दिपक महत
चिकित्सा विज्ञान प्रविधिमा निर्भर छ। प्रविधिविना आधुनिक उपचारको कल्पना समेत गर्न सकिदैन। विकसित भएका पछिल्ला मेडिकल उपकरणहरुले बिरामीको सहज उपचारमा अतुलनीय भूमिका खेलिरहेको यथार्थ विगतसँगै वर्तमान र भविष्यमा पनि स्वीकार्यताको विषय बनिरहेको छ, बन्नेछ।
घातक मानिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणले यतिबेला नेपाल लकडाउनमा छ। संक्रमण रोक्नका लागि फिल्डमा खटिएका सुरक्षाकर्मीसंगै स्वास्थ्यकर्मी र मेडिकल उपकरण यतिबेला सबैभन्दा बढी भरोसायोग्य छन्। आममानिसको चासोको केन्द्र बनेका स्वास्थ्यकर्मीसँगै अहिले मेडिकल उपकरणमा पनि सबैको नजर उत्तिकै परेको छ।
यतिबेला कोरोना रोकथामको लागि सवैले आफ्नो ठाउँबाट पहल गरिरहेका छन्। स्वास्थ्यकर्मीलाई पिपिई (पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट) उपलब्ध नहुँदा नहुँदै पनि हरसम्भव सेवा प्रवाह गर्न जुटिरहेका छन्। यो आफैंमा साहसिक र सम्मानको विषय हो।
यतिबेला मेडिकल कीटसँगै उपकरण पर्याप्त नहुुँदा हामी धेरै संख्यामा कोरोना परीक्षण गर्न सकिरहेका छैनौं। त्यससँगै बिरामी कोरोना संक्रमित भएर त्यसबाट उसको अवस्था जटिल बन्यो भने हामीलाई अत्यावश्यक भेन्टिलेटर सहित अक्सिजन कन्सनटे«टर, प्यासेन्ट मोनिटर, नेबुलाइजर, एक्सरे लगायतका अरु उपकरण पनि आवश्यक हुन्छन्। हाम्रो देशको अहिलेको अवस्थालाई नहेरी विश्वमा भएको यसको फैलावटको रफ्तार नेपालमा देखिए पनि हामीसँग आइसियुमा बिरामी राखेर उपचार गर्न सक्ने ल्याकत देखिँदैन।
यदि स्वास्थ्यकर्मीसँगै मेडिकल उपकरणलाई पनि तयार पार्न नसके उपचारमा तादम्यता मिलाउन निकै कठिन हुन्छ। अर्कोतर्फ उपकरण पनि नहुनु र भएका उपकरणले पनि काम गर्न नसक्ने अवस्था आए अवस्था सोचेभन्दा फरक हुन्छ।
कोरोना भाइरस परीक्षणको लागि पि.सि.आर. मेसिन अति आवश्यक छ। हाल नेपालमा राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकुमा रहेको मेसिनबाट मात्रै परीक्षण गरिँदै आइरहेको छ भने सरकारले थप उपकरण भित्राउन र विस्तारको लागि प्रक्रिया अगाडी बढाइरहेको छ। हाल पि.सि.आर. मेसिन देशभर २५ वटा रहेका छन् (माइक्रोबायोलोजिकल स्टुडेन्ट एशोसियसन अफ नेपालको बुलेटिनबाट) यदि यी संचालनमा ल्याउन सकिए धेरैको परीक्षण गर्न सम्भव देखिन्छ।
काठमाडौं उपत्यकामा रहेका सरकारी र नीजि अस्पतालमा अति आवश्यक मानिएको भेन्टिलेटरको संख्या न्यून रहेको देखिन्छ भने काठमाण्डौं बाहिर यसको संख्या झन् कम छ। उपत्यका बाहिर रहेका सरकारी जिल्ला अस्पतालहरुमा लगभग भेन्टिलेटर नै छैनन् भन्दा फरक पर्दैन। निजी अस्पतालमा पनि उल्लेख्य भेन्टिलेटर भएको पाइँदैन।
स्वास्थ्यकर्मी बिना पिपिई (पर्सनल प्रोटेक्टभ इक्युप्मेन्ट) उपचारमा होमिइरहँदा तथ्याड्ढीय रुपमा मेडिकल उपकरणको सामथ्र्यता जाँच्नु युक्तिसंगत नहोला। तैपनी हाम्रो प्रविधिको ल्याकत सही समयमा ठम्याउन सक्नु भने अहिलेको आवश्यकता हो।
