मनोज लामिछाने
आज विश्वका हरेक मानिसको ध्यान कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भन्ने तिर केन्द्रित छ। अहिलेको भयाबह परिस्थितिमा नेपाल जस्तो विकासोन्मुख देशका लागि यो कोरोना भाइरस ठुलो चुनौतिको बिषय हो। यो विषम परिस्थितिमा नेपालीले संयम अपनाउने र राज्यले बनाएका नीति नियमहरुलाई पालना गर्नुको विकल्प छैन। यसका लागि सबै नेपालीहरु राज्यले बनाएका नीति नियमहरु प्रति सचेत हुन् आवश्यक छ।
विश्वका १९० भन्दा बढी देशमा यसले आफ्नो उपस्थिति जनाइ सकेको छ। विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ६ लाख नाघिसकेको छ भने यस रोगले विश्वमा २७ हजारभन्दा बढीको ज्यान लिइसकेको छ। पछिल्लो १ दिनमा इटलिमा ७१२ जना, फ्रान्समा ३६५ जना, स्पेनमा ७१८ जनाको ज्यान गएको छ। हालसम्म विश्वका अति सम्पन्न मुलुकहरु इटलिमा ८२००, फ्रान्समा १६९६, अमेरिकामा १२९३, इरानमा २२००जना मानिसहरु कोरोना भाइरसको चपेटामा परिसकेका छन्। अन्य मुलुकहरुमायो रोगबाट संक्रमित हुनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ भने एकै दिन पछिल्लो समयमा करिब ६५००० जनामा संक्रमित देखिएको छ।
दक्षिण एसियाली मुलुकहरु पनि यो रोगबाट अछुतो रहन सकेको छैन । छिमेकी मुलुक भारतमा ७०० भन्दा बढी जना संक्रमित छन् भने २० जनाको मृत्यु भैसकेको छ। नेपाललमा ३ जनामा संक्रमित देखिएको छ। पाकिस्तानमा १२०० भन्दा बढी जना संक्रमित छन् भने ९ जनाको मृत्यु भैसकेको छ। विश्वका अति सम्पन्न मुलुकलाई हम्मे हम्मे पारेको यो रोगले नेपालमा यसको बाक्लो उपस्थिति भयो भने के होला? यो नेपालको लागि चिन्ताको बिषय हो।
खुल्ला नाका, बैदेशिक रोजगारबाट धानेको मुलुक, अपर्याप्त श्रोत र साधन, पर्याप्त चिकित्सकहरुको अभाव, भौगोलिक विकटताका कारण पनि यो मुलकमा चाहेर पनि सबै ठाउँमा राज्यको समान उपस्थिति सम्भब छैन। नेपालमा ८०२ जनामा परीक्षण गरिएकोमा ४ जनामा मात्र संक्रमण देखियो भनेर ढुक्क हुने अवस्था छैन। वास्तविक सङ्ख्या अझै धेरै हुन सक्छ किनकी नेपालसंग कोरोना भाइरसको परीक्षण गर्ने चुस्त र दुरुस्त प्रणाली छैन। यसकारण पनि नेपालीहरु ढुक्क हुने अवस्था छैन। यसको लागि नेपालीहरु आफैं जागरुक हुनुपर्ने अहिलेको खाँचो छ।
अहिले विश्वमा फैलिएको करोना भाइरसको कहरले श्रमजिवी जनताहरु दुई खाले चपेटामा परिरहेका छन्। एकातिर कोरोना भाइरसबाट कसरी आफ्नो र आफ्नो परिवारको ज्यान जोगाउने भन्ने चिन्ता छ भने अर्कोतिर दैनिक जोहो कसरी गर्ने भन्नेचुनौती छ। अहिले देश लकडाउनमा छ। यो लकडाउन थप हुनसक्छ। हुनुपनि पर्छ। कोरोना भाइरसलाई निर्मुल पार्ने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन। यसको माहामारी दिन प्रतिदिन बढ्दै जाँदा गरिब नेपाली जनताको घरमा भएको दैनिक उपभोगका बस्तुहरुको अभाब बढ्दैछ। नपाली श्रमजिवी जनताहरु मानसिक चपेटामा पर्न थालिसकेका छन्।
यसको उदाहरणका लागि नाम सार्वजनिक नगर्ने शर्तमा एक गैरसरकारी संस्थामा कार्यरत कर्मचारीको भनाइलाई लिन सकिन्छ। उनको भनाइमा, अहिले विश्व कोरोना भाइरसको चपेटामा छ। सबैलाई ज्यान कसरी जोगाउने भन्ने चिन्ता छ तर हाम्रा हाकिम साहेबहरु फिल्डमा के के काम भएको छ ? रिपोर्ट गर भन्नुहुन्छ। उनको यो भनाइ जति सरल छ त्यतिनै मार्मिक पनि छ। यो अति नै संवेदनशिल मानविय संवेदनासंग जोडिएको बिषय हो। उनि एक पात्र मात्र हुनसक्छन्। यसतर्फ सबैको ध्यानाकर्षण हुन् आबश्यक छ। ज्यान भन्दा ठुलो अरु केहि हुन्न। यो अवस्थामा सबैको सहयोग र समझदारीको खाँचो छ।
