डा अरुण सेढाईं
सत्तरी वर्ष कटेकी दम र प्रेसरकी बिरामी आमाको हेरविचार गरेर बसेका छन् रामलखन। आमालाई छिनछिनमा दमको रोगले सताइराख्छ। दुई महिना अगाडि डाक्टरलाई जँचाएर ल्याएको तान्ने र खाने ओखती ठ्याक सकिन सकिन लागेको थियो। पर्सितिर जानु पर्ला डाक्टरलाई भेट्न भन्ने योजना गर्दै थिए सरकारले ठ्याक्कै लकडाउन लाइदिई पो हाल्यो।
बिरामी आमा दमले स्याँ स्याँ गर्न थालिसकिन्। बेलाबेलामा छाती घ्यारघ्यार् गर्न लागी सक्यो। अलि अलि ज्वरो पनि आएको छ कि झैं पो लाग्न थाल्यो। नाप्नलाई थर्मोमिटर पनि भेटिएन। भन्या बेलाँ काँ भेटिन्छ र? यस्तो बेलामा आमालाई अस्पताल लैजाउ- साधन केही चलेको छैन। फेरि अलि अलि ज्वरो आएको र सास फेर्न नि गार्हो भएको बिरामीलाई अस्पतालले नलेला भन्ने पीर मनमा उस्तै छ।
ज्वरो आएर अस्पताल गएको बिरामीलाई कोरोनाको शंका गरेर कुनै अस्पतालले पनि भर्ना गर्न नमानेपछि अन्त्यमा कोरोना नभई निमोनियाका कारणले बिरामीको मृत्यु भएको समाचार अस्ति भर्खर रामलखन आफैंले टिभीमा हेरेका थिए।
बाहिर "लकडाउन" लागे पनि रोग र समस्याको "लकडाउन" त हूँदो रैनछ। दिनभरी त ठीक ठीकै थियो साँझ परेपछि आमालाई दमले बिस्तारै च्याप्दै ल्यायो। लौ जे त पर्ला पर्ला आमालाई यत्तिकै मर्न दिन त भएन, कमसेकम तान्ने औषधिसम्म ल्याएर दिनु पर्यो भन्ने सोचेर उनी बाहिर निस्के। हतारमा निस्केका उनले आफ्नो साथमा मोबाइल फोन लैजान पनि बिर्सेछन्।
शहर सुनसान थियो। यदाकदा एम्बुलेन्सको टाँटुँटाँटुँ.... टाँटुँटाँटुँ र सुरक्षा निकायका एक दुई गाडी र यताउता डुलिरहेका केही कुकुरहरू बाहेक चकमन्न छ सडक। पहिलो चोकमा रहेको मेडिकल पसल बन्द रहेछ। अलि परसम्म गए अर्को पसल पनि खुल्ला रहेनछ।
यस्तो महामारी र लकडाउनका बेलामा कसले खोल्ने पसल? भएन अब, बीरगंज बजारसम्म पुगेर भए पनि ल्याउन पर्यो औषधि। उनी फटाफट पाइला लम्क्याउन थाले। पल्लो चोकसम्म के पुगेका थिए पछाडिबाट ट्यांटुट्यांटुं गर्दै एउटा गाडि आयो र उनलाई उछिनेर बाटो छेकेर रोकियो। अगाडिको सीटबाट एकजना र पछाडि पिकअपबाट हातमा कटबाँसको लौरो बोकेका दुईजना बर्दीधारी झरे। मास्क लगाएका उनले अनुहार देख्न पाएनन् देखे पो के काम थियो र रामलखनले कसलाई पो चिन्थे र?
"ओई कहाँ जान लागेछस् हँ"- सम्मान्नार्थी शब्दको खडेरी परेको झैं सिपाही बोले।
रामलखनले पीडा पोखे- "बुढी आमाको लागि दमको औषधी लिन जान लागेको"
"ओई झुट बोल्छस्? बहाना बनाउँछस्? औषधी लिन जान लाग्या भे डाक्टरको पुर्जी देखा त।" सिपाहीको केरकार किन रोकिन्थ्यो?
