डा प्रकाश बुढाथोकी
हरेक वर्ष मार्च ३ मा विश्व श्रवण दिवस मनाउने गरिन्छ। वर्ष पनि ‘जीवनका लागि श्रवणः श्रवण शक्ति कम भई आफ्नो गति वा जीवनयापनलाई सीमित हुन नदेऊ’ भन्ने नाराका साथ विश्व श्रवण दिवस मनाइँदै छ।
सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इएनटी सोसाइटी, स्पिच एन्ड हेयरिङ अफ नेपाल, बिपी आई फाउन्डेसन, चियर्स अस्पताल, शिक्षण अस्पताल, नर्भिक अस्पताल लगायतले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी श्रवण दिवस मनाउँदै छन्।
श्रवण दिवसमा हाजिरीजवाफ प्रतियोगिता, खोप केन्द्रमा श्रवण परीक्षण कक्ष निर्माण, निःशुल्क कान परीक्षण, नियोन्याटल र इन्फयान्टमा श्रवण स्क्रिनिङ, विद्यालयमा स्वास्थ्य शिविर, प्रभातफेरी, औपचारिक कार्यक्रम समेत गरिने छ।
बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गतामा पर्छ। विश्व स्वास्थ्य संगठनको २०१८ को तथ्याङ्कअनुसार विश्वमा ४६ करोड (६.१ प्रतिशत) मानिसमा श्रवण अशक्तता छ भने ३४ करोड बालबालिकामा। नेपालमा ३० लाख मानिसमा श्रवणमा समस्या छ। हरेक दिन ४ देखि ६ जना बहिरोपनासहित नवजात जन्मिन्छन्। विद्यालयका हरेक ३ मा १ विद्यार्थीमा कान, नाक र घा“टीको समस्या छ, जसमा एक तिहाइमा कानको समस्या छ।
कानको समस्या भएका बालबालिकामा एक तिहाइमा श्रवणको समस्या छ। साढे १ लाख बालबालिकामा कम सुनाइ छ, जसले स्वास्थ्यका अतिरिक्त शिक्षामा समेत असर परेको छ। नेपालमा ईएनटी सर्जन १८६,अडियोलोजि तथा स्पिच लेड्डवेज प्याथोलोजिष्ट ६० जना तर नेपालमा कार्यरत २५ जना छन। विश्व स्वास्थ्य संगठनले पहिलो पटक सन् २०२० को मार्चमा वल्र्ड हियरिङ रिपोर्ट निकाल्दै छ।
वायु तथा ध्वनि प्रदूषण, कोलाहल र विविध संक्रमणका कारण श्रवण शक्तिमा क्रमिक ह्रास आइरहेको छ। अत्यधिक ध्वनि सहितका कलकारखाना, विमानस्थल वरपरका बासिन्दा, अनियन्त्रित सार्वजनिक सवारीका ध्वनि, लामो समय र ठूलो आवाज सहितको एअरफोन, चर्काे आवाज सहितको मनोरञ्जन र कानका संक्रमणहरु जस्तैः दादुरा, गलगाड, रुवेलाले श्रवण शक्तिमा ह्रास ल्याउने र क्रमशः बहिरोपना निम्त्याउने गरेका छन्।
त्यस्तै केही क्षयरोग र औलो विरुद्धका औषधिहरु, जन्मजात, चोटपटक, पिटाइ, कान कोट्याउने, विभिन्न झोल कानमा राख्ने, प्रदूष्ीित पानीमा पौडी खेल्ने, कानको हेरचाह नगर्ने पर्दछन्। श्रवण शक्ति ह्रास हुँदा मानिसलाई अनेकन कठिनाइ आइपर्छ। नसुनेपछि बच्चा बोल्ने कुरै भएन र व्यक्तिगत सञ्चार क्षमतामा ह्रास, पारिवारिक र सामाजिकीकरणमा समस्या, सिक्ने क्षमतामा कमी, काम र जीवनप्रतिको उत्साहमा कमी, परिवार समाजमा एक्लोपनाको महसुस आदि हुन्छ। वयस्कमा उनीहरुको व्यावहारिक पक्ष वा संज्ञानात्मक गिरावट, निराशापन र मस्तिष्कलाई कमजोर पार्ने रोग जस्ता खतरनाक समस्याहरुको सिकार हुनसक्ने जोखिम बढाउँछ।
काठमाडांैमा नो हर्न २०७४ वैशाख १ गतेबाट लागू भएपछि ध्वनि प्रदूषणमा केही कम भए पनि हाल पहिलेजस्तै हुन थालिसकेको छ। हरेक वर्ष ३० हजार बढी कारबाहीमा परिरहेका छन्। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ गमा एम्बुलेन्स, दमकल, शववाहन तथा आकस्मिक कामका लागि हिँडेका बाहेक अन्यले आवश्यकता भन्दा बढी हर्न बजाएमा पहिलो चरणमा ५ सय, दोस्रो चरणमा एक हजार र तेस्रो चरणमा १५०० जरिवाना उल्लेख छ।
