बसन्त थापा
प्रसङ्ग- १
२०७६ फागुन १२ गतेको मन्त्रिपरिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त स्वास्थ्य सेवाका विशिस्ट श्रेणीमध्ये १२औं तहका तीन दरबन्दीमा नयाँ नियुक्ति गर्योा। सिफारिसमा परेका पाँच जनामध्ये चार जना चिकित्सक समूहका थिए भने एक जना हेल्थ इन्पेक्सन (गैरचिकित्सक) समूहका विशिष्ट अधिकृत थिए।
सरकारले विगतका नजिरहरु तोड्दै गैरचिकित्सक समूहका महेन्द्रप्रसाद श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिमेवारी दियो। यो समाचारको व्यक्तिगत विश्लेषण नगरी पेसागत उपलब्धि र सफलतासँग जोड्दा जनस्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष, अप्रत्यक्ष सरोकार राख्ने व्यक्ति तथा संस्थाका लागि खुसिको खबर थियो।
सरोकार राख्ने अन्य व्यक्तिहरु जस्तै एक भएको हुँदा म पनि यो नियुक्तिबाट खुसी भएँ। मनमा अलिकति आशा पलाए जस्तो भयो। अब नेपालको जनस्वास्थ्य क्षेत्रमा एकै सेवा समूहको सिन्डिकेट तोडियो र स्वास्थ्य सेवा ऐन र निजामती सेवा ऐनमा भएका व्यवस्थाको कार्यान्वयन भएको र अबका दिनमा हेई समूहकाले पनि पेसागत वृत्तिविकासका लागि आफू सक्षम भएमा अवसर प्राप्त गर्न सक्ने अनुभूति भयो।
प्रसङ्ग- २
कामकाज गर्दै गरेको समयमा मेरो मोबाइलमा नोटिफिकेसन आयो। जसमा एउटा सन्देश देखियो, जुन सामूहिक सन्देश थियो। त्यो पनि सामाजिक सन्जाल प्रयोगकर्तामध्येका एक जनस्वास्थ्यकर्मी मित्रले पठाएका रहेछन्। उक्त्त सन्देशमा उल्लेख थियो- 'सम्पूर्ण साथीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध! मन्त्रिपरिषदको निर्णयबाट १२औं तहमा बढुवा हुनु भएका स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठज्यूलाई २०७६ फागुन १३, मंगलबार दिउँसो ३ बजे स्वास्थ्य सेवा विभागमा नेफा केन्द्रीय समितिको आयोजनामा बधाई तथा शुभकामना दिने कार्यक्रम राखिएको जानकारी प्राप्त भएको हुँदा सम्पूर्ण जनस्वास्थ्यकर्मी साथीहरु उपस्थित हुनुहुन अनुरोध छ।
उक्त प्रसङ्गसँगै मेल खानेगरी पेसागत र शैक्षिक पृष्ठभूमिका हिसाबले हेई समूहको पेसागत हकहितका लागि वकालत गर्ने नेपाल जनस्वास्थ्य व्यवसायी संघ (नेफा) का विभिन्न तहका संगठनहरुले विज्ञप्ति निकाल्दै सरकारको कदमको स्वागत गरे। यस सन्देशले पनि अघिल्लो दिनकै उमङ्गलाई निरन्तरता दिएको महसुस गरियो र सामान्य रुपमै चित्रण गरियो।
प्रसङ्ग -३
मिति २०७६ फागुन १३, मंगलबार, सन्ध्याकालीन समयमा फेरि एक पटक समाचारहरु हेरियो, जसमा एउटा समाचारले मेरो ध्यान तान्यो। 'महानिर्देशकका विषयमा विवादित स्वास्थ्य क्षेत्रः डाक्टरको विरोध, जनस्वास्थ्यकर्मीको समर्थन' भन्ने समाचार अनलाइन मिडियाहरुमा प्रकाशित भयो। यसले मलाई पनि च्वास्स घोचे जस्तो महसुस भयो।
नेपालको स्वास्थ्य सेवामा जहेस समूहको बारेमा वकालत गर्ने नेपाल चिकित्सक संघ गैरचिकित्सकलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिएको विरोधमा उत्रेको रहेछ। उनीहरुको विज्ञप्तिको मुलभूत सारतत्व भनेको चिकित्सक बाहेक अन्य समूहका कर्मचारीलाई नेतृत्वको अवसर दिनु भनेको स्वास्थ्य सेवाको अपमान गर्नु हो भन्ने ठहर गर्दै निर्णय नसच्याए वा चिकित्सकहरुको स्वार्थ अनुकूल निर्णय लागू नभएमा कडा कदम चाल्छौं भनेका छन्।
