कृष्णप्रसाद बास्तोला
चीनबाट सुरु भएर विश्वव्यापी महामारीको रुप लिइसकेको कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालमा पनि त्रास फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको भए पनि जोखिम न्यूनीकरणको तयारी भने एकदमै फितलो देखिन्छ।
राज्यले रोकथामको लागि केही कार्यक्रम सुरु गरे पनि सन्तोषजनक अवस्था छैन। कोरोनाबाट आम जनमानस त्रसित हुनुको साटो आफैं सजग भई आफ्ना स-साना आनिबानीमा परिवर्तन गर्न सके पनि धेरै हदसम्म रोकथाम गर्न सकिने देखिन्छ।
कोरोना सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा मुखबाट निस्कने स-साना छिटाको माध्यमबाट यो भाइरस फैलने गर्छ। फैलिएका भाइरस अन्य व्यक्तिले श्वास लिँदा, भाइरस भएको ठाउँमा छोएर हात राम्ररी सफा नगरी आँखा, नाक तथा मुखमा छुनाले संक्रमण सुरु हुन्छ।
संक्रमण रोक्न खोक्दा, हाछ्युँ गर्दा तथा सिँगान फाल्दा ट्युस्यु पेपर अनिवार्य प्रयोग गर्ने, यदि टिस्यु पेपर उपलब्ध नभए हातको माथिल्लो भाग तथा कुहिनाको प्रयोग गरेर मुख छोप्ने, हात राम्रोसँग सफा नगरी आँखा, नाक तथा मुखमा नछुने तथा संक्रमित व्यक्तिसँगको सम्पर्कलाई घटाउने गर्नुपर्छ।
यस्तै पटकपटक हात राम्रोसँग साबुनपानी वा सेनिटाइजरले सफा गर्ने, भीडभाड कम गर्ने तथा नजाने, मिल्दोजुल्दो कुनै लक्षण देखिए सेल्फ आइसोलेसनमा बस्ने तथा समयमै अस्पताल जाने, मासु तथा अन्डा राम्रो सग पकाएर मात्र खाने, सन्तुलित भोजन खाने, वृद्ध तथा रोग प्रतिरोधात्मक शक्ति कम भएका परिवारका सदस्यहरुको खानपान तथा स्यारसुसारमा विशेष ध्यान दिने, प्रशस्त पानी पिउने विशेषगरी बिहान तथा बेलुकाको समयमा मनतातो पानी मात्र पिउने। यी उल्लेखित कामहरु हामी आफैं गर्न सक्छौं, जसले भाइरस फैलने दरलाई धेरै हदसम्म घटाई संक्रमणको जोखिमबाट बच्न सकिन्छ।
कोरोना भाइरस रोगसम्बन्धी जिज्ञासा तथा समाधान यसप्रकार छन्:
लक्षण तथा चिह्न
- ज्वरो आउनु, लगातार खोकी लाग्नु, श्वास फेर्न अप्ठेरो हुनु तथा छिटोछिटो श्वास फेर्नु सामान्य लक्षण हुन भने जटिल हुँदै गएपछि निमोनिया हुने, सिभियेर एक्युट रेस्पिरेटरी स्यान्ड्रोम, मिर्गौलाले काम गर्न नसक्ने हुनुको साथै मृत्यु समेत हुनसक्छ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सर्छ?
- हो यो संक्रमित एक व्यक्तिबाट विभिन्न माध्यम हुँदै अर्को व्यक्तिमा सर्छ।
नोबेल कोरोना भाइरसको भ्याक्सिन बनेको छ?
- हालसम्म यस्को लागि भ्याक्सिन बनिसकेको छैन।
स्वास्थ्यकर्मीहरु कत्तिको जोखिममा छन्?
- कोरोना भाइरस चाँडै फैलने हुनाले स्वाथ्यकर्मीहरु एकदमै जोखिममा रहेका छन्। तसर्थ वर्तमान अवस्थामा स्वास्थ्यकर्मीले उच्चतम सतर्कता अपनाउनुपर्ने हुन्छ।
कोरोना भाइरस लागिसकेपछि उपचार हुन्छ?
- कोरोना भाइरसको कुनै स्पेसिफिक उपचार छैन तर बिरामीको अवस्था तथा लक्षणअनुसार उपचार गरिन्छ। बिरामीलाई गरिने सपोर्टिङ उपचार धेरै प्रभावकारी हुन्छ।
कोरोना भाइरसबाट बच्न फेस मास्क लगाउनै पर्छ?
- स्वस्थ व्यक्तिले कोरोना भाइरसबाट बच्न मास्क लगाउनै पर्छ भन्ने छैन। बजारमा पाइने सर्जिकल मास्कले भाइरसलाई छेक्दैन तर यदि कोही कोरोना भाइरस संक्रमित छ भने उसले र उसको सम्पर्कमा रहने व्यक्तिले मास्को लगाउनुपर्छ। साथै स्वास्थ्यकर्मी उच्चतम जोखिममा हुने भएकोले मास्क लगाउनु उपयुक्त हुन्छ।
(बास्तोला इटहरी अस्पतालका हेल्थ असिस्टेन्ट हुन्)