नारायण आचार्य
कोरोना भाइरस अर्थात् कोभिड १९ जनस्वास्थ्यको हिसाबले विश्वमहामारीको प्रमुख कारण बनेर आएको छ। यो लेख तयार गर्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने विश्वभर पाँच लाख भन्दा बढीलाई संक्रमण भइसकेको छ भने २७ हजार भन्दा बढिको मृत्यु भइकेको छ। आधुनिकिकरण र विकासका हिसावले गगन चुमिरहेका देशहरुलाई समेत हैरान पारिसकेको छ र समग्र विश्वको मनोविज्ञानलाई नै कमजोर बनाउँदै गएको छ।
हरेक परिवारका सदस्यहरुले दुष्मनको प्रतिक्षा गरिरहेको अनुभूति गर्नुपरेको छ। अझ गम्भिर कुरा के भने अग्रपंतीमा लड्नुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले असुरक्षा महशुस मात्र गरेका छैनन्, कतिपयले कम्मरमा टाइमबम बाँधेर काम गरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन्। अस्पतालमा मृत्युसँग लडिरहेका बिरामीहरुले परिवारका सदस्यहरुलाई समेत भेट्न पाएका छैनन्। यस्तो भयावह स्थिति आखिर कसरी उत्पन्न भयो र योसँग कसरी लड्ने? भन्ने विषयमा के बुझौं।
कोरोना भाइरस एक जनावरबाट मानिसमा सरेको हो। यसको संक्रमणकालिन समय लामो हुन्छ र एकजना संक्रमितले सयौं जनालाई संक्रमित बनाउन सक्छ। बैज्ञानिकहरुले यो भाइरसलाई विशेष प्रकारले डिजाइन भएको बताएका छन्।
यो भाइरस अल्कोहल, डिटर्जेन्टयुक्त साबुनको फिँज र तातोमा सजिलै मर्छ भने सामान्य अवस्थामा कपडा, प्लाष्टिक, धातु आदिमा आफूलाई केही घण्टादेखि केही दिनसम्म सामान्य अवस्थामा राख्न सक्छ। उच्च ज्वरो, सुक्खा खोकी र स्वास फेर्न कठिनाई यसको संक्रमणका प्रमुख तीन लक्षण मानिएको छ। यो लेख विशेष त ब्यवस्थापनमा आधारित भएकोले यसका प्राविधिक पक्षलाई कम उल्लेख गरौं।
के माइक्रोड्रपलेटबाट यो रोग सर्छ ?
सामान्यतया यो रोग बिरामी वा संक्रमित सामाग्रीहरुलाई प्रत्यक्ष छोएर र बिरामीले निकालेका थुक वा सिंगानका छिटाहरुको निलेर सर्ने भनिएको छ तर जापानिज खोजकर्ताहरुले अति सुक्ष्म थुकका कणहरुले यो रोग सार्न सक्ने न्युन सम्भावना भएको बताएका छन्। यस्तो अवस्थाबाट बच्न लक्षण नदेखिएका मानिसहरु विच सामान्य कुराकानीमा पनि मास्क लगाउन उचित हुने बताएका छन्। विशेषगरी स्वास्थ्यकर्मीहरुले अस्पतालमा बिरामीहरुको सेवा गरिरहदा वा सामान्य अवस्थामा रहँदा बन्द कोठा प्रयोग नगर्ने र पर्याप्त हावा प्रवाह हुने बातावरण मिलाउनु पर्ने हुन्छ।
के हो त प्यान्डेमिक ओभरसुट?
