सुरेस खतिवडा
सुरुमा चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) अहिले नेपालसँग खुला सिमाना रहेको छिमेकी मुलुक भारतमा समेत देखा परेको र बढ्दै गइरहेको समाचार आएको छ। श्वासप्रश्वास प्रणालीलाई तुरुन्त क्षति गर्दै अन्य प्रणालीलाई समेत क्षीण बनाउने यो भाइरसको फैलावट दर उच्च रहेको छ।
सुविधासम्पन्न र धनी मुलुकले समेत थेग्न नसकेको नयाँ चरित्र बोकेको यो भाइरसको असरबारे सबैको आआफ्नै अनुमान र भविष्यवाणीहरु प्रचारमा छन्। यसको रोकथामको मुख्य उपाय भनेको उचित रुपमा मास्क प्रयोग, हातको डिसइन्फेक्सन, सेनिटाइजर प्रयोग र संक्रमण देखिए आइसोलेसन भनेर विश्व स्वास्थ्य संगठनले भनिसकेको छ।
अहिले नेपाली बजारमा मास्क र सेनिटाइजर सामग्रीको अभाव भएको छ। वाणिज्य तथा आपूर्ति विभागले नेपाली बजारमा मास्कको कालोबजारी भएको र औषधि पसल केन्द्रित अनुगमन सुरु गरिरहेको छ। शिक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्य निकायले विश्वमा नै समाचार बनेको कोरोनाबारे जानी/नजानी आफूहरु खटिइरहेको देखाउन वक्तव्य र सूचना दिन चाहेका छन्। यतिखेर राज्यका निकायले औषधि व्यवसायीप्रति शंकाको दृष्टिले हेरेको स्पष्ट देखिएको छ।
औषधि व्यवसायीहरु जनताका परामर्शदाता या भनौं सानोभन्दा सानो स्वास्थ्य समस्यामा पनि सही बाटो देखाइदिने पथप्रदर्शक हुन्। यस्तो संवेदनशील घडीमा लक्षित गरिएको औषधि व्यवसायीप्रतिको शंकामा मेरो विमति छ। हामी मास्कमा हुने कालो बजारी, मास्क वितरणमा हुने असुरक्षा र हुन सक्ने रोग बारेको गलत हल्लाप्रति जति चिन्तित छौं, कुनै एक अमुक समूह भने यसलाई अतिरञ्जित बनाउँदै मास्कलाई संकटकालको पेट्रोलयम पदार्थको व्यापारझैं बनाउन लागिरहेका छन्। जसमा खुद्रा औषधि व्यवसायी अनविज्ञ छन्।
हामीले अनौपचारिक रुपमा सर्कुलर नै जारी गरेर नियम अनुसारका बिलिङमा आएका र नियम अनुसार लिनुपर्ने मुनाफा लिएर र बढी मात्रामा सेवामूलक भावना राखेर मात्र माग भएका औषधि वितरण गर्न भनेका छौं। औषधि पसल र आफ्ना फर्म-क्लिनिकहरुबाट यो भाइरसबारे सचेतनामूलक पर्चा-लिफलेटहरु वितरण गर्न, व्यानरहरु राख्न र संयमित बन्न सबैलाई अनुरोध गरेका छौं। सबै इमान्दार व्यवसायी यसबारे सचेत छन्।
मास्क लुकाएर बढी मूल्य तोक्ने, धुलो, प्रदुषित र भीडभाड वातावरणको ख्याल नगरी खुला रुपमा चौबाटामा झुन्डाएर बेचिने संक्रमित मास्कप्रतिको चिन्ता बढी मात्रामा औषधि व्यवसायीलाई नै छ। औषधि पसलबाट ल्याएको, मेडिकेटेड, औषधि हालेको, धेरै मूल्यको, कोरोना भाइरस रोक्ने, डबल लेयर, ट्रिपल लेयर, विदेशी भन्दै माफियाहरु प्रचारमा सक्रिय रहेको हुँदा लान्छाना व्यवसायीलाई लगाउने हैन त्यस्ता विचौलियाहरुलाई ठेगान लागाउन र नियन्त्रण गर्न लागि पर्नुपर्छ।
मास्कको विषयसँगसँगै भारतसँग सीमा जोडिएका पालिकाहरुले हेल्प डेस्क राखिएको भए पनि अब यिनै स्थानीय सरकारले जनताका पहिलो परामर्शदाताका रुपमा रहेका निजी औषधि व्यवसायीलाई जति सक्दो चाँडो सम्पर्क र समन्वयमा रहन अनि शंका लागेको बिरामीलाई सम्बन्धित नजिकको स्क्रिनिङ सेन्टरमा पठइदिन विशेष नेटवर्क बनाउनु पर्छ।
खुद्रा औषधि व्यवसायीलाई कोरना भाइरस संक्रमण व्यवस्थापनको तालिम या ओरियन्टेसनको व्यवस्था गरिनु पर्छ। निजी क्लिनिक, निजी अस्पताल, स्वास्थ्य प्राविधिक उत्पादन गर्ने सस्थाहरु, धेरथोर स्वास्थ्य विषय पढाइ हुने विद्यालयलाई समेत कोरना विशेष कार्यक्रमहरुका लागि तयार रहन र जनचेतना अभिवृद्धिका कामहरु गर्न निर्देश गरिनु पर्छ। जसले कोरानालाई त्रासको रुपमा लिएर हतोत्साहित बनाउने होइन रोकथाममा टेवा पुगोस्।
विध्यालय बन्द गराएर मात्र कोरोना संक्रमण रोकिने होइन, यसका लागि भाइरस भित्रन सक्ने नाका बन्द गरिनु पर्छ। नयाँ भाइरसको चरित्र नै थाहा नहुँदा पनि हाम्रो देशमा गर्मीमा कोरोना भाइरस बाँच्दैन, रक्सीले कोरोनालाई पराजित गर्न सकिन्छ। तातो पानी पिउँदा भाइरस मर्छ, बेसार खाने, लसुन भुटेर खाने, घिउ दल्ने इत्यादि हल्ला चलाइएको छ। तर भाइरस फैलावट रोक्ने उपाय भनेको सिधा सम्पर्कबाट बच्नु नै हो।
थुकका छिटाहरु (ड्रपलेट्स) श्वास मार्गमा प्रवेश गर्न नदिनु, संक्रमित हावा फोक्सोमा पुग्न नदिनु, संक्रमण देखिएमा आइसोलेसनमा राख्नु कोरोनाबाट बचाउने उचित उपाय हो, जसमा प्रत्येक व्यक्तिको रोग प्रतिरोधात्मक शक्तिले विशेष भूमिका खेल्छ। संक्रमणबाट बच्न मास्कको विशेष महत्व हुन्छ।
कोरानालाई शक्तिशाली रास्ट्रहरुले समेत हराउन सकेका छैनन्। त्यसबाट पाठ सिक्दै सीमामा कडाइ गरिनुपर्छ। औषधि व्यवसायीलाई वाणिज्यले गरेजस्तो अनुगमनबाट त्रास होइन, समन्वय र सहकार्य आवश्यक छ। औषधि व्यवसायीले पनि पेशागत मर्यादामा रही जनताको संवेदना र अपेक्षा बुझेर संवेदनशील बन्नु जरुरी देखिन्छ।
(खतिवडा नेपाल औषधि व्यवसायी संघ झापाका सदस्य हुन्)