रश्मिला थपलिया
छिमेकी देश चीनबाट सुरु भई हाल संसारभर महामारीको रूप लिएको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित बिरामी त देखिएका छैनन् तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरिसकेको अवस्थामा नेपालमा नआउला भन्न सक्ने अवस्था छैन।
डिसेम्बरको अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरसको संक्रमणबाट हुने रोग कोभिड-19 हाल सम्म १ सय ८० भन्दा बढी देशमा संक्रमण फैलिसकेको छ। विश्वभरमा १४ हजार भन्दा बढी मानिसले यो रोगको संक्रमणका कारण ज्यान गुमाइसकेका अवस्था छ। यो भाइरस विरुद्धको औषधि खोजी भइरहेको भएपनि सफलता गर्न सकिएको छैन।
चीनमा कोभिड-१९ को प्रभाव कम हुन थालेको छ। तर इटलीमा नराम्रोसँग फैलिएको छ। हामीले इटलीबाट पनि धेरै पाठ सिक्न जरुरी छ। हालसम्म चीनभन्दा बढी मानिसको मृत्यु इटलीमा भइसकेको छ। इटलीपछि स्पेन, अमेरिका, जर्मनी, इरान, फ़्रान्समा यसको बढी जोखिम देखिएको छ।
नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। कोरोना संक्रमित स्थानबाट नेपाल आएका उनी पनि निको भइसकेका छन्। हालै पर्साका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको अफवाह आएको भएपनि त्यो अफवाह मात्र भएको पुष्टि भइसकेको छ।
कोरोना भाइरसको संक्रमणबाट हालसम्म नेपाल जोगिनु सौभाग्यको कुरा भएपनि नेपालमा संक्रमण हुँदैन भनेर सोच्नु मुर्खता मात्र हो।
डब्लुएचओले नेपाललाई उच्च जोखिममा रहेका मुलुकको सूचीमा राखिसकेको छ। सरकारी तवरबाट तयारीका लागि ढिलै भए पनि केही सकारात्मक निर्णय भएका छन्। तर सरकारको तयारी भने एकदमै फितलो देखिएको छ। उचित तालिम, उपयुक्त प्रविधिको अभावमा सीमित स्रोत साधन र न्यून जनशक्ति भएको नेपालमा यो रोग फैलिए भयावह हुन सक्न संभावना नकार्न सकिने अवस्था छैन। यी विषयमा सरकारको तयारी यथेष्ट देखिएको छैन।
एकैपटक धेरै जनामा संक्रमण देखियो भने अस्पताल, स्वास्थ्यकर्मी तथा औषधिको अभाव भई विकराल रुप निम्तन्छ भन्ने कुरा आजै नसोच्ने हो भने भोलि हामीले संक्रमित व्यक्तिको उचित उपचार गर्न सक्ने अवस्था रहँदैन।
सर्वप्रथम त हामीसँग कोरोना परीक्षणमा प्रयोग हुने टेस्ट किट कति छ? अहिलेसम्म हामीले कतिलाई टेस्ट गर्यौंछ। डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले परीक्षण (टेस्ट)ले नै यसको जोखिम न्यूनीकरण गर्न सकिनेमा जोड दिएका छन्। उनले तीन पटक उच्चारण गरेको शब्द 'टेस्ट'ले यसको महत्व कति छ भन्ने कुरा स्पष्ट पारेको छ। टेड्रोसले भनेको विषयमा हामी कति संवेदनशील छौं? यसका लागि हामीसँग पर्याप्त पूर्वाधार, उपकरण र पहुँच छ?
संक्रमण रोकथामका लागि स्वास्थ्य सेवा चुस्त बनाउनुको साथै आपत्कालीन शय्या विस्तार र प्रत्येक जिल्लामा स्वास्थ्यकर्मीलाई तालिम दिन एकदमै जरुरी छ। जुनसुकै रोगको बिरामी आए पनि सुरुमा सिधै सम्पर्कमा आउने र धेरै समय बिरामीसँग हुने भनेको स्वास्थ्यकर्मीहरू नै हुन्। सबैभन्दा धेरै जोखिममा पर्ने सक्ने संभावित समूह भनेको नर्सिङ कर्मचारी हुन्। नर्सहरूले 'पहिला देश अनि मात्र म' भन्ने भावनाबाट प्रेरित भएर विगत लामो समयदेखि सेवा प्रवाह गर्दै आएका छन्। उनीहरूलाई पर्याप्त जानकारी तथा स्रोत साधन उपलब्ध गराउनु राज्यको दायित्व हो।
संक्रमित सबै मानिस सुरुमा नै लक्षण लिएर आउँदैनन्। लक्षणरहित संक्रमितबाट पनि रोग सर्न सक्छ। सरकारले सबै तयारी गरिसक्यो, आइसोलेसनका लागि अस्पताल छुट्याइयो, कोभिड-१९ संक्रमितका लागि छुट्टै अस्पताल बनाइयो लगायतका होडबाजी चलिरहँदा आवश्यक जनशक्ति, उपकरण, उपचारमा खटिने व्यक्तिहरूको सुरक्षाका लागि प्रयोग हुने उपकरण (पिपिई)को तयारीबारे सोचिएको छैन।
