अमृतराज जैशी
माननीय स्वास्थ्य मन्त्रीज्यू,
अहिले विश्व नै महामारीको प्रकोपमा गुज्रिरहेको छ, हामी जस्ता विकासोन्मुख देशहरु मात्र हैन अमेरिका, चीन, बेलायत, इटाली जस्ता शक्तिशाली राष्ट्रहरु पनि यो महामारीको दलदलबाट उम्किन संघर्षरत छन्। यो संकट हाम्रो मात्र नभइ विश्वव्यापी संकट भएकाले हामी जस्तो राष्ट्रका निम्ति झन् कठिन साध्य छ। तरपनि हामीले भने विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गर्दा समेत सवै भन्दा बढी जोखिम भएका देशबाट आउने बिमानहरु पनि रोक्न सकेनौं।
नेपाललाई आफैंले कोरोना मुक्त क्षेत्र घोषणा गरेर भिजिट नेपालको प्रचार सामग्री बनाउन तल्लिन भयौं। उसो त हाम्रो यसरी घोषणा गर्ने पुरानै बानी हो। खुला दिसामुक्त क्षेत्र घोषणा, पुर्ण साक्षरताको घोषणा, यस्ता थुप्रै उदाहरण होलान्, अहिले म यतातिर जान्न।
अहिले नेपालले कोरोनाको सामना कसरी गर्छ भन्ने कुराको निर्धारण सम्माननिय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू, रक्षामन्त्री माननीय ईश्वर पोखरेलज्यू र स्वास्थ्यमन्त्रीका हैसियतले तपाईको सबै भन्दा बढी जिम्मेवारी छ। यो महामारी संग कसरी जुध्ने भन्ने ठोस योजना अझै पनि हामीसंग छैन। कोरोनाका संक्रमित नेपालमा पुष्टि नहुँदासम्म हामीले गर्नुपर्ने महामारीको गृहकार्यबाट त हामी चुक्यौँ नै।
त्यसपश्चात् पनि हामीले लकडाउन गर्ने र बिपत्ति कोष स्थापना भन्दा अरु कुनै ठोस कार्य अगाडि बढाइरहेका छैनौं। तपाईंले भनेकै शब्द सापटी लिएर भन्छु, यो युद्धको महासंग्राम हो, यहाँ कमान्डरको अर्डर अनुसार युद्धको रणनीति बन्छ र त्यसै अनुकुल कार्य अघि बढ्छ। हो कोरोना पनि २१ औं शताब्दीमा विश्वयुद्ध जस्तै भएको छ। यहाँ सबै स्वास्थ्यकर्मीहरु यो युद्धमा लड्ने तपाईंका सिपाही हुन्, अस्पतालहरु, आइसोलेसनका निम्ति बनेका अस्थायी अस्पतालहरु, यस विशाल युद्धका रणभूमी हुन्, स्वास्थ्यकर्मीको आत्मबल सिपाहीको बारुद हो, अनि स्वास्थ्यकर्मीको सुरक्षा सामग्रीहरुहरु र औषधी युद्धमा लड्ने हतियार हुन्। यी सबैकुराको बन्दोबस्त मिलाउने जिम्मा तपाईंको काँधमा छ।
आज तपाईंले बोलेका शब्दहरु शब्द रहँदैनन्, ती सबै सिपाहीहरुका निम्ति मार्गदर्शक सिद्धान्त बन्छन् र त्यही अनुरुपको रणनीति बन्छ। यस प्रतिकुल परिस्थितिमा समेत माननीय स्वास्थ्य मन्त्रीज्यू अझै पनि घोचपेचमा उत्रिनुहुन्छ भने यो तपाईंका लागि मात्र नभइ सारा नेपाली जनताहरुका निम्ति प्रतिउत्पादक बन्नजान्छ। तपाईं पनि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अनुयायी हुनुहुन्छ होला तर यस किसिमका अभिव्यक्तिले साँच्चै सिपाहीहरुको मनोबल कमजोर बनाउने मात्र हैन युद्धमैदान नै सिपाही बिनाको