डा मधुर बस्नेत/रोहितचन्द्र भण्डारी
२०७६ चैत ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट प्राप्त कोरोना भाइरस संक्रमित भएको आशंका गरिएका व्यक्तिबाट संकलित नमुना परीक्षणको नतिजा सार्वजनिक गर्योे। सो नतिजाअनुसार हालसम्म ५३० जनाको परीक्षण भएकोमा सुरुको एक जनाको बाहेक सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
महामारी नियन्त्रणका निम्ति सबैभन्दा महत्वपूर्ण मानिएको 'संक्रमित व्यक्तिको शीघ्र पहिचान र तिनको आइसोलेसन' को सबैभन्दा महत्वपूर्ण पाटो 'संक्रमितको पहिचान' मै त कतै हामी चुकिरहेका छैनौं? यसले निश्चित रूपमा केही गम्भीर प्रश्न उब्जाएको छ।
कुनै पनि ल्याब परीक्षणको निम्ति पहिले बिरामीमा कुनै रोगको आशंका गरिन्छ र उक्त रोगको निदानको निम्ति उपयुक्त ल्याब परीक्षण निर्क्योल गरी परीक्षणको निम्ति सिफारिस गरिन्छ। यसरी सिफारिस गर्दा रोगको प्रकृति, परीक्षणको प्रकृति र चिकित्सकको निपूर्णताका आधारमा कति प्रतिशत परीक्षण पोजेटिभ आउँछ भन्ने कुराको निर्धारण हुन्छ। तर जे सुकै भए पनि अधिकांश अवस्थामा यसरी सिफारिस गरिएका धेरै परीक्षणको नतिजा पोजेटिभ आउँछ/आउनुपर्छ।
यदि अत्यधिक मात्रामा नेगेटिभ देखिएमा हामीले यो सबै प्रक्रिया (रोगको आशंका गर्ने चिकित्सकको निपूर्णता, सिफारिस गरिएको परीक्षणको उपयुक्तता, परीक्षणका निम्ति लिइएको स्याम्पल, त्यो स्याम्पलको तयारी, त्यसको विश्लेषण/परीक्षण प्रक्रिया, परीक्षण गर्ने व्यक्तिको निपूर्णता आदि) को कुनै न कुनै तहमा या विभिन्न तहमा समस्या हुनसक्छ भनेर शंका गर्नुपर्ने हुन्छ र त्यसको निराकरणका निम्ति त्यसको अनुसन्धान गर्नुपर्छ।
यही कुरा कोरोना भाइरसको परीक्षणका सन्दर्भमा समेत लागू हुन्छ। महामारीका समयमा रोगको प्रकृति हेरेर टेस्ट पोजिटिभिटी रेट कम पनि हुनसक्छ किनकि यस्तो बेलामा सकेसम्म संक्रमित कोही पनि नछुटून् भन्ने उद्देश्यले परीक्षण गर्ने अवस्थालाई खुकुलो पारिएको हुन्छ र कोरोनाको सन्दर्भमा पनि त्यो लागू हुन्छ।
विश्वव्यापी रूपमा विभिन्न घटनाको तथ्यांक राख्ने एक वेबसाइटमा प्रकाशित १७ मार्चको तथ्यांकअनुसार विश्वका विभिन्न देशमा भएका परीक्षण र त्यसको पोजेटिभ नतिजा यस प्रकार रहेछ:
के ५३० जना बिरामीको नमुना परीक्षण गर्दा एक जना बाहेक अरु सबैको नतिजा नेगेटिभ आउनु स्वभाविक हो? त्यो पनि महामारीको आशंका गरिएको यो संकटपूर्ण अवस्थामा? माथि उल्लेखित तालिकाबाट पनि के प्रष्ट देखिन्छ भने हाम्रो देशमा टेस्ट पोजिटिभिटी दर एकदमै न्यून देखिएको छ र यसमा हामी चनाखो हुनैपर्छ।
कहाँ-कहाँ हुनसक्छ समस्या ?