काठमाडौंको वीर अस्पतालमा १७, राष्ट्रिय ट्रमा सेन्टर १०, टिचिङ अस्पताल २०–२२, कान्ति बाल अस्पताल २२, वीरेन्द्र सैनिक अस्पताल छाउनी २२, भक्तपुर अस्पताल २, सिभिल अस्पताल ५, प्रसुति गृह ९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा १३, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ३ (कोरोना लक्षित गरी थप ५), लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ८, सेती प्रादेशिक अस्पतालमा १ वटा भेन्टिलेटर रहेका छन्। (अस्पतालमा कार्यरत बायोमेडिकल इन्जिनियर/टेक्निसियनले उपलब्ध गराएको तथ्याङको आधारमा)।
यसबाट पनि हामीसँग सरकारी अस्पतालमा कति भेन्टिलेटर छन् भनेर देशभरको अवस्था जाँच्न सकिन्छ। यी मध्ये सबैको कार्यक्षमता सन्तोषजनक र एकनासको छैन। सबै उपकरण काम गर्ने अवस्थामा छैनन्। जसले गर्दा उपकरणले हामीलाई जुनसुकै बेला धोका दिन सक्छन्। त्यसका लागि दक्ष प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने हुन्छ तर यसमा हामी चुकिरहेका छौं। महंगो मूल्य पर्ने भेन्टिलेटरको विश्वव्यापी रुपमा अहिले उत्पादन तथा वितरणमा कमी आइरहेको छ। जसको प्रत्यक्ष असर हामीजस्ता देशले भोग्नु परिरहेको तीतो यथार्थता छ।
समग्रतामा हेर्दा बिरामीको श्वासप्रश्वासमा जटिलता निम्तिए लगभग भेन्टिलेटर अपुग भइ धेरै संख्यामा बिरामीको हताहती हुने निश्चित छ । भेन्टिलेटर बाहेक तुलनात्मक रुपमा अरु उपकरण भने अस्पताल र नेपाली बजारमा त्यति अभाव रहेको देखिँदैन। यो भन्दैमा पर्याप्त रहेको भनेर भन्न सकिन्न। कोरोना संक्रमितको लागि अक्सिजन अति महत्वपूर्ण छ। त्यसका लागि अक्सिजन प्लान्ट थप तथा भएका प्लान्टको समेत व्यवस्थापन राम्रोसँग गर्नुपर्ने देखिन्छ। यसरी हेर्दा स्वास्थ्यकर्मी निर्भर रहने मेडिकल उपकरणको सही रुपमा व्यवस्थापनमा चुकियो भने कोरोना संक्रमणको उपचारमा हामी धेरै पछाडि परिने कुरा किटानका साथ भन्न सकिन्छ।
माथिको तथ्याड्ढलाई विश्लेषण गर्दा न्यून संख्यामा रहेका मेडिकल उपकरणबाट धेरै आशा राख्ने ठाउँ देखिँदैन। तर, संयतापूर्वक सदुपयोग गर्न सके भने यसबाट पनि धेरैको ज्यान भने बचाउन सकिन्छ। हालै नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था निक साइमन्स इन्सिच्युटबाट १० वटा भेन्टिलेटर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई सहयोग स्वरुप प्राप्त भएका छन्। थप उपकरण भने सरकार र नीजि क्षेत्रले भित्र्याउन पहल गरिरहेका छन्। यसलाई सकारात्मक रुपमा ग्रहण गर्दे थप उपकरण भित्राउन सरकार, नीजि क्षेत्रले विशेष पहलकदमी लिन भने ढिलाई गर्नुहुँदैन।
स्वास्थ्यकर्मी बिना पिपिई उपचारमा होमिइरहँदा तथ्याड्ढीय रुपमा मेडिकल उपकरणको सामथ्र्यता जाँच्नु युक्तिसंगत नहोला, तैपनी हाम्रो प्रविधिको ल्याकत सहि समयमा ठम्याउन सक्नु भने अहिलेको आवश्यकता हो।
बिरामीको अवस्था जटिल बन्दै गए उपकरणको सहायता अति नै आवश्यक हुन्छ तर पर्याप्त र काम गर्ने अवस्थाका उपकरण भएनन् भने भगवान भरोसा शिवाय अरु विकल्प छैन।
-(महत समाज, स्वास्थ्य र साहित्यमा कलम चलाउँछन्)