व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) जसले स्वास्थ्यकर्मीलाई विभिन्न संभावित संक्रमणबाट बचाउँछ। पिपिई स्वास्थ्यकर्मीको लागि कति आवश्यक छ भनेर विश्व स्वास्थ्य संगठनले पनि भनिसकेको छ। तर वर्तमान अवस्थामा पिपिई सहज रुपमा उपलब्ध छैन।
विश्वका धेरै देशमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। चिकित्सक पनि यो संक्रमणबाट बच्न सकेका छैनन्। नेपालमा पनि कोरोनाको संक्रमणको जोखिम दिनप्रति दिन बढ्दै गएको छ। तर यस्तो विषम परिस्थितिमा सरकार हाम्रो सुरक्षाप्रति गम्भीर छैन। सरकारले डर अनि त्रासमा चिकित्सकलाई काम लगाउन खोज्दैछ। हाम्रो सुरक्षाको विषयमा हल्का टिप्पणी गरेर पन्छिन खोज्दैछ।
यदी हामी चिकित्सकलाई कोरोनाको संक्रमण भयो भने समुदायमा झन् जोखिम बढेर जान्छ। विभिन्न अस्पतालमा स्वास्थ्यकर्मीहरु डर र त्रासमा काम गरिरहनु परेको अवस्था छ। त्यसैले सरकारले जसरी हुन्छ, पिपिई उपलब्ध गराउनुपर्छ। नभए भोलि 'नो पिपिई, नो वर्क'को दिन नआउँला भन्न सकिन्न। यदी यस्तो भयो भने देशमा भयावह स्थिति आउन सक्छ।
अहिले कोरोनाको पहिचानका लागि जति पनि परीक्षण भएका छन्, त्यो पर्याप्त छैन। परीक्षणको दायरा बढाउनुपर्छ। जति धेरै परीक्षण भयो उति धेरै पोजेटिभहरु भेटिन्छन्। सरकारले यो समयलाई चुनौतीको रुपमा मात्र नभई अवसरका रुपमा पनि लिनुपर्छ।
स्वास्थ्य क्षेत्रका करार, अस्थाई कर्मचारीलाई स्थाई गराउने, नयाँ दरबन्दी थप्ने, सुरक्षा र सुविधाको विषयलाई सम्बोधन गर्ने, प्रत्येक प्रदेशमा एउटा सरुवा रोग अस्पताल बनाउने, चिकित्सकका लागि विशेष सुरक्षा प्याकेज ल्याउने जस्ता विषयलाई सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ।
यी सब टिप्पणी गरेर हामी आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेका होइनौं। मात्र हाम्रो सुरक्षाको ग्यारेन्टी गर भन्न खोजेका हौं। यो विपदको समयमा सरकारले स्वास्थ्यकर्मीलाई पनि सँगै लिएर जानुपर्छ। उनीहरुको सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्छ।
भोलि महामारी भयो भने नेपालमा उपचार हुन सक्दैन। हाम्रो यो स्वास्थ्य प्रणालीले धान्न सक्दैन। त्यसैले अहिले नै रोकथाममा ध्यान दिनु अति नै आवश्यक छ।
सरकारले कोरोनाको महामारी रोकथामका लागि लकडाउनको घोषणा त गर्यो तर प्रभावकारी हुन सकेको छैन। मानिसहरु अझै पनि नेपाल बन्द भएजस्तै सडकमा बाहिर निस्किरहेका छन्। त्यसैले लकडाउनको अनुगमन पनि हुन जरुरी छ। यदी महामारी रोकथाम गर्ने हो भने लकडाउनको अवधि पनि बढाउनुपर्छ।
अहिलेको अवस्थामा लकडाउन गरेर मात्र पनि हुँदैन। सरकारले स्वास्थ्य सेवामा पनि ध्यान दिनुपर्छ। किनभने यही बिचमा लकडाउनका कारण उपचार नपाएर बिरामीको मृत्यु भएको खबर पनि आइरहेका छन्। त्यसैले स्वास्थ्य सेवालाई व्यवस्थित पनि बनाउन आवश्यक छ।
सरकारले क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि यो पनि प्रभावकारी रुपमा लागू हुन सकेको छैन। मानिसहरु खुलेआम विभिन्न भेटघाट अनि भोज भतेरमा सहभागी भइरहेका छन्। यसमा स्थानीय तहसँगको समन्वयमा क्वारेन्टाइनलाई पनि प्रभावकारी बनाउनुपर्छ।
कुन नाकाबाट कति मानिस भित्रिए यसको तथ्यांक सरकारसँग छैन। उनीहरु कुन अवस्थामा छन् त्यो जानकारी पनि सरकारसँग छैन। त्यसैले हामी सबै मिलेर काम गर्यौ भने कोरोना विरुद्ध विजय प्राप्त गर्छौ तर वैज्ञानिक रुपमा काम गर्न सकेनौ भने स्थिति भयावह हुन सक्छ।
(नेपाल चिकित्सक संघका उपाध्यक्ष डा अनिल कार्कीसँग कमला गुरुङले गरेको कुराकानीमा आधारित )