अतुल गवान्डे
अहिले सबैले एउटै कुरा सुझाउँछन्– घरमै बस। कोरोना महामारीको लक्षण नदेखिएकाहरुबाट धेरैभन्दा धेरै संक्रमण फैलिरहेको यो अवस्थामा घरमै बस्नु भन्ने विज्ञहरुको सुझाव महत्वपूर्ण पनि छ। तर यस घडीमा यस्ता पेसाकर्मीहरु पनि छन्, जसले घरमै बस्ने छुट पाउँदैनन्। यीमध्ये स्वास्थ्यकर्मीहरु एक हुन, जो संक्रमणको उच्च जोखिममा रहँदारहँदै पनि बिरामीको उपचारमा खटिनैपर्छ। तसर्थ के गर्न सकियो भने उनीहरुलाई बिरामी नबनाई बिरामीको उपचारमा लगाउन सकिन्छ त?
सर्वप्रथम वुहानकै घटनालाइ हेरौँ। महामारी सुरु हुँदै गर्दा त्यहाँ कार्यरत १३ सय स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भए। आम मानिसको तुलनामा उनीहरुलाई संक्रमण हुने खतरा तीन गुणा बढी पाइएको थियो। आफू संक्रमित हुने मात्र होइन, उनीहरुले आफ्नो घर–परिवारलाई पनि संक्रमित बनाउँदै लगे। त्यसपछि यस्तो समय आयो, जतिखेर स्वास्थ्यकर्मीहरु नै संक्रमण फैलाउने प्रमुखमध्ये एक कारक बने। स्वास्थ्यकर्मीको अभाव हुँदै गएपछि वुहानमा ४२ हजार स्वाथ्यकर्मी अन्यत्रबाट ल्याइएको थियो।
त्यसपछि चीनले स्वास्थ्यकर्मीका लागि जे नीति ल्यायो, त्यो भयानक थियो। संक्रमित बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई घर जान प्रतिबन्ध लगाइयो। उनीहरुको लागि रातारात विशेष किसिमको सुरक्षा पोसाक तयार गरियो। एन ९५ मास्क, गाउन, चस्मा, फेस सिल्ड, जुत्ता ठूलो संख्यामा उत्पादन गरेर हरेकलाई लगाउन दिइयो।
चीनले आफ्ना स्वास्थ्यकर्मीप्रति जस्तो नीति ल्यायो, के हामी अहिले त्यसो गर्न सक्छौँ? के हाम्रा स्वास्थ्य संस्थाहरुसँग चीनमा जस्तो हरेक संक्रमित हेर्नका लागि छुट्टाछुट्टै पुग्ने सुरक्षाका सामग्रीहरु छन्? यदि हामीसँग वुहानको जस्तो सामथ्र्य छैन भने के गर्ने?
म अमेरिकाको मासाचुसेमा सर्जरी विभागमा कार्यरत छु। यहाँको १४ मध्ये ११ ‘काउन्टी’मा भाइरसको संक्रमण पुष्टि भइसकेको छ। अनि म कार्यरत अस्पतालले संक्रमितहरुसँग सम्पर्कमा आएका सयौँ कर्मचारीलाई घरमै क्वारेन्टाइनमा बस्नका लागि छुट्टी दिइसकेको छ। यसरी सबै ठाउँमा संक्रमितहरुको सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीलाई छुट्टी दिँदै जाने हो भने चाँडै नै अस्पतालहरु खाली हुनेछन्।
यस्तो अवस्थामा हङकङ र सिंगापुरले अबलम्वन गरेको नीति हाम्रा लागि उपयोगी हुन सक्छ। दुवै राष्ट्रमा जनवरीको अन्त्यतिर पहिलो पटक संक्रमण देखापरेको थियो र छोटो समयमै फैलिएको पनि थियो। संक्रमण फैलिएसँगै ती राष्ट्रहरुले सर्वप्रथम मानिसलाई घरमै सिमित गराए। ठूलो संख्यामा जाँच गरियो। यसैबीच वुहानबाट सिकेको पाठ के थियो भने यदि गर्दागर्दै पनि स्वास्थ्यकर्मीबाट संक्रमण फैलन सक्छ। तर उनीहरुसँग विश्वका असंख्य देशहरु जस्तै न त पर्याप्त सुरक्षाका सामग्री थिए न त वुहानमा जस्तै स्वास्थ्यकर्मीहरुलाई समाजबाट अलग्याएर राख्न नै सक्थे।
सीमित स्रोत र साधन भएका ठाउँमा पनि कसरी स्वाथ्यकर्मीलाई सुरक्षित राख्न सकिन्छ भनेर मैले केही तरिकाहरु सुझाउने प्रयास गरेको छु।
