भुपेन्द्र शाही
चिनको हुवेई प्रान्तवाट फैलिन शुरु भएको कोरोना भाईरस कोविड १९ हाल सम्म विश्वका १९९ भन्दा वढि देशहरुमा फैलिएको छ। सात लाख भन्दा वढि मानिसहरु संक्रमित भएकोमा ३३ हजार भन्दा वढि मानिसहरुले ज्यान गुमाएका छन। यो भाइरस संक्रमित मानिसको प्रत्यक्ष सम्पर्क ,संक्रमित मानिसले छोएका वस्तुहरुवाट र तीन फिट नजिक खोक्दा वा हाच्छिउ गर्दा एक अर्कामा सर्ने भएकोले यसको फैलावट डढेलो सरि फैलिएको छ।
विशेषगरी यो रोग फैलिएका देशवाट नेपाल भित्रिने लाखौं नेपालीहरुबाट नै यो रोग भित्रिने सम्भावना देखिएको छ र हाल सम्म नेपाल भित्र पाँच जना नेपालिहरु यो रोगवाट संक्रमित भएको पाईएका छन। यो एउटा समुन्द्र माथि तैरिएको आइसवर्ग जस्तो हुन सक्छ। जसको सानो भाग माथि देखिएको हुन्छ र विशाल भाग समुन्द्र भित्र लुकेको हुन्छ।किनकि संक्रमित मानिसमा यो भाइरस चौधदेखि अठार दिन सम्म सुषुप्त अवस्थामा रहन्छ। उक्त मानिस अरु मानिसहरुको सम्पर्कमा जाँदा भाइरस फैलिइरहेको हुन्छ।
यो फैलावटलाई रोक्नका लागि मानिस मानिसबीचको सम्पर्कको चेन व्रेक गर्न जरुरि छ। उनिहरुको जथाभावि हिँडडुललाई नियन्त्रण गर्न जरुरि छ। विदेशवाट आउनेहरु सेल्फ क्वारेन्टाइनमा वस्न वा सरकारले क्वारेन्टाइनमा राख्न जरुरि छ। तर मापदण्ड नपुगेका र पानी, भौतिक सुविधा जस्ता आधारभुत कुराहरु समेत नभएका अव्यवस्थित टहराहरुमा धेरै मानिसहरु राख्दा झनै रोग फैलिने जोखिम रहन्छ।
यसका लागि नेपाल सरकारले ढिलै भए पनि "कोरोना भाइरस सम्वन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न वनेको मापदण्ड २०७६" तय गरेको छ सोही अनुसार मापदण्ड कायम गरि क्वारेन्टाइनको व्यवस्थापन सम्भव भए सम्म हरेक स्थानिय तह नभए जिल्ला सम्म गर्न अत्यन्त जरुरि छ।
कोरोना मानव जातिका लागि तेस्रो विश्वयुद्ध सरह हो।यसलाई परास्त गर्ने सिपाहिहरु चिकित्सक र स्वास्थ्यकर्मीहरुनै हुन। सिपाहिलाई विना हतियार युद्धमा पठाउनु भनेको क्षति र पराजयनै हो। यस्तो गल्ति गरिनु हुँदैन। स्वास्थ्यकर्मी जस्तै सुरक्षाकर्मि र सवारि चालकहरु पनि लडाइँको अग्र मोर्चामा छन उनिहरुका लागि पनि सुरक्षा सामाग्रीको आवश्यकता छ।
हाल कोरोनाको लक्षण ज्वरो जाँच्नका लागि अधिकांश स्थानिय तह र स्वास्थ्य संस्था संग आई आर थर्मोमिटरनै छैन र वजारमा सहज किन्न पाउने वातावरण पनि छैन।सरकारले यथाशिघ्र यसको सहज उपलव्धताको व्यवस्था गर्नु पर्दछ। शंकास्पद विरामि जाँच्ने सवै चिकित्सक र स्वास्थ्यकर्मी हरुका लागि पर्सनल प्रोटेक्टिभ ईक्विपमेन्ट (PPE) छैन र वजारमा सहज पाउँदा पनि पाईदैन। यसको पनि सहज उपलव्धताको व्यवस्था गर्नु पर्दछ। कोरोना सम्वन्धि जनचेतना जगाउने भन्दै कतिपय स्थानमा हुल वाँधेर मानिसहरु जाने काम बन्द गरिनु पर्छ। जनचेतना रेडियो एफ एम ,पत्रपत्रिका ,माईकिङ सामाजिक सञ्जाल आदिवाट पनि जगाउन सकिन्छ।
