सुरेश शाह/स्मिता मिश्र
यतिबेला विश्वव्यापी महामारीको रुपमा कोरोना (कोभिड१९) ले संसारलाई आक्रान्त बनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार मार्च ३१ सम्म ८ लाख भन्दा बढी मानिस कोरोना संक्रमित भएको छन्। ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
नेपालमा चैत्र १६ गतेसम्म ५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयले कोरोना महामारी नियन्त्रण गर्न विभिन्न नीति तथा कार्यक्रमहरु गरिरहेको छ।
सम्पूर्ण नेपाल लकडाउन भएको पनि एकहप्ता पुग्न लाग्यो। महामारी नियन्त्रणका लागि सेल्फ क्वारेन्टाइन र महामारी प्रभावित देशहरुबाट फर्किएका सम्भावित जोखिम भएका व्यक्तिका लागि क्वारेन्टाइन क्षेत्र वा गृह निर्माण गर्ने नीति अनुरुप प्रदेश र स्थानीय तहमा कार्यान्वयन भईरहेको छ।
कोरोना परिक्षण कार्य तिव्र पारिएको छ। संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका मानिसहरुको खोजी गरी परीक्षण भइरहेको छ। संगसंगै कारोना र त्यसको रोकथाम बारे जनचेतना फैलाउने कार्यक्रमहरु सञ्चालित छन्।
नेपालमा कोरोना महामारी रोकथाम वा नियन्त्रणका लागि यी कार्यहरु हुँदैगर्दा महामारीले पार्नसक्ने मानसिक वा मनोसामाजिक प्रभावको बारेमा त्यति ध्यान दिईएको छैन।
चीन, इटालीलगायतका देशहरुमा गरिएका अध्ययन अनुसार कोरोना महामारीका क्रममा स्वास्थ्यकर्मी, संक्रमित व्यक्ति तथा सर्वसाधारण मानिसहरुमा डिप्रेसन, चिन्तारोग, तनाव, अनिद्रालगायतका मानसिक समस्या उत्पन्न भएको पाइएको छ।
चीनमा गरिएको एक अध्ययन अनुसार कोरोना महामारीको कारणले ५०.७ प्रतिशत मानिसहरुलाई डिप्रेसन, ४४.७ प्रतिशत लाई एन्जाइटी (चिन्तारोग), ३६ प्रतिशतलाई अनिद्रा, ७३ प्रतिशतलाई तनाव भएको तथ्यांक सार्वजनिक भएका छन्।
आम सर्वसाधारणहरुमा कोरोनाबारे सही र अध्यावधिक जानकारी नपाएको कारण बढि त्रास उत्पन्न भईरहेको छ। सामाजिक सञ्जालमा प्रसारित भ्रमपूर्ण खबर र जनचेतनाका सामाग्री पनि स्थानीय भाषामा प्रकाशित नहुँदा, विशेष गरी बालबालिका र जेष्ठ नागरिकहरुले कोरोनालाई डरलाग्दो रोगको रुपमा चित्रण गरेका छन्।
अन्य सामान्य संक्रमणले गर्दा कोरोनाको जस्तै लक्षण देखिदा पनि कोरोनाकै संक्रमण भयो कि, मेरो जिन्दगी नै बर्बाद भयो कि भन्ने डर वा अनावश्यक तनाव उत्पन्न भईरहेको हुन सक्छ। कोरोना महामारीले जोकोहीलाई मानसिक प्रभाव पार्न सक्छ। तीमध्ये केही समुह अझ बढी जोखिममा हुन्छन।
–स्वास्थ्यकर्मी र सुरक्षाकर्मी
स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित व्यक्तिको सबैभन्दा पहिले सम्पर्कमा आउँछने। उनीहरुसँग लगातार लामो समय बिताउनुपर्ने अवस्थामा हुन्छन्। जसले गर्दा आफ्नो स्वास्थ्यको ख्याल राख्न पाईरहेका हुदैनन्। त्यसैले उनीहरुलाई मानसिक समस्या जस्तै थकान, तनाव, चिन्ता, अत्याधिक रिस आदि देखिन सक्छ।
अर्कोतर्फ व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)को प्रयोग नहुनु , परिवारलाई समय दिन नसक्नु , परिवारले आफ्नोबारे चिन्ता लिएर दुखी भएको भन्ने सोचाई आउनु , आफ्नो कारणले परिवारमा पनि संक्रमण फैलिन्छ कि भन्ने डर लागिरहने हुनसक्छ।
एकजना स्वास्थ्यकर्मीले एकैपटक धेरै व्यक्तिहरुको हेरचाह वा उपचार गर्नुपर्ने हुन्छ। स्वास्थ्यकर्मीमा मनोसामाजिक समस्या निम्त्याउनुका प्रमुख कारण हुन्।