आमालाई दमले अचानक च्यापेपछि आमाकै सूर्ताले सताएपछि उनलाई कसरी निको पार्ने ध्याउन्नमा लागे। कता औषधीको पूर्जा खोज्नू? त्यतातिर उनको सोच नै गएन।
"पूर्जी त ल्याउन बिर्सेछु साप"- रामलखनले हात जोड्दै आत्मसमर्पण गरे।
"ओई के हेरिरहेछस्? शुरु गर् न!"- माथिल्लो हाकिमको आदेश आइहाल्यो।
अनि शुरु भयो लाठीचार्ज।
कटबाँसको लौरी रामलखनको ज्यानभरि बर्सिन थाले। कहिले दायाँ पिंडुला कहिले बायाँ पिंडुला अनि कहिले पिठ्युँ त कहिले तिघ्रा। लाठी प्रहारबाट बच्न हात लम्क्याउँदा हात पनि उस्तै मारमा परे। उनी चिच्याए, कराए र ज्यानको भीख माग्न थाले। पीडा सहन नसकेर भुईँमा लडे रामलखन र बिना हलचल लडिरहे।
"ओई यो त मर्छ कि क्या हो?"- बल्ल सिपाहीको होस् खुल्यो। नाक अगाडि हात राखेर हेर्यो। "सास त फेरी राख्या छ साप्"- हाकिमलाई जाहेरी गर्यो।
"उसो भए हाल् भ्यानमा! आज खान्छ सालेले मामाघरको मेजमानी।" हाकिम भनाउँदोले आदेश जारी गर्यो।
हात र खुट्टामा एक एक जनाले समातेर झ्याल्टुङ्गझ्याईँ पारेर भ्यानमा कोचे रामलखनलाई। र चौकीको थुनुवा कक्षमा लगेर डङ्गरङ्ग पछारिदिए।
"ओहो कति दुखेको ज्यान, मूर्दारले कस्तरी बजायो नि"- रामलखन मनमनै मुर्मुरिए।
भोक र तिर्खाले लखतरान ज्यान अनाहक पिटाइको मारले ग्रसित हुनुको पीडा एकसाथ भोगे रामलखनले। त्यो भन्दा पनि बढी पीडा र पीर त उनलाई घरमा छोडेर आएकी वृध्दा आमाको थियो। आमाको स्याँस्याँ कस्तो भो होला? तान्ने औषधी नपाउँदा एकैछिन पनि नधानिने त्यो ज्यान कति तड्पेको होला? यस्तै यस्तै तर्कनामा पील्सिरहे रामलखन।
थुनुवा कक्षको अर्को कुनामा दुई तीन जना अरु पनि थुनुवा थिए। शायद् उनीहरुले यत्तिको रामधुलाई भेटेका रहेनछन् क्यार पीडाको क्लेस थिएन। ती मध्येको एउटा अधवैंसे सार्है गफास्टक रहेछन्, जो आफ्ना विगतका अनुभवरसिलो पारामा सुनु सुनु लाग्ने झैं गरी यसरी सुनाउँदै थिए कि रामलखन पनि आफ्नो सारा पीडा भुलेर त्यतै मग्न भएर सुन्न थाले।
०००
कुरा २०३६ साल तिरको हो। जब देशमा जनमत संग्रहको घोषणा भयो तब सरकारले कर्फ्यु आदेश जारी गर्यो। बाहिर चकमन्न छ। तर पनि ज्यान त ज्यानै हो- नानीदेखि लागेको बानी कहाँ जान्छ र? भात खाएपछि पान खाएर पिच्च पिच्च थुक्दै हिंड्ने बानी।
एक दिन त सहेर बसें दोस्रो दिन पनि सहें। तर तेश्रो दिन त अतिसारै भयो के गरौं र कसो गरौं भयो। भित्र भित्रै औडाहा भएर आयो। ह्या जे त पर्ला पर्ला भनेर बाहिर निस्कें।
बिरालोको चाल गरेर गेटबाट यसो चिहाएको वरिपरि कुनै पुलिस पनि देखिनँ। मनको आँट बढी हाल्यो। बाहिर निस्केर सानसँग रोडरोडै हिंडेर चोकसम्म जाँदै मात्र के थिएँ कता कताबाट एक हूल पुलिस हुरुर्र आई पो हाले त।
एउटा सिपाही आएर कठालोमा च्याप्प समात्यो। हल्दार- हाल् मूलालाई भ्यानमा हाल्। यसलाई आज झाँको झार्नुपर्छ। हाम्रो सरखारको बिरोधी बहुदलबादी होला। तेरीमालाई मु......!
जेलमा लगेर यसरी पिट्यो, यसरी पिट्यो कि हप्ता दिनसम्म त ट्वाइलेट पनि जान सकिनँ। बल्ल बल्ल तीन महिना पछि मात्र जेलबाट छुट्कारा मिल्यो त्यो पनि तत्कालिन पञ्चायत व्यवस्थाको विरोध नगर्ने शर्तमा। तर म पनि जस्तालाई त्यस्तै गर्न माहिर नै थिएँ नि- जाबो पान खान भनेर घरबाट निस्केको म बबुरोलाई बहुदलवादीको बिल्ला भिराएर भकुर्नसम्म भकुरेपछि फेरि म त्यही मुला पञ्चायतको पिछलग्गु बनेर हिँडौंला त?