हुन सक्छ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। कोरोनासँग सवैले होशियार हुन किन पनि आवश्यक छ भने यसले न कुनै उमेर समूह, न कुनै जाती वा सम्प्रदाय विशेषमा संक्रमण देखाउँछ। चीनमा देखिएको मृत्युदर इटाली भन्दा भिन्न प्रकृतिको छ। त्यसैले यसको अनुमान लगाउन पनि बैज्ञानिकहरुलाइ एकदमै कठिन भएको छ। हामी सवैको के कामना छ भने हाम्रो अवस्था इटालीको जस्तो नहोस्। तपाईं र सम्माननीय प्रधानमन्त्रीज्यूले रुँदै देशका नाममा सम्बोधन गर्ने दिन नआओस्। तर तपाईंले यस्तो कामना गरेर मात्र पुग्दैन, तपाईंले त लकडाउन भैसकेको यति दिनसम्म निश्चित नियमावली ल्याइसक्नु पर्थ्यो।
कसरी स्वास्थ्यकर्मी परिचालन गर्ने भन्नेबारे भएको निर्णयमा सरकारी छात्रवृत्तिमा पढेका बिद्यार्थीहरुलाई पनि खटाउन सकिने भन्ने बुँदा थियो तर यस विषम परिस्थितिमा सरकारी, अर्धसरकारी र ससुल्क पढ्ने सबै जिम्मेवार स्वास्थ्यकर्मी एवम् चिकित्सकहरुलाई विश्वासमा लिएर उनीहरुको सुरक्षाको प्रत्याभूती दिलाएर यस संकटसँग जुध्नुपर्ने अग्रसर हुनुपर्थ्यो। तर यसबारे कहीँकतै छलफल भएको देखिँदैन।
बरु बहस छ त केवल हात साबुन पानीले धुने र घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने, लकडाउनलाइ शसक्त बनाउने। यो प्रारम्भिक रोकथामका निम्ति निर्णायक हुन सक्थ्यो तर कोरोना विश्वभर फैलिसक्दा समेत हामीले जनताहरुमा जनचेतना र सिमानाहरुमा कडाइ गर्न सकेनौं। अब यत्तिले मात्रै पुग्दैन।
अबको हाम्रो बाटो भनेको नेपालमा कोरोनाको संक्रमण देखिसकेको अवस्थामा , संक्रमितको संख्या कति छ भनेर यकिन गर्न हामीले न त कन्ट्याक्ट् ट्रेसिङ गरेर उनिहरुको परिक्षण नै गर्न सकेका छौँ, न त भारत लगायत विदेशबाट आउने सबैलाइ क्वारेन्टाइनमा राख्न नै सकेका छौं। राखेका ब्यक्तिहरुलाई पनि उचित वातावरण छैन जसका कारण संक्रमीत ब्यक्तिहरु क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन्।
त्यसैले यसअघि भएका गल्तिहरुलाई खोतलेर होइन, अब नवीन योजनाहरु बनाएर अघि नबढे, यही परीक्षणको गति र यही उपचारको नीति भए यो महामारीको सवैभन्दा बढी क्षति ब्योहोर्नपर्ने हामीले नै हुन सक्छ।
देश केवल अब प्रत्येक दिन हुने कोरोनाको अपडेट र पत्रकार सम्मेलन र घोचपेचले चल्दैन। लकडाउन नै पनि हाम्रो समस्याको समाधान होइन। यदि लकडाउनलाइ समस्या समाधानको अस्त्रको रुपमा लिएमा हामी झन् ठुलू महामारीमा भासिन पुग्नेछौ। तपाईं हामीले खोजेको समाधान कैलालीतिर कोइलाको टिका लगाउने जस्तो समाधान पक्कै पनि होइन होला।