दैनिक जिवनमा अति आवश्यक पर्ने सामाग्री लुकाएर कृतियम अभाव सिर्जना गर्ने व्यापारिहरुले वुझ्नु पर्छ कि आफु बाँचे पछि मात्र पैसा काम लाग्छ र आफु बाँच्नका लागि अरुलाई वचाउन जरुरि छ।
निश्चित समय भित्र विदेश गएका नागरिकलाई स्वदेश फर्किने समयसिमा तोक्ने, आवतजावत बन्द गर्ने,प्रभावित देशवाट आएका मानिसहरुलाई सरकारले अनिवार्य क्वारेन्टाइनमा राख्ने वा सेल्फ क्वारेन्टाइन का लागि अनुरोध गर्ने कार्यलाई प्रभावकारि तरिकाले कार्यन्वयन गर्न जरुरि छ।सिमा नाका पुर्ण रुपमा बन्द नगरेसम्म यो जोखिम रहिरहन्छ।आवश्यक सामाग्रि सुरक्षित तरिकाले भित्रयाएर नाका पुर्ण रुपमा वन्दनै गर्नु पर्ने देखिन्छ।
शंकास्पद बिरामीलाई अस्पतालसम्म लैजानका लागि पिपिईसहितका सवारी चालक र छुट्टै सवारी साधन वा एम्बुलेन्सको जरुरी छ। सार्वजनिक यातायातमा राखेर बिरामी लैजानु भनेको रोग फैलाउनु नै हो। शंकास्पद बिरामीको नमुना परीक्षण सके हरेक पालिका नसके हरेक जिल्ला र त्यो पनि नसके कम्तिमा हरेक प्रदेशमा गर्ने व्यवस्था गर्नुपर्छ।
शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्न हरेक पालिकाहरुमा कम्तिमा एउटा स्वास्थ्य संस्थामा न्युनतम मापदण्डसहितको व्यवस्था गर्नुपर्दछ।
कोरोना पुष्टि भइहालेमा सवारी चालक, बिरामीको हेरचाह गर्ने व्यक्तिलाई पिपिईसहित यसको लागि बनाइएको छुट्टै अस्पतालमा पुर्याउनु आवश्यक हुन्छ। बिरामीलाई सबै अस्पतालमा पुर्याउनु भनेको रोग फैलाउनु हो। कोरोनाको उपचार या व्यवस्थापन गर्न हाल कुनै अस्पताललाई अरु सेवा बन्द गरेर स्पेसिफिक रुपमा सोही प्रयोजनका लागि तयारी अवस्थामा राख्न अति जरुरी छ।
यो संकटको घडी हो। यस संकटको घडीमा साधन श्रोत हुनेहरुले मन फराकिलो पार्न जरुरी छ। विपन्नहरुलाई दैनिक जिवन यापनमा सहजीकरण गर्न सरकारको एकल प्रयासले मात्र सम्भव हुँदैन। त्यसका लागि सामाजिक कार्यमा सक्रिय संघ संस्था अनि व्यक्तिहरुको पनि साथ र सहयोगको आवश्यकता छ।
विदेशमा फुटबल खेलाडी रोनाल्डोले आफ्नो सुविधा सम्पन्न होटेललाई कोरोनाका संक्रमित उपचार गर्ने अस्पताल बनाउन दिए। हाम्रो देशका ठूला निजी होटेल, होस्टेल, बोर्डिङ स्कुल सञ्चालकहरुले पनि केही समयका लागि मानिसहरुलाई क्वारेन्टाइनमा राख्नलाई ठाउँ उपलब्ध गराएर सहयोग गर्न सक्नेछन्। सम्पन्न मानिसहरुले विपन्नलाई पैसा, खाद्यान्न, लता कपडा आदि सहयोग गर्न सकिन्छ।
-शाही नौमूले गाउँपालिका, दैलेखका स्वास्थ्य संयोजक हुन्।