डा पदम नेपाली
आज २० मार्च अर्थात् विश्व मुख स्वास्थ्य दिवस। कोरोना भाइरसको प्रकोपले विश्व स्वास्थ्य क्षेत्र संकटग्रस्त नभइदिएको भए आज यस दिवसलाई संसारभर मनाइने थियो। कतै सेमिनार, कतै गोष्ठी, कतै र्याभली, कतै टेलिभिजन कार्यक्रम त कतै नि:शुल्क दन्त शिविरहरु सञ्चालन गरिने थिए। यसपालि कोरोनाको चपेटामा यो दिवस ओझेलमा परेको छ।
मुख स्वास्थ्य भनेको दाँत, मुख र यसको वरपरका सम्पूर्ण भागमा कुनै पनि किसिमको दुखाइ, संक्रमण, जन्मजात हुने समस्या, चोटपटक, क्यान्सर आदिबाट मुक्त भई टोक्ने, चपाउने, बोल्ने, मुस्कुराउने आदि कार्यहरु सहज रुपले गर्न सकिने अवस्था हो।
मुख स्वस्थ भयो भने शरीर स्वस्थ हुन्छ र हामी स्वस्थ भएपछि गुणस्तरीय जीवन व्यातित गर्नमा नयाँ आयाम थपिन्छ। यस्तो जीवन भोगेका नगारिकहरु लगनशील, सिर्जनशील, ऊर्जाशील र उत्पादनशील हुन्छन्, जसले राष्ट्रको सम्वृद्धि र विकासमा अतुलनीय योगदान दिन सक्षम हुन्छन्।
मुख स्वास्थ्यको महत्व
मुख तथा दाँतले खाना चपाउन र निल्नमा मद्दत गर्छ। जसले गर्दा मानिसले राम्रोसँग पौष्टिक आहार ग्रहण गर्न सक्छ। पौष्टिक आहार लिनु र स्वस्थ जीवनयापन गर्नु आपसमा समन्धित छन्। त्यसैगरी मिलेका दाँत, स्वस्थ गिजा र मुखले मुहारमा सुन्दरता थप्छ।
आजको संसारमा सुन्दरता पनि स्वास्थ्य जस्तै जीवनको महत्वपूर्ण पाटो भइसकेको छ। दाँत नहुनु, दाँत नमिलेको हुनु जस्ता कारणले आत्मविश्वासमा गिरावट ल्याउँछ, जसले गर्दा कुनै व्यक्तिले समाजमा खुलेर आफूलाई प्रस्तुत गर्न र आफ्नो दक्षता र प्रतिभा गर्न सक्दैन। मुख अस्वस्थ हुँदा भोग्नुपर्ने दुखाइ, पीडा र समस्या त आफैँमा छँदै छ।
यसरी हेर्दा मुख स्वास्थ्य निकै महत्वपूर्ण रहेको पुष्टि हुन्छ। त्यसैले मुखको हेरचार, सरसफाइ, समय-समयमा परीक्षण र आवश्यक उपचारमा अत्यन्त ध्यान दिनुपर्ने हुन्छ। दाँत तथा मुखको समस्या सामान्य हो भनेर बेवास्ता गर्नु हुँदैन।
मुख स्वास्थ्यको समग्र स्वास्थ्यसँगको अन्तरसम्बन्ध
मुख स्वास्थ्यको संवेदनशीलता अहिलेकै कोरोना संक्रमणलाई हेर्योट भने पनि पर्याप्त हुन्छ। मुख र यसकै वरिपरिका अंगहरु आँखा, नाक र मुखलाई संक्रमित दूषित हातले छोयो भने कोरोना सर्ने कुरा सर्वविदित नै भइसकेको छ। त्यस कारण अन्य रोगहरुबाट बच्न र स्वस्थ जीवनयापन गर्नका लागि मुखको सरसफाइ र हेरचाहमा विशेष ध्यान दिनुपर्छ।
हामी जे खान्छौँ, जे पिउँछौं, त्यो मुखबाट नै शरीरमा प्रवेश गर्छ। मुख स्वस्थ छैन भने सर्वप्रथम सन्तुलित र पौष्टिक आहार सेवन गर्न असहज हुन्छ भने मुखमा भएको संक्रमण शरीरको अन्य भागमा फैलन सक्छ। मुखको संक्रमण फैलिएर क्याभार्नस साइनस थ्रम्बोसिसको रुपमा मष्तिस्कमा समेत असर पुर्या।उँछ, जुन प्राणघातक समेत हुनसक्छ।
त्यसैगरी मुखको संक्रमण आँखा, नाक र घाँटीको आसपासमा समेत फैलिएर सुन्निने, पाक्ने, दुख्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने समस्या आउन सक्छ। समयमा उपचार नभएको खण्डमा श्वासप्रश्वास बन्द भई ज्यानै जाने जोखिम समेत रहन्छ। मुटुको विशेष अवस्थामा दाँत तथा मुखको संक्रमण रगतमार्फत मुटुमा पुगी र्युमम्याटिक हार्ट डिजिज र इन्फेक्टिभ इन्डोकारडाइटिस गराउन सक्छ। त्यसैले मुख स्वास्थ्यको महत्वलाई नजरअन्दाज गर्नु घातक सावित हुन जान्छ।
मुख स्वास्थ्यका आयाम र उपचार पद्दतिहरु