कसैले नसोचेका शक्तिशाली राष्ट्रहरुका स्वास्थ्य क्षेत्रका सम्स्याहरु समेत यस महामारीले उजागर गरिदिएको छ। नेपालमा त हाम्रो स्वास्थ्य संरचनामा आमूल परिवर्तन को खाँचो छ भन्दै लामो समयदेखि बहश हुँदै आएको थियो। कोरोना महामरिले त झन् हाम्रा विध्यमान कमजोर संरचना र कमजोर स्वास्थ्य नीतिलाई खुला चुनौति दिएको छ। अब नेतृत्वदायी व्यक्तिहरुले यस आपतकालीन घडिमा उचित बजेटको बिनियोजन गर्न सामुदायिक स्वास्थ्यका स्रोतहरु बारे, स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुले पाउनुपर्ने सुरक्षा सामाग्रीको सुनिश्चितता गर्नुपर्ने अवश्यकता छ।
यसका साथै सूचनाको सम्प्रेषण पनि महत्त्वपूर्ण पाटो हो। उपचाररत चिकित्सकले २४ घण्टापछी त्यो पनि मिडियाबाट समाचार सुन्न परेको जस्तो अवस्था फेरि नदोहोरियोस्। यस्ता घटनाले चिकित्सकले आफूले उपचार गरिरहेका बिरामी बारेमा त्यो पनि अत्याधिक संक्रमण फैलिन सक्ने रोगको बारेमा जानकारी सक्दो छिटो पुर्याउनुपर्छ। यसमा पनि कमाण्डरका हैसियतले तपाईंले यसको अग्रसरता लिनुपर्ने आवश्यकता छ नत्र तपाईं माथि स्वास्थ्यकर्मीको विश्वास हट्दै जानेछ। जुन हामी सबैलाई प्रतिउत्पादक हुनेछ।
स्वास्थ्यकर्मीहरुको सुरक्षा सामग्री
सरकारलाले चिनबाट खरिद गरेको भनिएको उपचारका निम्ति चाहिने अत्यावश्यक सामग्रीहरुमा समेत नीतिगत भ्रष्टाचारको कुरा उठेको छ। यो नै दुर्भाग्य हो। यस प्रतिकुल परिस्थितिमा यस्तो कुरा आउनु सार्है दु:खद छ यसमा स्वास्थ्यमन्त्री ज्युले सम्पुर्ण जनतालाई जवाफ दिन आवाश्यक छ। यसका साथै यदि यस बिपत्तिको घडीमा घमिलो पानीमा माछा मार्न खोज्ने कोही छ भने मन्त्रीज्यूले उक्त ब्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही अगाडि बढाउनुपर्ने आवश्यकता जल्दोबल्दो बनेको छ। यदि हैन, यसको जवाफ दिने आट माननीय स्वास्थ्यमन्त्रीज्यूले गर्न सक्नुहुन्न भने सञ्चारमन्त्री जस्तै गरी मार्ग प्रशस्त गर्नुभए सबैको भलो हुनेछ।
देशका सवैजसो ठाउँमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सुविधा प्रदान गर्ने स्वास्थ्यकर्मीहरु नै व्यक्तिगत सुरक्षा सामाग्री मात्र होइन। सामान्य मास्क र ग्लोब्स जस्ता सुरक्षाका साधनहरुको अपर्याप्तताले आफैंलाई कोभिड १९ जस्ता संक्रमणको जोखिमबाट बचाउन र अरुलाइ संक्रमण हुन नदिन संर्घष गर्दै छन्।
उदाहरणका लागि धनगढीको सेती अस्पतालमा एकजना कोरोनाका संक्रमित व्यक्ति आइसोलेसनमा छन्, त्यही अस्पतालमा इमर्जेन्सीमा आएका मुख्य गरी ज्वरो र खोकिकै बिरामीको चेकजाँच गर्दा त डाक्टरले सामन्य सर्जिकल मास्कको भरमा खटिनु परेको छ। न सरकारले पीपीई भनिने ब्यक्तिगत सुरक्षा सामाग्रीको उचित व्यवस्थापन गर्न सकेको छ न त शंकास्पद ब्यक्तिको परिक्षण नै द्रुतगतिमा हुने गरेको छ। यसरी त काम गरिरहेका स्वास्थ्यकर्मीको पनि मनोबल कमजोर हुँदै जान्छ। यसलाई व्यवस्थापन गर्नुपर्ने मुख्य जिम्मेवारी माननीय स्वास्थ्य मन्त्रीज्यूकै काँधमा छ।
