सरोज बिक
एमबिबिएस अध्ययनको तेस्रो वर्षमा 'फ्यामिली हेल्थ एक्सरसाइज' गर्नुपर्छ। कुनै रोग लागेपछि त्यसले व्यक्ति र परिवारमा पारेको आर्थिक, सामाजिक र भावनात्मक असरबारे अध्ययन गर्नुपर्ने हुन्छ।
त्यसै सिलसिलामा हामी चितवनको एउटा गाउँमा पुगेका थियौं। त्यस गाउँका १८ वर्षीय एक किशोरको ६ महिनादेखि मिर्गौलाले काम गर्न छाडेको थियो। परिवारको सम्पत्तिको नाममा एउटा खरले छाएको घर मात्र थियो। बुबाआमाले ज्याला-मजदूरी गरेको कमाइले परिवार चल्थ्यो। त्यतिबेला त छोरा बिरामी भएकाले आमा काममा पनि जान सक्ने अवस्था थिएन।
छोराको मिर्गौला फेल भएपछि त त्यो परिवारमा चरम आर्थिक संकट परेको थियो। सरकारले डायलाइसिस नि:शुल्क गरे पनि निम्न आय भएको उक्त परिवारका लागि डायलाइसिस पनि निकै बोझिलो बनेको थियो। डायलाइसिस हप्तामा दुई पटक गर्नुपर्ने, त्यसमाथि रोगले निम्त्याएको आर्थिक संकटले पढाइलाई निरन्तरता दिन सक्ने अवस्था पनि थिएन। खान-लगाउनसम्म धौधौ पर्ने उक्त परिवारका लागि लाखौं खर्च लाग्ने मिर्गौला प्रत्यारोपण त 'आकाशको फल आँखा तरी मर' जस्तै भएको थियो।
त्यो परिवारले अधिकांश नेपालीको समस्या उजागर गरिरहेको थियो। अधिकांश गरिब नेपाली जसको मिर्गौला फेल हुन्छ, उनीहरुका लागि दुई विकल्प छन्- पहिलो जीवनभर डायलाइसिस, दोस्रो प्रत्यारोपण। तर, प्रत्यारोपणपछिको औषधि खर्च महँगो हुने हुँदा धेरैले त्यसलाई धान्न सकिरहेका छैनन्। अर्को कुरा प्रत्यारोपणका लागि दाता पाउन पनि मुस्किल छ।
जीवनभर डायलाइसिस गर्नु निकै झन्झटिलो छ। दुर्गम क्षेत्रमा यो सुविधा छैन, त्यसैले डायलाइसिसकै लागि सहरी क्षेत्रमा भाडा लिएर बस्नुपर्ने बाध्यता छ। निम्न आर्थिक आय भएका परिवारमा यसले झन् आर्थिक भार थपेको छ। दोस्रो विकल्प त कल्पना नै गर्न नसकिने पीडादायी हुन्छ।
चिकित्सा विज्ञानले यति धेरै फड्को मारिसकेको यो दुनियाँमा असम्भव भन्ने केही छैन तर आर्थिक अभावले हामी जस्ता विकासोन्मुख देशका गरिब नागरिकले अकालमै ज्यान गुमाइरहँदा पैसा भौतिक कुरा मात्र हो भन्ने भनाइ कताकता फिक्का जस्तो लाग्छ। प्रकृतिले धनी र गरिब छुट्याउँदैन भन्ने कुरा पनि झुटो लाग्छ। प्रकृतिमै विभेदको गन्ध झल्किन्छ।
नेपालमा मिर्गौला प्रत्यारोपणका लागि अहिले देखिएका मुख्य दुई चुनौती हुन्, पहिलो आर्थिक र दोस्रो दाता। नेपाल जस्तो गरिब देश जहाँ जीवनजलले नै बचाउन सकिने हैजा जस्तो सामान्य रोगबाट मानिसहरु मरिरहेका छन्। स्वास्थ्यका आधारभूत कुराहरु थाहा छैन। खाना खानुअघि र दिसा गरिसकेपछि साबुन-पानीले हात धुनुपर्छ भनेरसम्म सिकाउनु पर्छ।