मुख स्वास्थ्यमा निकै विकास र आधुनिकीकरण भइसकेको अवस्था छ। तर अहिले पनि नेपालमा भने सर्वसाधारणहरु आधारभूत मुख स्वास्थ्य सेवाबाट बन्चित नै छन्। दक्ष दन्त चिकित्सकहरु गाउँ-गाउँ र विकटमा जान नसक्नु अथवा सम्भव नहुनुले धेरै सर्वसाधारण कि त पीडा पालेर बस्न बाध्य छन् कि त अदक्ष जनशक्तिबाट काम चलाउ उपचार लिन विवश छन्। यसरी लिएको उपचार निकै कम टिकाउ हुने मात्र नभएर झनै धेरै जटिलता थपेर अरु समस्या र पीडा दिइएको प्रशस्त दृष्टान्त छन्| सर्वसाधारणलाई पनि मुख स्वास्थ्यको उपचार दक्ष दन्त चिकित्सकबाट लिन पर्छ भन्ने पर्याप्त चेतना र पहुँच छैन|
यिनै कुरा छलफल गरिरहँदा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दक्ष दन्त चिकित्सकबाट मात्र यस्तो सेवा लिन पर्छ भन्ने कुरामा जोड दिन चाहन्छु। अझ दन्त चिकित्साभित्र पनि विभिन्न विशिष्ट विधा रहेका छन् र प्रत्येकले आफ्नै प्रकृतिको विधि र पद्दतिबाट दाँत तथा मुखको उपचार सेवा प्रदान गर्छन्। सबैको जानकारीको लागि दन्त चिकित्साका विभिन्न विधाको बारेमा तल उल्लेख गरिएको छ।
१. ओराल मेडिसिन, डाइग्नोसिस र रेडियोलोजी विभाग: यस विभागमा मुख तथा दाँत सम्बन्धी रोगको पहिचान गर्ने, मुखको घाउ, खटिरा, पूर्व क्यान्सरको र औषधिले निको हुने समस्याको उपचार गर्ने र अन्य समस्याको समाधानको लागि सम्बन्धित विभागमा रेफर गर्ने।
२. ओरल एन्ड म्याजिलोफेसियल सर्जरी: दाँतलाई सामान्य र सर्जरी गरेर निकाल्ने, मुखको क्यान्सरको अपरेसनमार्फत उपचार गर्ने, चोटपटक लागेको अवस्थालाई व्यवस्थापन गर्ने, तालु फाटेको आदि अवस्थालाई मिलाउने आदि गरेर सर्जरी सम्बन्धी कार्यहरु गर्ने।
३. प्रोस्थोडोन्टिक्स् विभाग: कृतिम दाँत र कृतिम अंगहरु (आँखा, कान, नाक) राख्ने।
४. कन्जरभेटिभ एन्ड इन्डोडोन्टिक्स् विभाग: दाँतलाई सामान्य तथा जरैदेखि भर्ने
५. पेरियोडोन्टिक्स् विभाग: गिजा र यसको वरपरको हड्डी लगायतका भागको उपचार गर्ने, दाँत सफा गर्ने।
६. अर्थोडोन्टिक्स् विभाग: दाँतलाई तार बाँधेर मिलाउने।
७. पेड़ोडोन्टिक्स् विभाग: बच्चा-बच्चीको दाँत तथा मुखको को सम्पूर्ण उपचार गर्ने।
८. पब्लिक हेल्थ डेन्टिस्टी: मुख स्वास्थ्य सम्बन्धित रहेर समुदायमा काम गर्ने, अनुसन्धान गर्ने।
९. ओरल प्याथोलोजी: रोगको पहिचानमा भूमिका खेल्ने।
यो जानकारीसँगै विश्व मुख स्वास्थ्य दिवसलाई फेरि एक पटक स्मरण गर्न चाहन्छु। यससँगै विगतमा भैरहवामा इन्टर्नसिप हुँदा विश्व मुख स्वास्थ्य दिवस मनाएको, चितवनमा हात्तीसहितको र्यामली र कार्यक्रम गरेको, रेडियोमा इन्टरभ्यु गरेको, डडेल्धुरामा केक काट्दै सेमिनार गरेर मुख स्वास्थ्य दिवस मनाएको क्षणहरु सम्झेको छु।
यो वर्ष पनि ‘मुख स्वास्थ्यको लागि सम्पूर्ण एकजुट होऔं’ भन्ने नाराका साथ मुख स्वास्थ्य दिवस मनाउने तय एफडिआइले गरेको थियो। यद्दपि कोरोनाको कारणले धेरै औपचारिक कार्यक्रम स्थगन गरिएको छ। यो समय भनेको सबै पेसाकर्मी एकजुट भई कोरोना विरुद्द लड्ने नै हो। सर्वसाधारण बिरामीलाई समेत यो महामारीको समयमा आकस्मिक बाहेक अन्य दन्त उपचार सेवा लिन अस्पातालमा नगएर कोरोना नियन्त्रणमा सहयोग गर्न अनुरोध गर्दछु। हामी दन्त चिकित्सक र स्वास्थ्यकर्मी सबै कोरोना विरुद्ध लड्न सचेत छौँ। विश्व मुख स्वास्थ्य दिवसको एकपटक शुभकामना।