साथै परिस्थितीलाई नबुझ्ने र परामर्श गर्दा पनि आईसोलेसन वा क्वारेन्टाईनमा बस्न नचाहिरहेका व्यक्तिहरुको कारण, त्यसैगरी बिरामीका आफन्त र मिडियाको अनावश्यक भिड र प्रश्नका कारणले पनि तनावको अवस्था सिर्जना हुन सक्छ।
–संक्रमित व्यक्ति र क्वारेन्टाईन स्थलमा राखिएका व्यक्ति
संक्रमित व्यक्ति र क्वारेन्टाईन स्थलमा राखिएका व्यक्तिहरुलाई एक्लै लामो समयसम्म बस्नुपर्ने हुन्छ। यस्तो अवस्थामा मनमा नकारात्मक सोचहरु आउन सक्छन्।
संक्रमित व्यक्तिलाई कोरेनाको उपचार नभएकोले रोगको परिणामबारे डर भईरहन्छ। साथै उपचार पश्चात् सामान्य जिवनमा फर्कन सक्छु वा सक्दिन भनी भविष्यवारे नकारात्मक धारणा विकसित हुन सक्छ।
आफ्नो कारणले परिवारमा पनि संक्रमण भयो वा हुन्छ कि भनी डर अनि हिनताबोध हुन सक्छ। त्यसैगरी परिवारले आफ्नोबारे चिन्ता लिएर दुखी भएको होलान् भन्ने सोचाईले पनि मनोसामाजिक समस्याहरु देखिन सक्छन्।
सामाजिक सञ्जालमा गोपनियता कायम नगरी दोषी वा लाञ्छना लगाई आफ्नो बदनाम गरिएको भन्ने सोचका कारण पनि संक्रमित व्यक्ति र क्वारेन्टाईन स्थलमा राखिएका व्यक्तिलाई मानसिक समस्या देखिन सक्छ।
–माथि उल्लेखितका परिवार
संक्रमित व्यक्तिका परिवारलाई सामाजिक रुपमा भेदभाव गरी लाञ्छना लगाई एक्लो बनाइने सम्भावना हुन्छ। त्यसको कारणले संक्रमण फैलिनुमा हामी जिम्मेवार छौँ भन्ने सोचाई पैदा भई हीनताबोध हुन सक्छ।
आफु पनि संक्रमित भएको हुन सक्छु भन्ने डरले एक्लै बस्ने, कसैसंग नबोल्ने जस्ता लक्षण देखापरी डिपे्रशन हुने सम्भावना हुन्छ।
त्यसैगरी संक्रमित व्यक्तिको रोगको परिणाम र भविष्य बारे चिन्ता हुन सक्छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका परिवारलाई पनि आफु वा परिवारका सदस्य कोही संक्रमण हुन्छन् कि भन्ने डर र तनाव भईरहन सक्छ।
नीतिगत सुझावहरु
कोरोना महामारीको समयमा मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न एकिकृत कार्ययोजना बनाई काम गर्नुपर्ने देखिन्छ। उल्लेखित जोखिम समुहको मानसिक स्वास्थ्यलाई ध्यानमा राखी तथ्यमा आधारित निम्न नीतिगत काम गर्नुुपर्ने आवश्यकता छ।
– संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य (समस्या पहिचान र व्यवस्थापन) सम्बन्धि तालिम लिने साथै अनलाईन कोर्स तयार गरी सम्पुर्ण स्वास्थ्यकर्मीको पहुँच सम्म पुर्याउने।
– मानसिक स्वास्थ्य सम्बन्धि हटलाईन सेवा सञ्चालन गरी टेलिफोन बाटै मनोविमर्श सेवा दिने।
– अस्पताल तथा क्वारेन्टाईन स्थलमा मनोचिकित्सक÷मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्ने।
– कोरोनाको महामारीबारे सही सुचना आधिकारिक व्यक्तिले मात्र सम्प्रेषण गर्ने।
– संक्रमित र क्वारेन्टाईन स्थलमा रहेका व्यक्ति र उनका परिवार बिच नियमित फोन सम्पर्क वा भिडियो कलको व्यवस्था गर्ने।
– संक्रमित र क्वारेन्टाईन गरिएका व्यक्तिको स्रुमै र नियमित मानसिक स्वास्थ्य अवस्था परिक्षण गर्ने र सोही अनुसार व्यवस्थापन गर्ने।
– संक्रमित व्यक्तिहरुलाई र क्वारेन्टाईन स्थलमा रहेका व्यक्तिहरुलाई समुहमा मनोसामाजिक परामर्श गर्ने।
माथि उल्लेखित सुझावहरुलाई केन्द्र, प्रदेश र स्थानीय तहमा कोरोनासंग सम्बन्धित नीति निर्माण गरिरहनु भएका जनप्रतिनिधीहरु तथा स्वास्थ्य÷जनस्वास्थ्य विज्ञहरुले प्रयोग गर्न सक्नुहुनेछ।
विश्वव्यापी कोरोना महामारीको अवस्थामा मानसिक स्वास्थ्य समस्याले व्यक्ति र समाजलाई दुरगामी प्रभाव पार्ने हुँदा समयमै यसबारे ध्यानाकर्षण हुन जरुरी छ।
(मिश्र मनोसामाजिक परामर्शदाता हुन् भने शाह जनस्वास्थ्यकर्मी हुन्)