन्वय गरी खोप कार्यकर्ता पूर्ति गरिएको
- केही स्थानीय तहमा खोप केन्द्र अनुसारको बालबालिकाको लाइन लिस्ट तयार गरी खोप केन्द्र सञ्चालन गर्दा खोप केन्द्रमा नआएका बालबालिका खोज्न सहज भएको
- निमन्त्रणा कार्डसहित भेटका लागि बालबालिकाको घर जाँदा खोप सेवा लिने दर उत्साहजनक रहेको
- दुई वर्षमुनिका बालबालिकाको नियमित खोप छुटलगायतका विवरण अभियानको खोप कार्डमा रेकर्ड गर्नका लागि बाल स्वास्थ्य कार्ड अनिवार्य ल्याउन भनिएको
- वडा खोप समन्वय समिति तथा स्यमंसेववको अभिमूखीकरण बैठक अभियान सञ्चालन हुनुभन्दा ७ दिन अघि आयोजना गर्दा प्रभावकारी हुने (जिम्मेवारीको सम्झना रहने तथा निमन्त्रणा कार्ड बाँड्न पनि समय पुग्ने)
- एइएफआई व्यवस्थापनका लागि आवश्यक औषधि (एड्रिनालाइन इन्जेक्सन) उमेर अनुसारको प्रयोग गर्ने तरिकासम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको, जिल्लाभरको एइएफआई व्यवस्थापन टोलीको सम्पर्क नम्बर प्रत्येक खोप कार्यकर्तालाई उपलब्ध गराइएको
- खोप लगाइने दिनको अघिल्लो दिन तयारी बैठक बसी खोप र खोपजन्य सामग्री रुजु गरिएको
- खोप केन्द्रमा बच्चाको संख्या धेरै भएको ठाउँमा स्यमंसेवक र खोप कार्यकर्ता कम्तीमा पनि आधा घन्टा अघि खोप केन्द्र पुगी तयारी गर्दा सहज भएको
- जनप्रतिनिधि वा समाजका अग्रज व्यक्तित्वबाट खोप सेसन उद्घाटन गर्दा अपनत्व महसुस गराउन सकिएको;
- वडा, पालिका र जिल्ला स्तरमा पूर्ण खोपको प्रमाणीकरण गर्ने नीतिगत व्यवस्थाले जनप्रतिनिधिहरूले जिम्मेवारी बोध गरेको;
- स्वास्थ्य कार्यालय, स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाबाट खोप केन्द्रमा स्थलगत अनुगमन गरी खोप कार्ड भर्ने तथा खोप सेवासम्बन्धी पूर्ण परामर्श दिने विधि सिकाउँदा सुधार आएको
- र्यापिड कन्भिनियन्स मोनिटरिङ (आरसिएम) विधिद्वारा घरदैलो कार्यक्रम गरी छुटेका बालबालिका खोजी गर्दा खोप छुट्नुको कारण पत्ता लगाई केही खोपबाट बञ्चित बालबालिकालाई खोप दिलाउन सफल भइएको
बाह्रकोटी जिल्ला स्वास्थ्य कार्यालय, संखुवासभाका जनस्वास्थ्य अधिकृत हुन्।