प्रायः सबै ठाउँमा जनशक्ति अभाव छ। साधारण अवस्थामा पनि जनसंख्याको अनुपातमा चिकित्सकहरूको संख्या कम छ। संक्रमणका बेला यो अभाव थप चुलिने अवस्था छ। आइसोलेसनमा राखिएका बिरामीको उपचारमा खटिने जनशक्तिको व्यवस्थापनबारे सोच्न जरुरी छ। स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिई स्वास्थ्य मन्त्रालयले सुनिश्चित गर्न सक्छ? राज्यको दायित्व स्वास्थ्यकर्मीका लागि कागजी रुपमा ७५ प्रतिशतसम्म भत्तामा मात्र सीमित राखेर मात्र पुग्छ? अस्पताल जान लागेका स्वस्थ्यकर्मीलाई परिवारले ढुक्कले पठाउन सक्ने वातावरण अहिले छ? छैन, उत्तर सहज छ।
आफ्नै छोराछोरीले अस्पतालबाट संक्रमण घर भित्र्याउन सक्ने डर आमाबुवामा छ। स्वास्थकर्मी बिरामीलाई उपचार गरेर ढुक्कले घर फर्किन सक्ने अवस्था छैन। स्वास्थ्यकर्मीका लागि न त आवश्यक पिपिई प्रयाप्त उपलब्ध छ, न त प्रशिक्षण नै। अहिले उपचारमा संग्लन चिकित्सकहरुले लगाउने मास्क बजारमा नपाउने अवस्था सिर्जना भइसकेको अवस्थामा महामारी फैलिएका अवस्थामा व्यवस्थापन गर्न सहज पक्कै हुने छैन।
एक त कोरोना संक्रमणको परीक्षण गर्न हामीसँग सीमित मात्र टेस्ट किट छन्। त्यही पनि एउटा मात्र प्रयोगशालामा छ। देशभरका नमूना एकैठाउँमा पठाउनुपर्ने बाध्यता छ। नमूना परीक्षणको घन्टापछि मात्र रिपोर्ट आउने हुँदा त्यो अवधिसम्म कयौंमा संक्रमण फैलिएको हुन सक्छ। रिपोर्ट नआउन्जेल उपचारमा संलग्न चिकित्सकलाई नै पनि संक्रमण फैलन सक्छ। चिकित्सकहरुबारे कसले सोच्ने?
प्रधानमन्त्रीले देशबासीका नाममा गर्नुभएको सम्बोधन र निर्णय स्वागतयोग्य छन्। तर स्वास्थ्यकर्मीहरुको सुरक्षाका विषयमा सरकार संवेदनशील भएको देखिँदैन। हामी स्वास्थ्यकर्मीहरु बिना हतियार तेस्रो विश्वयुद्धमा छौं। उपचारका क्रममा स्वास्थ्यकर्मी नै संक्रमित भए उनीहरूका परिवारलाई सरकारले के गर्छ? यो विषयमा सरकार कति चिन्तित भन्ने विषयले अनुरूप स्वास्थ्यकर्मी पनि सेवामा समर्पित हुन्छन्।
कोभिड-१९ को पूर्वतयारी गर्दा स्वास्थ्य सेवा प्रवाह गर्न अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा अहिले राज्यको पहिलो प्राथमिकतामा हुनुपर्छ। कागजी निर्णयले मात्र स्वास्थ्यकर्मी र आम नेपाली सुरक्षित भने रहँदैनन्। पिपिईको व्यवस्था सरकारले गर्नुपर्छ। यसका साथै थप केही काम पनि गर्नुपर्ने देखिन्छ।
विभिन्न किसिमका अफवाह सामाजिक सञ्जालदेखि समाचारका माध्यमबाटसमेत फैलाएर आतंक मच्चाउनेलाई तत्काल रोक्न आवश्यक छ। अस्पताल आएका बिरामीमा संक्रमणको कुनै लक्षण देखापरे रिपोर्ट नआउन्जेल एकै ठाउँमा राख्ने व्यवस्था गर्नु पनि उतिकै महत्वपूर्ण हुन्छ।
सकेसम्म घुमघाम र भिडभाडमा सहभागी हुनबाट बच्नु जरुरी छ। अहिले सबै गाउँ फर्किरहेका छन्। हुन त त्यस्तो नहोस् तर उनीमध्ये कसैलाई संक्रमण रहेछ भने धेरैलाई एकैचोटी संक्रमण हुने सम्भावना हुन्छ। इटलीमा पनि ठूलो संख्यामा आवतजावत गर्दा संक्रमणले विकराल रूप लिएको विश्लेषण हुने गरेकाले पनि यसबाट बच्न आवश्यक छ। कोरोना भाइरसको संक्रमणबाट बच्न नियमित हात धुने र सरसफाईमा ध्यान दिन आवश्यक छ।
हाम्रो समुदायमा घरपालुवा जनावरलाई बाहिर डुलाउन लैजाने प्रचलन छ। तर संक्रमणका बेला यसो गर्नु पनि उचित मानिँदैन। गर्भवती तथा बिरामीलाई घरपालुवा जनावरबाट टाढै राख्न पनि जरुरी छ। सकेसम्म अस्पताल संक्रमण फैलने संभावना बढी हुने र सार्वजनिक स्थलमा भिडभाड हुने भएकाले आवश्यक काममा मात्र ती स्थानमा जाने गरौं। महामारीको लक्षण देखापरे तत्काल नजिकैको स्वास्थ्य संस्थामा अस्पताल जाऔं। आफू पनि सचेत रहौं र सचेतता फैलाऔं।
(थपलिया स्टार अस्पतालमा कार्यरत छिन्)