रिता पोखरेल
संसारभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म छ। स्वस्थ्यकर्मीको मुख्य डर चाहिँ व्यक्तिगत सुरक्षा कवच उपलब्ध नहुनु हो।
यस्तो अवस्थामा स्वास्थ्यकर्मी (विशेषगरी अग्रपंक्तिमा काम गर्ने) हरुलाई आधिकारिक व्यक्तिहरुको परामर्शको खाँचो टड्कारो देखिन्छ। सुरक्षा कवच के हो? यसका कति तह हुन्छन्? कतिबेला कुन कवच प्रयोग गर्ने? आदि विषयमा तालिम र कवच उपलब्धताको खाँचो छ। साथै संक्रमित बिरामीसँग काम गर्दा हुने दुर्घटनाका बारेमा सोचेर राज्यका तर्फबाट हुने सहयोग र स्वास्थ्यकर्मीको उपचारको व्यवस्थाका बारेमा अश्वासनको पनि उत्तिकै खाँचो छ। अन्यथा राज्यले निम्न क्षतिहरु व्यहोर्नुपर्ने स्थिति देखिन्छः
१. स्वास्थ्यकर्मीको मनोबल गिर्ने, उहाँहरुलाई सुरक्षित महसुस नहुने, आत्तिने रोग, चिन्ता वा उदासिपन आदि मानसिक समस्याको सिकार बन्ने, विभिन्न बहना गरेर कामबाट छुट्टी लिने। यी सबै कारणले गर्दा महामारीको बेलामा बिरामीको उपचार गर्ने मान्छेको अभाव हुने।
२. स्वास्थ्यकर्मी बिना लक्षणका कोभिड १९ का बिरामी हुने अनि हस्पिटल आउने अन्य बिरामी तथा कुरुवाहरु साथै समुदायमा अन्य व्यक्तिमा रोग सार्ने, जसका कारण महामारीले भयावह रुप लिएर राज्यले धान्न नसक्ने स्थिति आउने।
यसको लागि राज्यका तर्फबाट नागरिकहरुको नजरबन्द र अस्पतालका शय्या छुट्टाएर मात्र काफी छैन। राज्यका प्राथमिकतामा स्वास्थ्यकर्मीको सुरक्षा अग्रपंक्तिमा आउनुपर्छ। स्वास्थ्यकर्मीलाई उचित सेवासुविधा र त्योभन्दा अगाडि सुरक्षा कवचको र उचित तालिमको जरुरत छ। आतंकित स्वास्थ्यकर्मीले दिएको सेवाको गुणस्तरको बारेमा राज्यले सोच्ने बेला छ। अहिलेको परिवेशमा स्वास्थ्यकर्मी भनेका देश कसैको उपनिवेशमा नदिनको लागि लड्ने लडाकुहरु जस्तै हुन् त्यसैले उचित जगेर्ना गरियोस्।
स्वस्थाकर्मीहरु आफू पनि राज्यको जिम्मेवार नागरिकको हैसियतले सबै कुरामा राज्यको मात्र मुख नताकेर आफ्नो आफ्नो ठाउँबाट कसरी जोगिएर काम गर्ने भन्ने बारेमा सोचेर काम गर्ने साथै, विश्व स्वास्थ्य संगठन जस्ता संस्थाबाट आउने आधिकारिक ठाउँका सूचनामा मात्र भर पर्ने, सामाजिक सञ्जाल साथै अन्य ठाउँमा देखिने अवैधानिक समाचारहरुलाई वास्ता नगर्ने, सामाजिक संजालका माध्यमबाट सथिभाइ, इस्टमित्रहरुसँग घुलमिल हुने, आफूले हासिल गरेका मानसिक स्वास्थ्य राम्रो पार्ने तरिकाहरु अबलम्वन गर्ने साथै ज्ञान हासिल नगरेका कर्मचारीहरुलाई पनि सिकाउने आदि गरेर राष्ट्रलाई परेको यस आपतमा हातेमालो गर्न जरुरी छ।
आफ्नो स्वास्थ्य राम्रो भयो भने मात्र हामी देशलाई योगदान गर्न सक्छौं। सावधान रहेर काम गरौं, कोरोना कम मानसिक समस्याले हामीमा जरा गाड्यो भने व्यक्ति तथा राज्यलाई अर्को भार पर्न सक्छ।
(पोखरेल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकी मानसिक स्वास्थ्य नर्सिङ एसिस्टेन्ट प्रोफेसर हुन्।)