हो, तपाईंको घरमा पाहुना आएका हुनसक्छन्, अहिले त लकडाउनका कारण नहोलान, तपाईंलाई यस्ता प्राविधिक कुराको त्यति ज्ञान नहोला तर यति भनेर छुट पाउने स्थितिमा तपाईं हुनुहुन्न किनकी स्वास्थ्यकर्मीहरु आफ्नो सुरक्षाको प्रत्याभूति नहुँदासम्म कसरी अरुका निम्ति ज्यान फालेर काम गर्न सक्छन्? स्वास्थ्य सचिवज्यूले निर्देशन दिएअनुसार काम गर्नुपरे आज त उपचार गर्दैछन्। यदि कुनै चिकित्सकलाई संक्रमण भए त्यसपछिको भयावह स्थिती तपाईं हामीले सम्हाल्न सक्ने हुने छैन। त्यसैले स्वास्थ्यकर्मी मात्र हैन, एम्बुलेन्स चालकहरुका निम्ति पनि यो आवश्यक भैसकेको छ। संक्रमित बिरामीलाई आज एकजना चालकले बोक्न मानेनन् कारण उनलाई आफ्नो ज्यानको सुरक्षाको प्रत्याभूति थिएन।
निजी क्षेत्रलाई परिचालन
नेपालमा स्वास्थ्य क्षेत्रमा सरकारी भन्दा निजी क्षेत्रको पहुँच धेरै छ र सेवा सुविधा पनि निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरु र अस्पतालमा धेरै छन्। त्यसैले यस बिपतको घडिमा सरकारले निजी क्षेत्रलाई गुहार माग्नुको बिकल्प छैन। चीन जस्तै २ र ३ हप्तामा नयाँ सुबिधासम्पन्न अस्पताल स्थापना गर्न सक्ने हाम्रो स्थिति छैन।
यसका निम्ति पर्यटनमन्त्रीले जानकारी गराए अनुसार नया अस्पताल बनाउने योजना सुनाउनुभएको थियो हो यो पनि आवश्यक छ तर यो भन्दा पहिले यथावत भएको निजी स्वास्थ्य क्षेत्रलाई अब परिचालन गर्नुको बिकल्प सरकारसंग छैन। अन्य समयमा चर्को सेवा शुल्क अशुल्ने निजी अस्पतालहरु कोरोना संक्रमण पश्चात् पुर्ण रुपमा बन्द छन्। तर अब सरकारको तर्फबाट स्वास्थ्य मन्त्रीज्यूले नै यसको नेतृत्व लिएर निजी अस्पतालहरुलाई पनि तयारी अवस्था राख्न अब ढिलो गर्नु हुँदैन।
बिरामीको पहिचान
अहिले सबैभन्दा फितलो भनेको हाम्रो संक्रमण पहिचान गर्ने पद्धति छ। दुई दिन अघिसम्म पनि काठमाडौंको एउटा मात्र अस्पतालमा टेस्ट किट थियो। यो भन्दा लजास्पद के हुन सक्ला। हाम्रो तयारी कछुवा गतिमा र विश्वव्यापी रुपमा कोरोना खरायोको गतिमा फैलिरहेको छ।
स्वास्थ्य मन्त्रीज्यू, हामीले जति संक्रमीत बिरामीको परिक्षण गर्न समय लगायौँ त्यती नै धेरै संक्रमण बढ्ने जोखिम हाम्रो सामु हुँदा हुँदै पनि आज लकडाउनको यति दिन बितिसक्दा समेत यसको बन्दोबस्त गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो। अब भने ढिलो नगरी सकेसम्म बिरामी राख्ने आइसोलेसन वार्ड भएका सबै ठाउँमा टेस्ट किटको व्यवस्था गर्नैपर्छ। यसको आवश्यकता त आज नेपालगन्जमा परीक्षणका निम्ति नमुना लिन आएको जहाजको दुर्घटनाले समेत बोध गराउँछ।