कुनै पनि संक्रामक रोग सानासाना समूह हुँदै ठूलो समूह अथवा क्षेत्रफलमा फैलिन्छ र नियन्त्रण बाहिर जान्छ भने त्यस्तो अवस्थालाई प्यान्डेमिक ओभरसुट भनिन्छ। अव हामी कोरोनाको उदाहरण लिउँ, नेपालमा कोरोना भाइरस हाल काठमाडौ र धनगढीमा देखिएको छ। यसलाई दुई समूह बुझौं।
अब हामी हर उपाय अपनाएर यसलाई अर्काे स्थानमा फैलिन रोक्ने प्रयास गर्नुपर्दछ। केही गरी हामिले यसलाई रोक्न सकेनौं र कोरोना भाइरस लगातार बढ्दै गयो र अनियन्त्रित एवम् विष्फोटक बन्यो भने त्यो अवस्थालाई ओभरसुट भनिन्छ। ओभरशुट ब्याहोर्नु भनेको झण्डै युद्ध हार्नु जस्तै हो।
यदि हामी ओभरसुटको अवस्थामा पुग्यौं भने राज्यका सम्पूर्ण संयन्त्र स्वास्थ्यमा सञ्चालन गर्नुपर्ने हुन्छ, त्यो पनि आपतकालिन उपचारमा। इटाली, स्पेन, जर्मनी, अमेरिका हाल ओभरसुटको अवस्थामा छन्। यति धनी र उच्चस्तरको स्वास्थ्य सेवा प्रणाली विकास गरेका देशहरुको त यो हाल छ भने हाम्रो कस्तो होला आफं मनन गरौं।
नियन्त्रणबाहिर जानबाट रोक्न राज्यको भूमिका
यो रोगले दुई किसिमका लहरहरु बनाउँदछ। पहिलो न्युन वेभ र दोस्रो उच्च वेभ। न्युन वेभ भन्नाले पहिलो संक्रमितदेखि लिएर केही केसहरुसम्मको अवस्था। यसले केही समय लिन्छ र हामीले सम्पूर्ण बल लगाउने यही समयमा हो। यो अवस्थामा संक्रमण हाम्रो कब्जामा रहन्छ र रोक्न सकिन्छ। यदि यो अवस्थालाई मजाक गर्ने, कुनै योजना नबनाउने हो भने हामी थाहै नपाइ दोस्रो वेभको अवस्थामा प्रवेह गर्दछौं, जुन निकै कठिन शिद्ध हुनेछ।
यो अवस्थामा राज्यको भूमिका सम्पूर्ण नागरिकलाई सूचित गर्ने, कुनै पनि घटना नलुकाउने, बिरामीको नाम र ठेगाना सार्वजनिक गर्ने ताकि बिरामीसँग संसर्ग भएका मानिसहरु सुरक्षित बनुन् र अरुलाई संक्रमित हुनबाट बचाउन सकुन्। राज्यले नागरिकलाई पूर्ण विश्वासमा लिनुपर्दछ।
यो अवस्थामा राज्यका सम्पूर्ण संयन्त्रहरु आवस्यक सूचना प्रवाहमा तल्लिन हुनुपर्दछ। साथै दुर्भाग्यवश दोस्रो अवस्थामा पुगियो भने थप उपचारको व्यवस्था गर्ने। यो अवस्थालाइ हेर्ने हो भने नेपालले ठीक समयमा पूरा देश लकडाउन गरेर प्रसंशनीय कार्य गरेको छ। तराई मधेस क्षेत्रमा गर्मीको कारणले डेंगु, फ्लुलगायतका रोगहरु को संक्रमणको पनि समय भएकोले हाल स्कुलहरुमा बनाएका क्वारेन्टाइन पोष्टहरु उचित हुँदैनन्। कमसेकम लामखुट्टेको टोकाइबाट बच्ने र खाट प्रयोग गरिनु पर्दछ।
नागरिकको भूमिका
नागरिकहरुले राज्यबाट दिइएका सुूनाहरु पूर्ण रुपले पालना गर्ने र आफ्नो देशका क्षमताको आकलन गरेर आफुलाई सुरक्षित राख्ने। सामाजिक सम्पर्कबाट टाढा रहने। आफ्नो वपरपर र छिमेकमा कोहि कोरोना संक्रमित देशहरुबाट यात्रा गरेर वा बैदेशिक रोजगारीबाट आएका छन भने सरकारलाई सूचना दिने र आफूलाई ती ब्याक्तिहरुबाट टाढा राख्ने।
पोसिला खानेकुराहरु खाने अथवा घर र करेसोमा जे छ त्यो रुचिका साथ खाने। कागति, अमला आदि अमिला फलहरु खाने। यस्ता फलहरुमा भिटामिन सी हुने भएकाले रोगसँग लड्ने क्षमता बढ्छ। टेलिफोन वा सामाजिक सञ्जालमा सक्रिय रहने र सकारात्मक सन्देशहरु प्रसारण गर्ने।
यो न्युन वेभको अवस्थामा सरकार भन्दापनि नागरिकको भूमिका महत्वपूर्ण रहन्छ। सकेसम्म बाहिर ननिस्कौं।
के हामी प्यान्डेमिक ओभरसुट फेस गर्न सक्छौं?
सक्दैनौँ। अहिले हामी यो कहालिलाग्दो अवस्थाको कल्पना गर्न सक्दैनौं वा नगरौं। हामीसँग एउटै उपाय छ, घरभित्र बस्ने, घरभित्र बस्ने अनि घरभित्र बस्ने।
म मेरा सम्पूर्ण पाठकहरुलाई दुईहात जोडेर अनुरोध गर्दछु, कृपया तपाईहामीसँग एउटै विकल्प छ, आफ्नै क्वारेन्टाइनमा बस्ने र परिवारसँग रमाउने। यदि अहिले मानौं केही हदसम्मको असहजताको साथ भएपनि आफुलाई सुरक्षित राखेनौ भने पछि हामीसँग न पछुताउने ठाउँ नै रहने छैन।
के हामीसँग आवश्यक मेडिकल सुविधा पर्याप्त छ त?
