डा आशिषदीप पौडेल
सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर फैलिइसकेको छ। विश्वलाई नै आतंकित बनाएको यो भाइरसबाट १४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
चीनबाट सुरु भई सम्पूर्ण युरोप, अमेरिका र एसियासम्म ठूलो क्षति पु¥याइसकेको कोरोना भाइरसको संक्रमण नेपालमा भने अहिलेसम्म देखिएको छैन। तर, विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताइरहेको अवस्थामा सरकारले भने हालसम्म स्वास्थ्यकर्मीलाई जोखिमबाट जोगिने उपायका विषयमा भरपर्दो कदम चालेको देखिँदैन।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मानिसमा पहिचान हुन करिब २ हप्ता कुर्नुपर्ने र त्यो समय अगावै मानिसमा सरिसक्ने भएकाले यसको जोखिम स्वास्थ्य जाँच गर्ने व्यक्तिलाई बढी मात्रामा हुने देखिन्छ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी माहामारी घोषण गरिसको छ। तर नेपालमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारी उदासिनता भने आश्चर्यलाग्दो छ।
कोरोना भाइरसको संक्रमण भएपछि लामो समयसमम्म रुघाखोकी देखिने, उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने र असर गम्भीर भएमा निमोनिया हुनुका साथै मिर्गौलाले काम गर्न नसक्ने भई मानिसको मुत्यु समेत हुन्छ। कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा भाइरस भएको ठाउँमा छुँदा र राम्ररी हात सफा नगरी नाक, मुख, आँखामा स्पर्स गर्दा संक्रमण हुन्छ।
यसको जोखिम श्वासप्रश्वाससँग सम्बन्धित रोग भएका, वृद्धवृद्धा, मधुमेह, उच्च रक्तचाप भएका व्यक्तिमा बढी हुने बताइएको छ। शरीरमा कुनै मिल्दो लक्षण आएमा नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ तर शरीर, परिवार र आफ्न्तको माया त्यागेर स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीले नै सुरक्षा महसुस गर्न सकिरहेका छैनन्।
कोरोना भाइरस संक्रमण भएका बिरामीको उपचारमा संलग्न कतिपय स्वास्थ्यकर्मी नै संक्रमित भइसकेका छन्। कतिपय देशमा त स्वास्थ्यकर्मीको मृत्यु समेत भइसकेको छ। पछिल्लो विवरणअनुसार चीनमा करिब ३ हजार ३ सय स्वास्थ्यकर्मीमा कोरोना भेटिएको छ र जसमध्ये १३ जनाले ज्यान समेत गुमाउनु परेको छ।
यसैगरी इटालीमा पनि करिब २ हजार ६ सय २९ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यस्ता स्वास्थ्य सेवा गुणस्तरीय मानिएका विकशित देशहरुमा त स्वास्थ्यकर्मी यति धेरै जोखिममा छन् भने हाम्रो देशमा कति जोखिम होला सहजै अनुमान गर्न सकिन्छ।
हामीसँग स्वास्थ्य सेवाको क्षमता सीमित छ। देश भर्खर–भर्खर संघीय संरचनामा प्रवेश गरेको र कर्मचारी समायोजन लगायतका विषयले स्वास्थ्यको जनशक्ति, संरचना र प्रणाली परिपक्व भइसकेको छैन।
स्वास्थ्य सुरक्षाका दृष्टिले पनि स्वास्थ्यकर्मी त्यति सुरक्षित छैनन्। स्वास्थ्य सुरक्षाका लागि चाहिने विषेश किसिमको माक्स, गाउन, ग्लोब्स, गगल्स लगायतका सामग्री स्वास्थ्यकर्मीलाई उपलब्ध हुनु अति आवश्यक छ। स्वास्थ्यकर्मीलाई विना सुरक्षा सामग्री सेवामा खटाउँदा स्वास्थ्यकर्मीबाटै संक्रमण फैलन सक्ने जोखिम छ। यस्तो अवस्थामा स्वास्थ्यकर्मीको सुरक्षाको सरकार संवेदनशील बन्ने समय आएको छ।
उपचारको क्रममा मानसिक तनाव पनि स्वास्थ्यकर्मीलाई बढी परेको हुन्छ। अहिलेका सञ्चारमाध्यम, फेसबुक, ट्विटर, युटुबद्वारा त्रास फैलिएका कुराहरु स्वास्थ्यकर्मीसँग जोडिएको पाइन्छ। जसले गर्दा मासिक तनाव समेत हुने गरेको छ।
नेपाल सरकारले स्वास्थ्य सेवामा खटिने कर्मचारीहरुलाई ७५ प्रतिशत भत्ता दिने निर्णय र यही चैत ५ गते कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण गर्नका लागि १८ बुँदे घोषणपत्र जारी गरेको कुरा प्रशंसनीय छ। तर रोकथामका लागि दिएका सीमित सेवाहरु जस्तैः क्वारेन्टाइन स्थल, आइसोलेसन बेड, ल्याब टेस्ट, डाइनोस्टिक किट, आइसियु र भेन्टिलेटर सेवा संक्रमण फैलिएको अवस्थामा पर्याप्त हुन सक्दैन।
सरकारबाट सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने निर्णय भएको छ। तर स्वास्थ्यकर्मीलाई पूर्ण विश्वास दिलाउन भने सकेको छैन। हालै प्रधानमन्त्रीबाट देशबासीका नाममा सम्बोधन भएको छ र देशभरि सेमी लकडाउन गर्ने निर्णय भएको छ। यस निर्णयबाट स्वास्थ्यकर्मीलाई काम गर्न केही सहज भएको देखिएको छ।
हामी स्वास्थ्यकर्मी विना हतियारका सिपाही बनेर रणभूमिमा कोरोना भाइरससँग युद्धका लागि तैनाथ छौं। नेपाल अहिले निकै संवेदनशील घडीमा छ, जसमा हामी स्वास्थ्यकर्मी यसका अभिन्न अंग हाँै र राज्यले हाम्रो योगदान खोजिरहेको छ।