१. नमुना संकलन गर्ने सही बिरामीको पहिचानमा
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कस्ता-कस्ता बिरामीमा कोरोनाको आशंका गरी नमुना संकलन गरेर पठाउने भनेर एउटा गाइडलाइन नै जारी गरेको छ र उक्त गाइडलाइन अन्तर्राष्ट्रिय मान्यता अनुसार नै आएको छ। त्यसैले गाइडलाइनको कमजोरी हुने सम्भावना कमै छ। तथापि बढी त्रासका कारण बिरामीहरुले बढाइचढाइ जानकारी दिने र स्वास्थ्यकर्मीले पनि अलिक बढी नै आत्तिएर ठ्याक्कै गाइडलाइन अनुसारको नभएको वा गलत जानकारीको आधारमा गाइडलाइनको मापदण्ड पूरा गरेको बिरामीको नमुना संकलन गरेको हुनसक्ने थोरै सम्भावना भने छ।
२. नमुना संकलनमा
नयाँ भाइरस भएको, उचित व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध नभएको र भएकै ठाउँमा पनि यसको प्रयोगको अनुभवको कमी र अनावश्यक त्रासका कारण स्वास्थ्यकर्मीले सही/उचित नमुना संकलन गर्नमा कमजोरी भैरहेको हुन सक्ने सम्भावनालाई नकार्न मिल्दैन।
३. नमुना डेलिभरीमा
परीक्षणका सन्दर्भमा यो एउटा निकै महत्वपूर्ण स्टेप हो। परीक्षणका लागि पठाइएका अधिकांश स्याम्पल प्रयोगशाला बाहिर जम्मा गरिएका थिए भन्ने जानकारीमा आएको छ। तसर्थ यसरी जम्मा गरिएका स्याम्पल उचित तापक्रम र विधि नपुर्याई पठाइएमा स्याम्पलको प्रभावकारिता घट्ने मात्र होइन, नष्ट समेत हुनसक्छ। नेपाल जस्तो ठाउँमा देशका विभिन्न भागबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म यसरी संवेदनशीलताका साथ स्याम्पल पठाइयो कि पठाइएन भनेर शंका गर्ने स्थान प्रशस्त छ।
४. प्रयोगशालामै हुनसक्ने समस्या
संयुक्त राज्य अमेरिकामै पनि परीक्षणका क्रममा प्रयोग हुने पदार्थहरुको कमजोरीका कारण कतिपय प्रयोगशालामा शुरुवातमा 'फ्लास नेगेटिभ' अर्थात् स्याम्पल वास्तवमा पोजिटिभ भए पनि नतिजा चाहिँ गलत ढंगले नेगेटिभ देखिएका समाचारहरु आएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जस्तो देशभरिमा नोवेल कोरोना भाइरसको परीक्षण हुने एकमात्र रिफरल प्रयोगशालामा यस्तो कमी-कमजोरी भयो होला भनेर त्यत्तिकै शंका गर्न त मिल्दैन तथापि अन्तर्राष्ट्रिय अनुभवहरु, परीक्षणको संवेदनशीलता, महामारीको उच्च जोखिम अनि हाम्रो प्रयोगशालाको नतिजाको एकदमै कम टेष्ट पोजिटिभिटी दरलाई मध्यनजर गर्दै यसतर्फ पनि बेलैमा सोच्नु जरूरी देखिन्छ।
तसर्थ हामीले अब यो टेष्टका आधारमा मात्र हाम्रो देशमा कोभिड-१९ को संक्रमण छैन भनेर ढुक्क हुनसक्ने स्थिति छैन। यसको निम्ति हामीले तुरुन्त हाम्रो परीक्षणका क्रममा कुन-कुन स्टेपमा समस्या भएको हुनसक्छ भन्ने समयमै पहिचान गरी समाधान गर्नु अत्यन्त जरूरी छ। यो किन पनि जरूरी छ भने यदि हाम्रो यो परीक्षणको कुनै तहमा भएको कमी/कमजोरीको कारण संक्रमण भएकै व्यक्तिमा पनि पोजिटिभ नतिजा नआएको हो भने त यसले एकातिर महामारी फैलिसक्छ, अर्कातिर हामी केही छैन भनेर बसिरहेका हुन्छौं र त्यो थाहा पाउँदासम्म निकै ढिला भइसकेको हुनेछ।
यदि साँच्चै हाम्रो अहिलेसम्मको परीक्षण ठिक छ भने पनि महामारीको यो समयमा सीमित क्षमता भएको हाम्रो जस्तो देशमा यो टेष्टको उचित सदुपयोग गर्नका निम्ति संक्रमितको शंका गर्ने थ्रेसहोल्ड बढाउनुपर्ने हुन्छ ताकि बढीभन्दा बढी स्याम्पलमा पोजिटिभ नतिजा आओस्।
आशा गरौँ, नेपाल सरकार एवं सम्बन्धित निकायको यसमा तुरुन्त ध्यान जानेछ र यस विषयमा गम्भीर विश्लेषण गरी समस्याको अबिलम्व निराकरण गरिनेछ।
(डा बस्नेत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्राध्यापक हुन् भने भण्डारीले अमेरिकास्थित क्लेभल्यान्ड क्लिनिकबाट ल्याब टेक्नाेलाेजीमा एमएससी गरेका छन्)