सबै स्वास्थ्यकर्मीले यो समयमा अस्पताल आउने जुनकुनै बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउँदा अनिवार्य कम्तीमा सर्जिकल मास्क प्रयोग गर्नुहोला। हातमा पन्जा लगाउने र हातको स्वच्छता (हाइजिन) जुनसुकै बेला पनि कायम राख्नुहोला। आफूले प्रयोग गर्ने सम्पूर्ण वस्तुहरुलाई डिसइन्फेकटेन्ट प्रयोग गरी किटाणुरहित बनाउनुहोला।
शंकास्पद बिरामीहरु जस्तैः ज्वरो आउने, खोकी लाग्ने, शरीर गल्ने वा श्वासप्रश्वासमा कुनै पनि समस्या भएका बिरामीहरु भेट्नासाथ उनीहरुलाई अरु बिरामीको संसर्गबाट टाढा राखिहाल्नुहोस। त्यस्ता बिरामी हेर्नका लागि छुट्टै ठाउँ र छुट्टै मेडिकल टिमको प्रबन्ध मिलाउनुहोस। सकेसम्म आफ्नो क्लिनिकहरुमा पनि व्यक्तिव्यक्तिबीच भौतिक दूरी कायम राख्न अधिकतम प्रयासहरु गर्नुहोस। उदाहारणका लागि तपाइँको क्लिनिकमा प्रतीक्षा गरिरहेका बिरामीका लागि कम्तीमा ६ फिट दूरीमा कुर्सीहरु राख्नुहोस। बिरामीलाई छोएरै जाँच गर्नुपर्ने बाहेक अन्य समयमा कम्तीमा ६ फिटकै दूरीमा रहनुहोस।
एन ९५ मास्क, चस्मा, गाउन र अन्य सुरक्षाका सामानहरु संक्रमण पुष्टि भइसकेका बिरामीहरुको उपचारका निम्ति साँचेर राख्नुहोला।
त्यसैगरी अस्पताल आएका थुप्रै बिरामीमध्ये एक जनालाई अचानक संक्रमण पोजिटिभ देखिएमा के गर्ने? हङकङ र सिंगापुरलाई नै उदाहरण मानेर हेर्दा उनीहरुले यस्तो अवस्थामा अस्पताल नै बन्द गर्ने वा स्वास्थ्यकर्मी सबैलाई क्वारेन्टाइनमा राख्ने काम गरेनन्। बरु बडो आक्रामक तरिकाले उक्त पोजिटिभ देखिएको बिरामी कहाँकहाँ गयो र कोसँग सम्पर्कमा आयो भनेर पत्ता लगाए अनि ऊसँग अत्यन्तै नजिकबाट सम्पर्कमा रहेकाहरुलाई मात्र क्वारेन्टाइनमा राखियो।
फेरि प्रश्न आउँछ, संक्रमितसँग कति समय बिताएको वा कति दूरीमा रहेकाहरुलाई क्वारेन्टाइनमा राख्ने। यसमा पनि यी दुई राष्ट्रले अपनाएको तरिकालाई मानक मान्न सकिन्छ। हङकङमा नजिकको सम्पर्क भन्नाले संक्रमितसँग मास्क नलगाई ६ फिट भन्दा कमको दूरीमा १५ मिनेटभन्दा बढी समय बिताएका व्यक्तिहरुलाई लिइयो। त्यस्तै सिंगापुरले मास्क नलागाई ६ फिटभन्दा कमको दूरीमा ३० मिनेटभन्दा बढी समय बिताएकाहरुलाई क्वारेन्टाइनमा राख्यो।
६ फिट भन्दा कमको दूरीमा रहेर २ मिनेटभन्दा बढी तर तोकिएको अधिकतम समय (हङकङमा १५ र सिंगापुरमा ३०) भन्दा कम समय सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुलाई भने मास्क लगाएर काम गर्न दिइयो तर अनिवार्य रुपमा उनीहरुको शरीरको तापक्रम भने दिनको दुई पटक नाप्ने गरियो। तर २ मिनेटभन्दा पनि कम समय सम्पर्कमा रहेका स्वास्थ्यकर्मीहरुको हकमा भने विना रोकटोक काम गर्ने प्रबन्ध मिलाइयो।
स्मरण रहोस, कोरोना भाइरसका सयौँ बिरामी रहेका सिंगापुरमा स्वास्थ्यकर्मीबाट संक्रमण फैलिएको कुनै पनि उदाहारण छैन। सिंगापुरबाटै रिपोर्ट गरिएको एक जना बिरामीलाई नै हेरौं, जसलाई निमोनिया भएको थियो। उक्त बिरामीलाई कोभिड १९ भनेर पुष्टि हुनु अगाडि ४१ जना स्वास्थ्यकर्मी उसको सम्पर्कमा आएका रहेछन्, जस अन्तर्गत संक्रमणका हिसाबले अत्यन्त संवेदनशील मानिने ‘इन्टुबेसन’ गर्ने चिकित्सक पनि पर्छन्। ४१ जनामध्ये ८५ प्रतिशत स्वास्थ्यकर्मीले हात धुने र सर्जिकल मास्क लगाउने बाहेक कुनै पनि सुरक्षाका विधि अपनाएका थिएनन्। यति हुँदाहुँदै पनि ती ४१ जनालाई नै संक्रमण देखिएको थिएन।