बाहिर निस्केपछि म एक नम्बरको बहुदलवादी भएर निस्कें नि! पछि अनेक तिकड्डम गरेर पञ्चायतलाई जिताए, त्यो अर्कै कुरो हो, तर म पञ्चायतको विरोधी भएर निस्केको त्यही पान काण्ड पछाडि नै हो। हालांकि पछि वहुदल र अझै पछि गणतन्त्र आएपछि पनि जनताको स्तरमा सुधार हुन नसकेपछि म राजनीतिबाट नै अलग भएर बस्ने निधो गरें।
“अनि यसपालि चाहिँ कसरी र किन “भाटे कारवाही” मा पर्नु भो नि त? फेरि पनि पानको तलतल?”- अर्का थुनुवाले प्रश्नको बिटो फुकाए।
“हैन! पान त मैले त्यही काण्ड देखि नै खान छोड्दिई हालें नि”- “कोरोनाको महामारी विश्वभरि नै फैलेपछि यूरोपमा रहेको मेरो छोरोले दिनदिनै मलाई मेसेन्जरमा कल गरेर सचेत गराउँदै थियो।
म पनि जानेसम्मका र सकेसम्मका जानकारी बटुल्दै सामाजिक संजालमा पोष्ट गर्दै जनचेतना जगाउने काम गर्दै थिएँ। तर चीनबाट फैलेको रोग यूरोप र अमेरिकासम्म पुगेर त्राहिमाम् मच्चाई सक्दा समेत हामीकहाँ त कहिल्यै रोग नै लाग्दैन भने झैँ गरी कानमा तेल हालेर बसेपछि दैनिक जस्तो सरकारी रवैयाको विरोध गर्दै लेखहरु पत्रिका र सामाजिक संजालमा लेख्दै जान थालें।
अझ त्यत्तिले मात्र नपुगेर सरकारी कर्मचारी र केही मन्त्रीहरु व्यापारीहरुको आड लिएर कोरोनाको नाममा त्रास फैलाउँदै कमिसनको जालो बुनेको मैले पत्तो पाएँ र त्यसको भण्डाफोर गर्ने अभियान नै चलाउन थालें। तर अव्यवस्थाको जति उछित्तो काटे पनि त्यसले खान त नपुग्दो रहेछ। घरमा ग्याँसको सिलिण्डर सकिन लागेको पत्तो नै पाइएन। अरुको विचार गरेर अभियन्ता बन्दा बन्दै आफै समस्यामा परियो। उता सरकारले एक्कासी लकडाउन लगाइदिई हाल्यो। अनि परेन आपत्। तैपनि एक जना चिनेका भाइ थिए ग्याँसको डिलर। यथार्थ समस्या बताए’सि उनले एक सिलिण्डर ग्याँस त दिने भए तर लिन उनको पसलसम्म आफैं जानु पर्ने भयो।
मोटरसाइकलमा ग्याँसको सिलिण्डरलिएर फर्कँदै के थिएँ, बीचमै सुरक्षाकर्मिहरुले लकडाउनमा किन बाहिर निस्केको भन्दै फरि भाटे कारवाही गरे र सिलिण्डरसहित यता ल्याएर जाक्दिए। पहिले पानको लतले थुनायो अहिले बाँच्नुको जीजिविषाले।
०००
जसोतसो एक रात थुनामा बिताएपछि कागज गरेर भोलिपल्ट बिहान पुलिसले रामलखनलाई छोडिदियो।
एकातिर आफ्नो जीउमा भएको असैह्य पीडा त छँदै थियो त्यो भन्दा पनि बढी चिन्ता उनलाई घरमा छोडेर हिँडेकी बुढीआमाको थियो। तैपनि खुट्टा खन्च्याँगखन्च्याँग पार्दै उनी जसोतसो अस्पतालसम्म पुगेर आमाको लागि तान्ने औषधी किने र घरतिर लागे।
घरमा पुग्दा केही नजिकका आफन्त जम्मा भएका रहेछन्। रामलखनको मन कुनै अकल्पनीय परिणतिको शंकाले भारी ढक्क फुलेर आयो। जे नहोस् भन्ने सोचेका थिए, जसो नहोस् भनेर कामना गरेका थिए, र आफ्नो बलबुताले भ्याएसम्मको कोशिस गरेका थिए- आखिर त्यही नै भएर छाडेछ।
बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि छिमेकीले गएर हेर्दा त रामलखनकी आमा निली र चिसी भइसकेकी रहिछन्। शायद् मध्यरातभन्दा पनि अगावै उनको प्राण पखेरु उडिसकेको थियो।
मातृशोकमा डुबेका रामलखन किंकर्तव्यविमुढ बनेर आमाको नजिकै घुँडा टेकेर थचक्क बसे- आमाका लागि ल्याएको तान्ने ओखतीको भाँडो हातबाट कतिखेर फुत्केर भूईँमा खस्यो उनले पत्तै पाएनन्।