जीविकोपार्जनका लागि अधिकांश मानिस कृषिमा निर्भर छन्। उनीहरुको लागि मिर्गौला प्रत्यारोपण र त्यसपछि चाहिने लाखौं रुपैयाँ जुटाउनु चुनौतीपूर्ण छ। सरकारले नि:शुल्क उपलब्ध गराएको डायलाइसिस समेत गराउन नसक्ने ठूलो जनसंख्या भएको देशमा प्रत्यारोपण गराउनु धेरै ठूलो कुरा हुन आउँछ।
दोस्रो चुनौती भनेको मिर्गौला दाता जुटाउनु हो। एक त मिर्गौला दिने दाता भेटाउन नै मुस्किल छ। यदि भेटिहालियो भने पनि नाता प्रमाणित गराउनुपर्ने निकै झन्झटिलो प्रक्रिया छ। यसले कैयौं बिरामीहरु पैसा हुँदाहुँदै पनि प्रत्यारोपण गर्न सकिरहेका छैनन्। दाताको समस्या समाधान गर्नका लागि सरकारले केही नीति परिवर्तन गराउनुपर्ने देखिन्छ।
खासगरी दुर्घटनामा परी ज्यान गएका र 'ब्रेन डेथ' भएका बिरामीबाट मिर्गौला लिने व्यवस्थाको प्रभावकारी कार्यानवयन गर्नुपर्छ। सिंगापुरमा 'हुम्यान ओर्गान ट्रान्स्पलान्टेसन एक्ट (होटा)' छ, जसअनुसार २१ वर्षभन्दा माथिको कुनै पनि सिङ्गापुरी नागरिकको मृत्यु भएमा उसको अङ्ग सरकारले निकालेर कुनै पनि बिरामीको लागि प्रत्यारोपण गर्न सक्छ। कुनै व्यक्तिले मृत्युपश्चात् आफ्नो अङ्ग दान गर्दिन भन्न पाउँछ तर त्यसको लागि उसले पहिल्यै एउटा फर्म भरेको हुनुपर्छ। सिङ्गापुरको यस नियमले कुनै व्यक्ति अङ्ग प्रत्यारोपण गर्न चाहेमा दाता खोज्दै हिँड्नु पर्दैन। बरु त्यहाँको सरकारले आफैं व्यवस्था गर्छ।
हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउँदै हुनुहुन्छ। उहाँ प्रत्येक नेपालीको आशाका केन्द्र समेत हुनुहुन्छ। नेपालमा मिर्गौलाको महँगो उपचार र झन्झटिलो डायलाइसिसबारे प्रधानमन्त्री ओलीलाई राम्ररी थाहा छ।
पैसासँग आफूलाई जोख्न नसकेर जीवन गुमाउनुपर्ने गरिब जनताको बाध्यता उहाँले बुझ्नु भएको छ। जो डायलाइसिस गर्नसम्म नसकेर मृत्युको गीत गाइरहेका छन्। जो उहाँलाई जस्तै माया गर्ने बुहारी र भान्जीको अभावमा तड्पिरहेका छन्, जो वर्षौं लगाएर खोजेको दातालाई नाता प्रमाणित गराउन जिल्ला प्रशासन, पार्टी कार्यालय धाउँदा-धाउँदा आफ्नो घरबारी धितो राखेर सडकको यात्रामा छन्, यी तमाम विषयसँग प्रधानमन्त्री जानकार हुनुहुन्छ।
त्यसैले प्रधानमन्त्री स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्कनेबित्तिकै मिर्गौलाका बिरामीलाई सहज र सस्तो उपचार सेवा दिलाउने विषयमा कदम चाल्नु हुने छ। दाता भएर पनि नाता प्रमाणित गर्नुपर्ने झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउनु हुने छ। उहाँ आफैंले भनेजस्तै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेको छैटौं दिनमा नै क्याबिनेट फर्कनु हुने छ र त्यसै दिनदेखि मिर्गौला प्रत्यारोपण सम्बन्धी जटिलता अन्त्य गर्ने कामको थालनी गर्नुहुने छ।
प्रधानमन्त्रीको शीघ्र स्वास्थ लाभको कामना।
(बिक एमबिबिएस तेस्रो वर्ष अध्ययनरत छन्)