भाइरस सम्बन्धी यथेष्ट जानकारी नरहेको अवस्थामा संयुक्त राज्य अमेरिकामा पनि बिना सुरक्षा सामग्री संक्रमितको सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीलाई अनिवार्य १४ दिने क्वारेन्टाइनमा राखिएको थियो। फेब्रुअरीको अन्त्यमा यसरी क्वारेन्टाइनमा बसेका ८९ जना स्वास्थ्यकर्मी कसैलाई पनि संक्रमण देखिएको थिएन।
कोभिड १९ सामान्य रुघाखोकीभन्दा छिटो फैलने बिमारी हो। तर एसियामा देखिएको संक्रमणबाट हामीले के पाठ सिक्न जरुरी छ भने यसलाई रोक्नका लागि असाधारण वा कुनै ठूलो कदम चालिहाल्नुपर्ने आवश्यकता छैन। जनस्वास्थ्यका आधारभूत सिद्धान्तहरु जस्तैः हात धुने, भौतिक दूरी कायम राख्ने, संक्रमितलाई अलग्गै राख्ने आदि गर्दा मात्रै पनि भाइरसमाथि विजय हासिल गर्न सकिन्छ।
यिनै तथ्यांकहरुलाई आधार मान्दै सान फ्रान्सिस्कोका जनस्वास्थ्य अधिकारीहरुले सुरुवातमा गरिएको कडाइलाई केही हदसम्म खुकुलो बनाइदिएका छन्। संक्रमितहरुसँग सम्पर्कमा रहेको भए तापनि लक्षण नदेखिएका आफ्ना कर्मचारीहरुलाई उनीहरुले मास्क लगाएर काम गर्न दिइरहेका छन्।
आफूलाइ संक्रमण नहोस भन्नका लागि स्वास्थ्यकर्मीले विशेषगरी निम्न कुरामा ध्यान दिनुपर्छः
- सावधानीपूर्वक हात धुने र सरसफाइ गर्ने
- अत्यावश्यक बाहेकका बिरामीहरुलाई अस्पताल आउन प्रोत्साहन नगर्ने
- सकेसम्म टेलिफोन वा भिडियोमार्फत बिरामी हेर्ने
- मास्क, पन्जा र गाउन अनिवार्य लगाउने
दक्षिण कोरियाले आफ्नो देशमा मास परीक्षणको सहायताले कोरोना भाइरस नियन्त्रण गर्न सफल भयो। यसले के जनाउँछ भने महामारी फैलाउने भनेकै लक्षण नदेखिएका संक्रमितहरु हुन्। तर फेरि हङकङ र सिंगापुरलाई आधार मान्ने हो भने त्यस्ता लुकेका संक्रमितहरु समाजका लागि त्यति विधि घातक हुँदैनन्। यी दुई देशले भने दक्षिण कोरियाले गरेभन्दा ठिक उल्टो गरे। मास टेस्टिङ गर्नुको साटो उनीहरुले उच्च जोखिममा रहेका वा कोभिडको लक्षणसँग मिल्दोजुल्दो बिरामीहरुको मात्र परीक्षण गरे। उनीहरुको यो सिद्धान्तले पनि आखिरमा रोग नियन्त्रणमा आयो।
वुहानमा पनि दक्षिण कोरियामा जस्तै मास परीक्षण गरिएको थियो। त्यतिखेर वुहानमा मात्रै ७२ हजार जनामा टेस्ट पोजेटिभ देखिएको थियो। र, टेस्ट पोजेटिभ देखिएकामध्ये एक प्रतिशतभन्दा कममा मात्र लक्षण देखा परेन भने बाँकी सबै बिरामी भए।
त्यस्तै महामारीको उदयसँगै तीन हजार यात्रु सवार डाइमन्ड प्रिन्सेस नामक पानी जहाजमा पनि कोरोना भाइरस आशंका गरी सबैलाई परीक्षण तथा क्वारेन्टाइन गरिएको थियो। त्यसमध्ये ६३४ जनामा जाँच पश्चात् संक्रमण पुष्टि भएको थियो। टेस्ट पोजेटिभ आएकामध्ये १८ प्रतिशतमा कहिल्यै लक्षण नै देखिएन।
एकातर्फका तथ्यांकहरुले लक्षण नदेखिएकाहरुलाई प्राथमिकतामा नराख्नुहोस् भन्छ भने अर्कातर्फ लक्षण नदेखिएकाहरुबाटै संक्रमण फैलने तथ्यलाई पनि नकार्न सकिँदैन। जे होस महामारी विश्वभर फैलिएको छ र हामीले सबैतिरबाट यसको ज्ञान हासिल गर्न सक्छौँ।
(जनस्वास्थ्य विज्ञ गवान्डेको द न्यु वर्करमा प्रकाशित लेख विशद दाहालद्वारा भावानुवाद)