रामकुमार धमला
कोरोना भाइरस (कोभिड १९) संक्रमणले अहिले भयावह रुप लिइरहेको छ। छिमेकी मुलुक चीनबाट सुरु भएको यसको संक्रमण अहिले विश्वभरि नै फैलिएको छ।
विश्व स्वास्थ्य संगठनको हालैको प्रतिवेदनअनुसार दक्षिण एसियाली ११ देशमध्ये पाँच वटा देशमा कोरोना संक्रमण भेटिएको छ। थाइल्यान्डमा ३१, भारतमा २८, इन्डोनेसिया २, श्रीलंका र नेपालमा एक–एक जनालाई कोरोनाले संक्रमण गरेको छ। हालसम्म नेपालमा ४३३ जना कोरोना सम्भावितलाई परीक्षण गर्दा एक जनामा मात्र संक्रमण देखिएको हो।
अहिले नेपाली अनलाइन मिडिया, युट्युव र सामाजिक सञ्जालमा कोरोना संक्रमणको त्रास भयावह र भाइरल छ। मनोसामाजिक रुपमा विश्लेषण गर्नुपर्दा नेपालीमा कोरोनाले एन्जाइटीको रुप लिइरहेको छ। यद्यपि कोरोना संक्रमित एक नेपाली पूर्ण रुपमा स्वस्थ भई नियमित काममा फर्किसकेका छन्।
अब प्रश्न उठ्छ, किन यति धेरै त्रसित र पेनिक हुनुपर्यो? अहिलेको अवस्थामा कोरोनाले रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई असर गर्न सकेको देखिँदैन। कोरोनाका विषयमा तथ्यपरक कुराहरु बाहिर ल्याउन सकेमा मात्र पनि कोरोना एन्जाइटीलाई भगाउन मद्दत गर्न सक्छ। तर यसको मतलब कोरोनाबारे जानकारी र सावधानी नअपनाउन भन्न खोजिएको होइन।
विभिन्न प्राणधातक रोग सार्स, मर्स, स्वाइन फ्लु, इवोलाले समयको विभिन्न कालखण्डमा विश्वव्यापी रुपमा संक्रमण गरेकै हो। तर अहिलेको कोरोना संक्रमणको समाचारजस्तो भाइरल भने त्यतिबेला भएको थिएन।
यसरी मनोसामाजिक रुपमा पेनिक हुनुमा फेसबुक, ट्विटर, युट्युव, वाट्स एप, अनलाइन मिडिया जस्ता आधुनिक सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको प्रयोग र यसको पहुँचमा वृद्धि कारक तत्व हुन सक्छ। यस्ता सञ्चार माध्यमहरुले पनि सूचना–समाचार मानिसलाई भ्रामक र दुःखी बनाउने प्रकारले सम्प्रेषण गर्न हुँदैन।
अहिले रक्सी खानेलाई कोरोनाले छुँदैन भनेर प्रचार भएको देखिन्छ। वास्तविकता त्यस्तो होइन। साबुन र अल्कोहोल सेनिटाइजरले हात भनिएको हो। तर अल्कोहोल सेनिटाइजर भनेको रक्सी खानु हो भनेर बुझ्नु गलत हो।
त्यस्तै प्रयोगकर्ताले पनि विश्वासिलो र आधिकारिक सञ्चार स्रोतलाई आधार मान्नुपर्छ। जुन पायो त्यही अनलाइन मिडियाका आधारहीन समाचार हेरेर वा पढेर कोरोनाका बारेमा धारणा बनाई दुःखी उचित होइन।
नेपाल सरकारले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाइरहेको छ। यस्तो बेला कोरोनाको बारेमा पढेर, हेरेर वा सोचेर दुखित हुनुभन्दा उच्च मनोबलको साथ नागरिकको तहबाट कोरोनाबाट बच्न र गर्न सकिने उपायहरु अबलम्वन गर्नु लाभदायी हुनेछ।
कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने ७ उपाय
१. सफा पानी र साबुन वा अल्कोहोल मिसिएको सेनिटाइजरले नियमित हात धुने।
२. डिस्इन्फेक्टेन्टले किचेन, पढ्ने स्थान, काम गर्ने अफिसको टेबुल जस्ता प्रयोग भइरहने स्थान सफा गर्ने।
३. सकेसम्म भीडभाड र मानिसको आवत–जावत हुने ठाउँमा नजाने। जानै परे बालबालिका, वृद्धवृद्धा र रोगी व्यक्तिहरुको विशेष ख्याल गर्ने।
४. यदि रुघाखोकी, ज्वरो जस्ता श्वासप्रश्वाससँग सम्बन्धित लक्षण र समस्या देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकसँग तुरुन्त सल्लाह लिने।
५. खोक्दा वा हाछ्ँयु गर्दा रुमालले राम्ररी मुख छोप्ने। त्यसपछि साबुन–पानीले हात धुने।
६. सन्तुलित र स्वास्थ्यकर खानेकुरा खाने, नियमित मनतातो पानी पिउने, शारीरिक व्यायाम गर्ने र निन्द्रा पुग्नेगरी सुत्ने।
७. कोभिड १९ को बारेमा आधिकारिक संस्थाहरु जस्तैः विश्व स्वास्थ्य संगठन, युनिसेफ, सिडिसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायको जानकारी र सूचनाअनुसार सावधानी अपनाउने।