हासम्मको तथ्यांक हेर्दा करिव १५ प्रतिशतलाई आईसियुसहितको सुविधासहित उपचार आवश्यक रहन्छ र केहीलाई भेन्टिलेटर सहितको सुविधा चाहिन्छ। विश्वमै उत्कृष्ट स्वास्थ्य सेवा रहेका देशमा पनि पर्याप्त मेडिकल सुविधा छैन। यो अवस्थामा के कति संख्यालाई यो सुविधा तयार गर्ने भन्ने निस्चित हुँदैन।
सकेसम्मको तयारी गर्ने राज्यको जिम्मेवारी हो। हालको विश्वभरको तथ्यांक हेर्ने हो भने यदि हामी ओभरसुटको अवस्थामा पुग्यौं, बिरामीको दर बढ्यो भने नेपालले चाहेर पनि इन्टेन्सिभ केयर पुर्याउन सक्ने छैन। त्यसैले एक मात्र उपाय संक्रमणबाट बच्ने हो।
के कोरोनाले प्यान्डेमिक ओभरसुट गर्ला?
यदि हामी आजै देखि सचेत रहने हो भने बल हाम्रो हातमा छ। अहिले राज्य लकडाउन छ। यसको मतलव वाहिरबाट संक्रमण आउने अवस्था छैन। आज सम्म हामी मिनिमम एक्सपोजरमा छौं। हामीसँग जम्मा काठमाडौं र धनगढी गरी दुईटा क्लस्टर मात्र छन्। अर्काे महत्वपूर्ण कुरा चारओटा संक्रमित सवै बाहिरबाट आएका भएकाले हामीभित्रको संक्रमित अझै देखापरेको छैन। हाम्रो लागि यो स्वर्णिम अवसर हो। यसको भरपुर सदुपयोग गरौं। घरमै बसौं र राज्यलाई पूरै सहयोग गरांै। हाम्रा नजिकमा कोही भोका छन् भने तिनिहरुलाई सहयोग गरौं।
कोरोना संक्रमण रोकिने आधार के के छन् त ?
यो संक्रमण रोकिने तीन आधारहरु छन्।
१. भ्याक्सिनको विकास : धेरै देशहरुले यो रोग विरुद्धको खोप विकास गर्ने प्रयत्न गरिरहेका छन्। यसको पूर्ण रुपमा बजारमा आउन एक वर्षजति लाग्न सक्छ।
२. हर्ड इम्युनिटीः यो एक प्रकारको रोगप्रतिरोधात्मक क्षमताको विकास हुने अवस्था हो। हामी रोगको कारक तत्वसँग नजिक हुँदैजादा विकास हुने रोगप्रतिरोधात्मक क्षमता हो। यसमा धेरै मानिसको मृत्यु हुनसक्छ।
३. आनीबानीमा परिवर्तन : यो सवै भन्दा उत्तम उपाय हो तर मानिसहरुलाई दैनिक जिविका निर्वाह गर्न कठिनाइ हुनसक्छ।
यी तथ्यहरुलाई हेर्ने हो भने यो रोग पूर्णरुपमा ब्यवस्थापनमा आउन दुईदेखि तीन वर्ष लाग्ने देखिन्छ।
के आयुर्वेद वा अन्य वैकल्पिक चिकित्साको सहयोग लिन सकिन्छ?
आयुर्वेदमा रोगसँग लड्ने क्षमताको विकास गर्ने विभिन्न उपायहरु छन्। कोरोनाले हामीलाई दुई तरिकाले असर गर्दछ। पहिलो शारिरीक र दोस्रो मानसिक।
हाम्रो वरपर वा भनौं भान्छामा भएका मसलाका चिजहरुलाई मिलाइ प्रयोग गरेमा यो भाइरसको नकरात्मक प्रभावलाई रोकेर रोगसँग लड्ने क्षमताको विकास गर्न मद्दत गर्दछ।
गुर्जाे, तुलसी, बेसार, अदुवा, मरिच, अमला, तेजपात, यष्टिमधु, पिपला मध्ये सकभर सवै बराबर मात्रामा मिलाउने र चिया बनाएर दिनमा तीनचार पटक सेवन गरौ वा आफ्नो नजिकको आयुर्वेद संस्था वा चिकित्सकलाई भेटौं वा फोनबाट सल्लाह मागि उपयुक्त तवरले प्रयोग गरौं। हामी कोरोना जस्तो भाइरससँग लड्न मानसिक रुपमा चुस्त रहनु आवश्यक रहन्छ।
यस्को लागि नियमित योग गरौं, प्रणायम गरौं र ध्यान बसौं। आफूले मान्ने भगवानको प्रार्थना गरौं र आत्मबल बढाऔं। धेरै सोधकर्ताका अनुसार कोरोना संक्रमित बिरामीहरु तथा चिकित्सक, स्वास्थ्यकर्मीहरुमा मनोबैज्ञानिक समस्या देखिएको छ। तसर्थ हामी सवैले दैनिक योग र ध्यान गरौं।