सरकारको उक्त निर्णयले सम्पूर्ण चिकित्सकलाई हतोत्साही गर्ने र स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव परेको भन्दै ध्यानाकर्षण गरेका छन्।
चिकित्सक संघले उक्त निर्णय नसच्याए कडा कदम चालने चेतावनी समेत दिएको छ। ‘उक्त निर्णयलाई नसच्याइएको अवस्थामा सम्पूर्ण चिकित्सकहरुको भावना र मर्म अनुरुप नेपाल चिकित्सक संघ कडा कदम चाल्न बाध्य हुने र यसले समग्र स्वास्थ्य सेवालाई नै नकारात्मक असर पार्ने भएको हुँदा उक्त निर्णयका सम्बन्धमा अबिलम्व पुनर्विचार गर्न सरकारलाई सुझाव दिएको छ।
प्रसङ्ग-४
स्वास्थ्य सेवामा समयसमयमा देखिने यस्ता खालका प्रवृत्ति, पेसागत, समूहगत र राजनीतिक लुछाचुँडीले हामी जस्ता स्वास्थ्य सेवासँग सरोकार राख्ने युवा पुस्ताले चलिराखेको पद्धतिबाट के सिक्ने वा अपेक्षा गर्ने भन्ने बारेमा ठूलो अस्पष्टता र विचलन पैदा गर्छ। हामीलाई लागेको कुरा नेपालको स्वास्थ्य सेवामा विभिन्न समूहहरु कार्यरत छन् भन्ने कुरा यो सेवा अन्तर्गत काम गर्ने कुनै पनि समूहले भुल्नु हुँदैन।
सबैले नैतिकता र पेसागत अनुसासनको पालना गर्नुपर्छ भन्ने कुरा सायद सुनाउनुपर्ने होइन तर स्वास्थ्य सेवा विभागको नेतृत्व लिने कुरामा डाक्टर मात्र हुनुपर्छ भन्ने कुरा अलि न्यायिक भएन कि वा भन्नुको अर्थ अरु सेवा समूहको विज्ञतालाई नजरअन्दाज गर्दै स्वास्थ्य सेवामा सिन्डिकेट शैलीको अभ्यासलाई अझै निरन्तरता दिन खोजेको वा यसो भन्दै गर्दा चिकित्सक संघको विज्ञप्ति विश्लेषण गर्दा उनीहरुको माग नेपालको स्वास्थ्य सेवा ऐन र निजामती सेवा ऐनको बर्खिलाप भएको आभास दिलायो।
माथि उल्लेखित कुराहरु गर्दैगर्दा नेपालको स्वास्थ्य सेवामा चिकित्सक मात्र नभई जनस्वास्थ्य, नर्सिङ, प्रयोगशाला, फार्मेसी, रेडियोग्राफी, स्वास्थ्य सहायक, आयुर्वेद लगायतका व्यवसायी समूहहरुको महत्वपूर्ण योगदान रहेको छ भन्ने कुरालाई नजरअन्दाज नगरौं।
स्वास्थ्य सेवामा कार्यरत कुनै पनि समूहको क्षमता, विशेषज्ञता र आत्मसम्मानमा ठेस नपुर्यारई कार्यगत एकता गर्न सकेमा सबैलाई फाइदा हुने कुरा पक्का हो किनभने सम्पूर्ण व्यवसायीहरुको संयुक्त र अथक प्रयासबाट मात्र नेपालले जनस्वास्थ्यको अवस्थाको सुचाङ्क तथा उपचारात्मक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको हो।
विगतको नजिरलाई केन्द्रमा राखी आफ्नो पेसागत हितका लागि चिकित्सक संघ लड्नु स्वभाविक हो तर स्वास्थ्य सेवा र निजामती सेवा ऐनका प्रावधानहरुमा टेकेर सरकारले गरेको निर्णयको सचेत नागरिकले स्वागत गर्न पनि सिकौं। विरोधका लागि विरोध गर्ने संस्कारलाई निरन्तरता निदऔं। नेपाल चिकित्सक संघले विज्ञप्तिमार्फत गैरचिकित्सक्लाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरिनु उपयुक्त नहुने भन्ने कुरा न्यायिक, नीतिगत र तर्क संगत देखिँदैन।
स्वास्थ्य सेवाको जुनसुकै समूहको भए पनि उसको विशेषज्ञताको सम्मान गरौं र एक समूहले अर्को समूहको सम्मान गर्दा अपमानित भएको महसुस नगरौं, जसले आफैंलाई कमजोर बनाओस्। देश बनाउनमा सबै नागरिक र पेसा, समूह, व्यवसायी र वर्गहरुको महत्वपूर्ण योगदान रहन्छ त्यसैले चिकित्सक संघले आफ्नो धारणामा आत्मसमीक्षा गरी समय सान्दर्भिकता अनुसार सच्याउने छ भन्ने आशाका साथै सरकार पनि तथ्यमा आधारित भएर गरेका निर्णयको कार्यान्वयन गर्दै कानुनी राज्यको अनुभूति दिलाउन पछाडि नहटोस् भन्ने कामना गर्दछु।