सामान्य बोलिचालीमा ४०, असर गर्ने ९० डेसिवल, एम्प्लिफोनको पूरै र सहन नसक्ने १२० डेसिवलको ध्वनि रहन्छ। हेयर ड्रायरको ९५, मोटरसाइकल, रेलको आवाज ९५ देखि १०५, सवारी साधनको हर्न, साइरन १२० देखि १५० डेसिवल हुन्छ। ८५ भन्दा बढी डेसिवलको आवाजले ध्वनिबाटै श्रवणशक्ति ह्रास गराउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १ अर्ब २ करोड अर्थात् १४ प्रतिशत युवा ध्वनि प्रदूषणको जोखिममा छन्।
केही वर्ष अगाडिको तथ्याङ्कअनुसार नेपालमा १५ प्रतिशत बहिरोपन विद्यमान छ। त्यसमध्ये धेरैजसो बहिरोपन रोकथाम गर्न सकिन्छ। नेपालमा बहिरोपनबाट बच्न र बचाउनको लागि सरकारी स्तरबाट देशव्यापी रुपमा सर्वेक्षण गर्नु जरुरी छ। बहिरोपन रोकथाम गर्नका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छ।
१. रुघाखोकी लागेमा मध्य कान र नाकको पछाडि भाग जोडने नली बन्द हुन जान्छ। यो नली लामो समयसम्म बन्द भइरहेमा मध्य कानमा असर पर्छ। यो समस्या बच्चामा बढी देखापर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बच्नको लागि आमाको दूध खुवाउने, दूध खुवाउँदा बच्चाको टाउको उठाएर खुवाउने, घर वरिपरि पाइने ताजा खानेकुरा खुवाउने र जङ्क फुड नखुवाउने गर्नुपर्छ। रुघा लागेमा तातो झोल पदार्थ खुवाउनु पर्छ र निको नभएमा नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा लैजानु पर्छ।
२. कानको वरिपरि चोट लागेमा वा कान कोट्याउँदा कानको जाली फुटने सम्भावना हुन्छ। त्यसैले कान कोट्याउने बानी सबैले हटाउनु पर्छ र बच्चालाई पनि कान कोट्याउनु हुँदैन भनी सिकाउनु पर्छ।
३. केही कारणवस कान पाकी हालेमा नजिकैको चिकित्सकको सल्लाह लिनुपर्छ।
४. कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुँदैन।
५. गर्भवती भएको पहिलो तीन महिनासम्म आफू खुसी औषधिको सेवन गर्नु हुँदैन, गर्नै परेमा डाक्टरलाई जँचाएर मात्र सेवन गर्नुपर्छ। गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन गर्नु हुँदैन।
६. गाडीको हर्न बजाउन निषेध गरेजस्तै सार्वजनिक ठाउँमा बाजागाजा पनि धेरै चर्को बजाउन निषेध गरिनु पर्छ।
७. मोबाइल वा इयरफोन धेरै समयसम्म प्रयोग गर्नु हुँदैन। यसबाट निस्केको तरंगले भित्री कानमा असर पर्छ।
८. चर्को ध्वनि आउने ठाउँमा काम गर्दा एयर प्लग लगाउनु पर्छ। यस्ता व्यक्तिहरुको समय समयमा सुनाइको जाँच गराउने व्यवस्था गर्नुपर्छ।
९. युवा तथा सर्वसाधारणलाई श्रवण अशक्तताको कारण, रोकथाम र समयमा पत्ता लगाउने विधिहरुबारे जानकारी गराउनु पर्छ।
१०. कानको श्रवण कम भएमा छिट्टै उपचार गर्नुपर्छ, किनभने बोलीको विकास हुन सक्दैन।
११. श्रवण समस्या हुने जोखिममा रहेका नवजात शिशुहरु जस्तैः तौल कम, समयपूर्व जन्मिएका, सघनकक्षमा राखिएका बच्चा, रुवेला संक्रमित आमाको बच्चालाई जतिसक्दो छिटो जाँच र उपचार गर्नुपर्छ।
-(डा बुढाथोकी स्वास्थ्य सेवा विभाग अन्तर्गतको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख हुन्)