कोरोना भाइरसको कहरले संसारलाई गालि रहेको अवस्थामा नेपाल सरकारले विभिन्न पहलहरु गरिरहेको छ। नेपाल सरकारले गरेका हालसम्मका प्रयासहरु अपर्याप्त छ। संघ, प्रदेश, स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने अत्यावश्यकबाहेक सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गर्नु, सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले नियमित काम गर्न लगाउनु, नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानहरू चैत्र ९ देखि १८ गतेसम्मकालागि बन्दगर्नु, सीमा-नाका आवगमन बन्द गर्नु, सबै लामो दूरीका यात्रुवाहक बसलाई चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाउनु, मुलुकबाहिर रहेका नेपालीलाई स्वदेश फर्कन सरकारले तत्कालका लागि रोक लगाउनु, कोरोना भाइरससँग लड्नका लागि भारतको अग्रसरतामा सार्क देशका नेताहरूको भिडिओ कन्फ्रेन्सपछि घोषणा गरिएको कोषमा नेपालले १० करोड रुपैयाँ योगदान दिनु, विभिन्न स्थानमा आइसोलेसनको व्यवस्था गर्नु, कोरोना भाइरसबाट बच्ने उपायहरुका साथै यसका लक्षणहरुबारे सन्देशहरु सम्प्रेषण गरिरहनु नेपाल सरकारले गरेको सकारात्मक पक्ष हुन्।
मुलुक अहिले लकडाउनमा छ। राज्यले कोरोना भाइरसकोविरुद्ध चालेका यी कदमहरु मात्र पर्याप्त छैनन्। लकडाउनको अवस्थामा नेपालीहरु लकडाउन भनेको कस्तो हुदो रहेछ? भनेर सडकमा हेर्न निस्कने गरेका छन्। जुन गलत काम हो। हामी नेपालीहरुको मानसिकतामा परिवर्तन गर्नु राज्यको लागि त्यति सजिलो छैन।
विश्वको अर्थतन्त्रमा कोरोना भाइरसले ठुलो असर पारिरहेको अबस्थामा परनिर्भर देश, गरिब जनता, अशिक्षित समाजका कारण यसको असर नेपाल जस्तो गरिब मुलुकमा अझ बढी पर्दछ। यसका लागि सर्वप्रथम नेपालमा भएका चिकित्सकहरुको मनोबल बढाउने खालका योजनाहरु तत्काल ल्याउनु पर्छ। उनीहरुका लागि चाहिने सुरक्षाका साधन र श्रोतहरुको तत्काल व्यवस्था गर्नुपर्छ।
अहिले देशमा भएका ठुला अस्पतालहरुमा तुरुन्त किटको व्यवस्था गर्नुपर्छ र कोरोना भाइरसको जाँच शुरु गरिहाल्नु पर्छ। दैनिक ज्याला मजदुरी गरि पेट पाल्नु पर्ने नेपालीहरुको दैनिकी चलाउनका लागि तत्काल सरकारले पहल गर्नुपर्ने देखिन्छ।
देशमा काला बजारियाहरुले मौका छोपिरहेका छन्। दैनिक उपभोग्य बस्तुहरुको अभाव देखिएको छ यसका लागि निगरानीमा जोड दिई काला बजारियाहरूलाई कडा भन्दा कडा कारबाही गर्नुपर्दछ। देशमा विकास बजेट योजना अनुसार खर्च नभएको अबस्थामा यो बजेटलाई दैनिक ज्याला मजदुरी गरि पेट पाल्नु पर्ने नेपालीहरुको दैनिकी चलाउनका लागि खर्च गर्नुपर्छ। अहिले राज्यको पहिलो दायित्व भनेको जनताको ज्यानको सुरक्षा हो।
राज्यले लकडाउन गरि सकेपछिको अवस्थामा समस्यामा परेका जनताको तुरुन्त उद्धार गरि उनीहरुलाई उनीहरुको बासस्थानमा पठाउनेदेखि पठाउनका लागि आवस्यक रकमको व्यवस्था पनि तुरुन्त गर्नु पर्नेछ। विश्वमा कोरोनाको महामारी अबस्थामा नेपालमा लकडाउनको समयलाई अझ थप गर्दा उपयुक्त हुन्छ। यसका लागि सबै राजनीतिक दल, गैरसरकारी निकायहरु, सरोकारवालाहरुको एक्यबद्धताको जरुरी छ।