नवीन यादव
हामीले चिकित्सा शिक्षा समाज र देशको सेवा गर्नका लागि पढिरहेका छौं। कोरोना भाइरसको महामारीले सारा देश पिरोलिइरहेको यस दयनीय अवस्थामा विदेशमा घरभित्र लक डाउन भएर बस्न यो मनले मानिरहेको छैन।
हामी कोरोना विरुद्धको यस लडाईंमा सहभागी हुन चाहन्छांै। आफूले सिकेको सिप र ज्ञानले यस बखत देशका जनताको सेवा गर्न चाहन्छौं। पर्सनद प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) को व्यवस्था गर सरकार, हामी अहोरात्र खट्न तयार छौं, हामी अहोरात्र लड्न तयार छौं।
यतिका दिनसम्म हामीले नेपाल सरकारको निर्णयलाई समर्थन गर्यौं, त्यसैले पनि उद्धार गर्नका लागि हामीले कुनै अवाज उठाएनौं। तर आज सरकारले घोषणा गरेको पहिलो लक डाउनको अवधि सकिँदैछ र फेरि एक हप्ताको लागि थपिएको छ। तर अझै पनि सरकारले विदेशमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने तत्काल कुनै योजना नरहेको भन्नु कतिसम्म न्यायसंगत हो?
प्रायःजसो राष्ट्रले आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको र फर्काउँदै गरेको अवस्थामा नेपाल सरकारको तयारी एवं व्यवस्थापन चित्तबुझ्दो देखिएन।
विगत १२ दिनदेखि हामी कलेज होस्टेलमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छौं। सबै कलेजका होस्टेलहरुमा प्रायः नेपाली विद्यार्थीहरु मात्र बाँकी रहेका छन्। चिकित्सा शिक्षाको विद्यार्थी भएकाले कोरोना भाइरसको संक्रमण एवं रोकथामका बारेमा हामी सचेत छौं। र, यस अवस्थामा हामीले हाम्रो समुदायमा योगदान दिन सक्छौं।
तसर्थ उद्धारका लागि यथाशीघ्र पहल गरिदिन नेपाल सरकारलाई विनम्र अनुरोध गर्दछौं। नेपाल आउनुअघि हामी स्क्रिनिंग गरेर आउँछौं। नेपाल फर्किसकेपछि पनि हाम्रो स्क्रिनिंग होस। नेपाल सरकारले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ भने हामी त्यहाँ बस्न तयार छौं। यदि सरकारको तयारी भएको छैन भने पनि हामीले आफ्नो घरमै परिवारबाट छुट्टिएरै बेग्लै कोठामा बसी स्थानीय निकाय एवं प्रशासनलाई हाम्रो दैनिकी अवस्थाबारे आफैं जानकारी गराएर बस्छौं।
यसमा हामी सरकारको निर्देशन पालना गर्न तयार छौं। यस घडीमा हामीलाई स्वदेश फर्कन जति आवश्यक छ, त्यो भन्दा बढी हाम्रो आवश्यकता हाम्रो देश र हाम्रो समाजलाइ छ।
उच्च जनघनत्व भएका कारण बंगलादेश कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई अवगत नै छ। परीक्षण गर्नका लागि चाहिने मेडिकल इक्विपमेन्ट, टेस्टिंग किट्स पर्याप्त मात्रामा नभएको कारण बंगलादेश सरकारले सार्वजनिक गरेको कोरोना भाइरसको संक्रमित संख्याको तथ्यांकलाई सटिक मान्न सकिँदैन।
विश्व स्वास्थ्य संगठनले पनि बंगलादेश सरकारलाई यसबारे सचेत गराउँदै आएको छ। यस्तो अवस्थामा विद्यार्थीहरुले भोग्नु परेको मानसिक एवं पारिवारिक तनावको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण होस।
-(यादव नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन, बंगलादेशका अध्यक्ष हुन्)