यसका साथै अझै पनि हामी चुकेको भनेको कन्ट्याक्ट् ट्रेसिङमा हो। यो कति महत्वपूर्ण छ भन्ने कुरा त आज पाचौं ब्यक्तिलाई संक्रमणको पुष्टि भएसँगै झन् प्रष्ट भएको छ। दोस्रो सक्रमित र आज पुष्टि भएका ब्यक्ति एउटै प्लेनमा आएका पुष्टि भएको छ।
एकजना युवतीलाई कोरोनाको संक्रमण पोजेटिभ आइसकेको हप्ता दिन सम्म पनि हामी त्यस जहाजमा आउने यात्रुहरुको परिक्षण गर्न सक्दैनौं। अहिले त हरेक एयपोर्ट, होटल, रेस्टुरेन्ट पार्कहरु र बाटोमा समेत सिसिटिभी जडान भएको बेला संक्रमित व्यक्तिका सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी आइसोलेसनमा राखी परीक्षण गर्नुपर्ने आवश्यकता छ। यसलाई सरकारले अबिलम्ब सुरु गर्नैपर्छ।
अस्ति मात्रै बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा प्राणघातक रोगसंग लडिरहेका बिरामीका निम्ति खाली आइसीयु पनि उपयोग गर्न दिइएन किनकी उक्त बेड कोरोनाको बिरामीका निम्ति छुट्टाइएको थियो। यसरी यस महामारीको समयमा समेत अन्य प्राणघातक रोगहरुसँग संघर्षरत व्यक्तिहरुका निम्ति उपचारको छुट्टै संयन्त्र तयार पार्नुपर्ने आवश्यकता यस घटनाबाटै उजागर हुन्छ। त्यसैले कोरोना संग लडिरहँदा अन्य रोगहरुका बिरामीको उपचारको निम्ति पनि छुट्टै उपचारको बाटो खोज्नुपर्छ। यसको बन्दोबस्त गर्नुपर्ने जिम्मेवारी स्वास्थ्यमन्त्रीकै छ।
अहिले यो पत्र लेख्दै गर्दा सम्म ५ वटा केस परीक्षण बट पुष्टि भइसकेका छन्। कति जनाको कन्ट्याक्ट् ट्रेसिङ हुन बाँकी छ, कति जना परिक्षणको दायरामा आउनै बाँकी छन्, कतिको परीक्षणको नतिजा आउन बाँकी छ । यसरी यस महामरिको निम्ति हाम्रो तयारी अन्य देशको तयारी र त्यसबाट आएको प्रतिफलको लेखाजोखा गरेर सिमित स्रोतसाधनबाटै गर्नसकिने उपयुक्त उपायहरु सहि समयमा छान्न सकेनौं भने हामीले ठूलो मूल्य चुकाउनुपर्नेछ।
माननीय स्वास्थ्य मन्त्रीलाई ऐतिहासिक अवसर र चुनौती पनि छ। यसको सामना गर्दै देशलाइ ठूलो क्षति हुनबाट बचाउने मुख्य जिम्मेवारी छ। तपाईंका सिपाहीहरु तयार छन्, कमान्डरको आदेशको पर्खाइमा छन्। युद्ध भूमिमा सिपाहीलाई बिना हतियार नखटाउनुहोला। त्यो तपाईं हाम्रो हैन सिङ्गो देशको हार हुनेछ।
अन्य देशहरुले जस्तै उपयुक्त व्यक्तिगत सुरक्षा कवचका साथै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने नीति नियम ल्याउन पहल गर्नुहोस्। कति देशले बिमा गरेका छन्, हाम्रो परिस्थितिमा के गर्न सकिन्छ तत्काल अगाडि बढाउनुहोस्। स्वास्थ्य मन्त्रीज्यूको सफलता नै हामी सवै स्वास्थ्यकर्मी र सम्पूर्ण जनताको सफलता हो। सबैलाई यस लडाइँको सामना सशक्त भएर गर्न आह्वान।
-(लेखक जैशी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिडिएस अध्ययनरत छन्)